कसरी रिजल्ट शून्य हुन पुग्यो रूपन्देही कांग्रेस ?

मेचीकाली संवाददाता

२० मंसिर २०७९, मंगलवार
207 shares

प्रकाश आचार्य
बुटवल । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा फाइदा पुग्ने धेरैको आँकलन थियो ।

एमालेको किल्ला मानिने बुटवल उपमहानगरपालिकामा समेत जीत निकाल्दै कांग्रेसले रूपन्देहीमा पहिलो शक्तिको परिचय बनाएको थियो तर, आम निर्वाचनको नतिजा त्यसको ठीक विपरीत आयो । प्रतिनिधि सभातर्फ कांग्रेस रूपन्देही ‘क्लीन स्वीप’ भयो ।

समानुपातिकतर्फ पहिलो दल बने पनि प्रत्यक्षतर्फ कांग्रेस ६ महिनामै तहसनहस कसरी भयो ? पार्टीका प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँणसहितका उम्मेदवार पराजित हुँदा कांग्रेसले ठूलो धक्का महसूस गरेको छ । सत्तारूढ गठबन्धनसहित चुनावमा गएको कांग्रेसले प्रतिनिधिसभातर्फ ५ क्षेत्रमध्ये कुनैमा पनि जीत निकाल्न सकेन भने प्रदेशसभाका १० निर्वाचन क्षेत्रमध्ये २ वटामा मात्र सीमिति भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता खाँण रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरासँग पराजित भए । क्षेत्र नम्बर ४ मा युवा नेता प्रमोद यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सर्वेन्द्रनाथ शुक्लासँग पराजित हुन पुगे ।

क्षेत्र नम्बर ५ मा भरतकुमार शाह एमालेका वासुदेव घिमिरेसँग भारी मतान्तरले पराजित हुन पुगे । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (२) मा अब्दुल रज्जाक र क्षेत्र नम्बर ४ (२) मा वसीउद्दिन खाँ मात्र विजयी भएका छन् । खाँण र शाह प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाका विश्वापात्र हुन् ।

स्थानीय निर्वाचन अगाडिसम्म निर्वाचन क्षेत्र परिवर्तन गरेर सुरक्षित हुन खोजेका गृहमन्त्री खाँण पालिका चुनावको नतिजाले क्षेत्र परिवतर्न गर्ने सोचबाट पछाडि हटेका थिए । ६ महिनाअघि पार्टीमा आएको शक्तिलाई जोगाउन नसक्नुमा गुटबन्दी प्रमुख कारण ठानिएको छ । जिल्लामा पार्टीको संस्थापन समूहले गरेको अन्तर्घात चुनाव हार्नुको प्रमुख कारण भएको निचोडमा नेताहरू पुगेका छन् ।

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीका उम्मेदवारमाथि अन्तर्घात गर्नेलाई कारवाही हुने बताए । ‘सबै नतिजा आएपछि पार्टीले वडा तहदेखि नंै समीक्षा बैठक राख्ने र अन्तर्घात गरेको पुष्टि भए कारबाहीको लागि सिफारिस गरेर केन्द्रमा पठाउनेछ,’ उनले भने, ‘पार्टीको समीक्षा बैठक चाँडै हुन्छ । अन्तर्घात गरेको पुष्टि भए पार्टीको विधानअनुसार कारबाही हुन्छ ।’
कांग्रेसका ११ जना जिल्ला नेता तथा पूर्वसांसदले विज्ञप्ती नैं निकालेर पार्टी हारेपछि जिल्ला नेतृत्वको राजीनामा मागेका छन् । कांग्रेस प्रदेश सदस्य रामबहादुर कार्कीसहितका नेताहरूले नैतिकताका आधारमा पार्टी जिल्ला सभापति रामकृष्ण खाँणले राजीनामा दिनुपर्ने बताएका छन् । जिल्ला सभापति रामकृष्णको राजीनामा माग्ने सबै नेताहरू संस्थापनइतर पक्षका हुन् ।

जिल्लाका ५ क्षेत्रमध्ये क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादी र क्षेत्र नम्बर १ नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको थियो । क्षेत्र नम्बर १ मा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई गठबन्धनले सघाएका थिए ।

गृहमन्त्री खाँण पार्टीमा गुटबन्दी र परिवारवादमा अल्झिँदा कांग्रेस नराम्रोसँग पराजित हुन पुगेको कांग्रेसका एक जिल्ला नेताले बताए । ‘आफ्नी श्रीमती मन्जुलाई समानुपातिक सूचीको अघिल्लो नम्बरमा राखे । भैरहवाका व्यवसायी कृष्ण शर्मालाई आउँदो पालिका निर्वाचनमा सिद्धार्थनगरको मेयरका टिकट दिने आश्वासन दिएको भन्ने कुरा बाहिर आयो । आफ्ना भाइलाई तिलोत्तमा नगरपालिकाको मेयर बनाए, जुन कुरा कार्यकताले रूचाएनन् । त्यसको विस्फोट भएको हो,’ ती नेताले भने, ‘पार्टी गुटबन्दीको प्रभाव प¥यो । नेतृत्वले आन्तरिक नेतृत्व छनोटमा वडादेखि माथिसम्म सर्वसम्मत पद्धति अपनाएको देखिएन । त्यसको असर पनि निर्वाचनमा देखियो ।’

जिल्ला सभापति रामकृष्ण खाँण गृहमन्त्रीका सहोदर भाइ हुन् भने जिल्ला उपसभापति अनिता ढुंगाना भरत शाहकी श्रीमती हुन् । जिल्लाका अधिकांश उम्मेदवार संस्थापन समूहका थिए ।
प्राध्यापक नुरजंग केसीले कांग्रेसमा आफूअनूकूल टिकट बाँड्दै परिवारवाद हाबी हुँदा कांग्रेस रूपन्देहीको नतिजा शून्य भएको बताए । ‘टिकट आफूअनुकूल वितरण गरियो । समानुपातिकमा परिवारवाद हाबी भयो । अन्य जनतालाई भोटर मात्र बनाइयो । नेताहरू सामन्त जस्तो हुँदा जनताले रिसको पोको निर्वाचनमा पोखे,’ केसीले भने, ‘कांग्रेस उठ्नसक्छ तर जनताबाट उम्मेदवार हुनुपर्छ । जनताले स्वच्छ उम्मेदवार खोज्यो । अब पुनर्जागर गर्नलाई ठूलो मेहनत गर्नुपर्छ । जनतामा चेतना पलायो । आम जनताको भावना बुझ्ने उम्मेवार बने पार्टी ब्यूताउनलाई गाह्रो पनि छैन ।’

कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्याल पनि अन्तर्घात नै हारको प्रमुख कारण ठान्छन् । ‘पार्टीको महाधिवेशनमा देखिएको धु्रवीकृत आम चुनावमा एकअर्कालाई स्वीकार गर्न नसक्दा परिणाम आयो । सधैं यो परिस्थिति रहिरहन हुँदैन’ अर्यालले भने । कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र मानिने रामकृष्ण ताम्राकारको २०७६ सालमा निधन भएपछि रूपन्देही कांग्रेसमा गृहमन्त्री खाँणले एकछत्र गर्न खोजेको देखिन्छ ।

कांग्रेसको केन्द्रीय राजनीतिमा खाँण प्रभावशाली र चर्चित मानिन्छ तर पछिल्लो समय जिल्लाको राजनीतिमा उनको प्रभाव खस्किन थालेको छ । यहाँ महामन्त्री गगनकुमार थापा समूह खाँणलाई टक्कर दिने गरी उठ्न थालेको छ । रूपन्देहीमा केन्द्रीय महामन्त्री गगनकुमार थापा र गृहमन्त्री बालकृष्ण खाँणको लडाइँले पार्टी संकटमा भएको कांग्रेसका कार्यकर्ताहरू बताउँछन् ।