अस्मिना पाण्डे
बुटवल । नारी शब्द आफैमा सम्पूर्ण छ । तर, पनि वेदना, असमानता विभेदजस्ता खाडलबाट नारी अझै पिल्सिएका छन्भन्दा फरक नपर्ला । प्रसङ्ग हो, केही दिन अगाडि मनाइएकोे लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको । यो दिवस अन्तर्राष्ट्रियस्तरमै प्रत्येक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउँदै आइएको छ । यो वर्ष सभ्यसमाजको पहिचान लैंगिक हिंसाविरुद्धको अभियान भन्ने राष्ट्रिय नाराका साथ धुमधामसंग मनाइयो । योबाहेकका पनि वर्षभरि महिला स्वन्त्रता, समानता र अधिकारका बारेमा चर्का चर्का बहस हुने गरेका छन् । तरपनि नारीमाथि असमानता, थिचोमिचो र पुरातनवादी सोंचबाट माथि उठ्न सकेको छैन हाम्रो समाज । अनि हाम्रै सोच पनि ।
हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भइसकेको छ । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदीबहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० नोभेम्बर २५ मा गरेको हत्यासंग जोडिएको छ । त्यसैले यसलाई ल्याटिन अमेरीकी देशमा महिला हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । यसरी यी तीन दिदीबहिनीहरूको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । पछि, सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात् गरी नोभेम्बर २५ को दिनलाई संसारभर नै महिलाविरुद्धको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरिएको हो ।
अहिले सामाजिक आर्थिकलगायत विकासका विविध क्षेत्रमा नारीहरुले फड्को मारिसकेका छन् । तर हाम्रो सामाजिक परम्परागत सोचले खै किन फड्को मार्न सकिरहेको छैन ? अझै पनि नारीलाई सहस्र स्वीकार गर्न असमर्थ छ हाम्रो समाज । हाम्रो पुरुषप्रधान सोंच र संस्कारले अझै महिलालाई अवला देख्न छोडेको छैन, साहस र संघर्षका पर्याय होइन, करुणाका खानी बुझ्न छोडेको छैन ।
तर जति अधिकार, समान सोच र अवधारणाका कुरा गरे पनि हाम्रो समाजमा महिला वा नारीलाई अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा लिने गरिन्छ । सामान्यतः महिलाहरुको हकहित सुरक्षा तथा संरक्षणका कुरालाई सामान्य अर्थमा महिला अधिकार भनिन्छ । महिलाले पाउनुपर्ने अधिकारबाट महिला आफैँ पनि कत्तिको जागरुक छन् वा राज्यले त्यसतर्फ कत्तिको चासो दिएको छ वा छैनन् ? आजको विषय हुन सक्छ । शिक्षा, स्वास्थ्य, रोजगार, नीति निर्माणमा महिलाको पहुँचमा अहिले पनि सोचेअनुसार प्रगति हुन सकेको छैन ।
अहिले पनि भेदभाव, शोषण खप्न बाध्य छन् नारी । आफ्नै घरमा पनि सुरक्षित छैनन् नारी । चुल्हो चौको सम्हाल्नेदेखि राज्यको नेतृत्व तहमा रहेका नारी आज पनि हिंसामा छन्, चाहे त्यो देखिने गरी होस् या नदेखिने गरी । तर हिंसा हिंसा नै हो । आफ्नै काका, दाजु, मामा, बाबा, हजुर बुवासम्मबाट शिकार भएका छन्, दिनहुँ बलात्कृत भएका छन् । घरेलु हिंसा खेप्न बाध्य छन् नारी । तर बोल्न सकिरहेका छैनन् । आज बोलेर के गर्नु भोलिको रोजीरोटी सम्झिन्छन् । अनि चुप लाग्नुको बिकल्प छैन नारीसँग । तिनलाई कठघरामा ल्याउने हदैसम्मम कानुन बनेका छन् तर कार्यन्वयनमा प्रभावकारिता छैन । अझै पनि महिलाहरूको समान नागरिकको हैसियतमा पहिचान स्थापित हुन सकेको छैन । संसारमा हरेक तीनमध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन् र यस्तो हिंसामा संलग्न पीडक महिलाले चिनेको, माया गर्ने र विश्वास गर्ने व्यक्ति हुने गर्दछन् ।
१६ दिन सम्मको दैनिक देशैभरिकागतिबिधिलाई हेर्ने हो भनेपनि विभिन्न अप्रिय घटना घटिरहे । शहरका सुकिला मुकिला महिला संघसस्थाहरुले कार्यक्रम गरे, भाषण गरे तर जसले आफ्नो सामान्य अधिकार पनि के हो, मैले गरेका कामहरुको मूल्यांकन कसले गर्छ होला, परिवारले ? समाजले ? कि राज्यले ? पत्तो पाउने अवस्था नभएका नारीहरुको पहुँचमा हामी पुग्नबाट चुक्यौँ कि भन्ने पनि प्रश्न उब्जिएको छ । यो बिचमा केही महिलाहरुसंग मैले समानताका कुरा गर्ने अवसर पाएँ र उनीहरुलाई जिज्ञासा राखेँ– साँच्चै परिवारको कस्तो–कस्तो सहयोग भयो भने महिलालालाई र त्यही घरको पुरुष सदस्यलाई समान अधिकार र समानताको आभाष हुन्थ्यो होला ? धेरैले त्यति ठुला अपेक्षा राखेको पाइनँ ।
बिहानसंगै परिवारका सक्ने व्यक्तिहरु उठ्नु । सबैले एकएक काम बाँडेर गरुन् । मिठो मसिनोसंगै बसेर खाऊन् र आ–आफ्नो काममा लागून् । हर हिसाब कहाँ, कति,कहिले, किन खर्च भयो भनेर महिलालाई पनि जानकारी गराऊन् । जागिर नगर्ने घरको काम धन्दा धानेर घरका अन्य सदस्यलाई अफिस पठाउनेजस्तो महान् काम गर्ने महिलालाई सम्मान गरुन् । आर्थिक रुपमा कुनै पनि किसिमको टक्क वचन सुन्न नपरोस् । पैसा कमाउने गरी जागिर गर्न विभिन्न परिस्थतिले नपाए पनि घरको कामको उच्च मूल्यांकन होस् । यी सबै कुरा महिला र पुरुष दुवैमा लागू होस् । यी र यस्तै समान्य तर हामीले खासै चासो नदिएका कुराहरु यत्ति मात्रै हुने हो भने पनि केही खुशी र महिलाको अस्थित्व रहेछ भन्ने आभाष हुथ्यो कि जस्तो पनि लाग्यो । तर हाम्रो समाज छोरीका कुरालाई अर्काको घरका जाने जातको कुरा पनि के मान्नु, बुहारीलाई किन सोध्नु, छोरालाई सोधे भैहाल्यो नि, हाम्रो सर्वेसर्वा छोरा नै हो, पृतसत्ताले यसरी गाजेको छ नि के थाहा भोलि त्यही छोराको ठाउँका बुहारीले पो त्यो घर धान्छे कि भन्ने । महिलाका कुरामा कुनै तात्विक अर्थ हँुदैन भन्ने हाम्रो परम्परा नै बसी सकेको छ । त्यही कुरा परिवारका अन्य सन्ततीहरुमा पनि सरेको देखिन्छ । छोराछोरीले बाबाको निर्णयलाई जति सजिलै स्विकार गर्छन्, त्यही आमाको कुरालाई सहज रुपमा स्विकार गरेको हामी देख्न, सुन्न र महसुस गर्न पाएका छैनाँै, यो सत्य हो ।
संगै अफिस पुगेर आएका श्रीमान् आएर सोफामा पल्टिँदा हत्तपत्त हातको ब्याग फालेर ‘हजुर पानी लिइस्योस् भन्न भ्याएका छन् नारी । घरायसी कामको कुनै लेखाजोखा नै छैन । बिहान ४ बजेदेखि राति ९–१० बजेसम्म नारीले गर्ने कामको खोइ त सम्मान गरिएको, अनि यो श्रम चाहिँ श्रम होइन ? नारीलाई बच्चा पाउने मेशिन, मनोरञ्जनको साधन, दोस्रो नागरिकको दर्जा, सामाजिक लाञ्छना जस्ता थुप्रै व्यवहारहरु अझै हट्न सकेको छैन । यो हटाउने कसले तपाई–हामीले होइन ? यो समाज हाम्रो होइन, ती पात्र हामी होइनौं, हाम्रो घरघरमा नारी छैनन् ? छन् भने यो सुधारमा हामी कहिलेबाट लाग्ने त ? प्रश्न यहाँनेर छ । समानता, मायाप्रेमबाट समाज घरपरिवार, राष्ट्र, सुधार्न सकिन्छ भने हामी किन सधैँ नकारात्मक बाटोमा मात्रै लाग्छौं ? सकारात्मक ढंगबाट पनि त अगाडि बढ्न सकिन्छ । सुरुवात आजैबाट र आफैंबाट गरौँ ।
हामी २१ औँ शताबदीका सचेत वर्ग अझै पनि यी र यस्तै कुरामा अल्झिएर बस्नु हँुदैन । नेपालको संविधानमा महिला हक, अधिकारका विषयमा थुप्रै व्यवस्था छन् । नीति निर्माणदेखि राजनीतिक सहभागिता अनि सामाजिक, आर्थिक, न्यायिक, धार्मिक समानताका कुरा उल्लेख छन् । तर खोई ती व्यवहारमा लागू भएका ? यसमाथि हामीले गम्भीर बहस गर्नुपर्ने बेला भएको छ । त्यसैले, नारीबिनाको संसार हामीले कल्पना पनि गर्न सक्दैनौँ । नारी सृष्टिकर्ता हुन्, आमा हुन्, छोरी हुन्, बुहारी हुन् यो ब्रह्माण्डको । तर पनि यही नारीको विकासमा हामी यति ढिला गर्छौं किन ? हुन त हिजो आजका महिलाहरुले ब्यक्तिगत सशक्तिकरणभन्दा सामाजिक सशक्तिकरणमा जोड दिन थालेको पाइन्छ र देखिन्छ पनि । पहिला आफूमै सशक्त हुन सके समाज सुधारमा हाम्रो प्रयास सार्थक हुन्छ कि ?