ज्ञानधरा पन्थ
व्यक्ति व्यक्ति बीचको प्रयासमा समाजको आर्थिक, सामाजिक, नैतिक र सांस्कृतिक हितका लागि समाजकै स्वावलम्बन, उत्तरदायित्व, लोकतन्त्र र समानताका पक्षमा आ–आफ्नो नेतृत्व र व्यक्तित्व विकासको उद्देश्यका साथ इमान्दारपूर्वक राज्यले दिएको विधि र सीमालाई पालन गरी सुरु भएको सामूहिक अभियान र आवाजलाई संस्था भनिन्छ ।
मानवले मानवको घृणा होइन, सम्मान गर्नुपर्छ, आपसी मेलमिलाप, सदभाव, मित्रतामा इमान्दारिता, आपसी समन्वय एवम सहकार्य र छलफलबाट राष्ट्र र समाजको हितमा अथाह योगदान, सहयोग र आउने पुस्तालाई असल संस्कार एवम् चलनहरु हस्तान्तरण गर्नु र राष्ट्रलाई आवश्यक योग्य नागरिकहरु तयार गर्नु सामाजिक संघसंस्थाको मूल उद्देश्य हो ।
सकारात्मक उद्देश्य र सकारात्मक सोचबाट निर्देशित कुनै पनि प्रतिफल सकारात्मक नै हुन्छ । भिन्न समुदाय, भिन्न परिवेशबाट आएका संस्थाका सदस्यको जमघटमा अनेक सोचहरु उत्पन्न हुनु, असन्तुष्टिहरु बढ्नु स्वाभाविक नै हो तर संस्थाको नेतृत्वले त्यसमा सामञ्जस्यता कायम गरी सबैका विचारको सम्मानस्वरुप चित्तबुझ्दो वातावरण तयार गर्नु पहिलो कर्तव्य हो ।
कुनै पनि संस्थाको उद्देश्य जति नै पवित्र रहेपनि त्यसलाई सञ्चालन गर्ने या कमाण्ड गर्ने व्यक्तिको नियत गलत रहँदा संस्थाप्रतिको, आस्था र आकर्षण क्रमशः घट्दै गएको र संस्था नै विघटनको दिशामा धकेलिरहेका कैयौं दृष्टान्तहरु हाम्रो अगाडि लुकेका छैनन् । नेतृत्वको अहंकारवादी सोच कुनै पनि संस्थामा हावी हुँदा प्रत्येकका उन्नति र प्रगतिका मार्गहरु अवरुद्ध हुने, त्यसमा आबद्ध सदस्यहरुको महत्वपूर्ण समय बर्बाद हुने र त्यस संस्थाको भविष्यसमेत अलपत्र हुन्छ ।
प्रतिशोध र बदलावको भावना बोकेर हिँड्ने निर्देशक आफूमै मानसिक रुपमा खुशी हुन त सक्दैन नै, त्योभन्दा बढी त्यसले सरोकारवालाहरुलाई समेत तनावमा राखिदिन्छ, सदस्यको उमेरको अपरिपक्वतालाई जहिले पनि प्रयोग गर्न सफल हुन्छ ऊ आफ्नो व्यक्तिगत स्वार्थ र अभिष्ट पूरा गर्नका लागि ! जव वर्तमानलाई सुखमय बनाउन सकिँदैन तव अनिश्चित स्वर्णिम भविष्यको परिकल्पनामा लामो समयसम्म सदस्यहरु अल्झेर बस्न सक्दैनन् । अग्रजले देखाएका असल मार्गदर्शनलाई अनुसरण गर्नु अनुजहरुको महान कर्तबव्य हो तर अग्रजहरुबाट नै आपसमा विभेदपूर्ण र पक्षपातपूर्ण व्यवहार प्रदर्शन हुन थाल्यो भने संस्थाको बागडोर सम्हाल्ने प्रमुख व्यक्ति नै ठुलो धर्म संकटमा पर्दछ र उसका कार्यकालका योजना समेत ओझेलमा पर्दछन् ।
कुनै पनि संस्थालाई मार्गदर्शन गर्ने अग्रज वा अभिभावकज्यूहरुमा इमान्दारिता र निस्वार्थरुपी भावनामा एकता हुन सक्यो भने मात्र त्यस संस्थाको गतिविधि सम्मान गर्नलायक, उदाहरणीय र सबैको गन्तव्यको गतिलो स्थल बन्न सक्दछ । त्यस संस्थाको उद्देश्यले सार्थकता पाउँदछ ।
भनिन्छ नि हाम्रा विचारका तरङ्ग पृथ्वीका कुनै पनि ऊर्जाभन्दा बढी शक्तिशाली हुन्छन् । नतिजाका लागि हतारिनुभन्दा सोचाइ सकारात्मक भयो भने हामीले गरिने प्रत्येक कर्मका फल पनि सकारात्मक नै हुन्छन् । प्रत्येकमा आफू लगायत यस जगतलाई खुशी, शान्तमय र सुखमय बनाउने सोच तयार हुँदा यस ब्रह्माण्ड नै खुशी र सुखी हुन्छ । एउटा व्यक्ति सुध्रिदा उसको घर सुध्रिन्छ, घर मात्र होइन समाज, राष्ट्र र विश्व सुध्रिन्छ । हामी बाँचिरहेको समयले हामीबाट धेरै राम्रा कुराको अपेक्षा गरिराखेको हुन्छ । हामीबाट थोरै थोरै उज्यालो प्रकाश बाहिरियो भनेपनि अँध्यारोमा रहेकोलाई आँखा देख्ने एउटा प्रकाशमय मार्ग तयार हुन सक्दछ ।
अनेक विकृतिका पोका भित्रिएका कतिपय संघसंस्थामा त्यहाँका व्यक्तिको मन र मष्तिष्कको शुद्धीकरण गरी उनीहरुको कुकार्यको अन्त्य गरेर मात्र समाज र राष्ट्र व्यवस्थित बन्न सक्दछ । विचारमा पवित्रता रह्यो भने संस्थाले गर्ने हरेक काम सफल र फलदायी रहन्छन्, जसले सम्बन्धित क्षेत्रका हरेक गतिविधिमा सार्थकता प्राप्त गर्न सक्दछ हरेक नागरिकको मन जित्ने गरी । अभियानले अगाडि सारेका कुनैपनि कार्यमा कतैबाट पनि प्रश्न आउँदैन । हो, होसपूर्ण मानसिकताले गरेका कुनै पनि कर्मले अरुलाई कहिलेपनि नोक्सान पु¥याउँदैन ।
मनन होस्, विश्व विराट छ, जहिले पनि राम्रोको लागि सुरुवाती ढिलो हुँदैन । म र मेरो व्यवहारबाट शितलता प्राप्त होस् निरन्तर भन्ने सोचको प्रत्येकमा विकास हुन सक्यो भने हामीले चाहेको र खोजेको सुन्दर र शान्तिमय समाज र राष्ट्र खोज्न कतै टाढा जानु पर्दैन ! आफ्नो खेमा, आफ्ना पक्षधर र राजनीतिक दलभन्दा निकै उच्च स्थानमा मानवता, समाज र राष्ट्र छ ।
यसरी आदर्शको स्थापना गर्ने, नैतिकताको सन्देश सम्प्रेषण गर्ने, ऐतिहासिक पक्षको दिग्दर्शन गर्ने, गतिशील जीवन प्रक्रियाको लागि सत्य र तथ्य कुराको उजागर गर्ने, सामाजिक जनजीवनको यथार्थ ढंगले प्रक्षेपण गर्ने र राज्यका विभिन्न रहनसहन तथा सांस्कृतिक गौरवको उद्घाटन गर्ने कुनै पनि संस्थाको मूलमर्म हुनुपर्छ ।