विमानस्थलले गतिशिलता नलिँदा पर्यटक क्षेत्रको लगानी जोखिममा

मेचीकाली संवाददाता

१० पुष २०७९, आईतवार
313 shares

दीपेश पछाई
भैरहवा । २०७१ माघ तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेसँगै रुपन्देहीमा ठूला होटलहरुको निमार्ण सुरु हुन थाल्यो । २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ मा आएर सम्पन्न भएको छ । विमानस्थल निमार्ण सम्पन्न भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।

विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित बने । तर जुन उद्देश्यले बनेको विमानस्थल हो, त्योअनुरुप सञ्चालनमा आउन नसक्दा अहिले पर्यटन व्यवसागयी निरास बनेका छन् । व्यवसासीहरु निराश मात्र होइन, पर्यटन क्षेत्रमा पछिल्लो ८ वर्ष लगानी भएको करिब ३० अर्ब रुपैयाँ पनि जोखिममा छ । व्यवसायीहरुले नियमित रुपमा बंैकमा किस्ता ब्याज बुझाउन सकिरहेका छैनन् ।
एयरपोर्ट सम्पन्न भएपछि लुम्बिनीमा बौद्धमार्गी पर्यटकको घुइँचो हुने आशामा होटलमा लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आयो तर पर्यटन क्षेत्रमा योगदानपुग्ने भन्दा पनि नेपाली युवाहरुलाई मजदुरीका लागि तेस्रो मुलुक पठाउने एयरपोर्टका रुपमा परिचित हुन थाल्यो । अन्तर्राष्ट्रिय हवाई उडान, भारतसँग जोडिएको बेलहिया–सुनौली स्थलमार्ग, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, औद्योगिक तथा कर्पोरेट क्षेत्र, बढ्दै गइरहेको मध्यम तथा उच्च–मध्यम वर्गीय परिवारका कारण रुपन्देहीमा होटेल खोल्ने यो बिचमा लहरै चल्यो । भैरहवामा तारे होटलसँगै स्तरीय रेस्टुरेन्टहरू पनि सञ्चालनमा आए र केही आउने क्रममा छन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा बुद्धिष्ट पर्यटक ओइरिने आशामा पर्यटन व्यवसायीहरुले लगानी गरेको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । तर विमानस्थल ठिक विपरीत मजदुर ओसारपसार गर्ने विमानस्थलका रुपमा परिणत हुन थाल्यो । ‘विमानस्थलबाट चीन, थाइल्याण्ड, बर्मा, भुटान, जापान, श्रीलङ्का, भियतनामलगायत बुद्धिष्ठ मुलुकहरुमा विमान सञ्चालनमा आउनुपर्ने हो तर त्यसो हुन नसक्दा पर्यटन व्यवसायमा भएको ठुलो लगानी जोखीममा पर्दै गएको छ ।’ उनले भने । एयरपोर्ट निर्माण सुरु भएपछि रुपन्देहीको तिलोत्तमामा लक्जरियस पाँचतारे होटल टाइगर प्यालेस सञ्चालनमा आयो । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजको करिब पाँच अर्ब लगानीमा सञ्चालनमा आएको टाइगर प्यालेस बनायो । पर्यटक ओइरिने आशामा बुटवल, भैरहवा लुम्बिनी मात्र हैन ग्रामीण क्षेत्रमा पनि स्तरीय होटल बने । समुन्द्रको पकिल्पनासहित कृत्रिम तालमाथि लक्जरियस ‘लुम्बिनी प्यालेस रिसोर्ट’ सञ्चालनमा आयो ।

अहिले भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ । एयरपोर्ट देखेरै दर्जनभन्दा बढी तारे होटल सञ्चालनमा आइसकेका छन् भने त्यति नै होटल निर्माण तथा सञ्चालनको तयारीमा रहेको सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष विष्णु गौतम बताउँछन् । भैरहवा विमानस्थल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वास पर्यटन व्यवसायीको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म आउने बौद्धमार्गीहरु आउने विश्वास थियो । तर विमानस्थल सञ्चालनमा आएको सात महिना बितिसक्दा पनि बुद्धधर्म मान्ने मुलुकहरुसँग प्रत्यक्ष जोडिएर विमान सञ्चालन गर्ने अवस्था अझै बन्न सकेको छैन । जसका कारण पर्यटन व्यवसयीहरु चिन्तित भएको बताउँछन् होटल संघका अध्यक्ष सिपी श्रेष्ठ ।
अन्तर्राष्ट्रिय हवाई उडान, भारतसँग जोडिएको बेलहिया–सुनौली स्थलमार्ग, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, औद्योगिक तथा कर्पोरेट क्षेत्र, बढ्दै गइरहेको मध्यम तथा उच्च–मध्यम वर्गीय परिवारका कारण रुपन्देहीमा होटल खोल्ने लहरै चल्यो । भैरहवामा तारे होटलसँगै स्तरीय रेस्टुरेन्टहरू पनि सञ्चालनमा आइरहेका छन्न् ।

०७१ देखि ०७९ सम्म आइपुग्दा आठ वर्षको अवधिमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सात किलोमिटर दूरीमा मात्रै तारे होटेलहरूमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उपाध्यक्ष गौतम बताउँछन् । पछिल्लो आठ वर्षमा भैरहवा क्षेत्रमा एक अर्बभन्दा बढी लगानीका सात होटेल निर्माण भए, जसमध्ये चार होटेल सञ्चालनमा आइसकेका छन् भने तीन होटल सञ्चालनको अन्तिम तयारीमा छन्  ।

पाँचतारे होटल पवन प्यालेसमा साढे दुई अर्ब रुपैयाँ लगानी भएको छ । यस होटलमा एक सय ४७ कोठाहरू रहेको प्यालेसका उपाध्यक्ष सुरज थापाले बताए । यस्तै, एक अर्बभन्दा बढी लगानीमा लुम्बिनी रोडमा बहुराष्ट्रिय चेन होटेल ‘होली डे इन’ सञ्चालनमा आउँदै छ । एक सय २५ कोठाहरू रहने होली डे इन सञ्चालनमा आउन अझै दुई वर्षजति लाग्ने होटलका सञ्चालक सुरज उप्रेतीले बताए । भैरहवा–बुटवल सडक खण्डको अञ्चलपुरमा निर्माण भइरहेको पाँचतारे होटल सिद्धार्थ सञ्चालनको अन्तिम तयारीमा छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले साढे दुई अर्ब लगानी गरेको होटल सिद्धार्थ तीन महिनाभित्र सञ्चालनमा आउने छ ।
भैरहवाको बुद्धचोकमा घिमिरे समूहले पाच अर्बभन्दा बढी लगानी गरेर लक्जरियस पाँचतारे होटेल निर्माण गरिरहेको छ । एसियन फर्मास्युटिकल्स सञ्चालन गरिरहेको यो समूहले भैरहवामा एसियन इन्टरनेसनल रिजेन्सी होटेल सञ्चालनमा ल्याउन लागेको हो । यो होटल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने बताइएको छ । भैरहवा–नवलपरासी सडकखण्डमा सञ्चालित बोधि रेडसन होटलको स्तरोन्नतिको काम सकिएको छ । बोधि रेडसन स्तरोन्नतिपछि क्यासिनो पनि सञ्चालनमा ल्याएको छ ।
नेपाल–भारत नाकानजिकै बेलहियामा निर्माण थालनी गरेको पाँचतारे होटल ‘नान्स–२’ भुसाल समूहले खरिद गरेर सञ्चालनको तयारीमा छ । भुसाल समूहले खरिद गरेसँगै ‘मेघा–२’ नामबाट सञ्चालनमा आउने यस पाँचतारे होटलमा एक सय १७ कोठाहरू हुनेछन् । यो होटल सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने सञ्चालक बालकृष्ण भुसालले बताए ।

भुसाल समूहले रुपन्देहीमा सञ्चालन गर्न लागेको यो दोस्रो होटल हो । यो समूहले रुपन्देहीको मणिग्राममा मेघा–१, बेलहियामा मेघा–२ र बुटवलमा मेघा–३ होटेल निर्माण गरिरहेको छ । बेलहियामा निर्माण भइरहेको पाँचतारे मेघा–२ होटलमा साढे दुई अर्ब लगानी हुने भुसालले बताए । यो होटलमा क्यासिनो पनि सञ्चालन गर्ने लक्ष्यसहित निर्माण थालिएको हो ।
अहिले बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा सञ्चालित ठूला होटलमा टाइगर प्यालेस, पवन प्यालेस, लुम्बिनी प्यालेस रिसोर्ट, होटेल कसाई, बुद्धमाया गार्डेन, होटल होक्के, नान्स, बोधि रेडसन, होटेल निर्वाणा, होटल जाम्बाला, लुम्बिनी गार्डेन न्यू क्रिस्टल, होटेल यती, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, होटल मौर्यलगायत छन् । होटल रेडसन, मौर्य, नान्स, निर्वाणा र लाकौलले क्यासिनोसमेत सञ्चालन गरेका छन्न् ।

विमानस्थल शिलान्यास भएपछि विमानस्थलवरिपरि ५० भन्दा कम कोठाहरू भएका करिब ३५ नया होटलहरू थपिएको सिद्धार्थ होटेल एसोसिएसनको भनाइ छ । १० देखि ४० करोड रुपैयाँसम्म लगानी भएका यी होटेलहरू अधिकांश सञ्चालनमा आइसकेको एसोसिएसनका उपाध्यक्ष गौतमले बताए । यी होटलमा करिब सात अर्ब लगानी भएको उनको भनाइ छ । अहिले होटल व्यवसायीका लागि रुपन्देही नया गन्तव्य बनेको छ । काठमाडौं, पोखरा र चितवनमा लक्जरी होटेल चलाइरहेका व्यवसायीको ध्यान पनि भैरहवा–लुम्बिनीले तानेको छ । ठूला व्यवसायिक घरानाहरू पनि लुम्बिनीमा होटल खोल्ने तयारीमा छन् ।

रुपन्देहीमा होटल व्यवसाय गर्ने नयाँ तथा पुराना सबै व्यवसायीको आशा भनेकै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यो विमानस्थल सञ्चालनमा आएपछि ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आउने अपेक्षा गरिएको छ । अहिले भैरहवा तथा लुम्बिनी क्षेत्रमा ठूलो संख्यामा होटल सञ्चालनमा आइसकेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि व्यवसाय सहज हुन्छ कि भन्ने आशा राखेका थियौँ तर सुधार हुने अवस्था नदेखिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । भैरहवामा रात्रिकालीन सेवालाई पनि प्राथमिकता दिनुपर्ने होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपाने बताउँछन् । भारतीय नाका र अन्तर्राष्ट्रिय विमानस्थल भएपछि राति १० बजेपछि होटेल–रेस्टुरेन्ट व्यवसाय बन्द गर्ने स्थानीय प्रशासनको नियम परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । अर्बौँ लगानी भएको क्षेत्रको लगानी सुरक्षामा सरकार प्रतिबद्ध हुन आवश्यक रहेको उनले बताए ।