भैरहवामा आजदेखि लुम्बिनी महोत्सव

मेचीकाली संवाददाता

४ मंसिर २०८२, बुधबार
8 shares

भैरहवा। भैरहवामा आज (बुधबार) देखि ‘सातौं लुम्बिनी महोत्सव–२०८२’ सुरु हुँदैछ । महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) ले महोत्सवको पूर्वसन्ध्यामा मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको जनाएको हो । महोत्सव मूल समारोह समितिका संयोजक तथा चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोकाले महोत्सवका लागि ९० प्रतिशत भन्दा धेरै तयारी पूरा भएको बताए ।

‘स्थानीय बजारमा खरिद गरी स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ बुधबार देखि सुरु हुने महोत्सवको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा संविधान सभा सदस्य ईश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयबाट एकसाथ गराइने छ । मंसिर २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको कृषि, पर्यटन, उद्योग र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य छ । महोत्सव स्टल व्यवस्थापन समितिका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सवमा स्टल राख्ने व्यवसायीको बढ्दो संख्याले व्यवस्थापन गर्न समस्या भएको दावी गरे ।

यादवका अनुसार महोत्सवमा उद्योगतर्फ १ सय, कृषि २०, पर्यटन ४०, संघसंस्था २०, बैंक वित्तीय १० र व्यापारतर्फका १ सय ६० गरी ३ सय ५० वटा स्टल रहने छन् ।
महोत्सवका लागि गरिने अनुमानित लगानी १ करोड रुपैयाँ छ भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवबाट ५ करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ । यो महोत्सवको विशेष आकर्षण जलपरी, फिसटनेल, बालउद्यान र स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती छ ।

सांस्कृतिक उपसमिति संयोजक तथा संगठनका सल्लाहकार नारायणप्रसाद भण्डारीले सांस्कृतिक कार्यक्रमका लागि मञ्च ११ देखि ३, ३ देखि ५ र ५ देखि ८ बजेसम्म क्रमशः स्थानीय बिद्यालय स्तरीय नृत्य तथा कार्यक्रम, प्रदेश स्तरीय नृत्य तथा कार्यक्रम र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने जानकारी दिए । उनका अनुसार महोत्सवमा प्रिती पासवान, एलिना चौहान, दुर्गेश थापा, हेमन्त शर्मा, स्थानेश्वर गौतमलगायतका कलाकारको प्रस्तुती रहने छ ।

संगठनका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा सरसफाइलगायत खाद्यबस्तुको गुणस्तरीतामा बिशेष ख्याल गरि प्रभावकारी रुपमा अनुगमन गरिने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले महोत्सवमा घरेलु तथा हस्तकलाका उत्पादनलाई प्राथमिकता दिँदै नव उद्यमीकर्ताका लागि महोत्सव विश्व विद्यालयको रुपमा सिक्ने स्थल बन्नुपर्ने बताए । संगठनका महासचिव लक्ष्मी अधिकारीले महोत्सव सफलताका साथ सम्पन्न गर्न सबैलाई आग्रह गरीन् ।