गुल्मी अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

मेचीकाली संवाददाता

१६ पुष २०७९, शनिबार
323 shares

टोपलाल अर्याल
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ का ४२ वर्षीय लालबहादुर सुनारले घुँडा सुन्निएपछि २० दिन निकै पीडा खेपे । समस्या बल्झिदै गएपछि केहीदिन पहिले गुल्मी अस्पताल आए । दुखाई अत्यधिक भएकाले सुनार विक्षिप्त थिए । उनलाई गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदिप शिवाकोटी, डाक्टर श्रुति सिलवाल र डाक्टर मिलन भुसालसहितको टोलीले अप्रेसन गरे । अप्रेसन गरेर घुँडामा जमेको पीप निकालपछि सुनार अहिले बैशाखीको सहारामा हिँडडुल गर्न सक्ने भएका छन् ।

‘जिल्लामै उपचार पाएर ठुलो सौभाग्य पाएँ । म बाहिर जानसक्ने अवस्थामा पनि थिइनँ,’उनले भने,‘ अब थुप्रैले सेवा पाउने पाए ।’ सुनारको सवै उपचार निःशुल्क भएको छ । सोही उपचार गर्न सुनार बाहिर गएको भए ५० हजारभन्दा माथि खर्च हुन्थ्यो ।
गुल्मी अस्पतालमा हाडजोर्नी सेवा सुरु भएको छ । रेसुङ्गा नगरपालिका र अस्पतालको सहकार्यमा हाडजोर्नीको सेवा सुरु भएको हो । गुल्मी अस्तालमा हाडजोर्नी विशेषज्ञ र उपचार नहुँदा कैयाँै बिरामी बाहिर जान बाध्य थिए । हाडजोर्नी फुटेको, खिइएको, प्लास्टर गर्नुपर्ने, बाङ्गो भएकोलगायतका सेवा अब गुल्मी अस्पतालबाटै प्रदान गरिने अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । जिल्लामा हाडजोर्नीको समस्या भएका बिरामीहरुको संख्या धेरै भएपनि जनशक्ति र उपकरणको अभावमा गुल्मी अस्पतालले सेवा दिन सकेको थिएन । सेवासम्बन्धी बिहीबार अस्पतालको तर्फबाट अध्यक्ष भरत पाण्डे र प्रमुख उत्तम पाच्या एवम् नगरपालिकाको तर्फबाट नगरप्रमुख खिलध्वज पन्थीबीच सम्झौता गरिएको छ । अब हाडजोर्नीको समस्या भएका व्यक्ति जिल्ला बाहिर जान नपर्ने भएको छ ।

अस्पतालले हाडजोर्नीको विशेषज्ञ उपलब्ध गराउने र नगरपालिकाले विशेषज्ञलाई प्रोत्साहन भत्ता र सिआर मेसिनसहितको व्यावस्थापनमा सहयोग गर्ने सम्झौता गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । नगरपालिकाले मेसिन खरिदको प्रक्रिया थालेको छ । आफू निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकका महत्वपूर्ण निर्णयहरु कार्यान्वयन भइरहेको पन्थीले बताए । बैठकमा स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर गुल्मी अस्पतालमा मृगौला पीडितको निःशुल्क डाइलोसिस गर्न मेसिन खरिद गर्ने र नेपाल नेत्रज्योति संघसँगको सहकार्यमा नगरभित्रका नागरिकको आँखाको शल्यक्रिया निःशुल्क गर्ने निर्णय भएको थियो ।

जसमध्ये आँखाको शल्यक्रिया निःशुल्क गर्ने काम सुरु भइसकेको छ । मृगौला पीडितको निःशुल्क डाइलोसिस गर्न डाइलोसिस मेसिन खरिद र व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको मेयर पन्थीले बताए । ‘गुल्मी अस्पताललाई हाम्रो अस्पताल बनाउने अभियानमा जुटेका छौँ । डाइलोसिस मेसिन, विशेषज्ञ सेवादेखि अस्पतालका थुप्रै काममा सहजीकरणको योजना छन्,’उनले भने,‘यो पुण्य कर्ममा सबैको साथ र सहयोग आवश्यक छ ।’