शिवशिखर सहकारीका बचतकर्ताको बिल्लीबाठ !

मेचीकाली संवाददाता

२५ माघ २०७९, बुधबार
310 shares

बुटवल । बुटवलका ६१ वर्षीय ऋषिकुमार गिरीले बुढेसकालमा काम लाग्ला भनेर सहकारीमा पैसा जम्मा गरे । तर, अहिले अप्ठ्यारो परिस्थितिमा पनि आफूले जम्मा गरेको रकम पाउन सकेका छैनन् । उनले ई–रिक्सा चलाएर कमाएको पैसा दैनिक २०० रूपैयाँका दरले बुटवलको योगिकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा जम्मा गर्दै आएका थिए । अहिले काम परेपछि आफ्नो बचत फिर्ता माग्न थालेको दुई महिना भयो । तर, सरकारीले गिरीको रकम दिएको छैन ।

‘ब्याज त परको कुरा, आफूले बचत गरेको सावाँसमेत फिर्ता पाएको छैन । यसो बुझ्दा सहकारी समस्यामा परेर निक्षेपकर्ताको रकम दिएको रहनेछ । हामीजस्ता मजदूरको पैसा खान खोज्दैछ,’ गिरीले दुःखेसो पोखे । उनी आफूले जम्मा गरेको ४२ हजार पैसा लिन भन्दै दैनिक शिवशिखरको कार्यालयमा आइपुग्छन् । तर, उनले निक्षेप फिर्ता पाउन सकेका छैनन् । बुटवलमा आफैं केही गरौं भन्ने उद्देश्यसहित मोबाइल बिक्री गर्दै आएका गुल्मीका राजेन्द्र झाँक्रीले शिवशिखर सहकारीमा जम्मा गरेको रकम फिर्ता लिन जान थालेको २ महिनाभन्दा बढी भयो । आफ्नो बचत फिर्ता मागेपछि सहकारीले उनलाई ७२ हजार रूपैयाँको चेक त दिएको छ, तर खातामा पैसा नहुँदा सहकारीको चेक साटिएको छैन । झाँक्री भन्छन्, ‘व्यापारको केही रकम कटाएर बचत गरी ७२ हजार रूपैयाँ पुगेको थियो । अहिले सहकारीले निक्षेप रकम पनि फिर्ता दिएको छैन । स–सानो पूँजी जम्मा गर्ने निक्षेपकर्तालाई अहिले शिवशिखरले पुर्पुरोमा हात लगाएर बस्नुपरेको बनायो ।’

बुटवलको देवीनगरका नरबहादुर बुचाले शिवशिखर सहकारीमा बचत गरेको २६ हजार रकम अब फिर्ता पाउने आशा मारिसकेका छन् । ‘सहकारीले पैसा माग्दा फिर्ता दिएन, अब म त्यहाँबाट सामान भए पनि उठाएर ल्याउँछु,’ बुचाले भने । बुटवल उपमहानगरपालिका–१०, योगीकुटीमा रहेको शिव शिखर कार्यालयमा हरेक दिन बचतकर्ताको भीड लाग्ने गरेको छ ।

सहकारीका सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन छन् । हाल रकम भुक्तानीको सबै सुविधा बन्द छ । अहिले सहकारीमा बचत गरेका सयौं बचतकर्ता आफूले जम्मा गरेको रकम फिर्ता नपाएपछि तनावमा छन् । निक्षेपकर्ताहरूले पटक–पटक ताकेता गर्दा पनि सहकारीले कुनै सुनुवाई गरेको छैन । पीडितहरूले नियमक निकायमा ध्यानाकर्षणसमेत गराइरहेका छन् । नियमक निकायले पनि कुनै पहलकदमी लिन नसकेकोमा निक्षेपकर्ताहरू रूष्ट छन् । उक्त सहकारीमा बचतकर्ताको झण्डै ५÷६ करोड बराबर रकम छ । सहकारीले दिएको पैसा नभएको चेक बोकेर कार्यालय पुग्ने बचतकर्ताहरू निराश भएर फर्किने गरेका छन् । गत महिना सहकारी कार्यालयमा बचतकर्ताहरूको भीड बढ्दै गएपछि सञ्चालकहरूले माघ ७ गतेभित्र सबै रकम भुक्तानी दिने आश्वासन दिए । तर, अहिलेसम्म फिर्ता दिएका छैनन् ।

सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि गएको कात्तिकदेखि नै बचतकर्ताहरूले सहकारीबाट रकम झिक्न खोजेका थिए । सहकारीले केही दिन बचत रकमका आधारमा एक दिनमा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म सीमा तोकेर भुक्तानी दिएको थियो । सहकारीले सञ्चालन गरेको ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’लाई चेक दिएर त्यहाँबाट सामान लैजानसमेत भन्यो ।

समस्या आएपछि सञ्चालक समितिका पदाधिकारी र कार्यालय व्यवस्थापक सम्पर्कविहीन छन् । उनीहरूले मोबाइल फोन अफ छ । बचत फिर्ता नपाउँदा उजुरी गर्ने निकाय नभेटेको बचतकर्ताहरूले गुनासो छ । सहकारी ऐनमा बचतकर्ताले जम्मा गरेको रकम उसले चाहेको समयमा झिक्न पाउने प्रावधान छ । सहकारी ठगी, त्यहाँ भइरहेको अनियमितता र पीडितले भोगिरहेका समस्याका यी प्रतिनिधि पात्र हुन् ।

लुम्बिनी प्रदेशका सहकारी दर्ता अधिकारी (रजिस्ट्रार) भीमप्रसाद तिवारीले शिव शिखर सहकारी केन्द्रबाटै निर्देशित हुँदा आफूहरूले केही गर्न नसकेको बताए । ‘शिवशिखर उपभोक्ता सहकारी मोडलको रहेछ,’ तिवारीले भने, ‘उपकार ब्रान्डलाई मार्केटिङ गर्ने नियतले सहकारीमा शेयर सदस्य बनाइएको रहेछ ।’ ‘आफ्ना सामान बिक्री गर्ने नियतले सहकारीमा सदस्य बनाइयो अहिले आएर समस्यामा पर्दा बचतकर्ताको रकम फिर्ता गर्न सकेन,’ उनले थपे, ‘देशभर कार्यक्षेत्र बनाएको रहेछ । यसका अन्य शाखाहरूमा पनि यहाँको समस्याले गर्दा अप्ठ्यारोमा पर्ने देखियो ।’

स–सानो पूँजी परिचालन गर्ने सहकारीको नियमन तथा सुपरिवेक्षण चुस्त हुनुपर्ने हो । तर, नियमन प्रभावकारी नहुँदा जनताको ठूलो निक्षेप जोखिममा परेको छ ।
जिल्ला सहकारी संघ, रूपन्देहीका अध्यक्ष भीमप्रसाद तुलाचनले शिवशिखर सहकारी ऐन, नियम र सिद्धान्तविपरीत चल्दा समस्याग्रस्त बन्न पुगेको बताए । ‘सहकारीको मूल मर्म भनेको ऋण लगानी बचतकर्तामा गनुपर्ने हो,’ तुलाचनले भने, ‘शिवशिखरले बुटवलवासीबाट रकम संकलन ग¥यो । ऋण लगानी कहाँ ग¥यो कसैलाई थाहा छैन, जसले गर्दा समस्या आइलागेको हो ।’ तुलाचनले थपे, ‘सहकारीले बचतकर्ता केन्द्रित लगानी गर्नुपर्छ । हामीले समस्या केमा प¥यो भनेर रेकर्ड माग्दा सहकारीले दिएन । केन्द्रमा दर्ता भएर सञ्चालनमा आएको हुँदा हामीले नियमन गर्न पनि सकिएन । जसरी पनि सहकारीले छिटो बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ ।’

तुलाचनले शिवशिखर जस्तै बुटवलको सुप्रिम सहकारीमा पनि समस्या देखिएको बताए । सुप्रिमले पनि बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन । सहकारीका सदस्यहरू आफ्नो रकम फिर्ता माग्दै तीन महिनादेखि सहकारीमा पुगे पनि रकम झिक्न पाएका छैनन् । सहकारीहरूमा समस्या देखिन थालेपछि बचतकर्ता तर्सिन थालेका छन् । ठूलो संख्यामा रहेका सहकारी संस्थाको नियमन र सुपरीवेक्षण चुनौतीका रूपमा देखिएको छ । शिवशिखर सहकारीका व्यवस्थापक प्रदीप श्रेष्ठ पटक–पटक सम्पर्क गरिएपनि उनी सम्पर्कमा आउन चाहेनन् ।