

हरि शर्मा
परासी, माघ २५ । गाउँको साँघुरो बाटो । बाटोको दुवै छेउमा झिझा दाउराले बारेर बनाइएका कच्ची झुप्रा घर । स्थानीय भाषामा यस्तो झुप्रोलाई खडई (खर) र टाटीले बनाएको घर भन्ने गरिन्छ । चैत/वैशाखको हुरीसँगै उडेर जाने जस्ता त्यस घरमा बसोबास गर्ने समुदायको अवस्था कन्तविजोग छ । तिनै घरबाहिर बसेर केही महिलाहरु खाना पकाउँदै छन् । खाना पकाउँदै गरेको स्थान वरपर बालबालिकाहरु आगो तापेर खेलिरहेका छन् । खाली खुट्टा र कठ््यांग्रिने जाडोमा सामान्य लुगामा आगो ताप्दै गरेका बालबालिकाहरुको दृश्य करुणादायी छ । स्कुल जाने समयमा पनि बालबालिकाहरु घर वरपर खेलेका छन् । वस्तुभाउ खुला आकाशमुनि बाटो छेउमै बाँधिएका छन् ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मुसहर बस्तीमा देखिएको टिठ लाग्दो दृश्य हो यो । मुसहर जातीको दैनिकी मजदुरी गरेर बित्ने गरेको छ । स्कुल जाने बालबालिकादेखि पाका उमेरका पुरुष र महिलाहरु मजदुरी गर्न जाने गरेका छन् । बस्तीमा न खानेपानीको व्यस्था छ । न शौचालयकै । हरेक पाँच वर्षमा चुनाव हुन्छ । चुनावबाट स्थानीयदेखि संघमा जनप्रतिनिधिहरु फेरिन्छन् । तर यहाँका मुसहर जातीको जीवन भने फेरिन सकेको छैन । चुनावको बेला खोक्रा आश्वसान बाँडेर जनप्रतिनिधिहरु आफ्नो स्वार्थ पूरा भएपछि फर्केर पनि आउँदैनन् भन्दै स्थानीयले गुनासो गरे । सरसफाईमा ध्यान नदिँदा त्यस समुदायमा विभिन्न रोग प्रकोपको सम्भावना पनि उत्तिकै छ । नवलपरासी जिल्ला ‘खुला दिसा मुक्त’ घोषणा भएपनि मुसहर बस्तीका स्थानीय भने अझै पनि खुलारुपमा शौच गर्दै आएका छन् ।
शौचालय नहुँदा बाहिरै शौच गर्न जानुपर्ने बाध्यता रहेको स्थानीय मेटुले मुसहरले बताए । यो समुदायको रोजगारी भनेकै ज्यालामा अरुको काम गर्नु हो । पुरुषहरु घर जोडाइ (इटाको गारो लगाउने) र खनजोत गर्न जाने गर्दछन् भने महिलाहरु खेतीबाली लगाउन जाने गरेका छन् । स्कुल जाने उमेर समूहका बालबालिकाहरु पनि खेतमा गएर काम गर्ने गरेको अर्का स्थानीय मुक्तिलाल मुसहरले बताए । साहु महाजनको खेतमा दैनिक ज्यालादारी गरी मजदुरीबापत पाउने खाद्यन्न र केही रकमले परिवार पाल्नु परेको उनीहरुको गुनासो छ । ‘मजदुरी गरेर पेट पाल्नु नै हाम्रो दिनचर्या हो । छोराछोरीलाई पढाउनु, नयाँ लुगा लगाउनु र मिठो खानु हाम्रा लागि आकाशको फल जस्तै हो ।’ स्थानीय सुनिल मुसहरले भने ।
। यो क्षेत्र डलरअर्बपति विनोद चौधरीले जितेको क्षेत्रको हो । चुनावका बेला चौधरीले पनि विभिन्न आश्वासन दिएर गएका छन् । तर पूरा हुनेमा भने विश्वस्त छैनन् । २४ वर्षसम्म चुनाव जितेर गएका हृदेयश त्रिपाठीको उदाहरण दिँदै स्थानीय छन्नु मुसहरले भने,‘त्रिपाठी चुनाव जितेर मन्त्रीसमेत भए । हाम्रो अवस्था भने जस्ताको तस्तै छ । अहिले जितेर गएका चौधरीको पनि आश्वसान मात्र त होला ?’ चुनावको समयमा रोजगारीदेखि शिक्षा र घर बनाइदिने भन्दै नेताहरुले आश्वसान दिएपनि जितेर गएपछि सबै बिर्सने गरेको उनीहरुको भनाइ छ । गाउँपालिकामा यो समुदायबाट महिला वडा सदस्य जनप्रतिनिधिका रुपमा चुनिएका छन् । ‘हाम्रो समुदायका सबै परिवारले मजदुरी गरेर खाने हो । राम्रो कपडा किनेर समेत लगाउन सक्दैनन् । राम्रो घरको कसरी कल्पना गर्नु ?’ वडा सदस्य सावित्री मुसहरले भनिन् । आफू पहिलोपटक जितेर गएकाले समुदायका लागि केही पहल गर्ने उनको भनाइ छ । सुरक्षित घर नहुँदा यो समुदाय जाडोको समयमा चिसो छेक्नका लागि घरबाहिरको चारैतिरबाट थोत्रा कपडाले बेरेर बस्ने गरेका छन् । वर्षायाममा त अरुकै घरमा गएर बस्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
५४ हजारको हाराहारीमा जनसंख्या रहेको यो गाउँपालिकामा ३७ प्रतिशत गरिब छन् । दलित र मुसहर जातीको संख्या २४ प्रतिशत रहेको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । सबै क्षेत्रबाट पछाडि परेका र पारिएका मुसहर समुदायको जीवनयापन र अवस्था सुधार गर्नका लागि पालिकाले तीनै तहका सरकारसँग समन्वय गर्ने यादवको भनाई छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, सडकलगायतका समस्या छन् । यसका लागि पालिकाको स्रोतबाट हुन सक्ने काम सुरु गर्ने र गर्न नसकिने काम प्रदेश र संघ सरकारसँग पहल गर्छौ ।’ यादवले भने । गाउँपालिकाले छिट्टै नै दलित बस्ती विकास कार्यक्रम, खाजा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष यादवले बताए । पालिकालाई खरको छानामुक्त बनाउन योजना रहेको उनले सुनाए । गाउँपालिकाको साढे तीन लाखको लागतमा सुरक्षित आवास बनाउने गरी प्रदेश र संघ सरकारसँग पहल भएको उनको भनाई छ । मुसहर र दलित जातिका लागि करिब एक हजार सुरक्षित घर बनाउने सोंच गाउँपालिकाको छ । आफ्नो कार्यकाल अवधिभर एक हजार सुरक्षित घर बनाउने अध्यक्ष यादवले दाबी गरे ।