गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: अबको सिजनमा बिजनेस बढ्ने आशा

मेचीकाली संवाददाता

२७ कार्तिक २०८२, बुधबार
54 shares

अमृत गिरी

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी, आसपासका बुद्धसँग सम्बन्धित पुरातात्विक एवम् ऐतिहासिक क्षेत्रहरु र नजिकैका हिल स्टेशनहरुमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरेर भैरहवामा अर्बौं रूपैयाँको लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको तीन वर्षभन्दा धेरै हुन लाग्दा पनि अझै नियमित अन्तर्राष्ट्रिय उडानको चहलपहल हुन सकिरहेको छैन भने सिजन उडानमा पनि प्रयाप्त उत्साह देखिँदैन ।
भौतिक पूर्वाधार, नेभिगेशन प्रणाली र इन्धन सुविधा सबै तयार भए पनि अन्तर्राष्ट्रिय एयरलाइन्सका स्थायी कार्यालय, प्राविधिक जनशक्ति र इमिग्रेशनसँग सम्बन्धित सबै कार्यालयहरु भैरहवामै स्थापना नहुँदा विमानस्थल सुनसान झैँ छ । सातामा दुई पटक थाइ एयरको एउटा मात्रै विमान आउ जाउ गरिरहेको छ ।

आकर्षक सुविधाले पनि बढाएन विजनेस
विमानस्थल सक्रिय बनाउनका लागि थुप्रै छुट नीति ल्याएको छ । ल्याण्डिङ, पार्किङ र नेभिगेशन शुल्कमा पूर्ण छुट दिइएको छ । यात्रु सेवा शुल्कमा पनि छुट व्यवस्था गरिएको छ । तरपनि विमानस्थलको विजनेस बढ्न सकेको छैन ।

नेपाल वायु सेवा निगमलाई ग्राउण्ड–ह्यान्डलिङमा ७५ प्रतिशत छुट र सबै विमानका लागि प्रति किलो–लिटर इन्धनमा १०० डलर छुटको व्यवस्था छ । तर यस्ता सुविधा भएपनि एयरलाइन्स कम्पनीका स्थायी प्राविधिक, ग्राउण्ड स्टाफ र सम्पर्क कार्यालय अभावमा अन्तर्राष्ट्रिय फ्लाइट नियमित हुन सकेका छैनन् । न त काठमाडौबाट डाइभर्ट भएका विमानहरु आउँछन् ।
विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले नियमित उडानका लागि र विजनेस वृद्धिका लागि नयाँ नयाँ जुक्ति र पहल भइरहेको बताए । उनले कस्तो जुक्ति हो भन्ने बारेमा छलफलमै रहेको उल्लेख गरे । एकछिनको डाइभर्टले केही फाइदा नहुने बरु सिजनल उडानलाई नियमित बनाउनेतर्फ लाग्नु नै उचित हुनेमा जोड दिँदै साहले भने,‘दैनिक वा साप्ताहिक नियमित उडान सञ्चालन हुन सके मात्र वास्तविक बिजनेस हुन्छ ।’

अहिले विमानस्थलबाट ठूलो विमान कम्पनी मानिएको थाई एयर एसियाले सातामा दुई वटा उडान गरिरहेको छ । आइतबार र बुधबार गरि सातामा दुईवटा उडान भइरहेका छन् । अस्तीको आइतबार मात्रै उक्त जहाजबाट १२६ जना बैंकक प्रस्थान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । बैंककबाट आएका २६ जना भैरहवा अवतरण गरेका छन् । आज बुधबार अर्को उडान हुनेछ ।

नियमित उडान भए पर्यटन तङ्ग्रिन्छ
लुम्बिनी, तिलौराकोट, देवदह, कपिलवस्तुका तिलौराकोटलगायतका ऐतिहासिक र पुरातात्विक क्षेत्र, रामग्राम, भैरहवा र बुटवल आसपासका क्षेत्रहरु धेरै भएकाले यो विमानस्थल धार्मिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छ । यसैलाई लक्षित गरेर विमानस्थल आसपासमा अर्बौं लगानीमा होटल, रेष्टुरेन्टहरु खुलेका छन् । तर, विजनेस नहुँदा यो लगानी पनि जोखिममा परिरहेको छ । नियमित उडान भयो भने विजनेस बढ्ने र सबैक्षेत्र चलायमान हुने निश्चित छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । राजनीतिक अस्थिरताका कारण सुस्त भएको पर्यटन क्षेत्रले पुनर्जागरण खोजेको छ । भदौ २३ र २४ गतेको आन्दोलनले निराश बनेको पर्यटन क्षेत्रमा विस्तारै चहलपहल सुरु हुन थालेको छ । अक्टोबर महिनामै १ लाख २८ हजार ४४३ पर्यटक नेपाल आएका छन्, जुन विगतको तुलनामा केही सुधार हो ।

पर्यटन व्यवसायी सागर अधिकारीका अनुसार भैरहवा र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान हुन सके लुम्बिनी–अन्नपूर्ण–चितवन पर्यटन त्रिकोण सक्रिय हुनेछ र अबको सिजनमा हिल स्टेशनहरुमा घाम पर्यटनको समेत सम्भावना बढाउनेछ । यसले रोजगारी सिर्जना, होटल व्यवसाय र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अधिकारीको भनाइ छ । साहसिक नीति, निजी क्षेत्रको लगानी र पर्यटनमैत्री शासनको खाँचो रहेको अधिकारीले बताए ।

सरकार–निजी क्षेत्र सहकार्यको खाँचो
विमानस्थल सञ्चालनका लागि पूर्वाधार त तयार छन् तर एयरलाइन आकर्षण अभावमा समस्या देखिएको छ । भैरहवा विमानस्थलका प्रवक्ता साह भन्छन्–भिसा सेन्टर, श्रम स्वीकृति, ट्राभल एजेन्सी र मेनपावर क्षेत्र काठमाडौंमै केन्द्रित छन् । यी सेवा र पूर्वाधार भैरहवातर्फ सार्न सकियो भने मात्र दीर्घकालीन सञ्चालन सम्भव रहेको बुटवलका पर्यटन व्यवसायी सागर गिरीले बताए । बुटवल तीनकुनेमा ट्राभल एजेन्सीको कार्यालय सञ्चालन गरेर गिरीले भैरहवा विमानस्थलबाटै विभिन्न देशका लागि टूर प्याकेज र ती देशहरुबाट नेपालका लागि समेत टूर प्याकेजका काम गर्दै आएका छन् ।

भैरहवामै एयरलाइन्सहरूलाई दीर्घकालीन उडान अनुमति, ट्रान्जिट सुविधा र भाडा प्रोत्साहन दिँदा मात्र यहाँको अन्तर्राष्ट्रिय कारोबार तङ्ग्रिन धेरै बेर नलाग्ने अगुवा व्यवसायी अधिकारीको भनाइ छ ।
भैरहवा र पोखरा दुवै विमानस्थललाई वैकल्पिक हबका रूपमा विकास गर्न सकियो भने काठमाडौँमा हुने उडान भीड घट्ने मात्र होइन, प्रदेशस्तरमै आर्थिक गति चलायमान हुन सक्ने आर्थिक क्षेत्रका जानकार युवराज घिमिरेको धारणा छ ।

पाँच वर्षमा ६२ हजार यात्रु
बुटवल । लुम्बिनी प्रदेशको गौरवका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वर्षको अवधिमा १,०६७ अन्तर्राष्ट्रिय उडान (अवतरण र प्रस्थान) भएका छन् । यसमा ६२ हजार ९० यात्रु आवतजावत गरेको अभिलेख छ । विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले उपलव्ध गराएको तथ्यांकअनुसार, सन् २०२२ मे १६ देखि २०२५ नोभेम्बर ९ सम्मको अवधिमा यति संख्यामा अन्तर्राष्ट्रिय फ्लाइट सञ्चालन भएका हुन् ।