![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2023/03/ghh-edit-copy.jpg)
घनश्याम कोइराला
नेपालको राजनीतिको पछिल्लो अवस्था हेर्दा दिक्क लाग्दो छ । तर, दिक्क मानेर राजनीति चल्दैन, समाज चल्दैन, परिवार चल्दैन, व्यक्तिको जीवन पनि चल्दैन । हाम्रा पुखाले यस्ता अनेकौँ भुक्तमान भोगिसकेर त्यस्ता विषयबाट शिक्षा लिएको देखिन्छ, ती विषय सन्तान दरसन्तानका लागि शिक्षाका रूपमा नीतिशास्त्रमा सूत्रबद्ध गरेको भेटिन्छ ।
हामी हाम्रा पुराना मान्यता र परम्परालाई अन्धविश्वास भन्दछौँ । तिनीहरूलाई खिसीटिउरीको विषय बनाउँछौँ । ती पुराना विषयमा यसरी सोच्दछौँ, यसरी प्रतिक्रिया व्यक्त गर्दछौँ कि त्यो कुनै अपराधीले अपराध गर्नकै लागि प्रयोगमा ल्याएको हो । ती पुराना विषय जुन अज्ञात समयदेखि प्रचलनमा रहिआएका छन्, ती किन र कसरी शक्तिशाली रहँदै आएका छन् भन्नेतिर हाम्रो ध्यान जाँदैन । विरोध गर्दछौँ, निन्दा गर्दछौँ तर तिनलाई पन्छाउन सक्दैनौँ । यसलाई संस्कृतिको शक्ति कति बलियो हुँदो रहेछ भनेर सोच्न र बुझ्नतिर समय र सोच खर्चँदैनौँ ।
हाम्रा पुर्खाले मन्थन गरेर निकालेका निष्कर्षहरू कालजयी छन् । अहिलेको राजनीतिक अवस्थाका बारेमा भइरहेका टिकाटिप्पणी सुन्दा तिनमा घोतलिँदा केही नीतिवाक्यको स्मरण हुन्छ । राजनीति राजनीतिजस्तो नहुँदा मानिसहरूमा राजनीतिप्रति वितृष्णा बढिरहेको देखिन्छ । मानिसहरूले प्रत्यक्षतः राजनीति गर्नु वा नगर्नु सम्बन्धित व्यक्तिविशेषको रूचीको विषय हुन सक्दछ तर त्यसप्रतिको वितृष्णा, अविश्वास र निन्दा चिन्ताको विषय हो ।
राजनीति भनेको सत्तासँग जोडिएको विषय हो, अर्थात् सत्ता भनेको जुनसुकै क्षेत्रको होस्, राजनीतिक नै हुने गर्दछ । हाम्रो देशको व्यवस्था र पद्धतिअनुसार राजनीतिक सत्ताको शिखरमा राष्ट्रपति र कार्यकारी सत्ताको शिखरमा प्रधानमन्त्री रहने प्रावधान छ । तीन महिनाअघि प्रधानमन्त्री छान्दा–छानिँदा र अहिले राष्ट्रपति, उपराष्ट्रपति छान्ने प्रक्रियामा रहँदा राजनीतिक समीकरण उही ठाउँमा रहन सकेको देखिँदैन । तीन महिनामा फेरिने, चार महिनासम्म टिक्न नसक्ने समीकरण, सहमति, प्रतिबद्धताको राजनीतिले कस्तो स्थिरता देला ? यो प्रश्न सबैमा मनमा अनुत्तरित यक्ष प्रश्नका रूपमा रहेको छ ।
यस्तो हुनुमा केही राजनीतिक व्यवस्था, पद्धति र अभ्यासको दोष होला, तर मूलतः त्यस ठाउँमा रहेका व्यक्तिहरूको मनोकाङ्क्षा–मनोदशा–मानसिकता बढी दोषी हो भन्ने स्पष्ट छ । पुस १० मा भएको केपी (एमाले)–प्रचण्ड (माओवादी केन्द्र) बिचको समझदारी अहिले राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनसम्म आइपुग्दा नपुग्दै गुन, उपदेश र सहयोग सबै स्वाहा भएको छ । यस्तो अवस्था देख्दा नीतिशास्त्रको यो श्लोक स्मरण हुन्छ ।
‘कीटोद्रपि सुमनःसङ्गादारोहति सतां शिरः । अश्मापि याति देवत्वं महद्भिः सुप्रतिष्ठितः ।। अर्थात् किरो पनि पूmलको सङ्गतका कारणले सज्जनको (देवीदेवताको मूर्तिको समेत) शिरमा चढ्दछ । ढुङ्गा पनि विशिष्ट व्यक्तिहरूबाट प्राणप्रतिष्ठा गरिएपछि देवताका रूपमा प्रतिष्ठित–स्थापित र पूजित हुन्छ ।’
प्रतिनिधिसभाको (प्रत्यक्ष र समानुपातिक गरी) कूल २७५ सदस्यमध्ये जम्मा ३२ जना सांसद रहेको माओवादी केन्द्र र यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीकै सङ्गतका कारण प्रधानमन्त्री भई राष्ट्रको सत्ता सञ्चालनको शिरमा चढ्न पाएका हुन् । राजनीतिक ख्याउटेग्रस्त प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रको प्राणप्रतिष्ठा गरिदिने काम पनि केपी शर्मा ओलीबाट नै भएको हो, नत्र बाटाका ढुङ्गाका रूपमा कुल्चिएर बस्नुपर्ने अवस्था कसलाई थाहा छैन र ? केपी शर्मा ओलीबाट सानो किरोको आकारमा खुम्चिएका माओवादी प्रचण्डलाई सत्ताको शिरमा पु¥याउने प्राणप्रतिष्ठा गराउने कार्य सही वा गलत के कसो भयो, त्यसको समीक्षा एमालेले गर्ला, तर भएको यही नै हो । कसैलाई यति माथि चढाउनुअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो कुरा बुझ्नुपर्ने हुन्थ्यो । ‘उपदेशो ही मूर्खाणां प्रकोपाय न शान्तये । पयः पानं भुजङ्गानां केवल विष वद्र्धनम् ।। अर्थात् मूर्खलाई उपदेश दिएर उसको क्रोध शान्त हुँदैन । त्यसैगरी सर्पलाई दुध पिलाएर उसको विष नाश हुँदैन, बरु अझ बढ्दछ ।’
एमाले र माओवादी केन्द्र मिलेर नेकपा हुँदादेखि नै माओवादी अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीप्रति आक्रोस र ईबी राखेका थिए । यदि त्यसो हुँदैन थियो भने सर्वोच्चले एकीकृत नेकपाको अस्तित्व नरहने–साबिक पार्टीहरूको अस्तित्व कायम हुने गरी फैसला गरिदिएपछि पुनः कुनै प्रकारको राजनीतिक तालमेल, सहकार्य आदिको बाटो लिनुपथ्र्यो । त्यतिबेला पनि एमाले यसका लागि तयार नै रहेको देखिन्थ्यो । यसबाट स्पष्ट हुन्छ कि उनी नेपाली काँग्रेसलगायतका दक्षिणपन्थी शक्तिहरूसँग गठबन्धन गरेरघुस्रेर ‘एमालेलाई, खासगरी केपी ओलीलाई, देखाइदिने’ मिसनमा थिए । नेपाली काँग्रेस नेतृत्वको सत्ताधारी महागठबन्धनमा दिलोज्यानले लागेका थिए । तर निर्वाचनपछि नेपाली काँग्रेसले प्रधानमन्त्री बन्ने सोपान बन्द गरिदियो । यसरी नेपाली कांग्रेसबाट धोखा पाएर बिलखबन्द परेको समयमा टपक्क टिपेर प्रधानमन्त्रीको आसनमा थपक्क बसालिदिने केपी शर्मा ओलीप्रतिको ईष्र्यायुक्त क्रोध शान्त भएको रहेनछ । राजनीतिमा भएका विगतको तितोपिरो बिर्सन सक्नुपर्छ भन्ने आसयको ओलीको व्यावहारिक उपदेशको घिउ प्रचण्डले पचाउन सकेको देखिएन । प्रधानमन्त्रीको यस्तो कृतघ्नताबाट सर्वसाधारणले के शिक्षा लिने होला ? यसलाई भन्न मिल्छ, ‘सर्पलाई दुध पिलाउनु विष बढाउनु मात्र हो ।’
राजनीतिका किरोलाई शिरमा चढ्ने माध्यम बनेका, ढुङ्गामा प्राणप्रतिष्ठा गरिदिएर पूजित बनाइदिएका, कुन्नि केका लागि अँगार सुम्सुम्याएका एमाले अध्यक्ष ओलीले यो नीतिवचन भने कहिल्यै बिर्सनुहुने छैन ।
‘दुर्जनेन समं सख्यं प्रीतिं चापि न कारयेत् । उष्णो दहति चाङ्गारः शीतः कृष्णायते करम् ।। अर्थात् दुर्जनसँग मित्रता र शत्रुता कहिल्यै गर्नुहुँदैन, किनभने बल्दै गरेको कोइलाले बल्दाबल्दै छोइयो भने डढाउँछ र सेलाएपछि कालो पारिदिन्छ ।’
यो सानो लेख पढेपछि लाग्न सक्नेछ,‘नेपालमा छिरोलिएर रहेको कम्युनिष्ट शक्तिलाई एकजुट हुने प्रेरणा दिनुपर्नेमा विभाजनका लागि उक्साइयो । कम्युनिष्ट कम्युनिष्टका बिचमा खाडलको आयत बढाउने प्रयत्न भयो’ आदि आदि । हो, देशका कम्युनिष्ट शक्तिहरू एक ठाउँमा भइदिए साह्रै राम्रो हुने थियो । त्यति मात्र होइन, अन्य राजनीतिक दलहरूमा पनि किचलो नभइदिए राम्रो हुन्थ्यो । सबै राजनीतिक दलका आ–आफ्ना सिद्धान्त, विचार, दृष्टिकोण छन् र हुन्छन् । वर्ग र दृष्टिकोण नभएको कुनै राजनीतिक दल वा राजनीतिक शक्ति हुँदैन । यी सबै दल कुनै न कुनै मुद्दामा आधारित भएर नै संगठित भएका हुन् । ती मुद्दा, सिद्धान्त, विचार, दृष्टिकोणप्रति अन्य दल, शक्ति र व्यक्तिहरूका मतभिन्नता हुनु स्वाभाविक हो । बहुदलीय मान्यता र यसको सुन्दरता भनेकै यही हो ।
आपूm लागेकै आधारमा आपूm संलग्न भएको दल शक्तिशाली होस् भन्ने चाहना राख्नु र त्यसका लागि क्रियाशील रहनु ठीक हो, तर त्यसका लागि जालझेल, तिकडम गर्नु र समाजमा हाबी गराउने प्रयत्न गर्नु कदापि सही हुन सक्दैन । बहुदलीय व्यवस्थामा कुन पार्टीलाई जिताउने भन्ने विषय जनताको स्वतन्त्र अभिमतको कुरा हो । जनतालाई सिद्धान्त, विचार, दृष्टिकोण र मुद्दाका आधारमा आकर्षिक गर्नु, संगठित गर्नु, निर्वाचनमा बहुमत प्राप्त गरेर आफ्ना प्रतिबद्धताको लाभ जनतालाई दिनु, राष्ट्रिय हित सुनिश्चित गर्नु तथा सार्वभौम स्वाधीनता र स्वाभिमानको शिर ननिहुरिने गरी अन्तरराष्ट्रिय सम्बन्धहरूलाई सन्तुलित पार्नु सरकारको दायित्व हो । यसो गर्न नसक्ने दलहरू कमजोर हुन् । कमजोर राजनीतिक दलबाट सञ्चालित सत्ता कमजोर हुन्छ र उसले माथि उल्लेख गरिएका जिम्मेवारी वहन गर्न सक्दैन ।
फलतः शक्ति राष्ट्रहरूको स्वार्थको खेलमा लोकतन्त्र र राष्ट्रिय स्वाभिमान कमजोर बनाउँछ । आन्तरिक होस् वा बाहिरी शक्ति, कमजोर र अस्थिर राजनीतिक नेतृत्व ‘जताजता काफल पाक्यो, उताउता चरी नाच्यो’ हुन्छ । अहिले नेपाली राजनीति यस्तैयस्तै देखिँदैछ । राजनीतिमा होस् वा या अन्यत्र, किरोलाई शिरमा चढाउनु हुँदैन । मतिभ्रष्ट बेइमानलाई माथि उठाउनुहुँदैन । मूर्खलाई उपदेश दिन र सर्पलाई दुध पिलाएर विष नाश हुन्छ भन्ने सोच्नु र व्यवहार गर्नु हुँदैन । शास्त्र भन्छः शठे शाठ्यं समाचरेत् । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)