उत्तरार्धमा रामचन्द्रले रचेको इतिहास

मेचीकाली संवाददाता

२६ फाल्गुन २०७९, शुक्रबार
192 shares

६ दशक लामो संघर्षशील राजनीतिक यात्रा पार गरेका ७९ वर्षीय पौडेल अन्ततः मुलुककै प्रमुख अभिभावकीय पद प्राप्त गर्न सफल भएका छन । पौडेलले अब राष्ट्रप्रमुखका रूपमा पाँच वर्ष मुलुकलाई अभिभावकत्व प्रदान गर्नेछन् ।

बुटवल । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो । मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् ।

आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले अर्का उम्मेदवार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ६ दशक लामो संघर्षशील राजनीतिक यात्रा पार गरेका ७९ वर्षीय पौडेल अन्ततः मुलुककै प्रमुख अभिभावकीय पद प्राप्त गर्न सफल भएका छन् । पौडेलले अब राष्ट्रप्रमुखका रूपमा पाँच वर्ष मुलुकलाई अभिभावकत्व प्रदान गर्नेछन् ।

पौडेलको जन्म बाबु दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलका सुपुत्रका रूपमा २००१ असोजमा तनहुँको तत्कालीन रिस्ती गाविसस्थित (हाल व्यास नगरपालिका) बाहुनडाँडामा भएको हो । २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेपछि १६ वर्षकै उमेरदेखि पौडेल प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गरेका थिए । बिपीको सान्निध्य र त्यागबाट प्रभावित भई स्वतन्त्रताको हुँकार गर्दै उनी राजनीतिमा होमिएका थिए ।

पौडेलको राजनीतिक यात्रा किशोरावस्थामा विद्यार्थीकालबाटै सुरु भयो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा उनले सक्रिय सहभागिता जनाएका थिए । २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भए । सोही वर्ष गण्डकी विद्यार्थी समितिको समेत संस्थापक सभापति भई उनले नेतृत्व गरे ।

पञ्चायती निरङकुशता उत्कर्षतिर पुगेका बेला उनी २०२४ सालमा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भए । २०२७ वैशाख ६ गते भएको नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल नेतृत्वदायी भूमिकामा थिए । उनी नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य थिए । प्रवासमा रहेका विपीले फाँसीको समेत पर्वाह नगरी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा पौडेलले निकट रहेर साथ र सहयोग गरे । २०३४ सालमा उनी नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका सदस्य पदमा निर्वाचित भए र २०३६ सालमा तनहुँ जिल्ला उपसभापति बने ।

जनमतसंग्र्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष भई बहुदलका पक्षमा जनमत निर्माणमा उनी जुटे । २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक रहे । २०४४ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाले । त्यसयता निरन्तर कांग्रेस केन्द्रीय समितिमा नेतृत्वदायी भूमिकामा रहे ।

पञ्चायत व्यवस्थाविरुद्ध जेल नेल खेप्दै ३० वर्ष संघर्ष गरेका पौडेल २०४६ सालमा प्रजातन्त्र स्थापनापछि खुला परिवेशमा राजनीतिमा होमिए । २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ–१ बाट उनी संसद् सदस्यमा निर्वाचित भए । उनले २०४८ को संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाले । उनले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा तनहुँ–२ बाट संसद् सदस्यमा निर्वाचित भएपछि पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरे । २०५६ सालको संसदीय निर्वाचनमा पुनः तनहुँ–२ बाट सांसद बनका उनले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवं सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि लोकतान्त्रिक आन्दोलनकै दौरानमा उनी २०६२ मा कांग्रेस महामन्त्री बने । प्रतिगमनविरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परे । २०६२–६३ को आन्दोलनपछि पुनःस्थापित संसद्मा उनी सदस्य भए ।

तत्कालीन विद्रोही नेकपा (माओवादी) लाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन पौडेलको महत्वपूर्ण योगदान थियो । उनले शान्ति सचिवालयको संयोजकको भूमिका निर्वाह गरेका थिए । २०६३ सालमा माओवादीको समेत संलग्नतामा गठन भएको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि नेता पौडेलले नै सम्हाले । शान्तिप्रक्रियापछि आदिवासी, जनजाति, मधेसी एवं उपीडित समुदायको हक, अधिकार स्थापनार्थ भएका सम्झौैताहरूमा हस्ताक्षर गर्दै अभिभावकत्वसमेत ग्रहण गरेका थिए ।

पौडेल २०६४ मा कांग्रेस उपसभापति बने। २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ–२ बाटै चौथोपटक सभासद निर्वाचित भए । त्यसलगत्तै २०६५ सालमा पौडेल कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ–२ बाटै पाँचौंपटक सभासद्मा निर्वाचित भए । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि पौडेल नेपाली कांग्रेसका कार्यवाहक सभापति बने । २०७४ को संसदीय निर्वाचनमा उनी अन्तर्घातको सिकार हुँदै पराजित भए ।

तत्कालीन सरकार प्रमुख रहेका केपी ओलीले दुई दुईपल्ट संसद् विघटन गरेपछि पुनःस्थापनाको एक सूत्रीय मागसहित प्रतिगमनविरुद्ध सडक र कानुनी संघर्षमा नेतृत्वदायी भूमिकामा रहे । सर्वोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसलापछि कांग्रेस नेतृत्वमा सरकार गठन हुँदा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्दै सन्तुलनकारी भूमिका खेले । २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट छैटौंपटक निर्वाचित भए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री उत्तीर्ण गरेका छन् । उनले ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’, ‘नेपाली कांग्रेस के भन्छ ?’, ‘नयाँ सन्दर्भमा समाजवाद’, ‘आस्थाका यात्रा’ लगायत आधा दर्जन कृति र विभिन्न विचारसहितका आलेखमार्फत योगदानसमेत गरेका छन् । कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ का सम्पादक भएर सूचना तथा सञ्चार प्रवाहको जिम्मेवारीसमेत उनले समालेका थिए ।

पौडेल नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने क्षमता भएका नेता मान्छिन । ६ दशक लामो र अथक राजनीतिक सक्रियता नै पौडेलको प्रमुख पुँजी हो । उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन् । भ्रष्टाचारमा नमुछिएका, इमानदार, सादगी र निष्कलंक छवि भएका नेताका रूपमा पौडेलको नेपाली राजनीतिमा स्थान छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता लोकतान्त्रिक जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि पौडेल दह्रोसँग उभिएका नेता हुन् । त्याग, निष्ठा, संघर्ष र उपलब्धिको यही आलोकमा पौडेल मुलुकको राष्ट्रप्रमुख बनेका छन ।