स्वर्गद्वारीको ‘सतत अग्नि’–सुदूर अतीतको अवलोकन !

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७९, आईतवार
529 shares

घनश्याम कोइराला

लुम्बिनी प्रदेशको प्युठान जिल्लामा अवस्थित स्वर्गद्वारीका बहुविशेषताहरूमध्ये त्यहाँ १२८ वर्ष–वि.सं. १९५२ देखि अखण्ड रूपमा रहेको धुनी महत्वपूर्ण हो । हातहातमा अग्नि–आगो निकाल्न सकिने उपकरणहरू भएको यो जमानामा अग्नि जोगाउने कुरा त्यति महत्वको नलाग्न सक्दछ । तर, यी लाइटर, सलाई आदि नहुँदा आगो कसरी बन्यो, कसरी जोगियो होला भनेर घोत्लिने हो भने यसको महत्व बुझ्न सकिन्छ ।

अग्नि उत्पन्न गर्नुमा पहिले साह्रै गाह्रो हुन्थ्यो । विभिन्न स्रोतहरूको अध्ययन गर्दा आदिमानवहरूले एकपल्ट बार उत्पन्न गरिएको आगोलाई निरन्तर बालिराख्ने उपाय गर्दथे । यूनान र फारस मानिसहरू आफ्ना प्रत्येक गाउँ र नगरमा आगो जोगाएर राख्ने गर्दथे । कारणवश त्यस्तो आगो निभ्यो भने त्यसलाई नराम्रो मानिन्थ्यो भन्ने भनाइ रहेको पढ्न पाइन्छ । यस्तो हुन नदिनका मानिसहरू खटाइएका हुन्थे र त्यतिबेला पनि मन्दिरका पुजारीहरूले नै पुराना तरिकाले आगो निकाल्थे ।

ई.सन् १८३० मा सलाईको आविष्कार भएको हो । सलाई बनेदेखि यता र हाम्रो समाजमा सहज उपलब्ध हुन थालेपछि खासै आगो जोगाउन परेन । प्राचीन मानवहरू वनका जनावरहरू भगाउन, उनीहरूबाट जोगिन, चिसोबाट बँच्न र स्वस्थ्य रहनका लागि आगोलाई जोगाउँथे, जतन गर्दथे । यसरी हेर्दा, बुझ्दा आगो अखण्डधुनीको ऐतिहासिक महत्व बुझ्न सकिन्छ । आगोको वर्गीकरणमा यस्तोलाई ‘सतत अग्नि’ भनिन्छ ।

अहिलेका ठूल्ठुला वैज्ञानिक आविष्कारजस्तै कुनैबेला अग्निको आविष्कार पनि चमत्कार नै थियो होला भन्ने अनुमान गर्न सकिन्छ । प्रकृतिमा भएको अग्नि जोगाउनु, जगाउनु र यसको पुनरुत्पादन गर्न जान्नु मानवचेतनाबाट सम्भव भएको घटना अत्यन्तै महत्वपूर्ण परिघटना हो । वैदिक साहित्यमा अग्निका विषयमा मानिसहरूका बिचमा सङ्घर्ष भएका घटना भएको कुरा पाइन्छ र त्यतिबेलामा मनिषीहरूले अग्निलाई पनि विभिन्न नाममा विभिन्न भागमा बाँडेका छन् । यसो हुनुले अग्नि सङ्घर्ष र सहमति दुवैको प्रतीक भएको कुरा बुझाउन मद्दत गर्दछ । आज अतिसामान्य लाग्ने अग्नि र यसको व्यवस्थापन त्यतिबेलाको साह्रै ठुलो विषय हो । प्रकृतिको यस्तो प्रज्वलित वस्तुलाई नियन्त्रण गर्ने विषय चानेचुने विषय होइन । मानव पुर्खाको यो योगदानको उच्च सम्मान गर्नैपर्छ । स्वर्गद्वारीको यो अखण्डधुनीले अग्नि, अग्निको महत्व, यसको व्यवस्थापन र पुनरुत्पादन आदिबारे अतीतको अवलोकन गर्न प्रेरित गर्दछ । अर्को हिसाबले हेर्दा जोगाउनु भनेको दत्तचित्तता हो । मानिसहरूमा आरूपमा सिर्जना गर्ने, संरक्षण गर्ने–जोगाउने र भत्काउने गरी तीन प्रवृत्ति हुन्छन् । यहाँ राखिएको अग्नि यहीँ उत्पन्न गरिएको हो भन्ने भनाइ छ । यो सिर्जना भयो । यसलाई १२८ वर्षदेखि सुरक्षित र सक्रिय बनाइ राखिएको छ । यो जोगाउने काम भयो । यसबाट लिन सकिने शिक्षा यो हो ।
यहाँको यो धुनी १२८ वर्षदेखि अखण्ड छ । स्वर्गद्वारीलाई ‘स्वर्गद्वारी’ को इतिहाससँग जोड्ने यो धुनी अहिलेको स्वर्गद्वारीको प्रागैतिहासिक निरन्तरताको आधार र प्रमाण हो । यो धुनी ननिभेको अवधि १२८ वर्ष हो, तर यसको सन्दर्भ प्रागैतिहासिक छ । भौतिक प्रामाणिकताका लागि थप अध्ययन–अन्वेषणको विषय पनि हुन सक्दछ । तर, यस्ता विषय मूलतः शास्त्रीय उत्खननका विषय हुन् ।

वेदमा अग्नि (अग्नि) लाई प्रमुख देवता मानिएको छ । अग्निलाई देवता मानेर स्तुतिपूर्वक पूजाअर्चना र हवनद्वारा खुसी पारिएको छ । यति मात्र होइन, अग्निलाई देवीदेवताहरूको मुख मानिएको छ अर्थात् अग्निमा दिइने आहुति नै देवताहरूसम्म पुग्छ भन्ने मान्यता रहेको देखिन्छ ।
अहिले जताततै अग्नि, अग्निपार्ने उपकरण, अग्निपार्ने अन्य पदार्थहरू लाइटर, सलाई आदिको सहज उपयोगको अवस्थालाई हेर्दा अग्निको महत्व, अग्निको पनि पूजा र संरक्षणको विषय खासै महत्वपूर्ण नलाग्नु स्वाभाविक हो । तर, मानिसको प्रागैतिहासिक अवस्था, काँचोकँचिलो खानुपर्ने अवस्था, प्रयोग गरिएको अग्नि कथंकदाचित नजोगिँदा गाउँभरि डुलेर अग्नि लिनुपर्ने अवस्था सम्झना यसको महत्व पुष्टि हुन्छ । यी सबै मानवपुर्खा, अहिले जीवितै रहेको पुस्ताले समेत भोग्दैआएको विषय विषय हो । यसरी सबासय वर्ष अघिदेखिको अग्निको निरन्तरता संरक्षण चेतनाका दृष्टिले पनि महत्वपूर्ण छ । अग्निका नामका विषयमा प्रसिद्ध कोशग्रन्थ अमरकोशमा अग्निका ३४ नाम लेखिएको छ । त्यो यस प्रकार छ ः

अग्निर्वैश्वानरो वह्निर्वीतिहोत्रो धनञ्जयः । कृपीटयोनिर्ज्वलनो जातवेदास्तनूनपात् ।
बर्हिः शुष्मा कृष्णवर्त्मा शोचिष्केश उषर्बुधः । आश्रयाशो बृहद्भानुः कृशानुः पावकोद्रनलः ।।
रोहिताश्वो वायुसखः शिखावानाशुशुक्षणिः । हिरण्यरेता हुतभुग्दहनो हव्यवाहनः ।।

सप्तार्चिर्दमुनाः शुक्रश्चित्रभानुर्विभावसुः । शुचिरपित्तम्…. अर्थात् १.अग्नि, २.वैश्वानर, ३.वह्नि, ४.वीतिहोत्र, ५.धनञ्जय, ६.कृपीटयोनि, ७.ज्वलन, ८.जातवेदस्, ९.तनूनपात्, १०.बर्हि, ११.शुष्मन्, १२.कृष्णवत्र्मन्, १३.शोचिष्केश, १४.उषर्बुध, १५.आश्रयाश, १६.बृहद्भानु, १७.कृशानु, १८.पावक, १९.अनल, २०.रोहिताश्व, २१.वायुसख, २२.शिखवान्, २३.आशुशुक्षणि, २४.हिरण्यरेतस्, २५.हुतभुक्, २६.दहन, २७.हव्यवाहन, २८.सप्ताचिष्, २९.दमुनस्, ३०.शुक्र, ३१.चित्रभानु, ३२.विभावसु, ३३.शुचि, ३४.अप्पित । यहाँ यो उल्लेख गर्नुको कारण यो हो कि अग्नि मात्र अग्नि थिएन, अपितु अग्नि उत्पत्ति, अग्निको उपयोग र प्रयोगका आधारमा अग्निका नामहरू राखिएको छ । तीन वाडवाग्निका, पाँच ज्वालाका, दुई फिलिङ्गोका नाम छन् । वेदादि पूर्वीय वाङ्मयमा अग्निका विषयमा, काम तथा विशेषताका आधारमा अग्निलाई धेरै विधामा बाँडिएको छ ।
यज्ञका लागि अग्नि अनिवार्य छ । प्राणी मात्रका लागि यज्ञको अनिर्वायताका सम्बन्धमा श्रीमद्भगवद्गीतामा यसरी उल्लेख गरिएको छ ः
‘अन्नाद्भवन्ति भूतानि पर्जन्य पर्जन्यादन्नसम्भव ः यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः अर्थात् सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुन्छन् । अन्न वर्षाबाट हुन्छ । वर्षा यज्ञबाट हुन्छ । यज्ञ कर्महरूबाट बन्छ–सम्पन्न हुन्छ ।’

यद्यपि, स्वर्गद्वारीको यो धुनी १२८ वर्ष मात्र पुरानो हो, तथापि यसलाई पुनर्जागृत गर्नुको कारण महाभारतकालीन इतिहासलाई जोड्नु रहेको देखिन्छ । प्राप्त अध्ययन सामग्रीअनुसार द्रौपदी र पाण्डवहरू यही बाटो हुँदै स्वर्ग प्रस्थान गरेका थिए । यसै क्रममा उनीहरूले यहाँ हवनादि यज्ञ गरेको अनुमान गरिएको छ । स्वर्गद्वारीका संस्थापक, सिद्ध महात्मा जसलाई ‘स्वर्गद्वारी महाप्रभु’ भनी सम्बोधन गरिएको छ, उहाँले हवनकुण्ड बनाउनका लागि जमिन खन्ने क्रममा त्यहाँ हवनशेष–यज्ञशेषका रूपमा अँगार, चरु, माटोका भाँडा–थाली, पञ्चपात्र आदि अवशेषका रूपमा फेला पार्नुभएको रहेछ । यसैलाई महाभारतकालीन अवशेष अनुमान गरी त्यसै ठाउँमा यज्ञकुण्ड निर्माण गरी यो यज्ञशाला निर्माण गरिएको हो ।

यो यज्ञकुण्ड–यज्ञशाला निर्माण भएदेखि यसको संरचनाको बाहिरी भागमा समयानुसार परिमार्जन गर्दै आएको भए पनि यज्ञ र धुनीको निरन्तरता अक्षुण्ण रहेको छ । यसमा बिहानैदेखि यज्ञ हुन्छ । २४ जना वैदिक कर्मकाण्डका ज्ञाता (ब्राह्मण) हरूद्वारा उषा, प्रातः, मध्यान्ह हवन हुने गर्दछ । बिहानैदेखि रात्रिपर्यन्त धार्मिक कार्यहरू भइरहन्छ ।
मन्दिरको आफ्नो नियमित पूजा, हवनादि यज्ञका अतिरिक्त अन्य श्रद्धालु भक्तजनका लागि विशेष पूजा, विवाह, व्रतबन्ध, लाखबत्ती बाल्ने, सामान्य रुद्रि, लघुरुद्रि, महारुद्रि, अतिरुद्रि, ग्रहजाप, चण्डी पाठ, सत्यनारायण पूजा आदि कार्यहरू पनि सम्पादन हुन्छ । घरमा आयोजना गर्दा लाग्ने समय र मण्डप तयारी, जनशक्ति व्यवस्थापनमा आदिमा सहज हुने भएकोले यो ठाउँ मानिँदो रहेछ । यसरी यज्ञ, पूजा आदि गर्न चाहने, तर समयको अभाव, तयारीबारे जानकारीको अभाव भएका श्रद्धालुजनका लागि साह्रै उपयोगी धार्मिक–सांस्कृतिक सेवाकेन्द्रको रूपमा रहेको देखिन्छ ।

उच्च र उज्यालो ठाउँ, हिमालको परिदृश्य, वातावरणीय स्वच्छता, वेदका ऋचा र स्मृतिका मन्त्रहरू, शङ्ख र घण्टीको ध्वनी, साँझमा हुने भजन–कीर्तन, साधु–सन्तहरू र श्रद्धालुहरूको चहल पहल आदि यहाँका विशेष आकर्षण हुन् ।
तर भनिन्छ नि,‘गुणको वैरी मानुषजाति, शुष्क गराई गुणिको छाती….’ भनेझैँ सबै नेपालीको यस्तो साझा सम्पत्तिका सकारात्मक विषय नदेख्ने र आपूmलाई चित्त नबुझेका–आफ्नो स्वार्थअनुकूल नभएका केही व्यवस्थापकीय विषय समातेर यसको विरोध गर्नेहरू पनि फाट्ट फुट्ट भेटिँदारहेछन् ।

हाम्रो फिर्तीयात्राका क्रममा हामीले मन्दिरको गहकिला पक्षका बारेमा भन्यौँ, ‘सरकारले कुनै लगानी नगरिकन, स्वेच्छिक दान–चन्दाबाट यत्रो धार्मिक संरचना र व्यवस्था यहाँका लागि समृद्धिको स्रोत हो । यस ठाउँका राम्रो प्रचार प्रसार हुने हो भने यहाँ अझ धेरै धार्मिक पर्यटकहरू आउने थिए र यहाँको उत्पादन यहीँ खपत हुन्थ्यो, यात्रीहरूले यहाँको सम्झनाको चिनोका रूपमा किनेर लैजाने थिए । यहाँको कृषिउपजले यहीँ बजार पाउँथ्यो । गाउँमै रोजगारी विकास हुन्थ्यो । यसमा यहाँहरूले अलि बढी जोडबल गर्नुपर्ने हो कि ?’ प्रतिनिधि पात्रका रूपमा भेटिएका र हामीले संवाद गरेका ती स्थानीय व्यक्तिले भने, ‘महाप्रभुका नाममा नाममा राणा शासन चलाएका छन् हजुर । अझ राणा शासनभन्दा पनि कडा !’

हामीले प्रश्न ग¥यौँ,‘त्यस्तो छ र ? के हुन्छ र त्यस्तो ? गाउँमा उहाँहरूको व्यवस्थापन नियम चल्दैन होला ?’ उनले भने,‘माथि मन्दिर छेउमा यिनीहरूले केही बेच्नै दिँदैनन् । काफलधरि बेच्न दिँदैनन् ।’ हुन पनि माथि मन्दिरछेउमा कुनै पसलहरू छैनन् ।
पूmलपाती, धुप, अबिर, चन्दन, जौ, तिल पनि त्यहाँ नदेखेपछि हामीले त्यहाँको व्यवस्थापनसँग सोधिसकेका थियौँ, ‘यहाँ यस्तो सुविधा किन नभएको ?’ त्यहाँको व्यवस्थापनका अनुसार पहिले केही राख्न दिइएको थियो रे, तर मन्दिर र यसको स्वच्छता, शुद्धताका प्रतिकूल वस्तुहरूको समेत व्यापार भयो रे । यसमा मन्दिर व्यवस्थापनलाई दोष लगाउनुभन्दा धाम, तीर्थहरूको मर्मअनुसारको व्यापार व्यवसाय गरेर लाभ लिनेतर्फ नेपाली जनमानस सचेत हुनुपर्ने देखिन्छ । दर्शनार्थीहरूलाई अत्यावश्यक वस्तुहरू उपलब्ध हुने व्यवस्था मिलाउन पनि आवश्यक छ ।

केही मानवीय व्यवस्थाकीय कमजोरीका छिद्र खोजेर ऐतिहासिक सांस्कृतिक धरोहरहरूमाथि धावा बोल्नुहुँदैन । हामीले अनास्था फैलायौँ भने अन्यत्रका मानिसहरू हाम्रा यी महत्वपूर्ण स्थानमा आउँदैनन् । यी स्थानहरू प्रत्यक्ष रूपमा धार्मिक मात्र देखिए पनि यी हाम्रा सांस्कृति निधि हुन्, इतिहासका साक्षी हुन्, हाम्रो आर्थिक उपार्जनका माध्यम हुन् । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)