आमाको महानता र गौरव सबैभन्दा माथि !

मेचीकाली संवाददाता

७ बैशाख २०८०, बिहीबार
1928 shares

घनश्याम कोइराला

प्रसिद्ध नीतिशास्त्र, ‘मनुस्मृति’मा आमाको महानता र गौरव महत्व सर्वोपरि रहेको उल्लेख गरिएको छ । त्यसमा उल्लेख गरिएको छ, ‘उपाध्यायान् दशाचार्य आचार्याणान् शतं पिता । सहस्त्रं तु पितृणां माता गौरवेणातिरिच्यते अर्थात् उपाध्यायभन्दा दस गुणा आचार्य, आचार्यभन्दा सय गुणा पिता र पिताभन्दा हजार गुणा महान् छन् भनिन्छ ।’ आमाको महानता तथा गौरवलाई यसरी स्वीकार गरिएको छ ।

यहाँ प्रश्न उठ्न सक्दछ, आमासँग तुलना गरिएका ती उपाध्याय र आचार्य भनेका को हुन् ?’ यस विषयमा मनुस्मृतिका यी श्लोकबाट यसबारे स्पष्ट हुन सकिन्छ । यथाः ‘उपनीय तु यः शिष्यं वेदमाध्यापयेद्विजः । सकल्पं सरहस्यं च तमाचार्य प्रचक्ष्यते । एकदेशं तु वेदस्य वेदाङ्गान्यपि वा पुनः । यो अध्यापयति वृत्यर्थमुपाध्याय स उच्येते अर्थात् शिष्यलाई उपवीत संस्कार गराउँदै उसलाई यज्ञको विधि र रहस्यको ज्ञान दिने ब्राह्मणलाई आचार्य मानिन्छ । जसले आजीविकाका लागि वेद—वेदाङ्ग पढाउने काम गर्दछन्, तिनलाई उपाध्याय भनिन्छ ।’

हाम्रो सनातन संस्कृतिमा आमालाई सबैभन्दा पहिलो स्थानमा राखिँदैआएको छ । आमालाई अतुल्य नाताको रूपमा स्वीकार र सम्मान गरिएको छ । यदि कहीं कसैसँग तुलना भएको छ भने त्यो पृथिवी हो । पृथिवी र आमालाई प्रायः समान श्रेणीमा राखिएको छ । आमा बन्ने सामथ्र्य राख्ने भएको हुनाले सिङ्गो नारीजातिलाई मातृशक्तिको रूपमा स्वीकार रसम्मान गरिएको छ । जन्म दिने भएको हुनाले आमालाई जननी पनि भनिन्छ । विभिन्न भाषामा आमाका लागि प्रयोग हुने शब्द फरक—फरक छन् । जे जे शब्दमा सम्वोधन गरिए पनि आमा जन्मदातृ हुन् । मानिसका नाता अनकौँ छन्, तर अरु नाता सम्बन्धभन्दा आमा नितान्त भिन्न हो । आमाले पाउनुपर्ने मायाँ र सम्मानको भाग अरु कसैको भन्दा बढी हुन्छ र हुनुपर्दछ ।

शास्त्रमा आमाको महिमा विस्तार गरिएको छ र सम्मानका दृष्टिले नारी सम्बन्धी धेरै नातालाई आमाको श्रेणीमा राखिएको छ । ‘स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदी—बहिनी, सहोदर दिदी—बहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजु/भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन्’ भनिएको छ । र, यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ । यसरी धेरैथरि नाता सम्बन्धका नारीहरूलाई अति उच्च सम्मानको श्रेणीमा राखिएको त छ नै प्रायः सबै शुभकार्यमा षोडशमातृकाको पूजा हुन्छ । हाम्रो आफ्नो मौलिक पारम्परिक संस्कृतिका यी पक्षहरूलाई आत्मसात गर्न आवश्यक छ । नारीप्रतिको सम्मानको परम्परालाई थप विस्तार गर्दै पुस्तान्तरण गर्न आवश्यक छ । यी विषयहरू ओझेल पर्दै जाँदा बाहिरका घटना तथा चर्चा सुनेर असल र नारी सम्मानको मौलिक र समृद्ध संस्कृति हराउँदै जान सक्दछ ।

नारीलाई मातृशक्तिका रूपमा सम्मान गरिने अनेकौँ पर्वहरू हिन्दु सनातन समाजमा प्रचलित छन् । हिन्दु धर्मशास्त्रहरूमा र हिन्दू सनातन संस्कृतिमा दिन गन्ने हो भने नारी सम्बद्ध पर्वहरूको बाहुल्य छ । सरस्वती पूजा, स्वस्थानी व्रत कथा, दसैँ र नवदुर्गा पूजा, लक्ष्मी पूजा, सोह्र श्राद्धका बिचमा पर्ने मातृनवमी(यस दिनलाई भारतको केही क्षेत्रमा सौभाग्यवती श्राद्ध पनि भनिन्छ) र आजको यो पवित्र पर्व— मातातीर्थ अमावस्या, जसलाई आमा औँसी, आमाको मुख हेर्ने औँसी आदि भनेर चिनिन्छ ।
यस औँसीका दिन आमा जीवित भएका सन्तानले आमाको सम्मान÷पूजा गर्ने, सुख र स्वास्थ्यको कामना गर्ने, आमाको सुखसुविधा तथा आवश्यकताको सम्मान गर्ने दिन हो । आमा जीवित नहुनेहरूले आमाका योगदानहरूको श्रद्धापूर्वक स्मरण गर्ने, दिवंगत आमाप्रति कृतज्ञता व्यक्त गर्ने, आफ्ना सन्तानलाई आमाको सत्कर्म र मानिसको जीवनमा आमाको महत्वको परिचर्चा गर्ने हो । आमाको सम्मान र सम्झनामा संसारका आमाहरूको सम्मानप्रति प्रतिबद्ध हुँदै ज्येष्ठ, अशक्त, अभावमा रहेका, अस्वस्थ मातृशक्तिलाई सक्दो सहयोग तथा अभिनन्दन सम्मान गर्ने अवसर हो । हाम्रो संस्कृतिमा आमालाई यस्ता अनकौँ सम्मानका पर्वहरूको प्रावधान रहेको छ ।

शास्त्र र संस्कृति नारीमैत्री छन्, तर यसको तुलनामा समाज नारीमैत्री भएको देखिँदैन । कतिपय मानिसहरू समाज नारीमैत्री नभई नारीद्वेषी हुनुलाई हाम्रा प्राचीन प्रवन्धहरू र संस्कृतिको दोष ठान्दछन् । संस्कृति निर्माण र विकासको आधार मूलतः परम्परा हो । परम्पराका स्रोत वेद, शास्त्र मात्र नभई प्राकृतिक घटना, मानवीय चेतनाको विकास, यस क्रममा भएका संघर्ष र तिनका परिणाम पनि हुन्छन् । वर्तमान समाजमा रहेको मातृशक्ति प्रतिको विभेद र हेलाहोँचो वेद, शास्त्रको निर्देशन होइन । यसो हुनु कुनै खास कालखण्डको संघर्ष र तिनको परिणामको अवशेषको निरन्तरता हो । नारी प्रतिको पूजा, महत्व र सम्मान पनि कुनै कालखण्डको सकारात्मक परिणतिको निरन्तरता हो । मातृशक्तिको महिमाको विषयमा श्रीमद्देवीभागवत महापुराण नै छ ।

सबै पुराणहरूमा सृष्टिका प्रसङ्ग छन् । तर त्यहाँ कहीँ पनि विभेदयुक्त सृष्टिको प्रसङ्ग पाइँदैन भन्ने ठोकुवा गर्न सकिन्छ । वस्तुगत कारणले कार्य विभाजनका आधारमा महिला र पुरुषले गर्ने काममा भिन्नता देखिने विषय पृथक प्रसङ्ग हो । मानवसमाज विकासको क्रममा यसरी शक्तिको उदय हुने, शक्तिहीन हुने र शक्तिको पुनरोदय हुने गरेका कयौँ तथ्य छन् । ऐतिहासिक वा प्रागैतिहासिक विषयको अध्ययन र विश्लेषण गर्दा ‘कथ्यबाट र तथ्य केलाउनु’ पर्दछ ।

अहिले यतिबेला देखिने महिला हिंसा आदि विषयमा अनेकौँ शक्तिसङ्घर्षहरू कारण रहेका छन् । तर, हामीमध्ये कतिपयले कुनै संहिता, शास्त्रको, कुनै प्रसङ्गको एउटा सूत्र टपक्क टिपेर सिंगो संस्कृतिमाथि दोष थोपरिदिन्छौँ । यसो गर्नु आफैमा अन्याय हो । कुनै विषय, इतिहास, व्यक्तित्वप्रति अन्याय गरेर स्थापित हुने ‘न्याय’ दिगो र अनुसरणीय हुन सक्दैन । कुनै पनि विषयको आधार तथा परिवेश दुवै नबुझी निकालिएको निष्कर्ष समाधान हुन सक्दैन र सकिरहेको छैन । यो हुन नसक्नुको प्रभाव सिंगो समाजले वहन गरिरहनु परेको छ ।

इतिहासको कुनै कालखण्डमा मानिसको जीवन पशुसरह थियो । न सङ्कलन, न सञ्चय, न वितरण । खोज, खोस्र, भाँच, टिप, मार, खाऊ । सके बाँच, नसके मर । मानव समाज यस्तो अवस्थाबाट अघि बढ्दै यहाँसम्म आइपुगेको हो । यसबाट बुझ्न सकिन्छ, समाज जति नै गतिलो वा अगतिलो होस्, सधै उस्तै रहँदैन ।
महिलाप्रतिको विभेद देख्दा जति नमिठो आश्चर्य लाग्दछ, उति नै आश्चर्य प्राचीन प्रवन्ध तथा संस्कृतिलाई दोष लगाइएको देख्दा लाग्छ । नारीहरूले घरको काम गर्ने र पुरुषले बाहिरको काम गर्ने गरी गरिएको कार्यविभाजन साहै्र राम्रो विषय थियो । त्यतिबेला महिलाहरूको दुःख देखेर सहमतिमा गरिएको त्यो कार्यविभाजनबाट नै एकनिष्ठ विवाह प्रथाको विकास भएको हो । मानव समाज विकासको दृष्टिले यो आफैमा एउटा महत्वपूर्ण विषय हो ।

‘निरीक्ष्यते केलिवनं प्रविश्य क्रमेलकः कण्टकजालमेव । कर्णामृतं सूक्तिरसं विमुच्य दोषेषु यत्नः सुमहान् खलानाम् अर्थात्, जसरी ऊँट मनोरम बगैँचामा पसेर काँडाघारी नै खोज्दछ, त्यसरी नै मूर्खहरूको ठूलो प्रयत्न अमृतसमान सूक्तिरस ग्रहण गर्न छोडेर दोषहरू खोज्नमा देखिन्छ ।’ दोषहरू खोज्ने हो भने दोषैदोषले भकारी भरिन सक्दछ । मन र मस्तिष्कमा दोषैदोषको थुप्रो लाग्न सक्दछ । जुनसुकै कारणले केही कमीकमजोरी रहेका भए पनि त्यो इतिहासलाई दोष लगाउनु र त्यही देखाएर प्राचीन प्रवन्धहरूको खेदो खन्नु राम्रो हुँदैन ।

मानवजाति यत्तिकै सभ्य भएको होइन । असभ्य लडाइँ झगडाकै माध्यमबाट मानिस सभ्य बनेको हो । सुरुमा मानवेतर पशु प्राणीजस्तै एक्लै हिंड्यो होला । प्रकृति र पशुसँग एक्लै संघर्ष ग¥यो होला । जति बाँच्यो, बाँच्यो । जहाँ, जसरी म¥यो, सकियो । यिनै दुःखकष्टबाट मेलमिलापको चेतना विकास भयो होला । मायाँ, सद्भाव र सहयोगको सोच विकास विकास भयोे होला । खासगरी मातृत्वको गुणकै कारण, जस्तैः गर्भवती हुने र त्यस्तो अवस्थाको शारीरिक अवस्थामा शिकार गर्न, कन्दमूल खनीखोस्री गर्न, अन्य शक्तिशाली प्राणीहरूबाट सुरक्षा आदि तथा सुत्केरी अवस्थामा सालनाल, रक्तश्राव, शारीरिक कमजोरी, बच्चाको रेखदेख, स्याहार—सम्भार, सुरक्षा आदिसँगै जीविकाको व्यवस्था गर्न कठिनाइ हुनु स्वाभाविकै हो । त्यतिबेलाको चेतनाले यत्ति विषय ठम्याएर उनीहरूप्रति करुणा उत्पन्न हुनु पनि ठूलो कुरा हो । यही अवस्था, चेतना र करुणाकै कारण मातृशक्ति ‘संरक्षितवर्ग’मा पर्न गएको बुझिन्छ । बल, बहादुरीको काम गर्न नसक्ने अवस्थाप्रतिको सहानुभूति, बालबच्चाको स्याहार—सुसार, पुरुषबाट शिकार तथा संकलन गरेर ल्याइएका आहार वस्तुहरूको व्यवस्थापन, राखनधरन आदिको स्वाभाविकर अघोषित जिम्मेवारीमा सीमित हुन पुगे । यहींबाट नारीहरूमाथि कमजोर, संरक्षित, आरक्षित, अबलाका उपाधि टाँसिँदै आएको स्पष्ट देखिन्छ । यही कुरा, जित्ने—हार्ने सबै समूहका नारीहरूमा लागू हुँदै आयो । यसलाई वैदिक वा शास्त्रीय परिप्रेक्षबाट नभई मानव समाजको विकासका क्रममा भएका सङ्घर्षको दृष्टिले हेरिनु उपयुक्त हुनेछ ।

यसरी हेर्दा नारीप्रतिको विभेदको प्रारम्भ नकारात्मक कोणबाट नभई सहुलियत दिने हिसाबले नै भएको अनुमान गरिन्छ । यसका केही व्यवहारिक कारणहरू छन् । विवाह प्रथाको विकास हुनुपूर्वको यो प्रथा विवाह प्रथापछि क्रमशः सहुलियतको विषय स्वामित्व र शासनको रूपमा बदलियो । ती कारणहरूमध्ये महिलाहरू गर्भवती र सुत्केरी हुँदाको अवस्थामा उनीहरूलाई सहुलियत दिएर आफै सिकार र कन्दमूलको व्यवस्था गर्न नपर्ने व्यवस्था भयो, जो जायज र व्यवहारिक थियो । तर, यही विशेष अवस्थाका कारण पुरुष योद्धाको प्रभाव र युद्धबाट जितेको भूगोल, पशुधन, अन्य वस्तु र मानवमा समेत पुरुषको प्रभाव रहनुबाट सुरु भएको देखिन्छ । यसबाट अन्यत्रबाट जितेर प्राप्त भएका मानिसहरू दास, दासी बनाइए, तल्लो दर्जामा झारियो ।

यो वेदले स्थापित गरेको व्यवस्था होइन । वैदिक कालमा विकसित भई प्रचलनमा रहेको विवाहमा नारीलाई दासीको रूपमा नभई उनीहरूलाई ‘आधान’ (स्थापित, व्यवस्थित) गर्ने विषयको रूपमा देखिन्छ । यस सम्बन्धमा ऋग्वेदमा पढ्न पाइन्छ । त्यतिबेला ‘कन्यादान’ नभई ‘कन्याआधान’को व्यवस्था देखिन्छ । कालान्तरमा कन्यादानलाई एकनिष्ठ, सबल, अपचलनमुक्त विवाह संस्थाको विकासको सुनिश्चितताको लागि निरन्तरता दिइएको देखिन्छ । जे होस्, यी विषय त्यतिबेलाको लागि उपयुक्त ठानिएका विषय हुन् । पतिव्रता र एक पत्नी निष्ठता त्यसै प्रावधानको संस्कृति हो । विवाहका अन्य तरिकाहरू पनि प्रचलनमा थिए र ती पनि स्वीकार्य नै थिए भन्ने देखिन्छ ।

शास्त्रमा आठ प्रकारको विवाहको प्रसंग रहेको देखिन्छ । यहाँ स्मरणीय छ, कि पति शब्द र पत्नी शब्दको व्यूत्पत्तिक अर्थ एउटै हो । पति—पत्नी दुवै शब्दको अर्थ ‘पतन हुनबाट जोगाउने’ भन्ने लाग्दछ । पतन हुनबाट जोगाउने भन्ने विषय सन्दर्भ र वस्तुस्थिति अनुसार अनुमान र व्यवहार गर्न सकिने विषय हो । विभेद त शक्ति संघर्षले निर्धारित गरिँदैआएको विषय हो र यसलाई यही अर्थमा बुझ्दा मात्र सही बुझाइ ठहर्छ । पुराणमा मातृशक्तिलाई कमजोर र दासीको रूपमा प्रस्तुत गरिएको छैन । पत्नीलाई सम्वोधन गर्दा दासी नभनिएको मात्र होइन, बरु ‘स्वामिनी’ शब्द प्रयोग गरिएको पाइन्छ । यति मात्र होइन यस कालमा महिलालाई मातृशक्ति मानिएको र निर्णायक शक्तिका रूपमा स्वीकार गरिएको छ ।

आमाहरू सन्तानको सुख, सुविधा र सुरक्षाका लागि अनेक भूमिकामा देखा पर्दछिन् भन्ने संकेत गरेको देखिन्छ । योद्धा, उत्प्रेरक, शुभचिन्तक, लडाइँ गर्न र लडाईमा ‘काल’(मृत्यु)सँग पनि नडराउने अर्थात् मर्न—मार्न तयार रहने, सन्तानलाई स्वतन्त्र जीवन बाँच्न योग्य बनाउने, आफ्ना सन्तानका लागि सुख एवं मङ्गल स्वीकार गर्ने, कपालिनी हातमा खड्ग र कपाल(खप्पर) तथा घाँटिमा मुण्डमाला लगाएर सत्रलाई भयभीत पार्ने, सन्तानको हित—रक्षाको लागि जस्तोसुकै दुःख सहन सक्ने, अरुको गल्तीलाई क्षमा गरिदिने क्षमाशील गुण भएकी, सबैको कल्याण चाहने, जुनसुकै प्रकारका प्रपञ्च जोखिम वहन गर्न सक्ने, सृष्टिका सबै विषय वा पक्ष सामान्यतया प्रत्यक्ष नदेखिनेहरू(देवता)लाई समेत भोजनको प्रवन्ध गर्ने, आफ्नै भाग र माध्यमबाट पितृहरू, पुर्खाहरूलाई तृप्त पार्ने गुण प्रायः हरेक आमामा देखिने गुण हुन् । यस मन्त्रको माध्यमबाट आमाहरूमा रहेका स्वरूप, सामथ्र्य र भूमिका छर्लङ्ग देख्न र अनुभूत गर्न सकिन्छ ।

ऋग्वेदमा भनिएको छ, माता पृथिवी महीयम् अर्थात् विशाल पृथिवी हाम्री आमा हुन् । वेदमा आमालाई पृथ्वी र पृथ्वीलाई आमा स्वीकार गरिएको छ । यसको आसय अथर्ववेदको यस मन्त्रले थप स्पष्ट पार्दछ, ‘माता भूमिः पुत्रो अहं पृथिव्या अर्थात्, धर्ती आमा हुन्, म धर्तीको छोरो हुँ ।’ यो भनेको धर्तीप्रतिको श्रद्धा मात्र होइन, आमाप्रतिको सम्मान हो । उपनिषद् भन्छ, ‘मातृदेवो भव अर्थात् आमा देवता हुन् ।’ यसरी धर्ती आमा र आमा धर्ती हुन् भन्ने गरी मन्त्रहरू बनाइएका छन् ।

‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता । नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमोनमः जुन देवी सबै प्राणीहरूमा आमाका रूपमा रहेकी छन्, उनलाई नमस्कार, नमस्कार, नमस्कार छ ।’ यसबाट आप्mनी आमा मात्र होइन, सिङ्गो मातृशक्तिलाई उच्चतम सम्मान गरिएको छ । हाम्रो सनातन सांस्कृतिक विरासतबाट आएको आमामैत्री—मातृभक्तिको संस्कृतिलाई आत्मसात गरौँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)