आज जितगढी विजय उत्सव दिवस, नेपालले अंग्रेजसँगको युद्धमा जितेको दिन

मेचीकाली संवाददाता

७ बैशाख २०८०, बिहीबार
317 shares

अमृत गिरी
बुटवल । केहीसमय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्ष अघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा प¥यो । किल्लाका सम्पदा स्थल केटाकेटी खेल्ने मैदान जस्तै बन्यो । नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीन तीरबाट अतिक्रमण तीब्र भयो ।

ओझेलमा परेको वीरताको जिवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप फेरिएको छ । २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यसको गुरुयोजना बनाएर संरक्षण र सम्बद्र्धनको काम भइरहेको छ । तत्कालीन जिविस सदस्य हुँदा भागमा पर्ने केही हजार विकास बजेटलाई जितगढी संरक्षण र सम्बद्र्धनमा लगाएर उजागार गर्न कोसिस गरेका शिवराज सुवेदी बुटवलको मेयरमा निर्वाचित भएर आएपछि उनैको पहलमा जितगढी सम्पदा स्थलको सम्बद्र्धनले सार्थकता पाएको हो । सुवेदी ०५४ मा जिविस सदस्य हुँदा प्राप्त गरेको केही बजेटले जितगढीको संरक्षण र सम्बद्र्धनका काम सुरु गरेका थिए ।

यसमा पछि विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि जितगढी केन्द्रित योजनाका काम प्रभावकारी भए । प्रदेश सरकारका तर्फबाट त्यसबेलाका मुख्यमन्त्री शंकर पोखरेल, पर्यटन मन्त्री लिला गिरीलगायतका यसक्षेत्रका जनप्रतिनिधिको पनि साथ रह्यो र जितगढी सम्पदा स्थलको सम्बद्र्धनको काम प्रभावकारी बन्यो ।
त्यसअघि सम्म झारले ढाकिएको, एक एक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाई गरी वार्षिकी मनाउने गरिन्थ्यो । यस स्थलमा अहिले आकर्षक संरचना बनेका छन् । उतिबेलाको लडाइँ ताकका सेनाको झल्को दिनेगरी सालिकहरु निर्माण गरिएको छ । जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास भइरहेको छ । अहिले उबेलाको किल्ला परिसरको स्वरुप पूरै फेरिएको छ ।

नगरसभामार्फत जितगढी किल्ला विजय उत्सवको आधिकारित तिथि, मिति नै तय गरेर जितगढीलाई उजागार गर्ने र संरक्षण गर्दै विस्तार गर्ने कामले अहिले एउटा चरण पार गरेको छ । ‘जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको छ’ स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौल भन्छन्–इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।’

विजय उत्सव दिवसको आजको श्रृंखलासम्म आइपुग्दा बुटवलले जितगढीको गुरुयोजना को अधिकांश काम पूरा भएको छ । गुरुयोजना अनुरुपको विस्तृत परियोजना प्रतिवेदन तोकिएका काम साकार हुँदैछन् । जग्गा अधिग्रहणसहित एक अर्ब लागत अनुमान गर्दै माथिल्ला सरकारसंग सहकार्यको प्रस्ताव अगाडि बढाइएको छ । नजिकै रहेको अर्को जग्गामा जितगढी बटौली युद्ध संग्रहालय निर्माण गरिएको छ ।

जितगढीमा अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन वि.सं.१८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उप–महानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउन सुरु गरेको थियो । त्यसअघि सम्म विजय भएको दिनको यकीन मितिमा एकमत थिएन ।

ऐतिहासिक स्मारक स्थल
बुटवल वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७२, बैशाख ७ गते) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए ।

हतियारले सुसज्जित अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशलता, पौरख एवम् वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी । आज सोही विजय उत्सवको दिन हो । राष्ट्रिय स्वाभिमानको किल्ला जितगढीमा नेपालले अंग्रेजलाई हराएर वीरताको गाथा लेखाएको यो स्थललाई बुटवल उपमहानगरले संरक्षण, सम्बद्र्धन र व्यवस्थित गरेको छ । उपमहानगरमा यसअघिका जनप्रतिनिधि निर्वाचित भएपछि गरेको सफलमध्येको एउटा काम हो । यसलाई अहिलेका जनप्रतिनिधिले पनि निरन्तरता दिएका छन् ।

जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ । अंग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नजिकै १३ जना वीर योद्धाका सालिक ठडिएका छन् । किल्लाको वास्तुकला, इतिहास, नेपाल–अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार भएको छ । हरियाली गार्डेन तयार भएको छ र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएको छ । किल्ला परिसरसंगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसंग जोडेन जरुरी छ ।

इतिहासका जानकार र विज्ञहरुको मेहनत
बुटवल उपमहानगरले विभिन्न समयमा इतिहासविद्, इतिहासका जानकार तथा विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर जितगढी युद्धमा साहदत प्राप्त गर्नेहरुको खोजी र पहिचान गर्न लगाएपछि मात्रै शालिक निर्माण गरिएको थियो । उक्त कार्यदलमा संयोजक झपेन्द्र जिसी र सदस्यहरु डा.सूर्यबहादुर जिसी, विमलबहादुर शाक्य, चन्दा रावल, निर्मल श्रेष्ठ तथा रवीन्द्रगोपाल लाकौल र वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले नेपाली सेनामा रहेका विज्ञहरु, इतिहासकार र सम्पदाका बारेमा जानकार रहेकाहरसंग अन्तरक्रिया गरेको थियो । संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग, नेपाली सेनालगायतका सुरक्षा निकायहरु, वटौली संरक्षण समिति तथा स्थानीय संघ–संस्था तथा क्लबहरुको सहकार्यमा जितगढीको संरक्षण र सम्बद्र्धन भइरहेको छ ।

को कस्को बन्यो शालिक ?
१ कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण भएको) । २.काजी वीरभञ्जन पॉडे (गुरुबक्स कम्पनी) । ३.कुम्भेदान कृपासुर थापा । ४.दलखम्ब थापा । ५.समशेर राना मगर । ६. सरदार सूर्जे थापा । ७.लेफ्टीनेन्ट अम्बर अधिकारी । ८.कुम्भेदान वृषसुर थापा । ९.जमदार भीमसेन देउजा । १०.जमदार शूरवीर बोहरा । ११.हवल्दार रणशूर बानियां । १२ सिपाही हंशवीर अधिकारी । १३. थरघर नकुल बानियां । १४.जुठे वस्नेतका शालिक तयार भएका छन् ।

सेनाको पदयात्रा जितगढी आउँदै
जितगढी किल्लामा निर्माण गरिएका वीर योद्धाका सालिकहरुलाई आज नेपाली सेनाले उपमहानगरमा हस्तान्तरण गर्ने कार्यक्रम छ । आजै गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको पदयात्रा यहीँ सम्पदा स्थलमा आउने छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै सेनाको टोली पैदलमार्ग हुँदै बुटवल आइपुग्ने छ । राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी पैदलयात्रामा ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लामा संख्या थप हुँदै गएको बताइएको छ ।