बुटवलमा ब्रिज एजुकेशनको १९औँ शाखा

मेचीकाली संवाददाता

३० आश्विन २०८२, बिहीबार
23 shares

बुटवल। विगत एक दशकदेखि वैदेशिक अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेशन कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेशनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो ।

युके, अस्ट्रेलिया र क्यानडामा शाखा कार्यालय स्थापना गरी विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहजीकरण गर्दै आएको ब्रिज एजुकेशनले नेपालका प्रमुख सहरहरूमा समेत आफ्नो शाखा बिस्तार गरेको चीफ अपरेटिङ अफिसर रुपेश थापाले बताए । आफूहरूले शैक्षिक परामर्शसँगै विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई त्यहाँ आइपर्ने समस्याहरूमा समेत सहजीकरण गर्दै आएको दाबी गरे । अधिकांश नेपाली विद्यार्थीहरू लहैलहै र साथीभाइको सिको गर्ने प्रचलनले नबुझी विदेश जाँदा दुःख पाउने गरेको बताउँदै उनले सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उल्लेख गरे ।

ब्रिज एजुकेसन बुटवल शाखाको उद्घाटन गर्दै वेष्टन मेघा कलेजका प्राचार्य कृष्ण शर्मा पौडेलले परामर्श केन्द्रले आर्थिक लाभको मात्रै माटो नहेरी सेवाको भावनाले समेत काम गर्न आग्रह गरे । ब्रिज एजुकेसनले युरोपका अधिकांश मुलुकहरू तथा विश्वका २५० बढी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । विद्यार्थीको माग र चाहनाअनुसार नै बुटवलमा समेत शाखा सञ्चालनमा ल्याइएको बुटवल शाखाका सञ्चालक अमृत कार्कीले बताए । यसैगरी बुटवल शाखाकै सञ्चालक एलिना श्रेष्ठले परामर्श सेवाबाट भविष्यमा कुनै पनि विद्यार्थीले विदेशमा पुगेर दुःख पाउन नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरिन् ।

काठमाडौँमा केन्द्रीय कार्यालय रही सन् २०१५ मा स्थापना भएको ब्रिज एजुकेशनले विदेशमा अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपाल फर्क अभियान समेत सञ्चालनमा ल्याएको छ । विदेशमा प्राप्त गरेको सीप र ज्ञानलाई फर्केर मुलुकमै लगानी गर्नुपर्छ भन्ने जागरण पैदा गर्नका लागि नेपाल फर्क अभियान पनि सञ्चालन गरिएको संस्थाको दाबी छ ।