नागपञ्चमीको महत्व र इतिहास

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
1615 shares

टेकराज पन्थी
नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो ।

नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।

हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पूजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रहेको छ । नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको नागपञ्चमीकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने धार्मिक परम्परा रहेको छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ । यसले गर्दा घरमा चट्याङ नलाग्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास रहिआएको छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ । ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन । कुनै पनि घर, गोठ तथा बंगला निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।

यो धार्मिक विधिविधान कुनै आडम्बर होइन । अन्धविश्वास होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको विषय हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधी बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत बस्ने पनि गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खिर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी ९भोग लगाई०, प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने प्रसिद्ध बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी शयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ ।

नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरी पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ ।

सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको श्रावण महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्त्व पनि त्यतिकै देखिन्छ । सर्पहरूलाई दुध पच्दैन भन्ने कुरा पनि छ र घरको ढोकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधको गन्धको कारण ढोकाबाट प्रबेश गर्दैन भन्ने किम्वदन्ती पनि छ ।

हिन्दू धर्मको मान्यताअनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । नाग भनेको सर्प हो, सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा गरी नागपञ्चमी मनाउँदै आएको पाइन्छ ।

भगवान् शंकरले गहनाको रुपमा र भगवान् विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरुमध्ये उत्तर दिशाका अमोघशिद्धि नागफणाद्धारा रक्षित हुन्छन् । नागपञ्चमी ९नाग टाँस्ने० दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।

पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो । घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ । श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो । यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान् शिवको पूजा गरिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ ।

सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन् । सर्प अक्सर दुलोमा बस्दछन् । सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन् । नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किम्वदन्ती पनि छ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

नागलाई प्रकृतिका रूपमा पनि लिन सकिन्छ । नागपूजाबाट के बुझ्न सकिन्छ भने सवै सर्प विषालु हुँदैनन् र सर्पले पर्यावरणलाई स्वच्छ बनाउन मद्दत पु¥याउँछ भन्ने वैज्ञानिक मान्यता छ । (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)