धार्मिक आस्था, पुरातात्विक महत्व, सामाजिक चेतना र समन्वयको साक्षीः हरिहर मन्दिर

मेचीकाली संवाददाता

१६ बैशाख २०८०, शनिबार
1810 shares

घनश्याम कोइराला

आकार र संरचनामा सानो, महत्वका दृष्टिले ठूलो मन्दिर, नवलपरासी (बसुपू) मध्यबिन्दु १५, प्रसौनीको हरिहर मन्दिर । मन्दिर र देवताको मूर्ति भन्नासाथ सबैका मनमा तरंगित हुने विषय आजापूजा नै हो । यो मन्दिर यहाँका जनसमुदायको धार्मिक आस्थाको केन्द्र त हुँदै हो, यहाँको राजनीतिक—सामाजिक चेतनाको विकासमा समेत यसको योगदान रहेको छ र यहाँको समन्वयको प्रतीक स्थल पनि हो । यस्ता मन्दिरहरूलाई फराकिलो दृष्टिले हेर्ने हो भने देखापर्ने तथ्य भिन्न हुन सक्दछ ।

यो मन्दिर त्यस्तै ओझेलमा रहेको मन्दिर हो । अब समाजले मन्दिरलाई हेर्ने, बुझ्ने दृष्टिकोणमा पृथकता ल्याउनुपर्दछ र यससम्बन्धी धारणामा परिवर्तन ल्याउनुपर्दछ । यस मन्दिरमा स्थापित हरिहरको मूर्ति यहाँ बनाइएको होइन । यो निकै पुरानो छ, यसको पुरातात्विक अध्ययन हुनुपर्ने देखिन्छ । गाउँका यस्ता मन्दिरहरू बहुआयामिक महत्वका छन् । यिनीहरूको उपयोग पनि बहुआयामिक ढङ्गले गर्न सक्दा समाजले पाउने लाभ पनि बहुआयामिक नै हुन सक्दछ ।

हाम्रो देशका अनेकौँ स्थानमा पुरातात्विक महत्वका अत्यन्तै महत्वपूर्ण, अन्यत्र कतै नपाइने प्राचीन सम्पदा स्थल, सम्पदा सामग्री–वस्तुहरू छन् । प्रागैतिहासिक अर्थात् वैदिक तथा पुराणकालीन स्थान र तिनीहरूसँग जोडिएका मूर्त तथा अमूर्त सम्पदा छन् । तिनीहरूको संरक्षण गरेर आन्तरिक एवं बाह्य पर्यटकहरू आकर्षित गर्न सकिन्छ । यसबाट पनि उत्पादन, खपत र रोजगारी सिर्जना गर्न सकिन्छ । यस्ता विषय तत्कालै सुरु गर्न सकिन्छ ।

हाम्रा हरेक गाउँमा धार्मिक मठ–मन्दिर छन्, क्षेत्रहेरी गम्बा र मस्जिद छन् । यस्ता स्थानहरूमा स्थानीय, प्रादेशिक र सङ्घीय स्रोतबाट आर्थिक लगानी भइरहेको छ । यस्ता स्थलहरूलाई सामाजिक सद्भाव, सांस्कृतिक जागरण, सरसफाइ, योगाभ्यास तथा योग प्रशिक्षण स्थलका रूपमा विकास गर्न सकिन्छ । मानिसहरूलाई नैतिक–चारित्रिक उपदेश तथा स्वच्छ–मनोविज्ञान विकास गर्ने स्थलका रूपमा स्थापित गर्न सकिन्छ । त्यस्ता ठाउँहरूमा आजापूजाका लागि आवश्यक पर्ने सामग्रीहरू उत्पादन गर्ने अवस्था निर्माण गर्न सकिन्छ र स्थानीय उत्पादनसँगै आन्तरिक पर्यटन विकास गर्न तथा रोजगारीसमेत सिर्जना गर्न सकिन्छ ।
राजनीतिक व्यवस्था जुनसुकै होस्, शासन प्रणाली जस्तोसुकै होस्, जुनसुकै पार्टी शासनसत्तामा होस्, देशको धर्म, संस्कृति र परम्पराका असल पक्ष जोगाउन स्थानीयहरूकै भूमिका महत्वपूर्ण हुन्छ । मानिसहरू बसाइँ सर्दा सामाजिक सांस्कृतिक परम्परामा अलिअलि भिन्नता आए पनि सचेत मानिसहरू आफ्ना पारम्परिक मान्यताहरूलाई जोगाइ नै रहन्छन् ।

परम्पराको सुरुआत राम्रै कारणले भए पनि परम्पराका सबै कुरा सदाकालका लागि अनुकरणीय हुँदैनन् । तर, परम्पराका सबै कुरा त्याज्य पनि हुँदैन । हाम्रो धर्म र संस्कृति परम्पराबाबाट नै चल्दै आएका छन् । संस्कृति निर्माणमा हाम्रो परम्पराको ठूलो अर्थ, महत्व र भूमिका छ । नवलपरासी जिल्लाको प्रसौनी गाउँ विकास समिति त्यतिबेलाको नमुना गाउँ विकास समिति थियो । यहाँ मिलेर बसेका बासिन्दा, यहाँको केरा, यहाँको मेवाले प्रसौनीलाई चिनाउँथ्यो । अहिले संघीयतापछिको पुनर्संरचनाले यसलाई नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पारेको छ र गाउँ विकास समितिबाट यो नगरपालिकामा परिणत भएको छ । तर, यो अब प्रसौनी गाउँ विकास समिति रहेन, देशकै मध्यभागमा रहेको पहिचान कमाएको ‘मध्यबिन्दु नगरपालिका’ को वडा नम्बर १५ भएको छ ।

धेरै मानिसलाई थाहा नहुन सक्दछ, यहाँको भिउराहन गाउँमा एउटा प्राचीन मूर्तिसहितको मन्दिर छ, हरिहर मन्दिर । यो हरिहर मन्दिरको इतिहास यो बस्तीभन्दा पनि पुरानो छ । यस ठाउँको मानव बस्तीभन्दा पुरानो मन्दिरभन्दा केही अपत्यारिलो र आश्चयजनर्क लाग्न सक्दछ, तर वास्तविकता यही नै हो ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर १५, प्रसौनी—माथिल्लो भिउराहनको बिचमा भागमा यो हरिहर मन्दिर रहेको छ । मान्यता, विश्वास र जानकारी अनुसार ‘हरि’ भनेका विष्णु र ‘हर’ भनेका महादेव–शिव हुन् । अन्यत्र हरि र हरका छुट्टाछुट्टै स्थान–मन्दिर छन्, तर एउटै मन्दिरमा रहेको एउटै मूर्तिमा हरि (विष्णु) र हर (शिव–महादेव) छन् । यहाँका मानिसहरू हरि र हरको पूजा एउटै मूर्तिमा गर्दछन् । धार्मिक सांस्कृतिक समन्वयको यो उदाहरण अन्यत्र कमै देख्न पाइन्छ ।

मानिससँगै परम्परा, मूल्यमान्यता, धर्म, संस्कृति पनि सर्छन् । यो हरिहर मन्दिरले पनि त्यही कुराको पुष्टि गरेको छ । यसको इतिहास गुल्मीको अस्लेवा, स्याङ्जाको बिर्घा र पाल्पाको भाल्दीसँग जोडिएको छ । यो मन्दिर र मूर्ति अहिले सबैको साझा हो । यसमा गाउँभरिका मानिसले आजापूजा गर्न पाउँछन् । किनभने यस मन्दिरका संस्थापक रहेका काश्यप गोत्रका भल्देली पाण्डेहरू यसलाई सबैको साझा बनाउनका लागि आप्mनो कुलदेवता–कुलायन पूजा गर्ने ठाउँ छुट्टै निर्माण गरेका छन् ।
भिउराहनका पाका व्यक्तित्व, भाल्देली पाण्डे वंश सुधार समितिका केन्द्रीय सदस्य चक्रपाणि पाण्डेका अनुसार यो मूर्ति स्थानान्तरणको इतिहास यस्तो छ, ‘अहिले यहाँ रहेका हामी पाण्डेहरूका कुलपुर्खा गुल्मीको अस्लेवामा रहेको र वहाँहरू स्याङ्जा जिल्लाको बिर्घा र त्यसपछि पाल्पाको भाल्दी सर्नुभएको रहेछ । यो हरिहरको मूर्ति पनि उहाँहरूसँगै गुल्मी, स्याङ्जा, पाल्पा हुँदै यहाँ ल्याइएको हो । हामीभन्दा पुरानो हो यो मूर्ति । हामी यसलाई हाम्रा पुर्खाको उपहार र नासो ठान्दछौँ । यो अहिले पुरातात्विक महत्वको सम्पदा बनेको छ ।’ उहाँका अनुसार यो मन्दिर र मूर्तिको माध्यमबाट यहाँ सरेका पाण्डेहरू धार्मिक सांस्कृतिक हिसाबले एकै गोलमा बाँधिएका छन् । चक्रपाणि पाण्डे द्वन्द्व कालमा यो मन्दिर, मूर्ति र यसका लागि छुट्याइएको जमिन पनि यसै रूपमा जोगाउन नसकिने हो कि जस्तो भएको सम्झनुहुन्छ ।

स्थानीय समाजसेवी अगुवा व्यक्तित्व बाबुराम पाण्डे यसको प्राचीनताको खोज गर्नुपर्ने मान्यता राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘देवीदेवताको पूजाआजा त मानिसले आआफ्नो आस्थाअनुसार जहाँ पनि गर्न सक्दछन्, तर मानवजातिले खास परिकल्पनासहित निर्माण गरेको यो मूर्ति अनमोल सम्पदा हो । यसमा भावना, आस्था, परिकल्पना, कला आदि धेरै कुरा मिसिएको छ । त्यसैले यसको निर्माणकाल थाहा पाउन पाए यसको महत्व अझ बढ्ने थिायो ।’ उहाँ थप्नुहुन्छ, ‘गाउँगाउँमा रहेका जनताको आस्थाका सांस्कृतिक सम्पदाहरू जोगाउन र सदुपयोग गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ । यी हाम्रो कलाका आधार हुन् । यस्ता प्राचीन सम्पदाहरूको खोजी र संरक्षण गर्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’
यो मन्दिरकै नाममा यहाँ विद्यालय पनि रहेको छ । यो विद्यालय निर्माणमा यो मन्दिरसँग सम्बन्धित व्यत्तित्वहरूको भूमिका रहेको छ । यसकै नाममा सहकारी संस्था पनि छ । विगतका कहालीलाग्दा राजनीतिक अवस्थामा यस मन्दिरले यहाँका मानिसहरूलाई सचेत र सङ्गठित गर्ने भूमिका पनि निर्वाह गरेको छ । यहाँ हुने गरेका सांस्कृतिक कार्यक्रमबाट सामाजिक राजनीतिक चेतना प्राप्त गरेको भन्ने मानिस यहाँ भेटिन्छन् । यसरी यो मन्दिर यहाँका जनजनमा परिचित छ ।

यस मन्दिरको संक्षिप्त इतिहास जान्न यो लिखतले सघाउँछ
‘गुल्मी जिल्लाको अस्लेवाबाट स्याङ्जाको बिर्घा हुँदै पाल्पा जिल्लाको तत्कालीन छापडाँडा बिर्ताअन्तर्गत हालको भाल्दीमा बिर्ता प्राप्त गर्दा वि.सं. १८९२ सालभन्दा अघिदेखि नित्य पूजाआजा गर्ने गरी हरिहर महादेव अति ऐतिहासिक मूर्ति प्राप्त भई भाल्दीमै नियमित रूपमा २०३९ सालसम्म पूजाआजा भई आएकोमा सो स्थानबाट सबै भाइ बसाइसराइ भई आउँदा गुठीको रूपमा रहेको जग्गा बिक्री गरी हाल नवलपरासी जिल्लाको प्रसौनी गाविस वडा नंं. ९ माथिल्लो भिउराहनमा मन्दिर निर्माण गरी महन्तहरूको व्यवस्थासहित ०–३–२ ०–२–० र ०–३–० जग्गा खरिद गरी नित्य पूजा चल्दै आएकोमा हाल सो मन्दिरको संरक्षण संवद्र्धन गर्दै समाजमा संस्कृति र सदाचारप्रति आस्था जगाउने र विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै समाजमा रहेको धार्मिक सांस्कृतिक अन्धविश्वास हटाई मानवीय मर्म र सामाजिक सद्भाव कायम राख्न ‘काश्यप गोत्रीय भल्देली पाण्डे वंशका’ धर्म–संस्कृतिप्रेमी अगुवाहरूको पहलमा स्थापना गरिएको यस संस्थाको नाम ‘हरिहर मन्दिर संरक्षण समिति’ रहेको छ ।’

हरिहर मन्दिर संरक्षण समितिको विधानमा रहेको प्रावधानअनुसार स्थानीय अधिकारीको स्वीकृतिमा शाखा अन्यत्र शाखा कार्यालय खोल्न र कार्यक्षेत्र विस्तार गर्न सकिने प्रावधान रहेको छ । अहिले यस हरिहर मन्दिर संरक्षण समितिको अध्यक्ष कमल पाण्डे हुनुहुन्छ । अध्यक्ष पाण्डे यो मन्दिरलाई समाजका लागि अझ उपयोगी कसरी बनाउने भन्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘पहिले यो मन्दिर एउटा वंश–परिवारको थियो । तर, अहिले यसमा थोरै भए पनि राज्यको लगानी भएकोले यो यहाँ समुदायको साझा संस्था भएको छ । यसबाट यहाँका सम्पूर्ण बासिन्दाहरूको हित हुने काम गर्ने विचार रहेको छ र यसैअनुसार योजना अगाडि बढिरहेको छ । म यसको विकास र दायरा विस्तारका लागि सहयोगको खोजीमा लागिरहेको छु । विश्वास छ, कुनै दिन विचार र योजनाले सार्थक सफलता पाउनेछ ।’

एउटै कुलवंशका मानिसहरूले स्थापना गरेको भए पनि सबैका लागि साझा हुनु, हरि र हर दुई भिन्न देवताका मूर्ति एउटै हुनुबाट यसले आपसी समन्वय, मेलमिला र सद्भावको सन्देश दिइरहेको देखिन्छ । गाउँको मध्य भागमा रहेको यो मन्दिरमा खुला हल, केही कोठा, चउर रहेको छ । यसमा थप निर्माण तथा सौन्दर्यकरण गर्दा आध्यात्मिक भावमा ध्यान दिनुपर्ने देखिन्छ । धार्मिक र सांस्कृतिक स्थलका संरचना अन्य संरचनाजस्तो भएर हँदैन, फरक हुनुपर्छ । यहाँ मुखले भनेर होइन, देखेर फरक सुन्दर भाव उत्पन्न हुनुपर्छ । त्यस प्रकारको बनोटमा ध्यन दिनुपर्ला !

मन्दिर भनेको धार्मिक सांस्कृतिक स्थल हो, धर्म भनेको आजापूजा गर्नु मात्र होइन । संस्कृति भनेको नाचगान मात्र होइन । धर्मको व्यापक अर्थ छ, संस्कृतिको अर्थ त परिस्कृत–सुधारिएको भन्ने हुन्छ । यस मन्दिर संरक्षण समितिले यसतर्फ ध्यान दिने छ । शुद्धता, स्वच्छता, सद्भाव, शान्ति, सुन्दरता यहाँको संरचनामा देखिनुपर्दछ । यसमा धार्मिक पुस्तकहरू, पाण्डे वंश र अन्य वंशका समेत वंशावलीलगायतका स्रोतसामग्रीहरू राख्न सक्दा यो मन्दिर र यहाँको संरचना बहुउपयोगी हुने देखिन्छ । विद्यार्थी, गृहस्थी, शिक्षक, धर्मात्मा, लेखक, चिन्तक, राजनीतिज्ञ, समाजसेवी सबैका लागि उपयोगी हुने संस्थागत कार्य यस्ता संस्थाको कामका क्षेत्र हुन् । पूजा के हो ? पूजा किन हो ? देवी को हुन् ? देवता को हुन् ? आदि विषयबारे समय समयमा चर्चापरिचर्चा–सत्सङ्ग गर्नु पर्दछ । यसले मन्दिरको पहिचान बढाउँछ र औचित्य पुष्टि गर्दछ ।

यस हरिहर मन्दिरलाई ‘दर्शन’ गर्ने मात्र नभई त्यहाँ पुग्ने प्रत्येक मानिसलाई ‘पूर्वीय दर्शन’ सिकाउने धार्मिक–सांस्कृतिक स्थलका रूपमा विकास गर्न आवश्यक छ । यसको अग्रसरतामा पूरै नवलपरासी जिल्ला र अन्यत्र पनि यस प्रकारका स्थलहरूको अध्ययन अनुसन्धान गर्न सके अझ राम्रो हुने देखिन्छ । धार्मिक तथा सांस्कृतिक स्थलहरूको सदुपयोग सकारात्मक मनोविज्ञानको विकासका लागि गर्न सकिन्छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)