घनश्याम कोइराला
आज नाग पञ्चमी ! प्रत्येक घरका ढोकाढोकामाथि नागका फोटा टाँसिएको । ससाना गोबरका डल्लामा टाँसिएको कागजको नागमाथि गोबरकै डल्लामा कपासको सर्पाकार, पूmल, अक्षता, पैसो समेत टाँसिएको देखिन्छ । नागको टाउका भएतिर चन्द्रमा र सूर्य, तलतिर दाहिने–बायाँ खजुरो, बिच्छी, माछा, भ्यागुता, गँगटा आदिको चित्र । यो गाउँघरको दृश्य हो । त्यहाँ मन्त्रका रूपमा श्लोक लेखिएको हुन्छ : ‘अनन्तो वासुकिः पद्मोमहापद्मश्च तक्षकः । कुलीरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकृर्तिताः अर्थात् अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शंख यी आठ कुलका नाग छन् ।’ यसरी यी आठ कुलका नागको सम्झना गरेर नागको पूजा गरिँदैआएको छ ।
सनातन संस्कृति पर्वमय संस्कृति हो । पर्व भनेको कुनै निश्चित तिथिमा मनाइने उत्सव हो । शब्दको भाव अर्थले दिने भावअनुसार पर्व भनेको जोर्नी हो, अर्थात् एउटा विषयले अर्को विषयलाई, एउटा सन्दर्भले अर्को सन्दर्भलाई र एउटा तिथिले अर्को तिथिलाई जोड्ने पनि हो । यसलाई सामाजिक दृष्टिले हेर्दा पर्व भनेको सामाजिक जोड वा जोडान हो । हरेक दिन महत्वपूर्ण छन् । सबैलाई उत्सवमय बनाउन सम्भव नभएर होला, हाम्रा पुर्खाले खास दिनलाई विशेष ढंगले मनाउने चलन चलाए ।
सनातन संस्कृति प्रकृतिलाई मानवीकरण–सामाजीकरण गरिएको संस्कृति हो । मानिसलाई जे आवश्यक पर्दछ, प्रकृतिका हरेक वस्तुलाई तिनै विषयसँग जोडेर पर्वहरू मनाइने गर्दछ । मानिस प्रशंसाबाट खुसी हुन्छन्, सम्मानबाट सन्तुष्ट हुन्छन्, देवता स्तुतिबाट प्रसन्न हुन्छन् । प्रकृतिका हरेक वस्तु देवता बनाइएका छन् । पूजा, प्रशंसा, स्तुति आदि सबै सम्मानका रूपहरू हुन् । देवी–देवताको सम्मानलाई पूजा र प्रशंसालाई स्तुति भनियो । यद्यपि, स्तुति भनेको देवीदेवताको प्रशंसा मात्र होइन । विभिन्न कालखण्डमा स्तुतिको अर्थ फरक रहेको पनि पाइन्छ ।
वेदमा हरेक आवश्यक प्राकृतिक अवस्थालाई महत्व दिइएको छ । प्रकृतिका हरेक जीव, पदार्थ, वनस्पति उपयोगीलाई देवता मानिएको छ । सबैका लागि सबै उपयोगी र सबै उपयोगीको सम्मान र सबै सम्मानित देवता मानिएका अनेकौँ उदाहरण र प्रमाण वेदमा पाइन्छ । यसमा आह्वान गरिने, अनुरोध गरिने व्यक्तिहरू (मानिसहरू) देवता मानिएका छन् । हरेक उच्चतालाई देवता मानिएको छ । हरेकलाई शक्ति र शक्तिको स्रोत मानिएको छ ।
यही मान्यताको एउटा पर्व हो–नागपूजा । सामान्यतः नाग भनेको सर्प हो । कसैकसैले सर्पको कुनै खास प्रजातिलाई मात्र नाग भनेको पनि पाइन्छ । हाम्रो संस्कृतिमा सर्पलाई नाग मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । साउन शुक्ल पक्षको पञ्चमी तिथिमा नागपूजा गरिन्छ । पूजा भनेपछि धर्मसँग, त्यो पनि कुनै खास धर्मसँग जोडेर हेरिने भएको हुनाले यो सनातन हिन्दू धर्मसँग सम्बन्धित धार्मिक कार्यसूचीमा पारिएको छ । सनातनका पुरोधाहरूले हरेक उपयोगीलाई देवता मानेजस्तै हरेक महत्वपूर्ण विषयलाई धर्ममा समाविष्ट गरेको देखिन्छ । तर, सर्प–नागको पूजा, नागको संरक्षण र नागबाट सावधानी सबैका लागि उत्तिकै महत्वपूर्ण विषय हो । प्रकृति र प्रकृतिको जीवको महत्व बुझ्ने हरेकका लागि यो महत्वपूर्ण छ ।
नातन संस्कृतिमा पूजा गरिने जीव सर्प–नाग मात्र होइन; माछा, कछुवा, बँदेल, सिंह त भगवान् विष्णुका अवतार नै छन् । गरुड, काग, गाई, गोरु आदि पशुपन्छी पूजितको श्रेणीमा पर्दछन् । ढुंगा, माटो, पानी, पर्वत, हावा, आगो, आकाश, पाताल, प्रभात, दिवा, सन्ध्या, निशी (रात्रि) आदि वस्तु र समय पूजित छन् । आँप, पिपल, वर, डुम्री, पाकरी, समी, तुलसी, कुश, दुबो आदि पूजामा प्रयोग गर्ने वृक्ष, वनस्पति र झार हुन् ।
केरा, सुपारी, नरिवल आदि पनि उस्तै महत्वका छन् । आयुर्वेदमा साह्रै धेरैथरि वृक्ष, वनस्पति, अन्नका औषधीय गुणतत्वका विषयमा उल्लेख गरिएको पाइन्छ । जीवहरूको उत्पत्ति, आवश्यकता, जैविक चक्र, यिनीहरूबाट हुन सक्ने जोखिम आदिका विषयमा पनि अहिले धेरै कुरा पढ्न पाइन्छ । सम्बन्धित विषयका अध्येता, अनुसन्धाताहरू निरन्तर सोधखोज, अध्ययन, अनुसन्धान गरिरहेका छन् ।
यी सबै अध्ययनका आधार भने हाम्रा पुर्खाले फेला पारेका विषयवस्तुहरू नै हुन् । सर्पबारे अग्निपुराणमा विस्तृत रूपमा लेखिएको छ । सर्पका विष, सर्पदंशको उपचारका विषय पनि अग्निपुराणमा पढ्न सकिन्छ ।‘ शेषवासुकितक्षाख्याः कर्कटोद्रब्जो महाम्बुजः । शंखपालश्च कुलिक इत्यष्टौ नागवर्य्यका ः अर्थात् शेष, वासुकी, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंखपाल र कुलिक यी आठ श्रेष्ठ नाग हुन् ।’ (अग्निपुराण, १९४।२)
यस पुराणका अनुसार यिनमा पनि ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्रको भेद गरी चार वर्णमा विभाजन गरिएको छ । यिनीहरू क्रमशः हजार, आठ सय, पाँच सय र तीन सय फणा भएका हुन्छन् । नागका वंशज पाँच सय छन् । यिनीहरूका चार मुख्य भेद र छब्बीस उपभेद छन् । गोनस, राजिल, व्यन्तर सर्प क्रमशः सोह्र, तेह्र र एक्काइस किसिमका छन् । यिनीहरूका फरक–फरक चिन्ह, गति, आकृति भिन्न–भिन्न छन् । यिनका विषको प्रभाव पनि एकै प्रकारको छैन । यिनको जन्मने, काँचुली फेर्ने समय आदि समेतबारे अग्निपुराणमा पढ्न पाइन्छ । सर्पका विषयमा अध्ययन गर्न वा जान्न चाहनेहरूका लागि अग्निपुराण आधार ग्रन्थको रूपमा रहेकोछ ।
‘सर्वे नागाः प्रीयन्तां मे ये केत् िपृथिवीतले । ये च हेलिमरीचिस्था येद्रन्तरे दिवि संस्थिताः ।।
ये नदीषु महाभागा ये सरस्वति गामिनः । ये च वापीतडागेषु तेषु सर्वेषु वै नमः अर्थात् जो नाग पृथिवीमा, आकाशमा, स्वर्गमा, सूर्यका किरणमा, सरोवरमा, ईनारमा, तलाउमा बस्दछन्, ती सबैलाई मेरो नमस्कार छ ।’ यस श्लोकबाट सर्पका स्थानको व्यापकताको अनुमान लगाउन सकिन्छ । सर्प सरीसृप प्रजाति अर्थात् मूलतः घस्रिएर हिड्ने जीव हो । तर, केही सर्प उड्ने पनि हुन्छन् । चलन चल्तीमा उडुवा सर्प, पानी सर्प, हरियो सर्प (हर्रेउ), कालो सर्प, धमिलो सर्प आदि भनिएको पाइन्छ र देखिएको पनि छ ।
वैज्ञानिकहरूले जैविक विविधता र यसको सन्तुलनका लागि प्रकृतिमा सर्पको आवश्यकता रहेको बताएका छन् । सर्पले वातावरणमा रहेको प्रदूषित वायु–ग्यास आफूले लिन्छन् । यसबाट उनीहरू थप विषाक्त बन्दछन् । यसरी सर्पले वातावरणीय शुद्धतामा योगदान गर्दछन् भनिन्छ । यसैले सर्पहरू विषाक्त हुन्छन् । विषयुक्त हुनु सर्पको अवगुण नभई विशेषता हो । त्यसैले ‘बिख (विष) नभएको सर्प र ईख (महत्वाकाङ्क्षाको अर्थमा) नभएको मानिसको काम छैन’ भनिन्छ ।
सर्पले डस्दा वा टोक्दा मानिसलाई गरिने उपचारमा सर्पकै विष आवश्यक हुन्छ भनिन्छ । सर्पको विषमुक्त गर्न सर्पकै भेनम चाहिन्छ । वातावरणीय शुद्धता मानिसको पक्षमा नाग–सर्पको योगदान हो । पानी पँधेरामा नागको थान बनाएर त्यहाँको शुद्धता रक्षा गर्ने चलन गाउँघरमा अझै नासिएको छैन । अहिले मुहान सफा राख्न गरिने अनकौँ क्रियाकलाप उहिले उहिले नागको थान बनाउनु र त्यसमा समय समयमा गरिने पूजाले मात्र धानेको थियो ।
नागको थान भएपछि मानिसहरू त्यसको वरपर, दिसापिसाब गर्न र अन्य फोहर पार्न डराउँथे । हाम्रा पुर्खाले यसरी पनि नागसर्पको सम्मान गर्ने र त्यसबाट लाभान्वित हुने गरेका उदाहरण छन् । यसकारण पनि सर्प मार्न हुँदैन र सर्पको संरक्षण गर्नुपर्ने देखिन्छ । यस्तो योगदानको सम्मान गर्नु नागपूजा हो । नागको चित्र बनाएर ढोकैमा टाँस्नाले उनीहरूको सम्झना हुन्छ, सम्मान हुन्छ र उनीहरूबाट सतर्क रहन सहयोग पुग्दछ ।
अहिले सर्पको पूजा गर्ने विषयलाई डर र अन्धविश्वासको रूपमा बुझ्ने गरिन्छ । तर, कुनै सुनिश्चित परिणाम प्राप्त हुने गरी कायम गरिएका परम्परालाई अन्धविश्वास भन्न मिल्दैन । विश्वास वा अन्धविश्वासको कुरा उद्देश्य र परिणामले पुष्टि गर्ने हो । मानिस सचेत बन्दै आउँदा डर हरायो । यो राम्रो पक्ष हो, तर मानिसमा डर हराउने सचेतनताले त्यही मात्रामा वातावरणीय स्वच्छता, पानीका मुहानको स्वच्छता कायम राख्न सकेको भए नागपूजा गर्ने ‘अन्धविश्वास’ यही रूपमा ग्रहणीय हुने थियो ।
नकारात्मक परिणाम दिने विज्ञान–विश्वासभन्दा सकारात्मक परिणाम दिने अन्धविश्वास नै श्रेयष्कर देखिन्छ । अन्धविश्वासका विरुद्ध उभ्याइएका विज्ञान र विश्वासले मानिस, प्रकृति र प्राणी जगतको हित गर्न नसक्दा ‘अन्धविश्वास’ को निरन्तरता नै विज्ञान र विश्वासका रूपमा रहिरहने तथ्य बिर्सनु हुँदैन । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)