जननेता मदन भण्डारीको स्मृतिमा

मेचीकाली संवाददाता

३ जेष्ठ २०८०, बुधबार
218 shares

हितराज पन्थी
आज जेठ ३ गते । नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको दिन अर्थात् जननेता मदन भण्डारी र कुशल संगठक जीवराज अश्रितको रहस्यमय दुर्घटनामा मारिएको दिन । नेकपा एमालेको तेस्रो कास्की जिल्ला अधिवेशनमा भाग लिएर २०५० साल जेठ ३ गते दिउँसो ३ बजे कास्कीका नेता–कार्यकर्तासँग बिदा भई जेठ ४ गते चितवनमा हुने एमालेको अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेलामा भाग लिन चितवनतर्फ जाँदै गर्दा दासढुङ्गामा रहस्यमय दुर्घटना भएको थियो ।

नेकपा एमाले पार्टीको बा.अ.च ८७९३ नम्बरको पजेरो जीपमा मदनसँगै पार्टीका संगठन विभाग प्रमुख जीवराज आश्रित, गोरखा एमालेका सचिव ऋषि कट्टेल र चालक अमर लामा थिए । झण्डै सवा ३ बजे पोखराबाट मुग्लिनतर्फ लागेको जीपमा रहेका कट्टेल आँबुखैरेनीमा झरेपछि दासढुङ्गा पुग्दा बेलुकीको पौने ६ बजेको थियो । नेता कट्टेल भने आँबुखैरेनीमा ओर्लिएका थिए । दुर्घटनाका साक्षी अमर लामाको २०६० सालमा कीर्तिपुरमा लखेटीलखेटी हत्या भयो । हत्याको जिम्मा लिँदै माओवादीले पर्चा छरेको थियो । नेकपा एमालेका नेताद्वय मदन–आश्रित मारिएको आजको दिनमा उहाँहरु दुवैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

वि.सं. २००९ साल असार १४ गते इस्वी संवत् जून २७, १९५२ मा पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा मदनको जन्म भएको थियो । पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँलो सन्तानको रूपमा उहाँको जन्म भएको थियो । मदन भण्डारीले प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गर्नुभएको थियो । मदन भण्डारी तृष्ण बुद्धिका धनी मानिनुहुन्थ्यो । त्यसैले त अप्ठेरा पाठहरू पनि दुईपटक पढेपछि सधैँका लागि कण्ठ गर्न सक्ने क्षमता थियो । अक्षर चिन्न भर्खर सुरु गर्दा नै चण्डी कण्ठाग्र गर्दा उहाँ जिल्लाभर चर्चित रहेको बताइन्छ । भण्डारीले वि.सं. २०२३ मा गाउँको पढाइ पूरा गर्नुभएको थियो ।

वि.सं. २०२४ सालमा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइसराइ गरेको थियो । पछि उहाँ भारतको मथुरामा अध्ययन गर्न जानुभयो । दुई वर्ष मथुरामा अध्ययन पूरा गरेपछि वि.सं. २०२८ मा बनारस पुग्नुभएका भण्डारीले वि.सं.२०३३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । वि.सं.२०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नुभएको बताइन्छ । वि.सं. २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्दा भण्डारी केन्द्रीय सदस्य बन्नुभएको थियो ।

वि.सं. २०३० सालमा पार्टीको पूर्णकालीन सदस्य हुनुभयो । बनारसमा हुँदा संगठित रूपमा क्रियाशील राजनीतिज्ञसँग नजिक हुने मौका पाउनुभएको थियो । वि.सं.२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरिएको थियो । त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी वि.सं.२०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्व कोअर्डिनेशन केन्द्रमा आवद्ध भई मुक्तिमोर्चा समूहलाई नै त्यसमा विलय गराइएको थियो । वि.सं.२०३५ सालमा नेकपा (माले) स्थापना भयो र मदन भण्डारी केन्द्रीय सदस्य बन्नुभयो । वि.सं.२०३९ सालमा विद्या पाण्डेसँग वैवाहिक बन्धनमा बाँधिनुभयो । उहाँका दुई सन्तान (उषकिरण र निशाकुशुम) हुनुहुन्छ ।

वि.सं.२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र वि.सं.२०४६ सालमा नेकपा (एमाले) को चौँथो महाधिवेशनमा महासचिव बन्नुभयो । वि.सं.२०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले (माक्र्सवादी एकीकरणबाट उहाँ नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्र्सवादी–लेनिनवादी (एमाले) को महासचिव बन्नुभयो । वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । यसबेला उहाँको चर्चा विश्वभरि नै भएको बताइन्छ ।

सर्वप्रिय र चर्चित नेता
मदन भण्डारीलाई धेरैले प्रिय नेताका रुपमा लिन्छन् । ‘जीवन सिद्धान्तका लागि होइन सिद्धान्त जीवनका लागि हुनपर्छ, पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन, सिद्धान्तलाई व्यवहारमा लागू गरिँदैन । वचनअनुसार काम गरिँदैन र नाराहरुलाई कार्यरुप प्रदान गरिँदैन भने तिनीहरुको दुई पैसाको पनि मोल हुँदैन, आत्मालोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन कामलाई योग्यतापूर्वक सम्पादन गर्नका निम्ति आफ्नै विगतबाट सिक्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्छ, अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रताविनाको अनुशासन निरंकुशता हुन्छ, क्रान्ति यतास्थितिको मात्रात्मक विकल्प मात्र होइन त्यो गुणात्मक विकल्प हो र राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने उहाँका भनाइ नेपाली समाजमा निकै चर्चित छन् ।

त्यस्तै ‘काग कराउँदै गर्छ हात्ती हिँड्दै गर्छ, पिना सुक्दै गर्छ, राजा मान सम्मानलाई उपभोग गर्दै किनारमा बसिबक्सियोस् महाराज हात नलम्काइ बक्सियोस्, प्रजा नचम्काइ बक्सियोस् आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस्, यदि सन्डमुसन्डलाई चलाउने हो भने यदि सन्डमुसन्डाई नै अगाडि ल्याउने हो भने महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता बनेर आउनुप¥यो र साहित्यमा प्रयोग हुने सिंहावलोकन । सिंहावलोकन भनेको ‘सिंहले चार पाइला हिँड्छ रे यस्सो पछाडि फर्किए र हेर्छ रे कहीँ बेठिक त भइरहेको छैन’ जस्ता भाषण निकै चर्चित थिए ।

नेपालमा कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिक बाटोमा हिँडाउन अतुललीय योगदान पु¥याउनुभएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन सङ्कटमा परेका बेला जनताको बहुदलीय जनवाद (जबज) जस्तो वैज्ञानिक विचारलाई अगाडि सार्ने काम मदनबाटै भएको हो । भण्डारीले प्रतिपादन गरेको जबज माक्सवार्दको नेपाली संस्करण मानिन्छ । विश्व प्रसिद्ध पत्रिका न्यूजवीकले छापेको मदन भण्डारीको अन्तर्वार्तामा ‘इन नेपाल माक्स लिभ्स’ अर्थात् नेपालमा कार्लमाक्र्स जीवित छन् भनेर उल्लेख गरेको थियो । वि.सं २०४९ सालमा तत्कालीन नेकपा एमालले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको रुपमा प्रस्तावित गरिएको थियो । मदन भण्डारीलाई विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले पनि आर्दश पुरुषका रुपमा लिइन्छ ।

कहालीलाग्दो दिन जेठ ३
बहुदलीय जनवादको व्याख्या गर्ने एवं नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं.२०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय निधन भएको थियो । दुर्घटनापछि जीवराज आश्रितको गाडीमै मृत अवस्थामा शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल पश्चिम चितवनको गाजिपुर भन्ने ठाउँमा शव फेला परेको थियो । नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन सकेर चितवनको चैनपुरमा जेठ २ देखि सुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय भेलालाई सम्बोधन गर्न आउने क्रममा दासढुङ्गामा कार दुर्घटनामा परेको थियो । सो घटनाको छानबिन गर्न धेरै आयोग बनाइए पनि वास्तविकता अहिलेसम्म पनि बाहिर आउन सकेको छैन ।

नेपाली राजनीतिका शिखर पुरुष मदन भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपूरणीय क्षति हो । देशको राजनीतिमा धेरै मान्छे आउँछन् र जान्छन् । इतिहासले तीमध्येका केही केही मानिसलाई मात्र स्मरणयोग्य बनाउँछ । इतिहासले स्मरणयोग्य बनाउने नेतामध्येकै एक नेता मदन भण्डारी हुनुहुन्थ्यो । यस्तै कुशल संगठक, मृदुभाषी नेता जीवराज आश्रित नेपाली कम्युनिष्ट आन्दोलनका अर्का एक खम्बा हुनुहुन्थ्यो । उहाँको शालिनता, सरलता र तीक्ष्णताले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण आयाम सिर्जना गरेको थियो ।

पार्टीको स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका संघर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेकपा एमाले आज लोकप्रिय मतको जनादेश प्राप्त गरेको छ । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध रहेको पार्टी नै नेकपा एमाले हो । आजको यस दिनमा फेरि पनि जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । (पन्थी नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हुन् ।)