व्रतबन्धः संस्कार शृङ्खलाको दसौँ संस्कार !

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
1390 shares

घनश्याम कोइराला

सनातन संस्कृतिमा सोह्र संस्कारको प्रावधान रहेको छ । संस्कार भनेको परिस्कार गर्नु हो । जीवनलाई परिस्कार गर्न, नियमित गर्न र एकरूपता कायम गर्न यस्ता संस्कारहरू प्रचलनमा ल्याएको देखिन्छ । संस्कारहरू कति वटा हुने भन्ने विषयमा मतैक्य भने रहेको देखिँदैन, तर ‘सोह्र संस्कार’का विषय सबैका मतमा रहेका छन् । के हुन् त १६ संस्कार ? ती यस प्रकार छन् ।

१. गर्भाधान २. पुंसवन ३. सीमन्तोन्नयन ४. जातकर्म ५. नामकरण ६. निष्क्रमण ७. अन्नप्राशन ८. कर्णवेध ९. चूडाकर्म १०. उपनयन (व्रतबन्ध) ११. वेदारम्भ १२. केशान्त १३. समावर्तन १४. विवाह १५.अग्न्याधान र १६. अन्त्येष्टि हुन् ।

सोह« संस्कारको क्रमका हिसाबले व्रतबन्ध १० औँ संस्कार हो । यो संस्कार बालक अलिकति जान्ने बुझ्ने भएपछिको पहिलो संस्कार हो । त्यसैले बालकलाई सङ्कल्प /प्रतिज्ञाहरूको बन्धनमा राखेर जीवन व्यवस्थापनका विषयमा शिक्षित दीक्षित गर्ने प्रक्रिया प्रारम्भ गरिन्छ । वास्तवमा व्रतबन्ध धार्मिक विषय मात्र होइन, यो परम्परा र संस्कारको को विषय हो । यो अनुशासित, मर्यादित जीवनका लागि कार्य गर्ने र सुखी, समृद्ध, विवेकयुक्त चिन्तन तथा व्यवहार गर्ने सङ्कल्प लिने कर्म र त्यसका लागि आयोजित समारोह हो । व्रतबन्ध सनातन परम्पराको १६ संस्कार मध्येको एउटा महत्वपूर्ण संस्कार हो । यो एक प्रकारको शपथग्रहण हो ।

व्रत भनेको नियममा बस्ने सङ्कल्प हो बन्ध भनेको त्यसप्रतिको दृढता हो, त्यसलाई नछोड्ने थप प्रतिबद्धता हो । तर त्यो दृढ हुनुपर्ने सङ्कल्प किन हो ? के छ त्यसमा त्यस्तो अडिग हुनुपर्ने विषय ? यतातिरको सोच पातलिएको छ । किन ? भन्न नसकेपछि के हो ? भन्ने कसरी थाहा हुन्छ र ? यस विषयमा सानो विवेचना गरौँ ।

पहिले नै गरिसकिएको भए पनि हामीकहाँ प्रचलित परम्परा अनुसार चूडाकर्म (कपाल खौरने कार्य), कर्णवेध (कान छेँड्ने कार्य) पहिले नै गरिसकिने भए पनि विधिवत् रूपमा यी कार्य उपनयन(व्रतबन्ध)कै क्रममा सम्पन्न गरिन्छ । ११ औँ क्रममा रहेको वेदारम्भ गायत्री श्रवणपछि यसै दिन (व्रतबन्धकै अवसरमा) गरिन्छ । चूडाकर्म, कर्णवेध, उपनयन, वेदारम्भ गर्ने कर्मलाई नै समग्रमा उपनयन वा व्रतबन्ध भनिन्छ । जनै लगाउने कर्म भएको र जनैलाई यज्ञोपवीत भनिने भएकोले यस कर्म/संस्कारलाई यज्ञोपवीत संस्कार पनि भन्ने गरेको पाइन्छ । यस कर्ममा वटुक(व्रतबन्ध गरिने बालक)लाई निम्नानुसारको प्रतिबद्धता गराइन्छ । यथाः

ब्रह्मचार्यसि ? असानि ब्रह्मचर्यमा रहन्छु । ब्रह्मचर्य भनेको सत्यको अनुसरण र असत्यको परित्याग हो । आपोशान ? अश्नानि(( जल आचमन गरेर मात्र भोजन ग्रहण गर्छु । कर्म कुरु ! करवाणि कर्मशील रहन्छु (सध्रैं कर्म गरिरहन्छु) । मा दिवा सुषुप्थाः ! न स्वपामि(( दिउँसोमा सुत्दिन । वाचं यच्छ ! यच्छामि(( संयमित भएर बोल्छु । समिधमाधेहि ? आदधानि दाउरा (खोजेर) ल्याउँछु । अपोऽशान ! अश्नानि((भोजनको अन्त्यमा आचमन गर्छु ।

वटुकले यी आदेश पालनका गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । यस अवसरमा गुरुले वटुकको हृदयमा हात राखेर ‘ॐ मम व्रते ते हृदयं दधामि मम चित्तमनुचित्तं ते अस्तु । मम वाचमेकमना जुषस्व बृहस्पतिष्ट्वा नियुनक्तु मह्यम् अर्थात् हे मेरा शिष्य, तिम्रो हृदयलाई मैले मेरो अधीन गर्दछु । तिम्रो चित्त सधै मेरो चित्तको अनुकूल होस् । तिमी मेरा कुरालाई एकाग्र मन गरी प्रेमपूर्वक सुनेर त्यसको अर्थ ग्रहण गर्ने गर । आजदेखि बृहस्पतिले तिमीलाई तिम्रो प्रतिज्ञाको अनुकूल मसँग सम्बन्धित गरून् ।’

यसरी शिष्यलाई प्रतिबद्ध गराइरहँदा शिष्यले पनि ‘हे आचार्य, तपाइँको हृदयलाई म आफ्ना कर्म अर्थात् उत्तम शिक्षा र विद्याको लागि धारण गर्दछु । परमात्माले सधै मेरा लागि तपाइँलाई नियुक्त गरिराखून्’ भनेर प्रतिबद्ध बनाउँछन् । (महर्षि दयानन्द सरस्वती, संस्कारविधि) यसरी गुरु((शिष्यका बीचमा पारस्परिक सहमति हुन्छ ।

नित्य जनै लगाउनू र यसको पवित्रताको रक्षा गर्नू, प्राणायाम गरी सूर्यलाई अर्घ दिएर गायत्री मन्त्र जप्नू, वेदको अध्ययन गर्नू भनेर पनि सिकाइन्छ । नित्य जनै लगाउनु र यसको पवित्रताको रक्षा किन गर्ने ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । व्रतबन्धको दिनमा सुरुमा कुशको तीनसरे जनै लगाइदिइन्छ र पछि धागोको तीनसरे जनै लगाइदिइन्छ । तीनै सरालाई कसैले ब्रह्मा, विष्णु, महेशको स्वरूप भन्दछन् भने कसैले कर्म, उपासना र ज्ञान पनि भनेका छन् । कसै कसैले यसलाई पितृ((पुर्खा, ऋषि र देवताको रूपमा पनि अथ्र्याएको पाइन्छ । यसलाई सत्व, रज र तम गुण भनेको पनि पाइन्छ । यसलाई ब्रह्मचारी, गृहस्थी र वानप्रस्थी गरी तीन आश्रमीले मात्र धारण गर्ने भएकोले यसैको प्रतीक पनि मानेका छन् । कर्म, उपासना र ज्ञान । शिखा (विशेष प्रकारको गाँठो) पारिएको हुन्छ । तीनसरा जनैको तीनसरामध्ये एउटा पितृ, अर्को ऋषि र अझ अर्को देवताको सम्मानको प्रतीक मानिन्छ । कफ, वात र पित्त सम्झाउने सूत्रको रूपमा पनि भन्ने गरिएको पाइन्छ । तीन ताप(( आध्यात्मिक, आधिदैविक र आधिभौतिकका रूपमा पनि लिइन्छ । जनैका विषयमा अनेकौँ मान्यताहरू रहेका छन् । यी सबैको प्रतीकात्मक सार पनि छन् ।

व्रतबन्धले ज्ञानव्रती, कर्मव्रती र साधनाव्रती हुन सिकाउने कुरा यस क्रममा प्रयोग गरिने कर्मकाण्ड र प्रक्रियाहरूबाट जानकारी पाइन्छ । समय क्रममा यसका स्वरूपमा परिवर्तन पनि हुँदै आएको होला । स्थानविशेषको परम्परागत भिन्नता पनि होला । तर व्रतबन्धको समग्र प्रक्रिया हेर्दा यसले पितृ((पुर्खाहरूलाई, ज्ञान र अनुभवका स्रोत ऋषिमुनिहरूलाई तथा चराचर जगतका सृष्टिकर्ता, पालनकर्ता र लय (विलय)कर्ता आध्यात्मिक शक्तिलाई स्मरण गराएको देखिन्छ ।

यसमा प्रथमतः नान्दिमुखी आदि गरेर पितृ((पुर्खाहरूको स्मरण गरिन्छ । जन्म/वंश प्रदान गर्ने पितृपुर्खाहरू प्रतिको सम्मान भनेको इतिहासको स्मरण र सम्मान हो, जो व्रतबन्धको अङ्ग बनेको छ । इतिहासको सम्मान गर्नेको पनि इतिहासमा सम्मान हुनसक्दछ । यसले सम्मान संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

यसमा अर्को स्मरणीय पक्ष छ(( ऋषिहरूको सम्मान । ऋषि भनेका हाम्रा ती पुर्खा हुन् जसले हाम्रा लागि ज्ञान सञ्चय गरिदिएका छन् । अहिले हामीले प्रयोग गर्न पाएका अनेकौँ ज्ञानपरक विषयहरू तिनै ऋषिमुनिका आर्जन हुन् । तिनै अनुभवहरूका पुञ्जका रुपमा उनीहरूले हामीलाई ‘वेद’ उपलब्ध गराएका छन् । वेद त्यस्तो संग्रह हो(( जसमा प्रकृतिका विशेषता, सृष्टि र यसका अनेकौँ पक्षहरू, प्रकृति र मानव बिचको सम्बन्ध, मानवीय व्यवहारका प्राचीन स्वरूप, सभ्यताको विकासमा मानव जातिको श्रम तथा परिकल्पना मानव समाज विकासको लागि पथप्रदर्शक नै छ । पहिलो वेदको रूपमा परिचित ऋग्वेदका मन्त्रहरूमा प्रकृतिका हरेक वस्तुलाई महत्व दिइएको पाइन्छ । ती मन्त्रहरूमा तिनीहरूको उपयोगिता तथा गुणको गान गरिएको छ । उनीहरूका गुण र दोषका विषयमा उल्लेख गरिएको छ । जीविकाका पक्षहरू दर्शाइएको छ । वैज्ञानिक आविष्कारका आधार वेदका मन्त्रहरूमा निहित छन् । त्यहाँ हरेक जीवनोपयोगी र शक्तिशाली विषयलाई देवताको रूपमा स्वीकार गरिएको छ । सृष्टि, स्थिति र लयको शक्ति भएको प्रकृतिलाई सर्वोपरि रूपमा स्वीकार गरिएको छ । यी विषय व्रतबन्धको सारभूत विषयका रूपमा देखाउन खोजिएको पाइन्छ । व्रतबन्धमा प्रदान गरिने गायत्री मन्त्र आफैमा सूर्यबाट गरिएको अपेक्षा नै हो । ‘ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।। अर्थात् भूलोक, भुवलोक, स्वःलोक (तीनै लोकमा) उनै सूर्य देवताको वरण गर्न योग्य भृगुका सन्तानलाई हामी धारण गरौँ, यिनले हाम्रो बुद्धिलाई असल मार्गतर्फ प्रेरित गरून् ।’

यस क्रममा प्रजापति, इन्द्र, अग्नि र सोमलाई आहुति दिइन्छ । त्यस्तै नवाहुति भनेर अग्नि, वायु, सूर्य, वरुणादिलाई आहुति दिइन्छ । यसरी प्रकृति तथा नेतृत्वलाई देवता स्वीकार गरिएको पाइन्छ । यस मान्यता अनुसार देवता को हुन् भन्ने बुझ्न कत्ति गाह्रो छैन ।

व्रतबन्धलाई उपनयन पनि भनिने प्रसंग माथि नै उल्लेख भइसकेको छ । शब्दको व्युत्पत्तिगत अर्थको हिसाबले ‘अध्ययनार्थं आचार्यस्य उप समीपं नीयते येन कर्मणा अर्थात् अध्ययनको लागि गुरुको समीपमा गइन्छ जुन कर्म गरेपछि त्यसलाई उपनयन भनिन्छ ।’ व्रतबन्ध भएपछि बालक गुरुकुलमा रहने र त्यहीँ रहेर शिक्षा((विद्या प्राप्त गर्ने परम्परा प्राचीन परम्परा हो । व्रतबन्धको अर्को महत्वपूर्ण पाटो छ परम्परा अनुसार गुरुकुलमा बस्ने ब्रह्मचारीहरूले भिक्षाटन गर्ने, गौसेवा गर्ने, समिधा संकलन (दाउरा बटुल्ने) गर्ने आदि । भिक्षाटनको सामान्य अभ्यास त व्रतबन्धकै दिन व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका आफन्तसँग ‘भवति भिक्षां मे देहि, भिक्षां भवति मे देहि , भिक्षां मे देहि भवति’ भनेर भिक्षा माग्ने र ‘स्वस्ति’ भनेर ग्रहण गर्ने गरिन्छ र यहाँ प्राप्त भएको सबै गुरुलाई दिने प्रचलन रहेको छ । यसबाट के देखिन्छ भने गुरुकुल बसुञ्जेल वटुक÷ब्रह्मचारीले अन्य कामहरूसँगै भिक्षा दान लिने र गुरुलाई समर्पण गर्नुपर्छ । माग्ने विषयले मानिसलाई विनम्र बनाउँछ । माग्ने क्रममा ती ठाउँ÷समाजको दुःख((सुख, भौतिक वस्तुस्थितिको बारेमा जानकारी हुन्छ र गृहस्थ जीवन जिउने ‘कला’ सिकिन्छ । बोली((वचन र व्यवहारबारे ज्ञान तथा अनुभव प्राप्त हुन्छ ।

यसरी एकातिर गुरुबाट शिक्षा प्राप्त गर्ने, त्यहाँ गरिने गौसेवा तथा अन्य कामको अभ्यासबाट व्यावहारिक विषयको ज्ञान हुन्छ भने अर्कोतिर भिक्षावृत्तिका क्रममा पाइने ज्ञानानुभवले परिपक्व बनाउँछ । शिक्षा, दीक्षा, ज्ञान, अनुभवबाट खारिएको ब्रह्मचारी परिपक्व २५ वर्षे युवा उमेरमा गृहस्थ आश्रममा प्रवेश गर्दछ । अनुमान गरौँ(( यो जीवन कस्तो होला ? स्वाभाविक छ, यस्तो जीवन सहज हुन्छ । व्रतबन्धको अत्यन्तै महत्वपूर्ण अन्तर्वस्तु यो हो ।

यस्तो राम्रो विषयबाट केही मानिसहरूलाई वञ्चित पारिएको छ । सनातन परम्पराको यस प्रकारको विभेद वास्तवमा वञ्चितिका लागि थिएन जस्तो लाग्छ । मानिसका गुण, रूची, स्वभाव, क्षमता फरक((फरक हुन्छ र यही भिन्नताका आधारमा कार्य विभाजन हुनु वैज्ञानिक ठहर्छ । तर कुनै पेसाजीवीका सन्तान रूची, स्वभाव र क्षमता नभए पनि उही पारम्परिक पेसा गर्ने र परिचित हुने विषय वैज्ञानिक हुन सक्दैन । के अहिले मानिसहरू शास्त्रनिर्धारित पेसामा छन् त ? छैनन् ।

‘जाति’का नाममा अहिले हामीले देखिरहेको विभेद यथार्थमा वर्ण व्यवस्थाबाट आएको हो । यो विभाजन सुरुमा स्वैच्छिक रहेका धेरै प्रमाणहरू छन् । धार्मिक ग्रन्थहरूमा हेर्दा यस्तो निरपेक्ष विभेदको प्रमाण भेटिंदैन, अपितु गुण, कर्म, स्वभावका आधारमा मात्र यस्तो पृथकता सृजिएको पाइन्छ । यस्तो प्रमाण श्रीमद्भगवद्गीतामा कृष्णले भनेको यस उद्धरणबाट स्पष्ट हुन्छ ः

चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः । गुण र कर्मको आधारमा विभाजन गरी चारै वर्णको समूह मैले नै सिर्जना गरेको हुँ । (श्रीमद्भगवद्गीता)

यस्ता प्रसंग नीतिशास्त्रहरूमध्येको एउटा महत्वपूर्ण ग्रन्थ ‘शुक्रनीति’मा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र र म्लेच्छ गरी पाँच प्रकारका मानिस रहेको कुरा उल्लेख गरिएको छ ।

कर्मैव प्राक्तनमपि क्षणं किं कोद्रस्ति चाक्रियः ।

न जात्या ब्राह्मणाश्चात्र क्षत्रियो वैश्य एव न ।।

न शूद्रो न च वै म्लेच्छो भेदिता गुणकर्मभिः ।

ब्रह्मणास्तु समुत्पन्नाः सर्वे ते किं नु ब्राह्मणाः ? ।।

यी श्लोकहरूको अर्थ हो(( पुराना कर्म नै मानिसको भाग्य बन्दछ । कर्म नगरीकन कोही बस्न सक्दैन । जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जातिको भेद छुट्याउन सकिन्छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ?

त्यसै गरी यसलाई अझ स्पष्ट पार्दै भनिएको छ ः

त्यक्तस्वधर्माचरणा निर्घृणाः परपीडकाः । चण्डाश्च हिंसका नित्यं म्लेच्छास्तेद्यविवेकिनः ।।

अर्थात् आफ्नो धर्म त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंस्रक स्वभाव भएका र अविवेकीहरूलाई सधैँ म्लेच्छ भन्ने गरिएको छ ।

परम्परा र विज्ञान ! परम्पराको विज्ञान ! विज्ञानको परम्परा ! के भनौँ ? वर्ण व्यवस्थाको मूल ग्रन्थमा कुनै द्विविधा उत्पन्न भएमा वेदलाई नै अन्तिम प्रमाण मान्नुपर्ने भनेको छ ः

धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः । अर्थात् धर्मको विषयमा जान्नेहरूका लागि सबैभन्दा श्रेष्ठ प्रमाण श्रुति (वेद) हो । (मनुस्मृतिः २/१३) वेदमा जातीय व्यवस्था देखिंदैन । बरु, वेदमा जात नभनीकन पृथ्वीमा पाँच प्रकारका पेसाजीवीको व्यवस्था रहेको देखिन्छ ः
यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः । भूम्यै पर्जन्यपत्न्यै नमोद्रस्तुवर्षमेदसे ।।

अर्थात् जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका (विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवक) मानिस आनन्दले रहन्छन्, जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ । (अथर्ववेद)

यहाँ कुनै जातको प्रसङ्ग देखिँदैन । पूर्वी मान्यतामा ब्रह्माजीलाई सृष्टिकर्ता मानिएको छ र ब्रह्माजीका सृष्टिलाई अपरिवर्तनीय मानिन्छ । यसैलाई आधार बनाएर कसै कसैले ब्राह्मण, क्षेत्रिय, वैश्य, शूद्रलाई नै ब्रह्माजीको सृष्टिको अपरिवर्तनीय चार जात बनाएको पनि देखिन्छ । तर यसो होइन । ब्रह्माको सृष्टिका अपरिवर्तनीय चार जात भनेका त अण्डज, श्वेदज, उद्भिज र जरायुज हुन् ।

जन्मना जायते शूदः्र कर्मणा द्विज उच्यते अर्थात् जन्मले शूद्र हुन्छ र कर्मबाट द्विज भनिन्छ भनिएको छ । त्यो द्विज हुने कर्मलाई चलनचल्तीमा व्रतबन्ध भनिएको देखिन्छ । व्रतबन्धलाई कर्मचलाउने भनिएबाट यसको अनुमान गर्न सकिन्छ । तर हाम्रो प्रचलनको कुनै कालखण्डदेखि मानिस चाहेर र कर्म गरेर पनि ‘द्विज’ हुन नपाउने व्यवस्था आयो । यिनै असङ्गत प्रावधानहरूका कारण आज हाम्रो अमूल्य मौलिक निधिहरूका पक्षमा खुलेर, अपनत्व बोध गरेर लाग्न सक्ने अवस्था नहुँदा बाहिरबाट आएका संस्कृतिले हाम्रो समाजमा बलियो जरा गाडिरहेको छ । सनातन संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न अब सबैले सोच्नुपर्ने बेला भइसकेको छ ः

समानी व आकूतिः समाना हृदयानि वः । समानमस्तु वो मनो यथा वः सुसहासति ।।

अर्थात्(( तिमीहरूको हृदय एकै होस्, तिमीहरूको मन एकै होस्, सङ्कल्प एकै होस् । त्यसैबाट एकापसमा मिलेर आआफ्ना सबै काम पूरा गर्न सक । (ऋग्वेद) वेदका यस्ता सूत्रात्मक प्रावधानहरूको पालन गरौँ ।

व्रतबन्धको सन्दर्भ उठ्दा मलाई एउटा प्रसङ्ग सम्झना आउँछ । कुनै ठाउँमा एउटा बालकको व्रतबन्धको कार्यक्रम रहेछ । सो कार्यक्रम बडो धुमधामसँग सम्पन्न भएछ । अन्य कर्मकाण्डीय विधिसहित बालकलाई जनै लगाइदिइएछ । ती बालकले पनि फुरुङ्ग हुँदै जनै लगाएछन् । जनैलाई काँधमा तलमाथि तानतुन पारेर मिलाएछन् । अनि भर्खरै आपूmलाई कानमा खुसुक्क मन्त्र सुनाएका आफ्ना गुरुलाई भनेछन्, ‘गुरु खोई त साँचो ?’ गुरुले भनेछन्, ‘केको साँचो बाबु ?’ ती बालकले भनेछन्, ‘जनैमा झुण्ड्याउने साँचो के । जनैमा झुण्ड्याउन पर्दैन र ?’ गुरु अलमल्ल परेर प्रश्नवाचक दृष्टिले ती बालकलाई हेरिरहेपछि बालकले भनेछन्, ‘बाबाले त जनैमा साँचो झुण्ड्याउनु हुन्छ नि ! भन्नुभएको थियो, त्यही भएर भनेको ।’ यस प्रसङ्गले व्रतबन्धबारे हाम्रो आमबुझाइ व्यक्त गरेको छ । व्रतबन्ध र जनैको यो दृष्टान्तले के देखाउँछ ? व्रतबन्ध गर्ने र जनै लगाउने भनिएको समुदायले यसबाट केही सिक्नपर्छ कि ?

यी विषय सीमित जाति((समुदायको मात्र रह्यो भने, सबैलाई संस्कारको दायरामा ल्याउन सकिएन भने यी साँगुरो दायरामा थन्किइरहने छन् । अतः वयं राष्टे जागृयाम पुरोहिताः को मर्म अनुसार पुरोहितहरूले आफ्ना सोच र प्रवृत्ति विस्तार गर्नपर्छ नत्र व्रतबन्धले भोज र जनैले पितृ, ऋषि र देवताको स्मृति होइन, दराजको साँचो मात्र वहन गर्नेछ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)