ज्ञानगंगा पाठशालामा नमुना मतदान अभ्यास

मेचीकाली संवाददाता

१३ असार २०८२, शुक्रबार
122 shares

बुटवल । तिलोत्तमा नगरपालिकास्थित ज्ञानगंगा पाठशालामा विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले नमुना मतदान अभ्यास सम्पन्न भएको छ । विद्यालयको शुक्रवारीय कार्यक्रमअन्तर्गत विद्यालयको बाल क्लब गठन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीहरूमा असल नेतृत्वको चयनको तरिका व्यवहारिक रूपमा विकास गर्ने उद्देश्यले मतदान अभ्यास कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयसँग समेत समन्वय गरी विद्यार्थीहरुमा निर्वाचनका नीतिहरुबारे जानकारी गराउनुका साथै बाल क्लबमा आफैँले रोजेको नेता साथीलाई मतदान गरी यसको प्रक्रियाको बारेमा विद्यार्थीलाई जानकारी गराएकोे विद्यालयका प्रधानाध्यापक चन्द्र अधिकारीले बताए ।
कक्षा ५ देखि १० कक्षासम्मका करिब ३७७ जना विद्यार्थीहरु मतदान कार्यक्रममा सहभागी भएको विद्यालयका सहप्राचार्य केशवराज पन्तले बताए । मतदान प्रक्रियामा सुरक्षाका लागि प्रहरीको भूमिकामा स्काउटमा संलग्न विद्यार्थीले भूमिका निर्वाह गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाले बताए ।

निर्वाचनबाट विजयी बाल क्लवका पदाधिकाहीहरुलाई टिका तथा खादाले सम्मान गरिएको मावि संयोजक निर्मला थापाले बताइन् । विभिन्न ७ पदका लागि निर्वाचन भएको कार्यक्रमका संयोजक सागर लामिछानेले बताए । कार्यक्रममा सहजीकरका शिक्षकहरु नाजनिम बेगम, कमल थापा, पार्थ सुवेदीलगायतले गरेका थिए ।