समर्पण र पारदर्शितामाथि पूर्वाग्रह नराख्न मुसिकोटको आग्रह

मेचीकाली संवाददाता

१५ असार २०८२, आईतवार
240 shares

गुल्मी । हालै सामाजिक सञ्जालमा मुसिकोट नगरपालिकाका गतिविधिहरू, विशेषतः नगरप्रमुखमाथि लक्षित केही टिप्पणीहरू व्यापक रूपमा भ्रामक किसिमले फैलिएका छन्, जसले जनमानसमा भ्रम सिर्जना गरेको देखिन्छ । उक्त विषयलाई लिएर नगरपालिकाका प्रवक्ता हरिहर सापकोटाले सार्वजनिक रूपमा तथ्यमा आधारित स्पष्ट जानकारी दिएका छन्, जसले नगरवासी तथा सरोकारवाला पक्षहरूमा उठेका शंकाहरूको उचित जवाफ दिएको छ ।

नगर प्रवक्ताले विज्ञप्ति जारी गरि नगरको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी समर्पित भएर लागेको र नागरिक समाजबाट पनि सोही खालको सहकार्य र समन्वय भइरहेको स्पष्ट पारेका छन् । उनका अनुसार नगरपालिका हाल पूर्वाधार विकास, जलवायु अनुकूलन, सुशासन र विपद् न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आगामी वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको बताएका छन् ।

नीति कार्यक्रम र बजेट बनाउने जस्तो संवेदनशील घडीमा योजनाबद्ध रुपमा विकासको गति अवरुद्ध पार्ने गलत आशयका साथ तथ्य तोडमरोड गरी अनावश्यक टिकाटिप्पणी भएको भन्दै नगर प्रवक्ताले आपत्ति जनाएका छन् ।
नगरपालिकाले यस विषयमा प्रमुख, प्रवक्ता र प्रमुख प्रशासकीय अधिकृतसमेतले जवाफ दिनेगरि हालै पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सोही पत्रकार सम्मेलनपछि नगर प्रवक्ताद्वारा हस्ताक्षर गरिएको दुई पेजको विज्ञप्ति सार्वजनिक भएको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरका विस्तृत विवरणहरु सबै पारदर्शी रहेको, वेभसाइटहरुमा समेत सबै खर्च र आम्दानीका विवरणहरु सार्वजनिक गर्ने गरिएको र समग्र नगरको विकासमा जनप्रतिनिधि, कर्मचारीका बीचमा सौहार्द सहकार्य रहेको स्पष्ट पारेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटमार्फत निर्दिष्ट भएका काममा सरोकारवालाहरुको पारदर्शिता रहेको भन्दै कुनै पनि पूर्वाग्रही हल्ला र टिप्पणीबाट प्रभावित नहुन आग्रह गरे ।

सवारी साधनको विषयमा प्रस्टोक्ति
नगरपालिकाको सेवा सञ्चालन तथा विशिष्ट पाहुनाको आगमन व्यवस्थापनका लागि सवारी साधनको आवश्यकताबारे स्पष्टीकरण दिँदै प्रवक्ता सापकोटाले भने, ‘हाम्रो पालिकासँग केवल एकवटा सवारी साधन मात्र छ । नयाँ गाडी खरिद गर्दा लाग्ने ठूलो खर्च बचाउन, सेवा तथा विकासमा बजेट केन्द्रित गर्न हामीले मितव्ययी उपायस्वरूप आवश्यकतामा भाडाको गाडी प्रयोग गरेका हौं ।’

इन्धन प्रयोगको विवरण सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) मा अभिलेख राखिने गरिन्छ र प्राविधिक कारणले केही महिना प्रणाली सञ्चालनमा नआएको अवस्थामा एकै मितिमा इन्धन विवरण प्रविष्टि भएको देखिनु स्वाभाविक रहेको बताइएको छ ।

इन्धन खर्चप्रतिको आशंका असत्य
सामाजिक सञ्जालमा एक पदाधिकारीले अत्यधिक इन्धन खर्च गरेको आरोपको खण्डन गर्दै उनले भने, ‘सवारी प्रयोग गर्ने सिफारिसमा पदाधिकारीको नाम देखिए पनि, वास्तवमा तिनै सवारी कर्मचारी, सामग्री ढुवानी टोली, तथा योजनाको अनुगमन टोलीले प्रयोग गरेका हुन्छन् । कार्यको प्रकृति अनुसार एकै दिनमा विभिन्न कार्यहरूका लागि गाडीको प्रयोग हुनुपर्ने बाध्यात्मक अवस्था हुन्छ ।’

सार्वजनिक जीवन र सेवा प्रतिको समर्पण
नगर प्रमुख जीवन खरेल सहित सबै जनप्रतिनिधिहरू र कर्मचारीहरू नगरबासीका सेवा र समृद्धिको लक्ष्यसाथ चाडपर्व, विदा र असहज घडीहरूमा पनि निरन्तर खटिएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले व्यक्तिगत लाभ र सुविधाको लोभमा नलागेको प्रष्ट पारे । उनले तथ्यहीन, मनगढन्ते हल्लाबाट नगरपालिकाको विकास र जनसेवामूलक कार्य प्रभावित नहोस भनेर सबैलाई आग्रह गर्दै स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक, नगरवासी, सञ्चारकर्मी तथा जिम्मेवार प्रेसप्रति आभार व्यक्त गरे ।

संयम र तथ्यको मार्ग अवलम्बन गर्नेछौंः नगर प्रमुख
नगरपालिका प्रशासनले पारदर्शिता, उत्तरदायित्व र मितव्ययी कार्यशैलीलाई आत्मसात गर्दै योजनाबद्धरूपमा स्थानीय विकास अघि बढाइरहेको नगर प्रमुख खरेलले स्पष्ट पारेका छन् । पूर्वाग्रही सोंच राखेर सामाजिक सञ्जालमा फैलाइएका आधारहीन हल्लाहरूबाट प्रभावित नहुन उनले नगरबासीलाई आग्रह गरेका छन् । ‘नगरको समग्र उन्नतिमा बाधा पु¥याउन विभिन्न तत्वले विभिन्न खाले हल्लाको सहारामा गलत प्रवृत्ति देखाउने खतरा कायमै छ, यसमा नगरप्रशासनले संयम र तथ्यको मार्ग अवलम्बन गर्दै अग्रगमनको बाटो समात्ने नै छ, विचलित हुनेछैन’ नगर प्रमुख खरेलको प्रतिवद्धता छ ।