

कपिलवस्तु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले एसईई तथा स्ववियु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका–२, पिपरामा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जिपिए ल्याउने विद्यार्थीहरू र स्ववियु निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुजन कडरियाले यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रोत्साहन गर्नुका साथै जिम्मेवारीबोध गराउने बताए । उनले आगामी दिनमा अझ प्रभावकारी ढंगले विद्यार्थीहरूको नेतृत्व विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने स्पष्ट पार्दै विद्यार्थी आन्दोलनले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इञ्चार्ज गिरीधारीलाल न्यौपानेले विद्यार्थी राजनीतिमा लागेका युवाहरूले अध्ययन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताए । ‘नेतृत्व भनेको केवल पदमा पुग्ने कुरा होइन, त्यो जिम्मेवारी हो । आज सम्मानित प्रतिनिधिहरूले भविष्यमा राष्ट्रको नेतृत्व सम्हाल्ने गरि अघि बढ्नुपर्छ ।’, उनले भने ।
नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य एवं विद्यार्थी फाँट इञ्चार्ज सुन्दर पाण्डेले यस्ता कार्यक्रमले शिक्षित, जिम्मेवार र जागरूक नेतृत्व निर्माणमा सहयोग गर्ने बताए । युवाहरूलाई निरन्तर अध्ययन, संगठन र संघर्षमा जुट्न आग्रह गरे ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य आर्जन रिजाल, केन्द्रीय सदस्य बिष्णु घिमिरे, अनेरास्ववियु लुम्बिनी प्रदेश संयोजक रमेश ढकाल, सह–संयोजक अन्जित खनाल र मदन भण्डारी तथा नेकपा एमाले कपिलवस्तु जिल्ला सदस्य एवं पूर्व अनेरास्ववियु अध्यक्ष टुकलाल गैरे लगायतको उपस्थीति रहेको थियो । सम्मानसँगै विद्यार्थीहरूलाई नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण तथा प्रगतिशील आन्दोलनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।