इतिहास किन पढ्ने ? पुराण किन सुन्ने ?

मेचीकाली संवाददाता

३ असार २०८०, आईतवार
938 shares

घनश्याम कोइराला

इतिहास, इति–यस्तो, ह–भएको, आस–थियो, अर्थात् विगतमा यस्तो भएको थियो । इतिहास शब्दको चिरफार यही हो । इतिहास पढ्दा विगत जानिन्छ । विगत जान्नुको अर्थ हो–विगतबाट शिक्षा लिनु । विगत जानिएन भने पुर्खा जानिन्न । पुर्खा जानिएन भने आपूm भेटिन्न । आपूm नै फेला नपरेपछि आपूmले गर्ने काम ठमिन्न । आपूm नभेटिनु भनेको वर्तमान नठम्याइनु हो ।
राम्रो वा नराम्रो जस्तो लागे पनि विगत हाम्रो आधार हो । विगत हाम्रो पहिचान हो । हाम्रो परिचय विगतसँग नै जोडिएको छ । हाम्रा जात, थर आज बनेका होइनन् । हाम्रो संस्कृतिको आधार पनि विगत नै हो । हाम्रा पुर्खा नभएको भए हामी हुने थिएनौँ ।

हामी नहुनुको अर्थ हो वर्तमान हुने थिएन । विगत नभएको भए वर्तमान हुने थिएन । सोचौँ त हामीसँग विगतको पहिचान नभएको भए के हुन्थ्यो होला ? हामीलाई अरुले के भनेर बेलाउँथे होला ? हामीले आफ्नो परिचय के भनेर दिन्थ्यौँ होला ?
इतिहास भनेको अनुभवहरूको सँगालो पनि हो । जानकारी र सीपमा अनुभवलाई जोड्न सक्दा ज्ञान परिपक्व हुन्छ । परिपक्व ज्ञानले नै मानिसलाई ज्ञानी बनाउँदछ । इतिहास पढ्नु भनेको विगतलाई सम्मान गर्नु हो । विगतलाई सम्मान गर्नु भनको वर्तमान भेट्टाउनु हो । वर्तमान भेट्टाउनु भनेको हाम्रा अधिकार, कर्तव्यबारे जान्ने–बुझ्ने अवसर पाउनु हो, जीवनको मूल्यबोध गर्न र आफ्नो जीवनलाई मूल्यवान् बनाउन पाउनु हो । हाम्रो नाम, हाम्रो जाति, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो समग्र पहिचान हामीले विगतबाट पाएको हुनाले यी सबैका आधारहरू थाहा पाउन हामीले हाम्रो इतिहास पढ्नु पर्दछ ।

कतिपय मानिसहरू विगतलाई सराप्दछन् । विगत यस्तो, विगत उस्तो आदि भनेर नराम्रा मात्र पक्षहरू खोज्ने र त्यसैको विरुद्धमा जाने जतिका शब्द खर्चने गर्दछन् । आजका सबै कमजोरीहरूको दोष विगतलाई मात्र थोपर्दछन् । यसरी प्रस्तुत हुन्छन्, मानौँ आज हुन बाँकी रहेका सारा कामहरूका लागि विगत दोषी छ । नभए जतिका दोष विगतकै थाप्लामा पोख्दछन् । अनि, केही मानिसहरू वर्तमान अवस्थालाई सराप्दछन् । विगतकै मात्र गुणगान गाएर बस्न रुचाउँछन् । जे हुनु थियो सबै विगतमा नै भयो ।

अब हुनका लागि केही बाँकी नै छैन जस्तो गर्दछन् । बहादुरी हिजै भयो, आज बहादुरीका लागि कुनै विषय नै छैनन् भनेझैँ गर्दछन् । वास्तवमा यी दुवै विषय इतिहासका राम्रा पक्षलाई निरन्तरता दिन मिल्ने विषयलाई निरन्तरता दिने, शिक्षा मात्र लिन सकिने भए विगतबाट शिक्षा लिने कुरा मात्र सही हुन सक्दछ । जस्तो कि, देशको रक्षाका लागि बलभद्र कुँवरले नालापानीमा अङ्ग्रेजका विरुद्ध लडाइँको नेतृत्व गरे । यो विगतको राम्रो काम हो, तर आज ठ्याक्कै त्यही गर्ने अवस्था र आवश्यकता छैन । राष्ट्रिय स्वाभिमानको रक्षाका लागि आज फरक ढङ्गको भूमिका आवश्यक छ । विगतका हाम्रा पुर्खाले जातीय विभेद खडा गरे, आज हामीले पुर्खाले गरेको कामका नाममा निरन्तरता दिन आवश्यक रहेन । तर, त्यसका विरुद्धमा आजका मानिसहरूका विरुद्धमा जातीय बदला लिने कुरा सही हुन सक्दैन । सन्दर्भवश हिजो राम्राका लागि भएका केही कामहरू पनि आज फेर्न पर्ने हुन्छ । विगतका त्यस्ता अवस्थाहरूको अध्ययन गर्नु नै इतिहास पढ्नुको सार्थकता हो ।

कुनै शक्ति, कुनै संस्कृति, कुनै मान्यता सधैँ एकनासले काम लाग्ने वा कुनै कालखण्डमा बने–सिर्जेका कुरा कामै नलाग्ने भन्ने हुँदैन । यही सापेक्षतामा आजको समाज, आजका मानिसहरूको मनोविज्ञान, आजका मानिसहरूको अवस्था तथा आवश्यकतालाई ठम्याएर वर्तमानलाई समन्यायिक बनाउन, समृद्ध र सम्पन्न पार्न, सभ्यता र संस्कृतिलाई मानवहितकारी बनाउन इतिहास पढ्नै पर्ने हुन्छ । इतिहासका लडाइँ–झगडाहरूबाट भएका हानी नोक्सानी नदाहोे¥याउन, विगतका नकारात्मक विभेदबाट उत्पन्न हानी नोक्सानीको क्षतिपूर्ति गर्न, पराविगतका समभाव, सहकर्मलाई आवश्यकता अनुसार पुनःस्थापित गर्न इतिहास पढ्नु पर्दछ ।

तर, इतिहास पढ्दा ख्याल गर्न आवश्यक पक्ष केहो भने अधिकांश इतिहास जित्नेहरूले लेखाएका छन्, जित्नेहरूको लेखिएको छ, जित्नेहरूको पक्षपोषण गरिएको पनि छ । तत्काल हार्ने पक्षका विषयमा समेत ध्यान दिएर इतिहास पढियो भने इतिहासबाट सही निष्कर्ष निकाल्न सजिलो पर्नेछ । आज इतिहास पढ्नु र इतिहासलाई महत्व दिनु भनेको पछि आपूmले पनि सम्मान पाउनु हो । किन कि हरेक वर्तमान इतिहास बन्दछ । हामी पनि इतिहास बन्दछौँ । हाम्रै विगत पनि इतिहास नै हो । तर, इतिहास पढ्नु र इतिहासलाई महत्व दिनु भनेको विगतमुखी होइन है ।

विगतमा भएका कुरा जान्नका लागि इतिहास पढ्नु पर्दछ । इतिहास पढ्नाले वितेका दिन, ती दिनका अवस्था, त्यसबेलाको व्यवस्था, रहनसहन, रीतिथिति, शैली, शिल्प, विद्या, कला, कौशल, खानपान, पहिरन, निर्भरता, द्वन्द, न्याय आदि अनेकौँ विषयको जानकारी पाउन सकिन्छ । पुराण शब्दको अर्थ पनि पहिले भएको भन्ने नै हुन्छ । तर, यो निर्धारित प्रक्रिया पु¥याएर लेखिएको हुनुपर्दछ भने इतिहास जे भएको हो त्यही लेख्ने हो । इतिहास विषय वा घटना प्रधान हुन्छ भने पुराणलेखनका खास नियम हुन्छन् । (पुराणमा सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर, वंशानुचरित यी पाँच विषय समेटिएको हुनुपर्दछ भनिएको छ ।) पुराणमा विशेष व्यक्तिको महिमा मण्डन गरिएको हुन्छ भने इतिहासमा त्यस्तो हुुन जरुरी छैन ।

इतिहासबाट होस् वा पुराणबाट यसरी पाइने जानकारीलाई ज्ञानको स्रोत बनाउन सकिन्छ । ज्ञानलाई जीविकाको माध्यम बनाउन सकिन्छ । जीविकाको विस्तार गरेर जीवनलाई समृद्ध बनाउन सकिन्छ । समृद्धिको विस्तार गरेर सिङ्गो समाज र राष्ट्रलाई सम्पन्नताको उँचाईमा उठाउन सकिन्छ । यस सम्पन्नता भित्र धन मात्र होइन, माथि उल्लेख गरिएका सबै विषय पर्दछन् । इतिहासको अध्ययन सम्पन्नताको आधार बन्न सक्दछ ।

इतिहास पढ्नु भनेको वाक्य संरचनाको, वाक्य उच्चारणको अभ्यास होइन । वर्तमानको सापेक्षता पहिल्याउनु हो । पहिल्याइएको सापेक्षतामा भूमिका तथा स्थानहरूको खोजी र प्राप्ति हो । पुराण पढ्नुको पनि कम महत्व छैन । वर्णन, वर्णनीयता, छन्द, अनुप्रास, रस, अलङ्कार आदिका साथै संस्कृतिका सुगन्धहरू यसमा पाइने विषय हुन् । हामी इतिहास पढौँ, चाहे पुराण । ती आजको आज होइनन्, ती विगतका आज हुन् । तिनीहरूलाई आजको सन्दर्भमा जस्ताकोतस्तै खोज्नु भनेको दिउँसोमा जुनको प्रकाश खोज्नु जस्तै हो । तिनीहरूबाट प्रेरणा, उदाहरण लिन सकिन्छ । पुराण पढ्दा पाइने विषयहरू प्रतिकात्मक हुन सक्दछन् ।

पुराणमा देवी–देवता, भगवानहरूको वर्णन पाइन्छ । ती देवी—देवता, भगवान्हरूका वर्णनमा तिनीहरूको भूमिकाको वर्णन पाइन्छ । उनीहरू कुनै पनि जिम्मेवारीभन्दा बाहिर देखिँदैनन् । त्यस्ता वर्णनहरूमा ब्रह्मालाई सृष्टिकर्ताको भूमिकामा देखाइएको छ । विष्णुलाई पालनकर्ताको र शिवलाई संहारकर्ताको रूपमा देखाइएको छ । सरस्वतीलाई शिक्षासँग जोडिएको, लक्ष्मीलाई धनसँग जोडिएको र पार्वतीलाई शक्तिकी अधिष्ठात्री भनिएको छ । यी सबै उनीहरूका जिम्मेवारीका विषय हुन् ।

जति नै शक्तिशाली, चमत्कारी भनिएको भए तापनि विना भूमिका कोही पनि देखिँदैन । सबैले आपूmमा भएका शक्ति आपूmलाई निर्धारित गरिएको जिम्मेवारी पूरा गर्नका लागि उपयोग गरेको देखिन्छ । पौराणिक कथाका सबै विषयमा विश्वास गर्न अप्ठ्यारो लाग्नेहरूले पनि ठूला वा साना, जोसुकैले पनि काम नगरी हुँदैन भन्ने शिक्षा पुराणहरूबाट ग्रहण गर्न सकिन्छ । यिनै विषयमा निरन्तर रूपमा ध्यानाकर्षण गराइराख्ने उद्देश्यका लागि पुराण सुन्ने, सुनाउने गरिन्छ भने यसको सार्थकता अझ बढ्नेछ ।