शिक्षा, कृषि र पूर्वाधारलाई जोड दिँदै स्थानीय तहले ल्याए बजेट

मेचीकाली संवाददाता

११ असार २०८०, सोमबार
145 shares

बुटवलको २ अर्ब ३६ करोड, तिलोत्तमाको २ अर्ब ७३ करोड, सिद्धार्थनगरको १ अर्ब १३ करोड, देवदहको १ अर्ब, ७ करोड, सैनामैनाको १ अर्ब १० करोड, लुम्बिनीको ८२ करोड, ओमसतियाको बजेट ४७ करोड, सियारीको ६१ करोड, ५० लाख, मायादेवीको ७३ करोड २७ लाख

बुटवल । स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि शिक्षा, कृषि, पूर्वाधार र स्वास्थ्यलाई जोड दिँदै स्थानीय तहले आइतबार बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गनुपर्ने कानुनी व्यवस्था छ ।

बुटवलले ल्यायो २ अर्ब ३६ करोडको बजेट
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आव २०८०/०८१ का लागि २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगर सभाको १३ औं नगर अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिँदै आइतवार बजेट पेस गरेकी हुन् । उपमहानगरले चालू वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको थियो ।

प्रस्ताव गरिएको बजेटमा संघीय सरकारबाट समानीकरण ३० करोड १७ लाख, ससर्त अनुदान ४७ करोड ९२ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड तथा प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३१ लाख, ससर्त अनुदान २ करोड ९ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने उल्लेख गरिएको छ । राजस्व बाँडफाँडबाट ३१ करोड ८५ लाख, आन्तरिक आय ९१ करोड र चालू आवको बाँकी २६ करोड ३८ लाख हुने अनुमान गरिएको छ ।

बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरवासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने बजेटमा उल्लेख छ । त्यस्तै कर प्रशासनलाई चुस्त बनाउन र कर असुलीका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरेर अघि बढ्ने पनि बजेटमा उल्लेख छ ।

तिलोत्तमाको झण्डै पौने ३ अर्ब बजेट
तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । पेस भएको बजेटमध्ये चालू खर्चतर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तिलोत्तमाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्षका लागि भवन, सहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिँचाइका लागि ३ करोड २३ लाख ५१ हजार, युवा, खेलकुद तथा मनोरञ्जनका लागि ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट विनियोजन गरेको छ ।

देवदह नगरपालिकाको बजेट १ अर्ब ७ करोड
देवदह नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/०८१ का लागि एक अर्ब ७ करोड २४ लाख बरावरको बजेट ल्याएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकता दिने गरी नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख धु्रवप्रसाद खरेलले देवदहमा प्राविधिक शिक्षालय स्थापनाको लागि पहल गर्ने, अनाथ, विपन्न बालबालिकाको शिक्षा सम्पूर्ण दायित्व नगरपालिकाले लिने गरी शिक्षा नीति अवलम्वलन गर्ने बताए ।

नगरप्रमुख खरेलले देवदह आदर्श बहुमुखी क्याम्पसलाई स्नातकोतर तहसम्मको अध्यापन सुरु गरी अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी शिक्षाका नीति अवलम्वन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सिद्धार्थनगरको बजेट १ अर्ब १३ करोड
सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा आयोजित पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चालू आर्थिक वर्षभन्दा २१ करोड बढी बजेट घटाएर पेश गरेकी छन् । चालू आर्थिक वर्षमा १ अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड मात्र आम्दानी भएको कारण बजेटको आकार घटाउनु परेको छ ।

संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपुरक अन्दान ८० लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडमा १० करोड ४३ लाख ४६ हजार आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपुरक अनुदान १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उप–प्रमुख अधिकारीले बताइन् ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाडको रकम ५ करोड रुपैयाँ, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ रुपैयाँ गरी १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरेको उनले बताइन् । यस्तै सिद्धार्थनगर नगर पालिकाको १३ औँ अधिवेशनमा नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टुक्रे एवम् साना योजनाहरुलाइ निरुत्साहित गर्ने नीति अपनाइएको बताए ।

सैनामैनाको बजेट १ अर्ब १० करोड
सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७७४ रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार नगरसभामा उपप्रमुख विना राना मगरले बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित बजेटअनुसार चालूतर्फ रु.७७ करोड ७५ लाख ३८ हजार ७७४ जसमा शिक्षक, विद्यालय कर्माचारीको तलब तथा कार्यालय सञ्चालन खर्च, स्वास्थ्यकर्मीको तलब भत्ता, सामाजिक सुरक्षा र नगरपालिकातर्फको प्रशासनिक खर्च, जनप्रतिनिधिहरुको सुविधा, कर्मचारी तलब भत्ता, भूमिहीन दलित तथा अव्यवस्थित जग्गाको नाप जाँच खर्च र विषयगत शाखा शिक्षा, स्वास्थ्य, कृषि तथा पशु विकास शाखा, महिला बालबालिका शाखासमेतको खर्चलाई समावेश गरिएको छ ।

त्यस्तै पूँजीगततर्फ रु.३२ करोड ७७ लाख ३० हजार, आन्तरीक स्रोततर्फ रु.९ करोड ७७ लाख ५२ हजार, सरकारतर्फ सशर्त अनुदान रु.२८ करोड ४० लाख, वित्तीय समानीकरण अनुदान रु.१२ करोड १७ लाख, समपुरक अनुदान रु.७५ लाख, विशेष अनुदान रु.२ करोड २५ लाख, स्थानीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम २ करोड, राजश्व बाँडफाँड रु.१२ करोड ७६ लाख ४८ हजार, सामाजिक सुरक्षा भत्ता रु.२८ करोड र अन्य अनुदान रु.६० लाख, प्रदेश सरकारतर्फ वित्तीय समानीकरण अनुदान रु.८६ लाख ६३ हजार, राजश्व बाँडफाँड रु.१ करोड ९४ लाख ४१ हजार ७ सय ७४, सशर्त अनुदान रु.१ करोड १६ लाख ५० हजार, विशेष अनुदान रु.८० लाख र मालपोत रजिस्ट्रेशन शुल्क रु.२ करोड ५० लाख, समपुरक अनुदान रु.१ करोड ५० लाख र बचत न्यून रु.५ करोड ४ लाख १४ हजार रहेको छ ।

लुम्बिनी सांस्कृतिकको झण्डै ८३ करोड बजेट
लुम्बिनी सांस्कृतिक नगरपालिकाको ११ औं नगरसभाले आगामी वर्षका लागि ८२ करोड ९९ लाख ५० हजार रुपैँयाँको बजेट सार्वजनिक गरेको छ । संघको समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, ससर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजस्व बाँडफाँडतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदानतर्फ १ करोड ३० लाख अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड ३१ लाख, ससर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजस्व बाँडफाँडतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ । आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै चालू वर्षको ३ करोड, सडक बोर्डतर्फ ४० लाख बचत हुने अनुमान नगरपालिकाले गरेको छ । बजेटमा पूर्वाधार, पर्यटन, शिक्षा, कृषिलाई प्राथमिकतामा राखिएको छ ।

ओमसतियाको बजेट ४७ करोड
रूपन्देहीको ओमसतिया गाउँसभाको १३ औं अधिवेशनले ४७ करोड ६६ लाख ९६ हजार रुपैयाँको बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले राजस्वबाट १४ करोड ८ लाख ७५ हजार, आन्तरिक स्रोतबाट ३ करोड ५० लाख, जिससबाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाँडबाट १० करोड ४४ लाख ७५ हजार, संघीय सरकारको वित्तीय हस्तान्तरणबापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौज्दात २ करोड गरि ४७ करोड बढीको बजेट पेस गरेकी हुन् ।

ओमसतियाले ‘विदेश छोडौं: विजनेश गरौं’ भन्ने अभियान अघि सारेको छ । त्यस्तै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको हो ।

सियारीको बजेट ६१ करोड, ५० लाख
सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार ८ सय ३० बजेट पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तारा थारुद्वारा आइतबार प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट रु ४ करोड, राजश्व बाँडफाँडतर्फ स्थानीय राजश्व बाँडफाँडबाट रु. ६ करोड ७५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट रु. ४० लाख ५३ हजार ६ सय ३० र संघीय राजश्व बाँडफाँडबाट रु. ९ करोड ४७ लाख ८३ हजार २ सय, संघीय सरकार वित्तीय हस्तान्तरणबाट रु ३८ करोड ३ लाख र प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट रु. २ करोड ८३ लाख ९५ हजार आउने अनुमान गरिएको छ ।

आर्थिक विकासको क्षेत्रमा सशर्त अनुदानबाट रु. २ करोड १५ लाख ९० हजार र गाउँपालिकाका तथा वडातर्फका विभिन्न योजना तथा कार्यक्रमहरुमा रु. ३ करोड ४४ लाख ८० हजार गरी जम्मा रु ५ करोड ६० लाख १९ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताइन् ।

चालु आर्थिक २०७९÷८० को संशोधित बजेट ७४ करोड १७ लाख ६ हजार रहेकोमा हालसम्म चालुतर्फ ७५.५२ प्रतिशत र पूँजीगततर्फ ६५.२५ प्रतिशत गरी समग्रमा ७१.१२ प्रतिशत बजेट खर्च भएको उनले बताइन् । गत आ.व.को यसै अवधीमा पुँजीगततर्फ ५३.५६ प्रतिशत तथा चालुतर्फ ६४.१३ प्र्रतिशत गरी समग्रमा ५९ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिइन् । चालु आ.ब.का विकास योजनाहरु धेरैजसो निर्माण सम्पन्न भई भुक्तानी भइसकेका उनको भनाइ छ । बाँकी रहेका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न भई भुक्तानी प्रकियामा रहेको उनले बताइन् ।

मायादेवीको बजेट ७३ करोड २७ लाख
मायादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुल रु ७३ करोड २७ लाख ७७ हजार ३२६ रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ रु ४५ करोड ९६ लाख ७१ हजार २ सय १६ रुपैयाँ ६० पैसा अर्थात् ६२.७३ प्रतिशत र पुजिगत तर्फ रु २७ करोड ३१ लाख ०६ हजार १ सय ९ रुपैयाँ ४० पैसा ३७.२७ प्रतिशत प्रस्ताव गरिएको छ।

मायादेवी गाउँपालिकाको आइतबार सम्पन्न १४ औं गाउँ सभा तथा अधिवेशनमा सभा अध्यक्ष ध्रुव नारायण चौधरीको आदेश अनुसार गाउँपालिका प्रबक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुभएको हो। कूल बजेट ७३ करोड २७ लाख ७७ हजार ३ सय २६ रुपैया अन्तरगत आर्थिक विकास तर्फ ३ करोड ७ लाख ३१ हजार ५ सय २७ रुपैयाँ ४.१९ प्रतिशत ,सामाजिक बिकास तर्फ ८ करोड ३७ लाख १२ हजार २ सय ८७ रुपैयाँ ११.४२ प्रतिशत ,पुर्वाधार विकास तर्फ १६ करोड ३७ लाख ४ हजार २ सय १२ रुपैयाँ २२.३४ प्रतिशत, बाताबरण तथा विपद ब्यवस्थापन बिकास तर्फ १ करोड ०३ लाख ७ हजार १ सय रुपैयाँ १.४१ प्रतिशत, सस्थागत विकास तथा सेवा प्रवाह तर्फ २३ करोड ९३ लाख २२ हजार २ सय रुपैया ३२.६६ प्रतिशत र सामाजिक सुरक्षा तर्फ २० करोड ५० लाख रुपैयाँ २७.९८ प्रतिशत विनियोजन गरिएको छ।