लैङ्गिक समानतामा सहकारीको भूमिका

मेचीकाली संवाददाता

२८ असार २०८०, बिहीबार
269 shares

माया गौतम

ससानो पुँजीलाई जम्मा गर्दै समूहगत संस्थाबाट व्यवसायिक कुशलता, क्षमता र आँट सिर्जनागरी व्यवसायिक कारोबारमार्फत आफ्ना आवश्यकता परिपूर्ति गर्न प्रयोग गरिने एउटा प्रभावकारी संस्थागत माध्यम नै सहकारी हो । अर्को तरिकाले भन्नुपर्दा आफ्नो वरिपरि छरिएर रहेका साधन स्रोत र सीपलाई एकत्रित गरी आफ्नो श्रमको प्रतिफल आफैंले र आफ्नो समुदायले प्राप्त गर्ने गरी परिचालन गर्ने उत्पादन पद्यति नै सहकारी हो । यस सम्बन्धमा अन्तर्राष्ट्रिय सहकारी महासंघ भन्दछ,‘समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता तथा आकांंक्षाहरुको परिपूर्ति संयुक्त स्वामित्वमा आधारित तथा प्रजातान्त्रिक तवरले नियन्त्रित व्यवसायिक संगठन मार्फत गर्ने चाहाना राखी स्वेच्छिक रुपमा गठित एकत्रित व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो ।’

सहकारीको इतिहास खोज्दा नेपालमा वि.सं. २०१३ सालमा सहकारिता अभियान सुरु भएको थाहा पाउन सकिन्छ । तर २०४९ पछि सहकारिता आश्चर्यजनक रुपले विस्तार भयो । आर्थिक सुधार तथा राजनितिक उदारीकरणसँगै भएकोले अर्थव्यवस्थामा यसको प्रभावकारी भूमिकामा एक अर्काको कति प्रभाव छ बिना तथ्य भन्न कठिन छ । तर यसले नेपाली अर्थ व्यवस्थामा आफ्नो छुट्टै भूमिका भने बनाएको छ र यस कुरालाई नेपालको बजेटले पनि स्वीकार गरीसकेको छ । लैङ्गिक समानता ल्याउन सहकारीले मुख्य भूमिका नै खेलेको छ ।

हाम्रो समाजमा अहिले पनि लिङ्गको आधारमा हेलाहोचो गर्ने चलन बाँकी नै छ । वर्तमान समयमा पनि लिङ्गको आधारमा हिंसा बढिरहेको छ । त्यति मात्रै होइन हाम्रो समाजमा महिला भनेका दासी हुन, उनीहरुलाई जे भने जे गरे पनि हुन्छ भन्ने परम्परा बनेको छ । यस्तो परम्पराको न्यूनीकरण गर्ने काम सहकारीहरुले गरेका छन् । लिङ्गको आधारमा गर्ने हिंसाको न्यूनीकरण गरी केही भएपनि समानता ल्याउने काम सहकारीमार्फत भएको छ । हाम्रो देशमा महिलाबाट सञ्चालित थुप्रै सहकारी छन् । महिलाबाट सञ्चालित सहकारीहरु सफलतापूर्वक सञ्चालित छन् । हिजोका दिनमा हात थापेर घर व्यवहार चलाउने महिला सहकारीको अवधारणा र सञ्चालन पछि आत्मनिर्भर बनेका छन् । गाउँगाउँमा बेमौसमी तरकारी खेती गर्ने, विभिन्न खाले च्याउखेती गर्ने गरेर पनि महिलाहरु आत्मनिर्भर बनेका छन् । खाली जग्गाहरु लिजमा लिएर जडीबुटीलगायत ड्रागनफ्रुट जस्ता खेती गर्ने गरेका छन् ।

केही समय पहिले महिलाहरु घरमै बसेर बालबच्चा हेर्ने, परिवारिक वा घरायसी काम मात्र गर्थे । हाल सहकारीको उदयसँगै महिलाहरु पनि आय आर्जनतिर लाग्दै गएका छन् । जसका कारण पुरुष घर बाहिर गएर कमाउने र महिला घरमै बस्ने चलनमा परिवर्तन आएको छ । सधैँ पुरुषसँग हात थापेर घर व्यवहार चलाउने महिला अहिले आत्मनिर्भर बन्दैछन् र कहीँकतै त पुरुषले महिलासँग हात थापेर पकेट खर्च चलाउने भएका छन् । यसको श्रेय सहकारीलाई जाने गरेको छ । सहकारीको अवधारणाले थोपाथोपा जम्मा पारेर घैला भरेजस्तो भएको छ । थोरै थोरै बचतले सेयर सदस्य बनेर कर्जा निकाली उद्योग व्यापार वा कुनै पनि व्यवसायमा लगानी गरी आयस्रोतको बाटो बनाएर महिलाहरु आत्मनिर्भर बनेका छन् ।

नेपालमा वि.सं.२०१० सालमा सहकारी मन्त्रालयअन्र्तगत सहकारी विभाग स्थापना भएको पाइन्छ तापनि खासगरी २०१३ साल चैत्र २० गते चितवनका बाढीपीडितहरुलाई सुलभ दरमा कृषि ऋण उपलब्ध गराउन बखानपुर हाल शारदानगरमा प्रजातन्त्रवादी नेता बखानसिंह गुरुङको नेतृत्वमा (बखान सहकारी संस्था) स्थापना भएको थियो । जुन नेपालको पहिलो सहकारी संस्था मानिन्छ । सहकारीको उपयोगिता बढ्दै जाँदा विभिन्न प्रकृति र अवस्थाका गरी करीब ३५ हजार सहकारीहरुमा ७० लाख बढी मानीसको आबद्धता र ६० हजार बढी मानिसहरु रोजगारीमा संलग्न रहेका छन् । सहकारी सबैका लागि, सहकारी व्यक्ति व्यक्तिका लागि, सहकारी उत्पादनशील आयआर्जनका लागि भनिन्छ । व्यवहारमा सहकारी ऋण धेरैका लागि शिक्षा, औषधी उपचार, आजापूजा, वैदेशिक रोजगारी बिबाह, ब्रतबन्ध घरजग्गा खरीद बिक्री र ब्यापार वृद्धितिर गएको छ । विकल्पहरु नभएकाले यस कार्यलाई स्वभाविक मान्नुपर्ने भएको छ ।

विज्ञान र प्रविधिको विकाससँगै चलेको विश्वमा सहकारीको अवधारणाले महिला र पुरुषमा समानता ल्याएको छ । सहकारीमा जम्मा भएको रकम आकस्मिक परी आउने काममा गर्जो टार्ने मध्यम बनेको छ । धेरै पहिलेदेखि बैंकहरु स्थापना भएतापनि धीतो, कर्जालगायत कर्जा पाउन झन्झटिलो प्रक्रियाका कारण सहकारीतिरको आकर्षण बढ्दै गएको छ । महिला समूहमार्फत सहकारीबाट पाउने बिना धितोको ऋणले धेरै महिलाहरु लाभान्वित भएका छन् । यसरी पाएको ऋण महिलाहरुले आयआर्जनमा लगाउने गरेका छन जस्ले गर्दा पनि लैंगिक समानाता आउनुमा टेवा मिलेको छ ।

कोरोनाको तहल्काले विश्व नै हल्लायो । यस्को मारमा वित्तीय संस्थाहरु पनि परे । सबैभन्दा धेरै सहकारीका लघुवित्त र लघुउद्यममा लगानी गर्नेलाई ग्राहो पारेको छ । माइक्रोफाइनान्सहरु पनि मारमै परेका छन् । कोरोना महामारीमा कारोबार व्यवसाय केही नहुनु, वित्तीय संस्थाको ऋण ब्याज बढ्दै जानु यो सबै कारणले कैयौं सहकारीहरु माथि उठ्न सकेका छैनन् । बिना धितोको समूहमा लगानीका कारण अरु अप्ठ्यारो परेको छ । जसरी तसरी सेयर सदस्यलाई नाफा दिन नसकेर पनि सहकारीले आफ्नो जिम्मेवारी अगाडि बढाएका छन् । थोपा थोपा मतलब सय पाँचसय हजार उठाएर धेरै जनासँगको संकलित रकमलाई ऋण कर्जाको मागअनुसार सामान्य ब्याजमा लगानी गरेका सहकारीका सञ्चालकलाई कसरी धेरै नाफा देखाउन सकौं भन्ने छटपटीले सताएको छ ।हाम्रो मुलुकमा महिलाबाट सञ्चालित थुप्रै सहकारी छन् । जुन सहकारीहरु सफल रुपमा

सञ्चालनमा छन् । महिलाहरु आफैँमा इमान्दार हुन्छन् भन्ने मान्यता रहेको छ । जस्का कारण महिलाबाट सञ्चालित सहकारीहरु बिना अवरोध सञ्चालनमा छन् । कहीँकतै अबरोध पनि होला तर जेहोस समग्रमा महिलाबाट सञ्चालित सहकारी डुबेको वा भागेको खासै समाचार पढ्न सुन्न पाइँदैन । यसले गर्दा पनि महिलाबाट सञ्चालित सहकारीहरु सफलनै मान्नुपर्छ । महिलाहरु सहकारीको माध्यमले आर्थिक रुपमा सबल छन जस्का कारण परिवार पनि हिंसामुक्त हुन पुगेका छन् । नब्बे प्रतिशतभन्दा धेरै महिला घरगृहिण्ी भएकाले चालु पुँजीका लागी पुरुषस‘ग हात थाप्नु स्वभाविक छ । हात थाप्नु भनेकै एक किसिमले हिंसामा पर्नु भनेर बुझ्नुपर्छ । अहिले सहकारीको सहाराले महिलालाई स्वावलम्बी बनाएको छ ।

लिङ्गको आधारमा हुने असामानतालाई सहकारीले समानतामा पु¥याउन यति मद्यत पु¥याएको छ कि सानो ब्यापार व्यवसायको रकम, घरमा दाल तरकारी किन्दा बचेको सानो रकम जम्मा गर्नेदेखि गाउँगाउँदेखि शहरमा ल्याएर महिलाहरुले बिक्री गर्ने सागको पैसाको रकम जम्मा गर्ने थलोपनि सहकारी बनेको छ । जस्का कारण महिलाहरु यति मितव्ययी बनेका छन् कि केही भवितव्य आइपरे समाजमा महिलाबाटझटपट पैसा पाइने भएको छ । लैङ्गिक समानतामा सहकारी महत्वपूर्ण थलो बनेको छ । यसर्थ ढुक्कका साथ भन्न सकिन्छ कि सहकारीले हाम्रो समाजलाई लैङ्गिक हिंसामुक्त बनाउनमा महत्वपूर्ण भूमिका खेलीरहेको छ । कुनैपनि कुराका दुई पाटा हुन्छन सहकारी होस या पुँजी यी कुराहरुको उपयोग गरे फाइदा हुन्छ दुरुपयोग गरे घाटा हुन्छ । हाल कतिपय सहकारीका जिम्मेवार व्यक्तिले यस्को दुरुपयोग गरेर बदनामीको गरिरहेकोले सफल रुपमा सञ्चालन भइरहेका सहकारीहरुप्रति पनि नराम्रो दृष्टिकोण सिर्जना भइरहेको अवस्था छ । यो सोचाइमा परिवर्तन ल्याउन सहकारीहरुले समाजमा अझ राम्रा र सशक्त भूमिका खेल्नु आवश्यक छ ।