घनश्याम कोइराला
हाम्रो देशमा प्रचलित सनातन हिन्दू संस्कृतिभित्र यस्ता धर्महरू वैष्णव (विष्णुलाई सर्वोपरि मान्ने), शैव (शिवलाई सर्वोपरि मान्ने), गाणपत्य (गणपति÷गणेशलाई सर्वोपरि मान्ने), शाक्त (शक्ति/देवीलाई सर्वोपरि मान्ने) र सौर (सूर्यलाई सर्वोपरि मान्ने) गरी मूलतः पाँच प्रकारका धर्म प्रचलनमा रहिआएका देखिन्छन् । वैष्णवमा विविधता, शैव र शाक्त आदिमा रहेका विविधता पनि देख्न सकिन्छ ।
सनातन हिन्दू संस्कृति मान्नेहरू सबैले शाक्यमुनि ‘बुद्ध’लाई विष्णुका २४ अवतारमध्येका मुख्य १० अवतारभित्रै मान्दछन् । युग वर्णनमा वर्तमान युगलाई ‘बौद्धावतार’को युग मान्दछन् । आजापूजा, श्राद्ध आदिमा गरिने सङ्कल्पमा ‘कलियुगे, बौद्धावतारे’ उल्लेख गर्न छुटाउँदैनन् । तर बुद्धलाई सर्वोपरि मान्ने धर्मलाई बौद्ध भनिन्छ । बौद्ध धर्मभित्र ३ वटा यान र दर्जन बढी पन्थ (मत÷सम्प्रदाय) देखिन्छ । यसबाहेक ईशामसीह(ख्रिष्ट) लाई सर्वोपरि मान्ने ख्रिष्टियान/क्रिश्चियन छन् भने मुहम्मद पैगम्बरले स्थापना गरेको मोहम्मदी वा इस्लाम पनि धर्म हो । यसरी वैदिक सनातनबाहेकका धर्महरू वास्तवमा सम्प्रदाय हुन् ।
यी सबै धर्मका आ–आफ्ना विशेषता छन् । यिनीहरूलाई मन नपराउनेहरूका नजरमा यिनीहरूमा अनेकौँ कमजोरी पनि छन् । तर धर्मको विषय दृष्टिकोणको विषयभन्दा पनि मान्यताको विषय बढी भएको देखिन्छ । यसरी हेर्दा कुनै पनि धर्मले मानिसलाई जातपातमा बाँडेको देखिँदैन । यी धर्महरूमा कुनै जातजाति, कुनै क्षेत्र, कुनै भाषाभाषी, कुनै लिङ्ग, वर्ण वा वर्गका आस्था–निष्ठा राख्न सक्दछन् । तर यिनैमध्येका कुनै कपटी, कलुषित, दुष्प्रवृत्ति भएका मानिसले आफ्नो स्वार्थका लागि कसैका आस्था–निष्ठाको दोहन–शोषण गरेको हुन सक्दछ ।
‘सनातन’ कुनै विशेष मत राख्ने धर्म भनिने यथार्थमा सम्प्रदाय होइन, यो जीवन दर्शन हो, संस्कार र संस्कृतिको आधार हो । यसका अनुयायीहरूले यसलाई अवलम्बन गर्दछन्, तर अन्यलाई निषेध गर्दैनन् । ‘बहुदेव’ स्वीकार्ने भएको हुनाले यो उदार र उदात्त छ । जातजाति र धर्म फरक कुरा हो । धर्म कुनै जातिविशेषसँग जोडिएको विषय होइन ।
तर पछिल्लो समय नेपालमा धर्मलाई जातपातसँग र जातपातलाई धर्मसँग जोडेर हेर्ने अवैज्ञानिक प्रवृत्ति बढिरहेको देखिन्छ । अझ त्यसभन्दा पनि अघि बढेर जातपात र धर्मसँग भाषाको समेत साइनो देखाउने क्रममा संस्कृत भाषालाई विभेदकारी भाषाको रूपमा चित्रित गरेको समेत देख्न र सुन्न परिरहेको अवस्था छ । कतिपय मानिसहरूले हिन्दूधर्म, जातीप्रथा र संस्कृत भाषाका विपक्षमा बोलेर आफ्ना पक्षमा बोल्नैपर्ने विषय छुटाएका छन् ।
सर्वप्रथम हिन्दूधर्मको कुरा गरौँ । वास्तवमा ‘हिन्दू’ धर्म कुनै सम्प्रदाय नभई सनातन संस्कृति हो । सनातनलाई नै धर्म मान्न रूचाउने नेपालीहरूले यसलाई धर्म भनेका मात्र हुन् । धर्म भनेको कुनै एउटा खास देवतालाई सर्वोपरि मान्ने, एउटा मठलाई सर्वोच्च ठान्ने, एउटै पूजा पद्धतिलाई मात्र सही ठह¥याउने वा अपनाउने, एउटै गुरू वा मठाधीशको निर्देशनबमोजिम गर्ने विषय धर्म हो । यसमा जातिपातिको कुरा हुँदैन । माथि भनिएका कुरा स्वीकार्ने जुनसुकै जातजातिको मानिस त्यस धर्मभित्र समान विभेदमुक्त हुन्छ ।
सम्भवतः सबैभन्दा पुरानो भएकोले हुनसक्दछ– सनातन हिन्दू संस्कृतिमाथि जातपात र शोषणको मिथ्या आरोप लगाइने गरिएको छ । जलजीवबाट क्रमशः विकसित हुँदैआएको मानिस भूगोल र हावापानीअनुसारको नाकनश्लको छ । मानिसलाई फरक–फरक नाकनश्लको बनाएको मूलतः प्रकृतिले हो । तर अन्य विभाजन भने सामाजिक हो–जुन समाजमा मानिस स्वयं बसिरहेको छ ।
मानिसले प्रकृतिमा रहेका अनेकौँ वस्तुहरूको उपयोगिताका लागि बौद्धिक चेतनाको उपयोग गर्न थालेदेखि कार्यविभाजनको प्रक्रिया प्रारम्भ भएको देखिन्छ । यसै क्रममा मानिस कामका आधारमा मूलतः मुखले बोलेर काम गर्ने, शारीरिक बलका आधारमा काम गर्ने, वस्तुको विनिमय र नाफामा आधारित काम गर्ने, कलात्मक तथा उपयोगी औजार निर्माण गर्ने र सेवा गर्ने–विद्वान्, वीर, व्यापारी, शिल्पी र सेवकका रूपमा मानिस स्वयं विभाजित भएको देखिन्छ । यस विभाजनको आधार ती ती मानिसहरूका क्षमता, गुण, प्रकृति, रूचि र स्वभाव हुनुपर्दछ ।
के अहिले मानिस आफ्नै खुसीले शिक्षक, व्यापारी, कृषक, श्रमिक, खेलाडी, नेता, कलाकार, पर्वतारोही आदि बनेका छैनन् र ? मानिसले आप्mना रूची र क्षमताको आधारमा काम रोजेको छैन र ? आजको समाजमा कुन जातिका खेलाडी, कलाकार, व्यापारी, श्रमिक, पुरोहित, नेता छैन ? तर यी सबै मानिसका रूचीले कम र क्षमताले बढी निर्धारित छन् ।
हामी जुनसुकै जातजातिका भए पनि सबैका पुर्खालाई ऋषि मान्ने गरिएको छ । मानिस गणबाट गोत्रमा फेरिँदा हामी सबैका गोत्रका आधारमा परिचय बनेको देखिन्छ । सबैका गोत्रको नाम ऋषिका नाममा छन्–मौद्गल्य, आत्रेय, काश्यप, भारद्वाज, कौडिण्य आदि । यी गोत्रहरू जातीय आधारमा छुट्टिएका छैनन् । हामी जुनसुकै जातीय पहिचानमा रहेका भए पनि सगोत्रीय छौँ । अर्को महत्वपूर्ण पक्ष के छ भने हाम्रा कुनै पनि ऋषिमुनिका अघि अहिले प्रचलनमा रहेका कोइराला, थापा, भट्टराई, श्रेष्ठ, शाक्य, गुप्ता, यादव, वान्तवा, चौधरी, तमु, मल्ल आदि कुनै थर लेखिएको छैन ।
कसैकसैले त भाषाको सन्दर्भमा चर्चामा नै नरहेको संस्कृतको विषयमा समेत सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । देशका सबै जाति र क्षेत्र र समुदायका मानिस सात समुद्रपारिको अंग्रेजी भाषाका लागि मरिमेटि गरिरहेका छन् । तर संस्कृतसँग वैमनष्यता राख्नुपर्ने त कुनै कारण देखिँदैन । यो भाषा संसारको कुनै पनि राष्ट्रको सरकारी कामकाजको भाषा रहेको छैन ।
भाषिक लोकतन्त्रलाई सुदृढ बनाउन हाम्रा गाउँबस्तीमा प्रचलनमा रहेका नेपाली जनताका सबै मातृभाषाहरूको विकास र प्रयोग बढाउन पर्ने आवश्यकता छ । तर संसारका सबै विधाको विकासको आधारभूत ज्ञान समेटिएका वेद, पुराण आदि रहेको संस्कृत भाषा नेपालको र संसारको कुनै पनि जाति, क्षेत्र, राष्ट्रको औपचारिक भाषा नरहेको साझा अन्तर्राष्ट्रिय भाषा हो । यसप्रति मानिसहरूको केको विरोध हो कुन्नि ? अरुको विरोधका क्रममा नेपालीहरूले आफ्ना पक्ष राख्न बिर्सनुलाई राम्रो कसरी मान्न सकिन्छ र ?
जहाँसम्म धर्मनिरपेक्षताको विषय छ, नेपालमा यसबारे भिन्नभिन्न बुझाइ छ । राज्य कुनै एउटा धर्मको नहुनु र धर्मनिरपेक्ष हुनु फरक कुरा हो । नेपालका अधिकांश जनता कुनै न धर्मप्रति आस्थावान रहेका छन् । नेपाल बहुधार्मिक राष्ट्र हो । बहुधार्मिकतालाई एकमुष्ट सम्बोधन गदा ‘धर्मनिरपेक्ष’ भएको देखिन्छ । यद्यपि, यस्तो शब्दचयन त्रुटिरहित छैन । नेपालका राजनीतिक पार्टीहरूका दस्तावेजहरू, चुनावी घोषणापत्रहरू, पार्टीका नेता–कार्यकर्ताको बोलीवचन र उनीहरूका व्यवहार हेर्दा पनि त्यस्तो देखिँदैन ।
अधिकांश जनता पनि धर्मबाट राज्य निरपेक्ष भएको विषयमा सन्तुष्ट रहेको देखिँदैन । अहिले पनि राज्यले मठ, मन्दिर, गुम्बा, विहार, चैत्य, मस्जिद, मदरसा आदिमा विकास समिति, संरक्षण समिति, व्यवस्थापन समिति, कोश–ट्रष्ट आदि बनाएको छ, तिनीहरू राज्यको कानुनअनुसार गठन भएका छन्, सञ्चालित रहेका छन् र तिनीहरूमा सरकारले राजनीतिक नियुक्तिमार्फत आफ्नो उपस्थिति÷नियन्त्रण गरिरहेको छ । यति मात्र होइन, धार्मिक पर्वहरूमा विदा दिने, राज्यका प्रमुखहरूले तत्सम्बन्धमा शुभकामनाहरू प्रस्तुत गर्ने प्रचलन विद्यमान नै छ ।
अझ इस्लाम धर्मावलम्बीहरूलाई हज गर्नका लागि गरिने मक्का–मदिना यात्रामा आर्थिक सहुलियतसमेत दिने गरिएको छ । अनि राज्य धर्म निरपेक्ष कसरी भयो ? यस्तो हुनु भनेको धर्म निरपेक्ष नभई सर्वधर्म सापेक्ष या बहुधर्मी हुनु हो । लुम्बिनी विकास कोश, लुम्बिनी गुरुयोजना आदि धर्मनिरपेक्षताका देन हुन् ? नेपाली हजयात्रीहरूलाई हजयात्रामा दिने सहुलियतका विरुद्ध कुनै हिन्दूले आन्दोलन गरेका छन् ? यसतर्फ ध्यान दिएर शब्दचयन गरेको भए राम्रो हुन्थ्यो । ‘धर्मनिरपेक्ष’ लेखिसकेपछि नेपालको संविधान २०७२ भाग १, धारा ४को स्पष्टीकरण सँगै राखिएको छ, त्यहाँ उल्लेख गरिएको छ, ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक,सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’
सनातनदेखि चलिआएको संस्कृतिको विषयमा थप अध्ययन–अनुसन्धान र संरक्षणको प्रयास जनस्तरबाट थाल्न आवश्यक छ । भाषा, संस्कृति र धर्मको संरक्षण र संवर्धनका लागि जनता स्वयं जागरूक हुन आवश्यक छ । तर, यस्ता विषयलाई लडाइँ, झगडा, विद्वेषको विषय बनाइनुहुँदैन ।
कतिपयले निरपेक्षताको अर्थको अन्यथा लाभ लिन खोजेको देखिँदै पनि छ । हो, थोरै त्याग र समर्पणको भाव रहेको तर कुनै तार्किक, वैज्ञानिक आधार नरहेका नयाँनयाँ धर्मको प्रभाव विस्तारले भविष्यमा पु¥याउन सक्ने सांस्कृतिक क्षयीकरणलाई रोक्न र राष्ट्रिय स्वाभिमान तथा संस्कृति जोगाउन भने आवश्यक नै छ । निरपेक्ष भनिएपछि केही कट्टरता बढेको पनि छ ।
मानिसहरूलाई धर्मनिरपेक्ष भएर राज्यले धर्मसम्बन्धि दायित्व वहन गर्न सक्दैन भन्ने लागिरहेको छ । यस नेपाली भूभागमा सनातनदेखि चलिआएका धर्महरूको संरक्षण–संवर्धनमा राज्यको यथोचित ध्यान पुग्नै पर्दछ । धर्मका नाममा बढ्दै गरेका अन्य आयातीत धर्महरूप्रति सनातनप्रति जत्तिकै निरपेक्ष रहनुहुँदैन भन्ने स्वर थप मुखरित भइरहेको देखिन्छ । राज्यले जनताको अधिकारका सम्बन्धमा ‘स्वतन्त्र’ र दायित्वमा ‘समभाव’ राख्नुपर्दछ ।