रमेश पराजुली
बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ का दाजुभाइलाई गएको असार २५ गते राति सुतिरहेको समयमा विषालु सर्पले डस्यो । घरको भुइँमा हजुरआमासँग सुतेका ९ वर्षीय प्रदीप र १२ वर्षीय दीपक भुसालले सर्पले डसेको पत्तै पाएनन् । असार २६ गते बिहान दुवै दाजुभाइ अचेत अवस्थामा थिए । सुरुमा उनीहरुलाई घरमै उपचार गर्न थालियो । स्वास्थ्य अवस्था झन् कमजोर भएपछि मात्र छिमेकीको सहयोगमा स्थानीय अस्पतालमा पु¥याइयो । त्यहाँ उपचार सम्भव नभएपछि उक्त अस्पतालले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर ग¥यो ।
बुटवल ल्याउँदै गर्दा दीपकको बाटोमै मृत्यु भयो भने उपचारको क्रममा प्रदीपको पनि सोही दिन मृत्यु भयो । बुटवल ल्याएपछि मात्र उनीहरूलाई विषालु सर्पले टोकेको थाहा भयो । चिकित्सकले अस्पताल ल्याउन ढिलो भएकाले बचाउन नसकिएको बताए । समयमै सर्पले टोकेको थाहा नपाएर अन्य उपचारतर्फ लाग्दा सँगै सुतेका दाजुभाइले अकालमै ज्यान गुमाए । तराईका जिल्लामा वर्षायामसँगै विषालु सर्पको बिगबिगी हुन्छ । वर्षाको समयमा सर्प जमिन भित्रबाट बाहिर निस्कने भएकोले यो समयमा सर्पले डस्ने घटनाहरु बढी हुने गर्दछन् ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा सर्पदंशबाट २८ जनाको मृत्यु भएको छ । यो अवधिमा ५६२ जनालाई सर्पले डसेको स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र पाल्पामा सर्पको टोकाइ उच्च छ । पहाडी दुई जिल्ला अर्घाखाँची र रुकुम पूर्वमा भने यो वर्ष सर्पले टोकेका बिरामी अस्पताल नआएको पाण्डेले बताए ।
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला रुपन्देही हो, जहाँ ३४६ जनालाई सपले टोकेकोमा १२ जनाको मृत्यु भएको छ । बाँकेमा ९९ जनालाई सर्पले टोकेकोमा ८ जनाको मृत्यु भएको छ । यस्तै, दाङमा ४७ जनालाई सर्पले टोकेकोमा १ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा १५ जनालाई सर्पले टोकेकोमा ५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तैगरी, बर्दियामा ५ जनालाई सर्पले टोकेकोमा १ जनाको मृत्यु भएको छ भने नवलपरासी पश्चिम ४ जनालाई सर्पले टोकेकोमा १ जनाको मृत्यु भएको छ । पाल्पामा ३३ जना, गुल्मीमा ३ जना, प्युठानमा २ जना, रोल्पामा ८ जना, लाई सर्पले टोकेकोमा उपचारपछि निको भएका छन् ।
अस्पताल नपुग्दै धेरैको मृत्यु
लुम्बिनी प्रदेशमा १४ वटा सर्पदंश उपचार केन्द्र रहेका छन् । जसमध्ये ३ वटा नेपाली सेना र एउटा स्थानीय तहले सञ्चालन गरिरहेका छन् भने अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्पदंश उपचार केन्द्रका रूपमा सञ्चालन गरेको छ । सर्पदंश उपचार केन्द्रहरू भएपनि घरमै वा उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु हुने संख्या धेरै देखिएको छ ।
स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसार एक वर्षमा सर्पदंशबाट मृत्यु भएका २८ जनामध्ये १५ जनाको अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको छ । रुपन्देहीमा सर्पले टोकेर मृत्यु भएका १२ जनामध्ये ४ जनाको अस्पताल ल्याउन नपाउँदै मृत्यु भयो । बाँकेमा ८ जनामध्ये ५ जनाको, कपिलवस्तुमा ५ जनामध्ये ४ जनाको, नवलपरासी पश्चिम र बर्दियामा एकएक जनाको बाटोमै मृत्यु भएको छ ।
तत्काल अस्पताल पुगे बिरामीलाई बचाउन सकिन्छ
सर्पले डसेपछि अस्पताल पु¥याउन ढिलाई हुँदा विष शरीरमा फैलिएर धेरैजसो बिरामीको मृत्यु हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र राना बताउँछन् । ‘समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ । अस्पताल आउँदा उहाँहरू विष चढिसकेको अवस्थामा आइपुग्नुहुन्छ । बिरामीको अवस्था नाजुक भएको हुन्छ’, उनले भने, ‘सर्पले डस्नेबित्तिकै होसियारी अपनाउने र समयमै नजिकको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पु¥याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ ।’
उपचारका लागि समयमै अस्पताल ल्याइएको व्यक्ति बाँच्ने सम्भावना ९९ प्रतिशत हुने भएकाले झारफुक र हेलचेक्र्याइँविरुद्ध चेतना फैलाउनुपर्नेमा उनले जोड दिए । डा.रानाका अनुसार सर्पले डसेको मुख्य औषधी ‘एन्टी स्नेक भेनम’ हो । बोलीचालीमा यसलाई विष झार्ने औषधी भनिन्छ । गम्भीर प्रकृतिका बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राखेर पनि उपचार गर्नुपर्छ । ‘सबै सर्प विषालु हँुदैनन्, विषालुमध्येमा पनि तराईमा मानिसलाई डसेर समस्या पार्ने गोमन र करेतले हो । पहाडमा हरियो सर्पले धेरै टोक्छ । जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन । आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो ।’, डा. रानाले भने ।
विषालु सर्पले टोकेकोलाई चुसेर विष निकाल्न नसकिने उनले बताए । सर्पले डसेका बिरामीको शरीरमा रगतमा मिसिएको विष कुनै पनि हालतमा चुसेर ननिस्किने डा.रानाले दावी गरे । ‘सर्पले टोकेपछि विष रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्ने भएकोले चुसेर विष निकाल्छु भन्नेहरुले समाजमा भ्रम छर्ने काममात्र गरेका छन् ।’ उनले भने । अहिले प्रादेशिक अस्पतालमा एन्टिस्नेक भेनम प्रशस्त मात्रामा रहेको सूचना अधिकारी डा.रानाले जानकारी दिए ।
वर्षायाममा बढी जोखिम
भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट डा.कृष्णप्रसाद आचार्यले मनसुन सक्रिय भएपछि सर्पदंशका बिरामी बढेको बताए । जेठदेखि कार्तिकसम्म सर्पदंशको जोखिम बढी हुने र विगतको भन्दा अहिले उपचारको सुविधा पनि बढ्दै गएको उनले बताए । डा.आचार्यका अनुसार विषरहीत सर्पले टोकेमा १० देखि १२ घन्टासम्म बिरामीलाई निगरानीमा राखिन्छ । ‘विष लाग्छ कि लाग्दैन भनेर त्यस्ता बिरामीलाई निगरानीमा राख्छौं,’ उनले भने, ‘निगरानीका क्रममा कुनै प्रकारको लक्षण नभेटिएको अवस्थामा घर पठाइदिन्छौं ।’ उनका अनुसार बिरामीको जटिलता हेरेर आइसीयू र भेन्टिलेटरमा राखेर पनि उपचार गरिन्छ ।
‘सर्पदंशबाट बच्नका लागि घर वरपर सफा राख्नुपर्छ । घरका झ्याल ढोकामा जाली लगाउने, राति सुत्नुभन्दा पहिले ओछ्यान राम्ररी सफा गरेर, झुल टाँगेर मात्र सुत्नुपर्छ । पूर्वसतर्कता अपनाउने र सर्पले टोकेमा तत्काल अस्पताल ल्याउने हो भने बिरामीको ज्यान बँचाउने अवस्था रहन्छ ।’ डा.आचार्यले भने ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मर्ने क्रम बढेको छ । सर्प बासस्थान र खानाको खोजीमा मानव बस्ती आसपासमा धेरै भेटिने गरेको छ । जसले गर्दा समस्या बढ्दै गएको देखिएकाले यस प्रकारको समस्या समाधानका लागि सचेतना अभियान आवश्यक पर्ने उनले बताए ।
पहाडमा पनि विषालु सर्प
तराई क्षेत्रमा मात्र पाइने विषालु सर्पहरु पछिल्लो समय पहाडी जिल्लाहरुमा पनि देखिन थालेका छन् । विषालु सर्प पहाडी भेगमा पनि देखिन थाल्दा उपचार केन्द्रको थप विस्तार आवश्यक देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले बताए । सर्पदंशबाट हुने मृत्यु रोक्न प्रदेशमा रहेका अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्तिलगायतको व्यवस्था गरिएको बताए । लुम्बिनी प्रदेशमा सर्पदंशमा प्रयोग हुने एन्टी स्नेक भेनम प्रशस्त रहेको डा.पौडेलले जानकारी दिए । उनले सर्पको टोकाइबाट बच्नको लागि विद्यालय र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पनि गरिएको जनाए ।
झारफुक प्रवृत्ति कायमै
सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । गाउँघरतिर सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाँक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ ।
अझैपनि करिब ५ देखि १० प्रतिशत बिरामी पहिला धामीझाँक्री र त्यसपछि अन्तिम स्थितिमा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेको चिकित्सक बताउँछन् । यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ । सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रक्त सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपयको अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेरै बाधा नपु¥याई सामान्य पट्टी बाँधेर बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्छ ।
के हो सर्प विष ?
सर्पले आफ्नो विषको प्रयोग सिकारलाई गतिहीन गर्न वा मार्न प्रयोग गर्छ । सर्पको विषले न्युरोटक्सिक अर्थात् स्नायु प्रणालीमा असर गर्छ वा हेमाटक्सिक अर्थात् रक्तसञ्चारलाई प्रभावित गर्छ । न्युरोटक्सिक विषले मुटुको चाल र श्वासप्रश्वास नियन्त्रण गर्ने मस्तिष्कको केन्द्रलाई प्रभावित गर्छ । त्यसैले सर्पले टोकेकाहरू सास फेर्न वा निल्न समस्या अनुभव गर्छन् ।
हेमोटक्सिक विषले रातो रक्तकणिकालाई नष्ट गर्छ, शरीरको तन्तुलाई क्षतिग्रस्त पार्छ, आन्तरिक रक्तश्राव गराउँछ । आत्तिएर बिरामीको मृत्यु पनि हुन सक्छ । नेपालमा करिब ९९ प्रतिशत सर्पदंश गोमन र करेतले गर्दा हुने गरेको छ । करेत घरभित्रै छिर्ने गरेको र सर्पदंशमा यसको प्रतिशत दुई तिहाइ रहने गरेको छ । एक तिहाइ सर्पदंश गोमनबाट हुन्छ, जसले घरबाहिर आक्रमण गर्छ । विश्वभरि ३ हजार ४ सय प्रजातिका सर्प भए पनि नेपालमा हालसम्म करिब ९१ प्रजातिका सर्प भेटिएको तथ्यांक छ । तीमध्ये करिब २१ प्रजातिका सर्प विषालु र खतरनाक मानिन्छन् । गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर, र कोरल स्नेक (कर्कट नाग) धेरै विषालु हुन् ।
सर्पबाट आफू बचौँ, सर्पलाई पनि बचाऔँ
सर्पदंशका अधिकांश घटनामा मानिसहरू आफ्नै कारणले ज्यान गुमाउने गरेको बताउँछन् सर्प उद्धारकर्ता यमलाल भण्डारी बताउँछन् । घरेलु औषधी, झारफुक, अत्तालिनुका साथै समयमा अस्पताल नपुग्दा मानिसले ज्यान गुमाउने गरेको उनको भनाइ छ । ‘सर्प भन्नेबित्तिकै डराउने समाज छ । तर, सर्पले टोक्दैमा ज्यान जाँदैन । यो मुख्य सन्देश फैलाउन हामी चुकिरहेका छौँ । अब चुक्नुहुँदैन । सर्पले पु¥याएको डरको अन्त्य गर्न सर्पको पहिचान र त्यसको बारेमा सबैले बुझ्न जरुरी छ ।’
‘सर्प पारिस्थितिक प्रणालीको अभिन्न अंग हो । सर्प नासियो भने जैविक विविधतामा असन्तुलन आउँछ ।’, उनले भने, ‘सर्पको संरक्षण र टोकाइबाट मानिसलाई बचाउन सर्प मारेर होइन, संरक्षण र व्यवस्थापन गर्नुपर्छ । सर्पले मानिसलाई हानि र फाइदा दुवै पु¥याउने भएकाले यसबाट हुने क्षतिबाट जोगिन सावधानी अपनाउनुपर्छ ।’ सर्पको बारेमा विद्यालय तथा समुदायस्तरमा जनचेतना अभियान व्यापक बनाउनुपर्नेमा उनले जोड दिए ।