घनश्याम कोइराला
हामीले सम्यक् शब्द सुन्दैआएका छौँ । सम्यक् संस्कृत शब्द हो, तर यस शब्दको व्यापक प्रयोग बौद्धदर्शनमा भएको छ । शान्तिका अग्रदूत महामानव गौतम बुद्धले सम्यक् शब्दको प्रयोग गरिएको देखिन्छ । सिद्धार्थ गौतम बुद्धले आर्य अष्टाङ्ग मार्गमा सम्यक् शब्दको प्रयोग गरेको पाइन्छ । ती यसप्रकार छन् ः सम्यक् दृष्टि, सम्यक सङ्कल्प, सम्यक् वाच , सम्यक् कर्म, सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि । सम्यक भनेको सही हो, यसलाई उपयुक्त वा उचित भनेर अथ्र्याउन पनि सकिने देखिन्छ । सम्यक—शुद्ध, अनुकूल, चोखो, उचित आदि हुन्छ ।
यही सम्यक् नै उपसर्गका रूपमा ‘सम्’को नजिक देखिन्छ । सम् भनेको कुनै शब्दका अघि लेखिने उपसर्ग हो । ‘समानता, सङ्गति, उत्कृष्टता, औििचत्य, निरन्तरता, समान, बराबर, सबै असल’ आदि बुझाउने शब्द हो । ‘सम्’ शब्दको धेरै अर्थहरूमध्ये एउटा अर्थ सुन्दर भन्ने लाग्दछ र ‘कार’को अर्थ कर्ता हो । यसरी हेर्दा ‘सम्’ उपसर्ग लागेर बनेको ‘संस्कार’ शब्दको अर्थ सुन्दर र प्रभावकारी ढङ्गले, शालिनतापूर्वक कार्य गर्ने आन्तरिक क्षमता भन्ने हुन्छ । संस्कारको सम्बन्ध संस्कृतिसँग र संस्कृतिको सम्बन्ध संस्कारसँग हुन्छ । संस्कार भनेको मानिसमा रहेको त्यो सार हो, जो मूलतः उसको बानी(व्यवहार) र वाणी (बोली) मा प्रकट हुन्छ । यो मानिसको आकार—प्रकार, रङ्ग—रूपमा खोजेर पाइने विषय होइन । यसलाई मानिसले अवलम्बन गरेका धारणाहरूले बलशाली बनाएको हुन्छ । यसमा अनुभवहरूको सम्मिश्रण हुन्छ ।
संस्कृति भनेको असल तरिकाले गरिँदै गरिएको र सम्पन्न गरिएको कामको परिणाम हो । ‘सम्’ भनेको सुन्दर र ‘कृति’ भनेको ‘बनाइएको’ भनिएको हो । कुनै चीज बनाइएको वा उसलाई परिमार्जन गरिएको अवस्थालाई संस्कृति भनिएको हो । यो कुनै पनि व्यक्ति, राष्ट्र, समाज, समुदायको सर्वाङ्गीण प्रतिबिम्ब पनि हो । संस्कृति शिल्प(सीप), विचार, दर्शन आदिको परिष्कृत रूप हो । संस्कृति भनेको परापूर्व समयदेखि चलिआएको आचार—विचार आदिबाट विकसित हुँदै आएको यथार्थ हो ।
उत्पादन मूलतः प्रकृतिसँग जोडिएको विषय हो । कारखानाबाट उत्पादन गरिने वस्तुहरू पनि मूलतः प्रकृतिकै गर्भबाट प्राप्त हुन्छन् । हरेक प्रकृतिमा सबै वस्तु उब्जँदैनन् । हिमाली क्षेत्रमा उत्पादन हुने स्याउ तराईको भूमिमा हुँदैन । तराईमा मनग्गे फल्ने आँप—लिच्ची हिमालमा फल्दैनन् । जहाँ, जे उत्पादन हुन्छ, त्यहाँ तिनीहरूलाई रोप्ने, गोड्मेल गर्ने, स्याहार्ने र भण्डारण गर्ने औजारहरू र भाँडाहरू फरक हुने नै भए । तिनीहरूलाई तयार पार्ने, पकाउने, खाने तरिका र भाँडाकुँडा पनि सोही अनुसारकै हुनु स्वाभाविकै हो । प्रकृति अनुसारकै ओढ्ने—ओच्छ्याउने लुगाफाटो हुने भयो । त्यसैले उत्पादनका साधनहरू÷औजारहरू, हात—हतियारहरू, प्रयोग गरिने भाँडाकुँडा, पहिरन, खाद्यवस्तु सांस्कृतिक विषय बनेका हुन् ।
मानिसका सोच—विचारमा पनि प्रकृतिको ठूलो प्रभाव हुन्छ । नदी भएको ठाउँमा मात्र मानिसले पुलको कल्पना ग¥यो होला । पानीमा माछा देखेपछि मात्र मानिसले माछा मार्ने जाल, बल्छी आदिको कल्पना ग¥यो होला । प्रकृतिका मनमोहक रङ्गीविरङ्गीले आकर्षित गरेर नै मानिसले तिनैलाई पछ्याएर कला—साहित्यको सिर्जना गर्न जान्यो होला । त्यसै गरी भाषा, धर्म, मूल्य—मान्यता, चाडपर्व, परम्परा आदि बनेका हुन् भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले यी सबैद्वारा नै संस्कृति अभिव्यक्त हुन्छ ।
माथिका विश्लेषणका आधारमा भन्न सकिन्छ कि संस्कृति भनेको प्रकृतिसँग अनुकूलन गरिएको सामाजिक व्यवहार हो । यो समयसापेक्ष विकसित हुँदै, एउटा पुस्ताबाट अर्कोमा र एउटा सामाजिक समूह वा समुदायबाट अर्कोमा पनि सर्दै जान्छ । यसो हुनुमा सञ्चार तथा यातायातको विकास, देशभित्र र बाहिर हुने बसाइसराई आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संस्कार एकैपटकमा न बन्छ, न त विकसित नै हुन्छ । ‘कार’बाट ‘कृति’ बन्न समय लाग्ने कुरा स्वाभाविकै हो । त्यसैले हाम्रा पूर्वीय मनीषीहरूले जन्मने वा जन्माउने प्रक्रियादेखि मृत्युपश्चात् सम्मका लागि केही संस्कारहरूको विधान गरेका हुन् ।
संस्कार र संस्कृतिको निर्माण कुनै व्यक्तिको प्रयासमा मात्र भएको हुँदैन भन्ने कुरा माथिका उल्लेखहरूबाट स्पष्ट हुन्छ । संस्कार र संस्कृतिसँग धर्मको सम्बन्ध हुन्छ, तर धर्म र संस्कृति एउटै भने होइनन् । हिन्दु संस्स्कृतिभित्र विभिन्न जातजाति, समुदाय र धार्मिक सम्प्रदाय छन् । हिन्दु संस्कार र संस्कृति संसारको सबैभन्दा पुरानो मान्न सकिने सभ्यता र संस्कृति हो । यस संस्कृतिमा षोडश (सोह्र) संस्कारको मान्यता रहिआएको छ । मानिसको जन्मने प्रक्रियादेखि मृत्युसम्म सम्पादन गरिने क्रियाकलापलाई यहाँ षोडश संस्कार भनिएको छ ।
माथि नै चर्चा गरिसकिएको छ कि संस्कार भनेको राम्रो गर्ने र संस्कृति भनेको राम्रो बनाइएको हो । संस्कारको अर्थ परिष्कार, परिमार्जन हो भन्ने कुरा पनि माथि नै उल्लेख भइसकेको छ । तर अधिकांशतः हामी के देखिरहेका छौँ भने विगतका राम्रा विषयलाई मान्यता दिंदै देश(स्थान), काल(समय), परिस्थिति(अवस्था÷स्थान) अनुसार आपूm र आफ्नो वाणी र बानीलाई परिमार्जन गर्दै जानुपर्नेमा जे छ, त्यसैमा अडिने र पछाडि समेत फर्कन खोज्ने प्रवृत्ति मौलाउन खोजिरहेको छ, यस्तो विषय र प्रवृत्ति संस्कृति शब्दको समेत विरुद्धमा छ । जति नै राम्रो भए पनि संस्कृति पुरानोमा टाक्सिएर रह्यो भने अन्धविश्वास बन्दछ । संस्कृति भड्कियो र यसले बाटो बिरायो भने विकृति बन्दछ । यही संस्कृतिको समयसापेक्ष र उचित सम्वद्र्धन भयो भने सभ्यता बन्दछ ।
असल संस्कारबाट असल संस्कृति र असल संस्कृतिको अवलम्बनबाट सुन्दर सभ्यता विकसित हुन्छ । हामी हाम्रो सभ्यता विकासमा आफै सहभागी बन्नुपर्छ । अरुलाई दोषारोपण गरेर र पुरानैमा अड्डी कसेर बस्यौँ भने हामी विकासका वाधक बन्नेछौं । संस्कृति निर्माण र संस्कृति विकासमा हाम्रा पुर्खाले गरेका योगदानलाई स्मरण गर्दै उदात्त सनातन संस्कृतिको र पुनर्जागरण गर्नुपर्दछ । अन्य कुनै धर्मसंस्कृतिको बारम्बार उल्लेख गरेर महत्व बढाइदिने काम गर्नु हुँदैन । संस्कृतिको विकास तथा पुनःजागरणको नाममा मानव जातिले पछिल्लो समयमा विकास गरेको सूचना, प्रविधिको विकासबाट लाभ लिनबाट भने चुक्नु हुँदैन । संस्कृतिलाई अवलम्बन गरेर मानवजीवनलाई थप सुखमय बनाउन लागौँ, स्वकीय संस्कृतिका सबै असल पक्षलाई अवलम्बन गर्नु राम्रो हो, त्यसैमा मात्र अल्मलिने काम गर्नु हुँदैन । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)