देशको चित्र–विचित्र

मेचीकाली संवाददाता

३१ श्रावण २०८०, बुधबार
384 shares

दलबहादुर गुरुङ

देश, भूगोलमात्र होइन । यसमा भाषा, भावना, संस्कार, संस्कृतिलगायतका विविध विषयवस्तुहरु जोडिदा रहेछन् । सुगौली सन्धि अघि नेपाल ठूलो थियो । त्यसपछि सानो भो । खुम्चियो । सबैले जानेकै कुरा भए यी त । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समाहित भए । तर, भूगोल उतै छ । निष्ठुरी मायालुको आँसुजस्तै भएको छ । आँसु उतै, आँखा आफूसँग !

देश कहाँ पुग्ने हो राम जाने । धेरैको चिन्ता यसैमा छ तर चिन्तन गर्ने मान्छे देख्दिनँ । चिन्ता धेरै गर्दा बेलैमा चितामा पुगिन्छ । यो भने सत्य हो । देशको चिन्ता गर्ने होइन । बरु देशलाई अग्रगामी दिशामा लैजान देशका नेता, कार्यकर्ता, राष्ट्रसेवक, सुरक्षाकर्मी सबैको एउटै ध्येय हुनुपर्छ–सकारात्मक चिन्तन । सकारात्मक चिन्तनको परिणाम नै अग्रगति हो । प्रगतिशीलता हो ।
देशको चित्र सबैका आँखामा, मस्तिष्कमा फन्फनी नाँचेकै छन् । देशको भलो गर्नेहरु सबै छन् तर कुभलो चिताउनेहरुसँग हाम्रो सरोकार भएन । देशलाई बनाउनेहरुप्रति हाम्रो सदैव सम्मान छ । बिगार्नेहरुसँग हाम्रो कुनै नाल, नातो र साइनो छैन । गोरु बेचेको साइनो समेत छैन । यसोभन्दा नाता, साइनो, सम्बन्ध जोड्ने सेतू के हुन् त ? प्रश्न उब्जिन सक्छन् सबैका मनमा ।

राणाले देश खाए एक सय चार वर्षसम्म । तिनीहरुले के पो गरेर ? जंगबहादुर जंगेर ल्याएको व्यवस्था नै राणाकालीन व्यवस्था भयो । पढ्न दिइएन । लेख्न दिएनन् । दुनियाँका मुख थुने । रैति बनाए,जनताहरुलाई । प्रजातन्त्र माग्नेहरुले गोली खाए । फाँसीमा झुण्ड््याइए । चारपाटा मुडेर चारभञ्ज्याङ्ग कटाइए । कसैलाई आममाफी दिए । जे गरे । राणाहरुले गरे । त्यो व्यवस्था फाल्न प्रजा परिषद् जन्मियो । राष्ट्रिय काङ्ग्रेस जन्मियो । गोरखा परिषद् खुल्यो । भारतमै भएपनि नेपाल कम्युनिष्ट पार्टी गठन भयो । जहानियाँ शासन त ढल्यो तर त्यसका अवशेष रहे ।

२०१५ सालमा आमचुनावपछि प्रजातान्त्रिक सरकार आयो । त्यसलाई राजा महेन्द्रले कू गरे । २०१७ सालमा पञ्चायत आयो । राजा बलिया भए । उनले प्रधानमन्त्री, मन्त्रीहरु पात फेरे झैं फेरिरहे । ३० वर्ष चलेको पञ्चायती व्यवस्थामा पाँच वर्षको स्थायी सरकार चलाउने कुनै प्रधानमन्त्री भएनन् । बहुदल चाहिन्छ भनेर राष्ट्रिय पञ्चायतमा रुँदै कुर्लिनेहरु रुपचन्द्र विष्ट , सोमनाथ अधिकारी प्यासी, जागृतप्रसाद भेटुवाल, दोर्णराज आयार्य र पद्मरत्न तुलाधरहरुमध्ये सोमनाथ अधिकारी प्यासी बाहेक सबैले आफ्ना भौतिक जीवन त्यागी सकेका छन् ।

२०४६ को आन्दोलनले देशबाट पञ्चायत त ढल्यो तर त्यसका अवशेषहरु रहिरहे । बहुदल आयो । अनेक दल खुले,बन्द भए । नेपालको राजनीतिक इतिहासमा संसारकै राम्रो,उत्कृष्ट २०४७ को संविधान भनेर छाती पिटे, बनाउनेहरुले । कतिले आलोचनात्मक टिप्पणी गरे । कतिपयले शिलालेख नै ठाने । तर, त्यही संविधान काम नलाग्ने भएर त होला २०६३ मा अन्तरिम संविधान जारी भयो । देशमा लोकतन्त्र आयो । दोस्रो संविधान सभाले २०७२ सालको असोज ३ गते लोकतान्त्रिक एवम् गणतान्त्रिक संविधान दियो । राणाकालीन नेपालीहरु रैतिबाट गणतन्त्रमा जनता हुने अवसर पाए । थाहा छैन, नेपालीहरु कहिले नागरिक बन्ने हुन् ?

राजा फालियो । राष्ट्रपतीय शासन प्रणाली लागू भयो । डाक्टर रामवरण यादव पहिलो राष्ट्रपति बने । पहिलोपटक जनताबाट राष्ट्रपति चुनिने अवसर प्राप्त गरे । त्यतिबेला भित्तामा राष्ट्रपति बन्नेको नाम अर्कै थियो । झगडा गरेका थिए खुब । अचेल पनि सुनिन्छ, मेरो गल्ति थियो फलानालाई राष्ट्रपतिमा समर्थन नगर्नुमा । विचरा गोहीका आँसु ! दिसा गरेपछि दैलो देख्नुको कुनै तुक रहन्न । विद्यादेवी भण्डारी दुईखेप राष्ट्रपति भइन् । उनका पाला पनि खासै सुखद् भएन भन्छन् भन्नेहरुले । सेरेमोनियल राष्ट्रपतिबाट बढी आशा गर्नु फगत हाम्रो चिन्ता ! यतिबेला रामचन्द्र पौडेल राष्ट्रपतिको कुर्सीमा आसिन छन् । नागरिकता ऐनमा मोहोर लगाइसकेका छन् । उनीप्रति धेरै चिन्ता नगरौं ।

गणतन्त्र आएपछि कतिवटा सरकार बने, मैले खाँचोले भनुँम र ? गन्नुस् आफै । भन्नुस् आफै । जुन सरकार आएपनि नेताका घैंटामा घाम लाग्ने भएनन भनेर जनताहरु उसै चिन्तित् छन् । २०७९ संघीय एवम् प्रदेशको चुनावमा रीसको झोंकले पार्टी नफेरि चुनाव चिन्ह फेरे कतिले । पार्टी यथावत ! जिम्मेवारी उही । तर भोटमात्र अन्तै । नयाँ र पुराना साना दलहरु हल्का ठूला भए । नयाँ पार्टीले केही फेर्छन् कि भनेर हेर्दैछन् । खोई ! नयाँ बोत्तलमा पुरानै रक्सी हुने हो कि भन्नेहरु पनि प्रशस्तै छन् ।
नेपाल उही हो । पार्टी तिनै हुन् । नेता उस्तै छन् । दुई,चार दल र नेता नौला आएका हुन् । सीमसारमा पसेका छन् नयाँ दल र नेताहरु । निस्किन मुस्किल भनेका छन् कतिले । हेरौं न । हतार नगरौं । सुस्त गए अवश्य पुगिन्छ । हतारमा गए, भन्न सकिन्न भनेर ट्राफिक नियमै छ ।
विगत १० महिनाको तथ्यांकले नेपालबाट विदेश जानेको संख्या दैनिक तीन हजार बढी नाघेको देखिन्छ । विगतभन्दा यो संख्या करिव डब्बल हो । कसरी रोकिन्छ । छेकिन्छ । हुन त देश सानो छ । यहाँ सबै बसेमा, बेरोजगार भइयो भनेर नारा, जुलुश लगाउँछन् । हड्ताल,तोडफोड गर्छन् । बरु, ठीकै छ विदेशतिर गएमा, कम्तिमा रेमिट्यान्स त पठाउँछन् । देशलाई बाँच्ने आधार त दिन्छन् भन्ने नेताहरु छन् कि नाइँ ? फक्कैमा किन चिन्ता है ? बरु नेपालमा उनीहरुलाई राख्ने बारेमा चिन्तन गरौं न ।
यतिबेला सामाजिक सञ्जालमा देशमा सुनका कुरा छ्यापछ्याप्ति आएका छन् । कसैले कसैलाई पँहेलै बनाइ दिएका छन् । मेरा बा ! सुन खोज्न मुनामदनमाजस्तै मदन अब भोट अर्थात् ल्हासा जान नपर्ने पक्का देखिन्छ । सुन राखेको फेरि घट्यो रे ! सुनको समाचारले अन्य समाचार जाममा परे कि कसो ?

चोखा कोही छैनन् भन्छन् धेरैले । केके प्रकरण रे ! कसको फाइल खोले को फस्छन् रे ! कहिलेकाँही लाग्छ–सबै फाइल खोलेपछि बेकाम गर्ने नेता, कर्मचारीहरु फस्छन् । नयाँ युवाहरुले नेता बन्ने अवसर पाउँछन् । कर्मचारी फसेपछि लोकसेवा आयोगले वान्टेड खोल्ला ! देशमै जागिरको अवसर मिल्ला । यस्तो चिन्तनले हामीलाई कहाँ पुराउला ? बरु आफ्नो पार्टीमा लडेर,कामका आधारमा पद लिन्छु,लोकसेवा आयोग फाइट गरेर जागिर खान्छु पो भन्ने होला । फलाना नेता र फलाना कर्मचारी फसेमा नेता हुनेछु र जागिर खानेछु भन्ने चिन्तनले हामी कति विचित्रका छौं भन्ने कुराको हेक्का सबैलाई हुनेछ ।

गाउँमा विकास गयो । गाउँलेहरु सहर आए । सहर उन्नत हुँदै गयो । सहरियाहरु तेस्रो मुलुक गए । देशको चित्र यही हो । बुढापाकाहरु गाउँमा छन् । मलामी पाइन मुस्किल भइसक्यो । किरिया पनि फेसबुकमै । समाज कता जाँदैछ । संस्कृतिको विराट स्वरुप कसरी भत्किदैछ ? हामी नेपाली हुनुको गर्व गर्ने ठाउँ कहाँ रह्यो र ? एकले अर्कालाई छिर्की नलगाई अघि बढ्दा वा बढ्न दिँदा देश अघि जान्थ्यो कि ?

देशको चित्र बादल नलाग्दाको जस्तो छ्वाक्क देख्ने दिन कहिले आउला ? देशको यो चित्र–विचित्रको देख्न नपर्ने दिन कहिले आउला ? हामी सबै एक हौं भन्ने नारामा देखियो, लेखियो तर साँचो रुपमा कहिले भेटिएला ? हामीले हाम्लाई नै कहिले असल देखौंला, भेटौंला ?