पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकामा डेंगु संक्रमणको जोखिम न्यूनीकरणका लागि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । बाणगंगा नगरपालिकास्थित मोतिपुर स्वास्थ्य चौकीअन्तर्गत सेवा क्षेत्रमा अभियान सञ्चालन गरिएको हो ।
मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा एक कार्यक्रम मार्फत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा स्वास्थ्य चौकीको सेवा क्षेत्रअन्तर्गत वडा नम्बर ८ र ७ का केही स्थानमा लार्भा खोज गरी नष्ट गर्ने अभियानको सुरुवात गरिएको छ ।
मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेसहित वडा नम्बर ८ का जनप्रतिनिधिहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी र सञ्चारकर्मीहरु तथा केही स्थानीयको समेत सहभागितामा चप्परगाउँ क्षेत्रमा जोखिमयुक्त क्षेत्रमा स्थानीयलाई सचेत बनाइएको छ ।
बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेंगु सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ । प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटरसाइकल तथा अन्य गाडीका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ । अण्डाबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । त्यस्ता लामखुट्टेले मानिसलाई टोकेमा डेंगु संक्रमण हुने गर्दछ ।
यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिन नहुने मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेले बताए । डेंगु संक्रमण गराउने लामखुट्टेले विशेष गरी बिहान र दिउँसोको समयमा टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै भुइमा नसुत्ने र सधै झुलको प्रयोग गर्न आग्रह गरेका थिए ।
उनका अनुसार डेंगुको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लक्षणिक उपचार मात्र हुन्छ त्यसकारण आफैँ सचेत हुनु नै यसबाट बच्ने मुख्य उपाय हो ।
यस्तै वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीहरुसँगै डेंगु रोग नियन्त्रणका लागि वडाका जनप्रतिनिधि र टोलविकास संस्थाले अभियान सञ्चालन गर्ने बताए । उनले वडाबाट योजनाबद्ध कार्यक्रम संचालन गरि टोलविकास संस्थामार्फत सबै नागरिकहरुलाई डेंगु रोग नियन्त्रणमा लाग्न तयारी गरिएको जनाए ।
डेंगु रोग लागेमा एक्कासी चर्को ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको नानी र हड्डी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन् । रोगको जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर मानिसको ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
डेंगु भाइरसका कारण ज्वरो आएमा आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खाने गर्नुपर्छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगु सङ्क्रमण चितवनमा आएका एक विदेशी पर्यटकमा देखा परेको सरकारी तथ्याङ्क छ । त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशः बढ्दै गएको हो । यो वर्ष रोगको संक्रमण थप जटिल बन्न सक्ने पूर्वानुमान गरिएको छ ।
बाणगंगामा यो वर्ष नगरभित्रका एक जना र बाहिरबाट उपचारका लागि आएका चार जना गरी पाँच जना संक्रमित भएकामा उनीहरु सबै निको भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । अहिले लार्भा खोज र नष्ट गर अभियान चलाइएको उनको भनाइ छ । यस्तै बाणगंगा–९ जिनुवामा डेंगु रोगविरुद्ध हाम्रो अभियान सफा राखाँै आफ्नो घर आँगन भन्ने मूल नाराकासाथ लामखुट्टेको लार्भा नस्ट पार्ने अभियान सञ्चालन गरिएको छ ।
सो कार्यक्रम भाद १ गते देखि १० गते सम्म वडा नं. ९ का हरेक टोल, सबै विद्यालय, आमा समूह, टोल बिकास संस्था, स्वास्थ स्वयमं सेविका, जनप्रतिनिधि, स्वास्थ्य कर्मचारीबाट लामखुट्टेको वासस्थान खोज र नस्ट गर्ने अभियानको जनचेतना जगाउने गरी अभियान सुरु गरिएको भलवाड स्वास्थ चौकीका प्रमुख जितविकास रायमाझीले बताए ।
यस्तै वडा नम्बर ७ को मोतिपुर डाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु गरिएको केन्द्रका प्रमुख जीवन थापाले जानकारी दिए । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा आयोजित एक कार्यक्रमको बिच डेंगु नियन्त्रण अभियान सञ्चालन गरिएको हो ।