बलिबारे संक्षिप्त विमर्श

मेचीकाली संवाददाता

६ भाद्र २०८०, बुधबार
1149 shares

घनश्याम कोइराला

बलिलाई अधिकांशले ‘हिन्दुधर्म’सँग जोडेर आलोचना गरे । कसैले यसलाई परम्परा भनेर समर्थन र विरोध दुवै गरे । तर बलिप्रथा ‘हिन्दुधर्म’को समग्रता होइन, ‘हिन्दुधर्म’भित्रका सबै धर्महरू पशुबलिका पक्षमा छैनन् मात्र होइन, घोर विरोधी पनि छन् भन्ने कुरा आपूmलाई बुद्धिजीवी ठान्ने सबै नेपालीले बुझेका रहेनछन् भन्ने पनि देखियो । हिन्दुका देवीहरू सरस्वती, लक्ष्मी, शैलीपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, कात्यायनी, स्कन्दमाता…आदिमा बलिको कुनै प्रावधान नै नभएकोतर्फ ध्यान नपुगेको देखियो । नवरात्रीका नौवटी देवीहरूको समूहका ‘नवदुर्गा’मध्ये आठौं देवी ‘कालरात्री’बाहेक कसैलाई पनि बलि दिने प्रावधान देखिँदैन । ‘हिन्दुधर्म’का मुख्य देवहरू ब्रह्मा, विष्णु, शिव, गणेश, सूर्य आदिलाई पनि रक्तबलिको प्रावधान कतै छैन । यस्तो किन होला भन्नेतिर ध्यानै नदिई अनावश्यक टिप्पणी गरेर सनातन संस्कृति, सनातनधर्म, सनातन परम्पराको खिल्ली उडाउने काम भयो । इस्लाम, क्रिश्चियन आदि धर्ममा प्रचलित बलि प्रथाबारे सामान्य जानकारी समेत नराखेको देखियो ।

हाम्रा पारम्परिक चाडपर्वहरू आमरूपमा यहाँको हावापानी सुहाउँदा छन् । हावापानीको समग्रता प्रकृति हो । ऐतिहासिक जयन्ती–जात्राहरू बाहेक सांस्कृतिक पर्वहरू प्रकृतिलक्षित वा प्रकृतिनिर्देशित छन् । हाम्रा पर्वहरूले सबै प्रकारका ऋतुहरूको ख्याल गरेका छन् । प्रकृतिलाई देवदेवी मान्ने हाम्रो संस्कृति मौसम सुहाउँदा छन् । ‘प्रकृतिले मानिस बनायो, मानिसले संस्कृति बनायो ।’ यो कुरा सही हो । तर मानिसले संस्कृति बनाउँदा पनि प्रकृतिका विशेषताभन्दा बाहिर गएर र चुनौती दिएर नभई यसलाई आत्सात गरेर नै बनाएको देखिन्छ । अरु सबै पर्वलाई छोडेर दसैंलाई मात्र लिएर भन्ने हो भने पनि संस्कृतिको प्रकृति बुझ्न सकिन्छ । पर्वहरू मानिसको हितमा छन् । यिनीहरूलाई अहिलेका हामीजस्ता मानिसले पनि मानिसकै हितमा लक्षित गरेर पर्वहरू मनाउन सक्नुपर्दछ । प्रकृतिको रक्षा र मानवजातिको सर्वोत्तम हितको ख्याल गरेर पर्वहरूको परिष्कार गर्नु आवश्यक हुन्छ ।

मासु खानु वा नखानु आआफ्नो रूचि, स्वास्थ्यको अवस्था, धार्मिक आस्था र विश्वाससँग जोडिएको विषय हो । पछिल्लो समय ‘पशुअधिकार’को विषय पनि उठ्ने गरेको छ । हुन सनातन संस्कृतिमा ‘अहिंसा परमो धर्म’ भनिएको छ । ‘आत्मवत् सर्वभूतेषु यः पश्यति..’ आदि उल्लेख पनि नपाइने होइन । तर, संख्यात्मक दृष्टिले हेर्दा नेपालीहरूको कुल संख्यामा मांसाहरूको संख्या बढी भएको अनुमान गर्न सकिन्छ । जानेर वा नजानेर, पशुबलिको परम्परा सनातनीहरूमा प्रबल नै देखिन्छ । यहाँसम्म त ठिकै छ, तर पशुअधिकार, बलि, मांसभक्षण सबैलाई घालमेल पारेर हेर्नु र बुझ्नु सही बुझाइ होइन ।

कतिपय मानिसहरू मासुु खाने र बलि दिने कुरालाई एकै ठाउँमा राखेर बुझ्छन् । खाने कुरा खाद्य चेतनासँग सम्बन्धित हो । मासु खाने र नखाने दुवैका विषयमा स्वास्थ्य विज्ञानमा धेरै कुरा उल्लेख छ । खानै नहुने अवस्था र खानैपर्ने वा त्यसका विकल्पमा अन्य कुनै वस्तु खाने विषय स्वास्थ्य विज्ञानमा पढ्न पाइन्छ, बुझ्न सकिन्छ । बलि भनेको परम्पराको नाममा चलिआएको विषय हो । यसलाई निरपेक्ष ढङ्गले बुझ्नु र धारणा बनाउनु अन्धविश्वास हो । मासु खाने कुरालाई बलिसँग जोड्न हुँदैन । तर मासु खाने कुराको वकालत र पशुहत्याको विरोधको कुरा सुहाउने विषय होइन । चाहे खानका लागि होस् वा देवीदेउता खुसी पार्न, हत्या त हत्या नै हो । मानिस केमा स्पष्ट हुनप¥यो भने विरोध पशुहत्याको हो कि पशुबलिको ? पशुअधिकारको कुरा हो भने मासु खान भएन, बलिप्रथाको विरोध हो भने कुनै धर्मविशेषलाई दोष लगाउन भएन ।

प्राणीहत्या जेसुकै नाममा भए पनि डरदाग्दो र भद्दा देखिन्छ । देवीदेउताका नाममा दिइने रक्तबलि पनि कहाली लाग्दो र डरलाग्दो हुन्छ । देवीदेउताको नाममा प्राणीहत्या गरेर रगताम्मे पार्नु अझ अनौठो र आश्चर्यजनक छ । मासु खानेहरूले मात्र पशुबलि दिने गरिएको सन्दर्भले अलिक फरक विषयतर्फ सङ्केत गर्दछन् ।

अझ एकै ठाउँमा ठूलो सङ्ख्यामा निरपराध पशुहरूको हत्या गरेर गरिने पूजा परम्परा हो, तर सभ्य काम होइन । पशु बलिको विषयलाई कसैकसैले ‘पशु अधिकार हनन् भएको’ जिकिर गरिरहेका छन् र सिङ्गो नेपाल र नेपाली समाजलाई लाञ्छित गरिरहेका पनि छन् । यस सन्दर्भमा सबैभन्दा बढी चर्चा बाराको ‘गढीमाई’ को हुने गरेको छ । यहाँ नेपाल मात्र नभई भारतबाट समेत आएर बलि दिने गरिएको हुन्छ । परम्पराका नाममा आएका असभ्य र आततायी किसिमका क्रियाकलाप बन्द गर्न सके राम्रो हुन्छ । अन्यत्र यस्ता परम्परामा परिवर्तन आएको छ ।

हाम्रो समाजमा आफूलाई वैष्णव कोटिमा राख्नेहरू, मासु खाँदा स्वास्थ्य बिग्रन्छ भन्ने थाहा पाएकाहरू र पशुअधिकारका क्षेत्रमा काम गर्नेहरू बाहेक अधिकांशले मासु खाने गरेको पाइन्छ । परम्परादेखि वैष्णव नरहेका तर ‘हिन्दु’भित्रै पछि प्रतिपादन गरिएका केही विशेष खालको धर्म अवलम्बन गरिरहेकाहरू पनि मासु खाँदैनन्, देवीको पूजा माताका रूपमा गर्दछन् ।

सबै नेपाली र सबै हिन्दूहरू मांसभक्षी छैनन् । हिन्दूभित्रैका सबै धर्म÷सम्प्रदायले पशुबलि÷रक्तबलि दिने गरेका पनि छैनन् । तर सिङ्गो नेपाल र नेपाली समाज लाञ्छित भइरहेको छ । आजापूजा र बलिको प्रथा—परम्परा नभएका समाज र तिनीहरूका देशमा मासु खाने चलन हाम्रोमा भन्दा बढी नै देखिन्छ । तर उनीहरू त्यहाँ पशुहत्या भएको देख्दैनन् । यसलाई गहिरिएर हेर्दा राम्रो विषय उठाएर सिङ्गो नेपाली समाजलाई र यहाँ प्रचलित धर्म, सँस्कृति, परम्परामाथि प्रहार गर्ने मनसाय रहेको देखिन्छ । यसबाट भने सबै नेपाली सजग हुनुपर्छ ।

नेपाल अनेकौँ जातजाति, धर्म र सांस्कृतिक परम्परा रहेको राष्ट्र हो । त्यसैले यहाँ सबै पर्व सबैका पनि नहुन सक्छन् र सबैले एकै प्रकारले पर्व नमान्ने पनि हुन सक्दछ । एउटै पर्वलाई फरक—फरक ढङ्गले मनाइने गरेको पनि देखिन्छ । यहाँ जनै लाउने, जनै नलाउने, टुप्पी राख्ने, टुप्पी नराख्ने, पहाडमा बस्ने, हिमालमा बस्ने, तराईमा बस्ने, नाक चुच्चे परेका, नाक थेप्चो भएका, ईश्वर मान्ने, बुद्ध मान्ने, अल्लाह मान्ने र अरुहरू पनि मासु खाने भेटिन्छन् । मासु खाने परिवारमा धेरैजसो पर्वमा र घरमा पाहुनापछा आउँदा मांसाहार गराइन्छ ।     यद्यपि, आजभोलि मासु खान मानिसले चाडपर्व नै पर्खनुपर्ने या पाहुना नै लाग्नुपर्ने अवस्था छैन । मासु खाने—नखाने विषय गोजी(खल्ती) छामेर निर्धारण गरिन्छ ।

परम्परालाई नै संस्कृति मान्ने हो भने यो सांस्कृतिक विषय पनि हुन सक्दछ । खानपान, पहिरन, आयोजन आदि संस्कृतिका विषय हुन् । यस्ता कुरा अपरिवर्तनीय नै हुनुपर्छ वा हुन्छ भन्ने छैन । संस्कृति मानिसभन्दा जेठो होइन, संस्कृति मानवनिर्मित हो । त्यसैले यसलाई फेर्न नसकिने हुँदैन । मानिसले बनाएको संस्कृति मानिसले फेर्न सक्छ । तर फेर्ने नाममा यसको अपव्याख्या गरेर, लाञ्छित गरेर र पूर्वाग्रही भएर होइन, सांस्कृतिक निरन्तरता तथा मौलिक वैशिष्ट्यको संरक्षण हुने गरी परिष्कार वा परिमार्जन गर्न सक्नुपर्दछ ।

दसैँ होस् वा अन्य आयोजन, मासु खाने भनेपछि कुनै पशु वा पक्षीको वध गर्नुप¥यो, वध गर्न लगाउनु प¥यो वा वधशाला धाउनुप¥यो । देवीस्थान वधशाला, आँगन वधशाला, करेसा वधशाला बनाउने कुरा राम्रो होइन ।

बहुसंख्यक नेपालीहरूको मुख्य पर्वको रूपमा रहेको दसैँ मासु खाने पर्वको रूपमा रहेको छ, यति मात्र नभएर दसैँलाई पशुबलि दिने पर्वको रूपमा पनि चित्रित गरिन्छ । वास्तवमा यो प्रथा कहिलेदेखि र कसले चलाए भन्ने ज्ञात नभए पनि देवीका नाममा पशुबलि दिने गरेको तथ्य लुकाएर लुक्दैन ।

यसै त हिन्दुहरूले बलि भनेजस्तै इस्लाममा कुर्बानीको प्रचलन छ । यसलाई इस्लाम धर्मावलम्बीहरू त्यागको अर्थमा पनि अथ्र्याउँछन् । इस्लाममा कुर्बानी शब्दको अर्थले जे दिन्छ, हिन्दूको बलि शब्दले पनि त्यही नै अर्थ दिन्छ । इस्लाममा पनि अल्लाहलाई अर्पण नगरी केही नखाएजस्तै हिन्दुहरूले पनि त्यसो गर्दैआएका मात्र हुन् । उनीहरू दिनदिनैको हलालीलाई समर्पण नै ठान्दछन् । त्यस्तै, ईसाई धर्ममा पनि निस्तार मनाउँदा पशुबलि दिने प्रावधान छ । समग्रमा के भन्न सकिन्छ भने बलि प्रथा हिन्दुबाहेकका धर्म र परम्परामा पनि रहेको पाइन्छ । यसको तात्पर्य हिन्दु धर्म, प्रथा, संस्कृति वा परम्परामा रहेको पशुबलिको पक्षपोष्ण गर्नु वा औचित्य सिद्ध गर्नु नभई हिन्दुहरूमाथि मात्रको प्रहारको बचाउ गर्नु भने हो ।

परम्परा वा चलनचल्तीभन्दा थोरै अघि बढेर हेर्ने हो भने बलिका विषयमा फरक तर्क र तथ्य भेटिन्छन् । अमरकोषमा बलिसमेतका सन्दर्भमा यस्तो लेखिएको छ ः

‘पाठो होमश्चातिथिनां सपर्या तर्पणं बलिः । एते पञ्च महायज्ञा ब्रह्मयज्ञादिनामका ः ।।

अर्थात् पाठ (पढ्ने काम), होम (हवन), अतिथि सपर्या (अतिथिको सेवा—सत्कार गर्ने काम) तर्पण (तृप्त हुन् भन्ने कामनासहित जलार्पण गर्ने काम) र बलि (समर्पण गर्ने) कामहरू नै ब्रह्मयज्ञ आदि नाम गरिएका महायज्ञ हुन् ।’ (अमरकोषः, द्वितीय काण्ड)

‘भागधेयः करो बलिः । भाग लगाएर दिइने या दिनुपर्ने, कर(ट्याक्स), बलि यी तीन पनि बलि कै नाम हुन् ।’ (अमरकोषः, द्वितीय काण्ड)

‘करोपहारयोः पुंसि बलिः प्राण्यङ्गजे स्त्रियाम् । कर, उपहार, बलि नाम गरेका राजा, बुढ्यौलीका कारण देखिने चाउरीपनलाई पनि बलि नै भनिन्छ । (अमरकोष, तृतीय काण्ड)

यी यज्ञहरूका बारेमा मनुस्मृतिमा भनिएको छ:

‘अध्यापनं ब्रह्मयज्ञः पितृयज्ञस्तु तर्पणम् । होमो दैवो बलिर्भौतो नृयज्ञोअतिथिपूजनम् ।।

पढाउनु ब्रह्मयज्ञ हो । तर्पण पितृयज्ञ हो । होम देवयज्ञ हो । (यसमा दिशा, आकास आदिको शुद्धिका लागि हवनादि गरिन्छ ।) बलि भनेको भूतयज्ञ अन्तर्गत हो । (भूतयज्ञ भनेको विभिन्न जीवहरू— कमिला, कीरा, सर्प आदि, पक्षीहरू— काग आदि, पशु— गाई, कुकुर आदिलाई खुवाउनु र तृप्त पार्नु हो ।’

भूतयज्ञ अन्तर्गत ‘पिप्पिलिकादि बलि’ भनेको पाइन्छ । ‘पिप्पिलिकादि’ भनेको साना कीराफट्याङ्ग्रा आदि हुन् । यिनीहरूलाई खुवाउनु पनि यज्ञ नै हो । यस्तो प्रावधान देख्दा शास्त्रनिर्माता हाम्रा पुर्खाले यिनीहरूको जीवन पनि वातावरणीय दृष्टिले महत्वपूर्ण रहेको हुन्छ भन्ने ठम्याइसकेका रहेछन् भन्ने बुझ्न सघाएको छ ।) नृयज्ञ भनेको घरमा आएका अतिथिको (भातभान्सा आदिको माध्यमबाट गरिने) सत्कार हो ।

यसरी यज्ञहरूलाई ब्रह्मयज्ञ, पितृयज्ञ, देवयज्ञ, भूतयज्ञ र नृयज्ञ गरी पाँच भागमा बाँडिएको छ । भूतयज्ञ भनेको पशु—पक्षीहरूका लागि लक्षित गरिएको छ । यसअन्तर्गत काकबलि (कागलाई सन्तुष्टपार्ने), श्वानबलि (कुकुरलाई सन्तुष्टपार्ने), गोबलि (गाईलाई तृप्तपार्ने), पिप्पिलिकादि बलि (ससाना किराफट्याङ्ग्रा आदिलाई सन्तुष्टपार्ने) भन्ने स्पष्ट पारिएको छ । यसरी हेर्दा काग मार्ने, कुकुर मार्ने, गाई मार्ने, किराफट्याङ्ग्रा मार्ने भन्ने बुझिंदैन ।

केही, कतै अपवादबाहेक हाम्रो सामाजिक प्रचलनमा स्मरणीय पक्ष के देखिन्छ भने ‘देव’हरूलाई रक्तबलि दिइएको पाइँदैन । देवीहरूमध्ये पनि सरस्वती, लक्ष्मीलाई रक्तबलि दिइएको हुँदैन । त्यहीँ दुर्गा, काली आदि देवीहरूलाई रक्तबलि दिइएको पाइन्छ । यस्तो किन भएको होला त ? यसको उत्तरमा पुनः हामीले माथि उल्लेख गरिएका यज्ञहरू मध्येको भूतयज्ञमा ध्यान दिनुपर्ने हुन्छ ।

संस्कृतिको पक्षपोषण गर्ने नाममा यथास्थिति र अन्धविश्वास बोक्नु हुँदैन र आधुनिक बन्ने नाममा सांस्कृतिक आधारहरू बिर्सनु पनि हुँदैन । हामीले जुनसुकै बहानामा सांस्कृतिक शुद्धताको वकालत गरे पनि व्यवहारमा फरक हुँदैआएका छौँ । हामीले जे व्यवहारमा गर्दर्छौँ, त्यसलाई सिद्धान्तमा पनि स्वीकार गर्दा राम्रो हुन्छ । व्यवहार र सिद्धान्तमा फरक गर्दा पाखण्ड मौलाउँछ, संस्कृति धमिलिन्छ ।

पुनः स्मरण गरौँ: भूतयज्ञ भनेको पशुहरूलाई सन्तुष्ट पार्ने कर्म हो । दुर्गा, काली आदिका वाहन मांसाहारी पशु छन् । ती पशु वाहनहरूलाई सन्तुष्ट पार्नका लागि अन्य पशुहरू समर्पित गरिएको हुन सक्दछ । यसरी हेर्दा रक्तबलि देवीहरूलाई नभएर उनका मांसभक्षी सिंहादि वाहनलाई दिइएको हो भन्ने पनि देखिन्छ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)