माया गौतम
अहिले सोह्रश्राद्ध अर्थात् पितृपक्ष सुरु भएको छ । यो श्राद्ध यही असोज २६ गतेसम्म चल्नेछ । हाम्रो समाजमा परलोक भएका आफन्तको सम्झनास्वरुप पितृकार्य गर्ने चलन रहेको छ । परापूर्वकालदेखि यसरी मृतआत्मालाई सम्झेर वर्षको एक पटक सोह्रश्राद्ध गर्ने चलन रहँदै आएको छ । यो भनिरहँदा सबै जातिमा यही नै चलन छ भन्ने होइन । विभिन्न जातिले आ–आफ्नो संस्कारअनुसार विभिन्न तरिकाले आफ्ना पितृहरुलाई सम्झने गर्छन् । यो चलन परापूर्व कालदेखि रहँदै आएको पाइन्छ । बहुजाति र बहुभाषी विशेषता रहेको हाम्रो मुलुकमा आआफ्ना चालचलन र रीतिरिवाज रहेका छन् । यसरी मृत्युवरण गरेका पितृहरुलाई सम्झिने फरकफरक बाटोहरु भएको थाहा पाउन सकिन्छ ।
यतिखेर मृत्युवरण गरेका आफ्ना आफन्तको मृत्यू भएको तिथिका आधारमा सो तिथिमा श्राद्ध गर्न भ्याइनभ्याइ छ । श्राद्धमा घरका छोराहरुले परलोक भएका आमा बाबुको नाममा श्राद्ध गर्ने गर्छन् । छोरा नभएकाहरुको श्रीमती वा भाइदाइले श्राद्ध गरिदिने गरेको हामीले देख्ने गर्छौं । श्र्राद्धमा नजिक रहेका छोरी,ज्वाइँ, भान्जाभान्जी र नातिनातिना बोलाएर प्रसादस्वरुप खीर, पुरी, पुलाउ, फुरौला जस्ता मिष्ठान्नहरु खान दिने अनि पहेलो अक्षेताले टिका लगाइदिएर दक्षिणा दिने चलन रहेको छ । पितृहरुको सम्झना गरिने यो चलनलाई राम्रै मान्नुपर्छ ।
श्राद्धको पूजा पण्डित बाह्मणले गराउने गर्छन् । उनीहरु संस्कृत भाषामा लेखिएको श्राद्धको किताब पल्टाएर पढ्दै लेखिएबमोजिम नियमको पालना गर्दै यो सबै गराउने गर्छन् । हाम्रा बाउबाजेहरुले परापूर्व कालदेखि यही पुस्तकमा लेखिएको आधारमा विधि पालना गर्दै आएको पाइन्छ । यस्ता श्राद्ध विधि भएका किताब कहिले लेखियो, के कुरालाई आधार मानेर विधि बनाइयो यसको कुनै प्रमाण भेटिँदैन । धार्मिक पुस्तकहरु पढ्दै जाँदा र विधिहरु केलाएर हेर्दा त्यहाँ अथवा त्यतिखेर पनि पढेलेखेका विद्वान् पुरुष नै थिए र आफूहरु अनुकुलको किताब लेखेका थिए भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
श्राद्ध तिथिहरु सुरु भएलगत्तै एक महिलाले आफ्नो पेजमा टिकटक हेर्ने सबैलाई एक प्रश्नको जवाफ दिन आग्रह गरेकी थिइन् । उनले सोधेकी छन्–यो सोह्रश्राद्धमा मरेका बाबाहरुले पिण्ड खाने रे, श्राद्ध नगर्दिए वा पिण्ड नदिए भोकै पर्छन रे, श्राद्ध गरेर पिण्ड नचढाए वा पितृहरु भोकै भए सराप दिन्छन् रे अनि परिवारमा अनिष्ठ हुन्छ रे अनि बाउ जिउँदै छन् तर आमा मरिन भने आमाले पिण्ड खान नपर्ने रे वा उनको सोह्रश्राद्ध गर्न नमिल्ने भन्ने रहेछ । उनलाई खान पनि नपर्ने अनि आमाले सराप दिने डर पनि नहुने रे । कसले यो नियम बनायो ? जुन आमाले दश महिना कोखमा राखेर जन्म दियो, दश धारा दुध चुसाएर हुर्कायो त्यही आमाको श्राद्ध गर्न नपर्ने, उनलाई खान पनि नपर्ने के यही उल्लेख छ श्राद्ध गराउने किताबमा ? किन यस्तो नियम बनाइयो ? कसले यो नियम बनायो ? पत्ता लगाएर उत्तर दिने कोसिस गर्नुहोला भनि अनुरोध गरेकी छन् ।
उनको प्रश्नको उत्तर पाइन्छ कि भनेर मैले श्राद्ध गराउने दुई जना पण्डितलाई सोधेको यो हामीलाई थाहा हुँदैन, जे चल्दै आएको छ त्यही मानेर जाने हो । कहीँँ नभएको जात्रा जस्तो बाउ हँुदै आमाको श्राद्ध कहाँ हुन्छ, मात्र मरे तिथि हुन्छ मतलव मरेको दिनको तिथिका आधारमा आमा सम्झेर एकतिष्ठ गरिन्छ, स्राद्ध त बाउको मात्र हुन्छ । महिला त ब्रत बस्न पनि सक्छन् किन खानुप¥यो । त्यही भएर यस्तो नियम बनाए होलान उनीहरुको उत्तर यस्तो थियो ।
योत एउटा उदाहरण मात्र हो । यस्ता विभेदपूर्ण नियम धार्मिक सामाजिक तथा हरेक क्षेत्रमा रहेको पाइन्छ । बाउ मरेका व्यक्तिले कोही आफन्तको मृत्यु भयो भने काजक्रिया गर्न बाटो खुल्ने तर आमा मात्र नभएका व्यक्तिले अर्काको क्रिया गर्दिन चोखो नहुने रे यसरी यहाँ पनि बाउलाई नै सर्बेसर्वा बनाइएको छ । स्वस्थानी किताबमा पनि त्यस्तै विभेद छ । शिव महादेवले रुप फेरेर जति महिलासँग पनि रासलिला गर्न वा सहवास गर्न पनि छुट हुने, यो गर्दा महादेव शक्तिवान् ठहरिने तर पार्वतीले महादेव पति पाउन महिनौं निराहार ब्रत बस्नुपर्ने ।
राम वनबास जाँदा रावणले सीता हरण ग¥यो भनेर पतिब्रता जाँच गर्न अग्नीमा होमेर हेर्नुपर्ने तर राम पत्नीब्रता छन् कि छैनन् भनेर जाँच गर्नु नपर्ने, यही होत हामीले सुन्दै र पढ्दै अनि ब्रत बस्दै पालना गर्दै आएको चलन ? अनि हाम्रा महिला दिदीबहिनी निराहार ब्रत बसेर लोग्नेको खुट्टा पखालेर जल भन्दै पिउँछन् । आफू बिरामी परेर श्रीमान् र बालबच्चाको आयु लम्बिनेमा विश्वास गर्छन् । यस्ता अन्धविश्वासले कहिले महिला माथिको विभेद अनि हिंसा हट्न सक्छ र विभेदपूर्ण व्यवहारबाट महिलाहरु मुक्त हुन सक्छन् ?
छोरा हुनेहरु आफ्ना बाउआमाको श्राद्ध गर्ने गर्छन् तर जसका छोरी मात्रै छन् र विवाह भएर गए भने कन्यादान भनेर दिएका छोरी अर्काको गोत्रमा मिल्न गए त्यसैले बाउआमाको श्राद्ध कहाँ चल्छ, श्राद्ध गर्न नै मिल्दैन भनेर रोकिन्छ । श्राद्ध गर्न वा पिण्ड खुवाउन पनि छोरा पाउनै पर्छ भन्ने दवाव बनाइएको छ । वंश र अंशको दावेदार छोरा मात्र हुन भन्ने भान सबैमा पारिएको छ । छोराको महत्व श्राद्धमा अरु धेरै छ है भन्ने मान्यता बोकेर यो समाज चलेको छ जस्को परिणाम जसरी पनि छोरा जन्माउनै पर्छ भन्ने रहेको छ । जसले गर्दा भु्रण जाँच गराएर महिलाको ज्यान जोखिममा पारेर दश बाह्रवटासम्म छोरीको भु्रणको हत्या गराएर पनि छोरा पाउने सोंचले यो समाज चलिरहेको छ । यस्तो पाठ सिकाएका कारण नेपाली महिलाहरु कलिलो उमेरमै दर्दनाक पिडासँगै कालको मुखमा पुग्ने गरेका छन ।
माथि उल्लेखित विषयको परिमार्जनको प्रमुख दोषी त महिलाहरु नै छन । यथास्थितिमा रमाउन चाहने महिलाको संख्या ९९ प्रतिशत नै छ र एक प्रतिशतको चेतनाबाट कति परिवर्तन हुन सक्ला, कुरा यहाँनिर छ । चुप लागेर बसेको श्रीमान्लाई झारफुकमा विश्वास गर्न बाध्य पार्ने महिलानै छन् । यो बोक्सी हो भन्ने महिलाले महिलालाई नै देखाउने गर्छन् । बोक्सी भन्ने हँुदैन भनेर अन्तर्आत्मादेखि खडा हुने महिलाहरु दुई प्रतिशत मात्र भेटिएलान् । अन्धविश्वास र रुढीवादीमा रमाउने महिलाका कारण पनि पछिल्लो पिँढीका छोरीहरु पनि अफ्ठ्यारोमा छन् । साँच्चिकै परिवर्तन ल्याउने हो र विकसित मुलुकमा जस्तो छोराछोरीमा विभेद हटाउने हो भने सन्तानसँग सवाल राखेर अगाडि बढेमात्र कोहीलाई छोराका लागि हरिवंश पुराण लगाउन जरुरी पर्ने थिएन र भु्रणको लिंग जाँच गराएर लाखौँ छोरीहरु मारेर छोराका पछाडि दौडन जरुरी पर्ने छैन । यसका लागि हामीभित्र रहेको छोरो नभै नहुने भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी छ ।