फूलपातीको विशेष सन्देशः मातृसत्तामा सबैको रेखदेख

मेचीकाली संवाददाता

४ कार्तिक २०८०, शनिबार
1333 shares

घनश्याम कोइराला

फूलपातीको सन्देश भिन्न र महत्वपूर्ण छ । निधारभरि अक्षता, कानभरि जमरा, घरघरमा टिका थाप्ने प्रचलन अन्य हिन्दूहरूमा छैन । नेपाली र अन्य हिन्दूहरूका बिचमा दसैँ मनाउने तरिकामा भिन्नता छ । अन्यत्रका हिन्दूहरूले यसलाई धार्मिक अनुष्ठानका रूपमा मनाउने गर्दछन् भने नेपाल र नेपाल बाहिरका समेत नेपालीहरूले सामाजिक, पारिवारिक पर्वका रूपमा मनाउने गरिन्छ । नेपालीहरूले रावणवधको खुसीमा दसैँ मनाएको देखिँदैन । बहुआयामिक सन्दर्भ रहेको बडादसैँ भिन्न र विशिष्ट महत्वको छ । आवश्यकताअनुसार संस्कृतिमा परिवर्तन–परिमार्जन हुन सक्दछ, तर विकल्प खोज्नु उचित हुँदैन ।

अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घर घरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलफूल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्दछन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसको प्रक्रियाहरू हेर्दा–बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।
अहिले पनि सरकारी–सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिनेलिने गरिन्छ र वर्षमा एकपटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिएजस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर (पुस) को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त (चैत) को नवरात्र (चैते दसैँ) मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्ठतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरको प्रयोग होस्, फूल र फलको उपयोग होस्, पूmलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्राधान्यता स्पष्ट हुन्छ ।

अन्यत्रका हिन्दूहरूमा नभएको प्रचलन नेपाली समाजमा छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मिठोचोखो खाने, रमाउने, जेष्ठ–श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशिर्वाद थाप्ने हो; साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनःताजगी प्राप्त गर्नु हो ।

नारीशक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको र ज्ञान आशीर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँलाई ‘समस्त हिन्दुहरूको महान् चाड’ अझ ‘विजया दशमी’ मात्र भनेर हुँदैन; यसलाई अनेकौँ ठुल्ठुला विशेषता समेटिएको, ठूलो महत्व दिइएको ‘बडादसैँ’ मातृशक्तिको महिमा आत्मसात गरिएको सनातन पर्व हो । यसबारे नयाँ खोज गर्नुपर्ने हुन सक्दछ, तर यसप्रति अविश्वास र भ्रमको खेती गर्नु मातृशक्तिको अपमान र मातृपूजक संस्कृतिप्रति विद्वेष मात्र हो । पछि हुर्किँदैआएका केही समाजिक असङ्गतिका कारण आफ्नो संस्कृतिका असल र वैज्ञानिक पक्षहरूप्रति अनास्था फैलाउनु आत्मघात हो । महिलाहरूप्रतिको विभेदका लागि शास्त्र नभई सामाजिक व्यवहार दोषभागी छ । ढुङ्गा त्यहीँ बर्साइन्छ, जहाँ केही छ । झटारो त्यहीँ हानिन्छ, जुन रुखमा फल लागेको छ । पूmल त्यहीँ चढाइन्छ, जसलाई पूmल चढाउन मनैदेखि मन लाग्दछ । त्यही नदीमा नुहाइन्छ, जुन नदीको पानीमा नुहाउन मन लाग्दछ । तिनै कलाकारको गीत सुनिन्छ, नृत्य हेरिन्छ, जसको कला मन पर्दछ ।

तर, सबै कुरा मन लाग्दैमा सबै कुरा गर्न पाइँदैन । सबै कुरा मन नलाग्दैमा छोड्न पनि मिल्दैन, पाइँदैन, सकिँदैन । यिनै र यस्तै केही वास्तविकता, केही मान्यताका आधारमा सामाजिक नियम, प्रावधानहरू विकास भएको हो । जातपात, छुवाछुत, उँचोनीचो पनि यसरी निर्धारित गरिएको देखिन्छ ।
मानव सभ्यताको विकासमा क्रुरता देखिएको छ र करुणा पनि देखिएको छ । त्यस्तो क्रुरता सभ्य भनिएको वर्तमान समयमा पनि जीवितै छ । आजको मितिमा हेर्दा इजराइल र प्यालेस्टाइनमा देख्न सकिन्छ । जहाँ मानव बस्तीमा, अस्पतालमा, मानिसहरूका कार्यथलोमा ताकीताकी बम पड्काइएको छ । मानिसहरू ऐया भन्न पनि नपाई मरिरहेका छन् । जनजीवन अस्तव्यस्त छ, मानिसहरूको चिहिलबिहिल छ । प्राप्तिको रक्षा र प्राप्तिको अधिकारका लागि भनेर रक्तपात मच्चिइरहेको छ । दुवै पक्षका समर्थक छन्, दुवै पक्षका विरोधी पनि छन् । तर के गर्नु ? न त समर्थन संयमित छ, न त विरोध नै सभ्य छ । आज त यस्तो छ भने सोचौँ त सभ्य भइनसकेको समाज कस्तो थियो होला ? इतिहासका अनेकौँ कालखण्डमा एकथरि मानिसहरू मारिएका छन्, अर्काथरिले विजयोत्सव मनाइरहेका छन् । अर्को कालखण्डमा पुगेपछि पहिलेका प्रतिद्वन्द्वीहरूबिच घनिष्ट मेलमिलापका उदाहरण पनि छन् । यस्तो खोज्न अन्यत्र जानै पर्दैन, अमेरिका र जापानको सम्बन्ध हेर्दा हुन्छ । उति बेलाका ब्रिटिस शासित देशहरू र हाल ब्रिटिस बिचका सम्बन्ध हेर्दा पनि हुन्छ । अझ नजिकैबाट हेर्न, सुन्न र बुझ्न मात्र होइन, भोग्न परिरहेको नेपालकै वर्तमान राजनीतिक परिदृश्य पर्याप्त छैन र ?

अहिले हामी नेपालीहरू दसैँ पर्वमा छौँ । सबैले नमाने पनि नेपाली समाजको यो सबैभन्दा ठुलो पर्व हो । यहाँका सनातनीहरूले आआफ्नै ढङ्गले दसैँ मनाउने गरिएको छ । यो पर्व बहुअन्तर्यको पर्व हो । यसलाई नवरथा, नवदुर्गा भनिन्छ भने शरदोत्सव—शारदीय पर्व भनेर पनि मानिन्छ । ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा…’ आदि साहित्यिक उद्गारले दिने सन्देश पनि उत्तिकै महत्वपूर्ण छ । कृषिमा निर्भर समाजका लागि झरीबादलको जति महत्व छ, त्यसबाट मुक्त हुन पाउँदाको खुसी र आनन्द पनि उत्तिकै हुनु स्वाभाविक हो । हाम्रो समाज बर्खामा बर्खे उत्सव मनाउँछ, कठ्याङ्गिँ्रदो जाडोमा पनि शीत उत्सव मनाउने समाज हो अर्थात् हरेक ऋतु—मौसममा आनन्द लिँदै आएको समाज हो । त्यसैले यो नवरात्रि (दसैँ) शरद ऋतुको महत्वपूर्ण उत्सव हो । यति सामान्य विषय नबुझ्ने, बुझ्न नचाहने र आफ्ना लागि अनुकूल बनाउन नसक्नेहरू अनेकौँ बहानामा दसैँको बदनाम गर्दछन् । कसैले जातीय कुरा गरेर बहिष्कारको राग अलाप्दछन्, कसैले नश्लको विषय भनेर विषवमन गर्दछन् । राम—रावणसँग जोडेर हेर्दा पनि नश्लीय कुरा पुष्टि हुँदैन । दलित र गैरदलितको विषय पनि लागू हुँदैन । शुम्भ, निशुम्भ, मधु, कैटभ, महिषासुरसँग आफ्नो तुलना गरेर र कसैले रामले शम्बूक मारेको र शम्बूक शूद्र वर्णको भएको हुनाले शूद्रले दसैँ नमान्ने कुतर्क पनि गरेको पाइन्छ । बुझ्नुपर्ने तथ्य के हो भने नेपालका दलित समुदाय नै शम्बूकका सन्तान या शूद्र हुन् भन्ने प्रमाण कहाँ छ ? किन इतिहास—पुराणका निम्छरा प्रवृत्ति बोक्नुपरेको होला ? जातिच्यूत र जातिउत्कर्ष कसरी हुन्थ्यो भन्ने सन्दर्भ नहेरी आपूmले त्यो कमजोर पक्ष, मारिएको, हेपिएको, दबाइएको पक्ष भएको दाबी किन गर्नुपरेको होला ?

अहिले मानिसहरूका काम—व्यवसायको क्षेत्र फेरिएका छन् । तर, प्रकृतिमा त वर्षा, शरद, हेमन्त आदि ऋतुहरू त छन् । समाज वनबाट कृषि हुँदै औद्योगिक उत्पादनमा आइपुगेको हो । उत्पादनका साधनको विकासले उत्पादन सम्बन्ध र उत्पादक शक्ति पनि फेरिएको छ । यी सबैको प्रभाव हाम्रा चाडपर्व, मेलामहोत्सवमा पनि पर्नु स्वाभाविकै हो । त्यही लयमा संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ, यसो हुनुलाई अन्यथा रूपमा लिइनु हुँदैन ।

केही क्षुद्र प्रवृत्ति नेपालीहरू बिचमा बन्दै गरेको सकारात्मक सम्बन्ध र बढ्दै गरेको समानताबाट अत्तालिएको देखिन्छ । सकारात्मक विषय उठाउँदा ‘यी सबै काल्पनिक हुन्, अन्धविश्वास हुन्’ भनेर नाक खुम्च्याउने र ओँठ लेब्र्याउनेहरू नै त्यहीँ भेटिने नकारात्मक सन्दर्भहरूलाई वास्तविक ठानेर सनातन संस्कृतिका विरुद्ध किन जुर्मुराउँदा हुन् ? दसैँ आदि पर्व वहिष्कारको ध्वाँस दिन्छन् । के चाडपर्व वहिष्कारले कुनै जातिसमुदायसँग बदला लिइन्छ ? उनीहरू कमजोर बन्दछन् ?
बाजा बजाउने समुदायलाई छुवाछुतको विभेद गर्नेहरू आफै बाजा बजाउने व्यवसायमा लागिसके । सुन, पित्तल, फलाम आदि धातुको काम गर्ने समुदायसँग छोइछिटो गर्नेहरू तिनै व्यवसायमा अगाडि बढिसके । छालाको काम गर्ने समुदायलाई अछुत बनाउने समुदायका मानिसहरूले छालासँग सम्बन्धित उद्योग व्यवसायमा आपूmलाई माथि पु¥याइसके । सबै समुदायका मानिसहरू सबै व्यवसायमा छन् । केही अबुझ जमात परम्पराको कमजोर त्यान्द्रो समातेर विभेद गर्नुमा नै गौरव ठान्ने आत्मप्रवञ्चनाको सिकार बनिरहेको छ । यसलाई तोड्न संविधान, कानु बनेको छ, कार्यान्वयन हुँदै गरेको छ । त्यसलाई हटाउन सकारात्मक विभेद, वास्तविकता बोधका प्रयासहरू, अन्तर्घुलन, सम्मिलनका प्रयास अघि बढाउन र समानताको दाबी बढाउनुपर्ने ठाउँमा सङ्गतिहीन प्रलाप गर्नु राम्रो होइन । संस्कृतिको विकल्प खोज्ने होइन, तिनमा परिमार्जन आवश्यक छ ।

सनातन संस्कृतिका पर्वहरू विज्ञानसम्मत छन् । चाडपर्वहरू सम्बन्धित भूगोलको प्राकृतिक विशेषतासँगै त्यहाँको सामाजिक विकाससँग जोडिएका हुन्छन् । यस्ता चाडपर्वहरूमध्ये नेपाली समाजमा दसैँको विशिष्ट महत्व रहेको छ । नवदुर्गा पूजाको दसौँ दिनलाई दसैँ भनेर मनाइन्छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो ।
दसैँमा पूजा गरिने देवीहरू योद्धा हुन् । पुरुष देवताहरूले जित्न नसकको युद्धमा लडेका नारी योद्धाहरूलाई नवदुर्गा भनिएपछि उनीहरू युद्धका क्रममा सुरक्षित बास बस्ने ठाउँ दुर्गाका मन्दिरहरू हुन् । दुर्ग भनेको गढी—किल्ला हो, दुर्ग शब्दको अर्थ सजिलै पुग्न नसकिने ठाउँ हो । योद्धाहरू दुर्गमा बस्दछन् । अहिले जस्तो सुरक्षा पर्खाल, सुरुङ—बङ्कर नबनेको अवस्थामा यस्ता दुर्गहरू अग्लो डाँडाको चुचुरोमा हुनु स्वाभाविक हो ।

नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दुहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई हामी फूलपाती भनेर मनाउने गर्दछौँ । पूmलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, पूmल, नयाँ फलेका सब्जी, उँखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँ–घर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फल–पूmल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ, तर यसको ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ । यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आपूmभन्दा ठूला—बडासँग टिका–जमरा थापी आशीष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्ठतासँग सम्बन्ध राख्दछन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, जतिबेला राम—रावणको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दुहरूको’ भनेर सीमिति गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमी मात्र पनि होइन । यो ‘बडादसैँ’ हो । बुझे संस्कृति, नबुझे विकृति ! संस्कृतिलाई बुझौँ, विकृत हुनबाट जोगाऔँ, समयसापेक्ष र साझा बनाऔँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)