विभेदको स्रोत राज्यप्रणाली हो, धर्म होइन !

मेचीकाली संवाददाता

४ भाद्र २०७८, शुक्रबार
590 shares

घनश्याम कोइराला
हिन्दू सनातन धर्ममा छुवाछूत छ, यसमा जातीय उँचनीचको विभेद छ भनिन्छ । यसमा आंशिक सत्यता छ । हिन्दू सनातन धर्ममा संलग्न मानिसहरू राज्यसत्ता सञ्चालन गर्ने ठाउँमा हुँदा उनीहरूको मान्यताको प्रभाव पर्दै परेन वा पर्दै पर्दैन भन्न मिल्दैन । यसको तात्पर्य हिन्दू सनातन धर्म नै विभेदकारी छ भन्न मिल्दैन ।

हिन्दू सनातनी हुन्, बौद्ध हुन्, इस्लामी हुन्, शिख हुन्, जैन हुन् वा अरु कुनै; जहाँ हुन्छन्, त्यहाँ उनीहरूको प्रभाव परेको हुन्छ । तर, यसैलाई धार्मिक विभेद भन्न मिल्दैन । धार्मिक विभेद हुन्छ, त्यो एउटा धर्मावलम्बी र अर्को धर्मावलम्बीको विभेदलाई धार्मिक विभेद भन्न मिल्छ । यस्तो संसरका सबै धर्मावलम्बीहरूमा देखिन्छ । सामान्य गुण–धर्म, अहिंसा आदि बाहेक धर्म भनेको ईश्वर वा मोक्ष प्राप्तिका लागि गरिने आराधना, उपासना, तप आदि हो । धर्मका विषयमा फरक–फरक ग्रन्थ र फरक–फरक विद्वान्का फरक–फरक धारणा र मान्यता रहेको देखिन्छ । सबै ग्रन्थ, सबै विद्वान्, सबै महर्षि, आचार्यहरूले कुनै एउटै कर्मलाई, कुनै खास उपासना वा पूजा पद्धतिलाई मात्र धर्म भनेको देखिँदैन । मनुस्मृति, वैशेषिकसूत्र, तर्कसंग्रह, जैमिनिसूत्र आदिमा धर्मबारे भिन्न–भिन्न कुरा लेखिएको पढ्न पाइन्छ ।

अहिले समाजमा विद्यमान विभेदहरूको स्रोत के हो भन्ने बुझ्नका लागि धेरै विषयको जानकारी आवश्यक पर्न सक्दछ । तर, विभेदको कारण धर्म हो कि होइन भन्ने बुझ्नका लागि राज्यको अन्तर्वस्तु र धर्मको अन्तर्वस्तुबारे बुझ्न आवश्यक छ । कुनै धार्मिक मान्यता राख्ने व्यक्तिबाट भएका सबै उचित–अनुचित व्यवहारको जिम्मा धर्मलाई दिन उचित हुन्छ कि हुँदैन भन्ने छुट्याउन सक्नु पर्दछ । परापूर्व कालमा मानव समाज यस्तो बहुजातीय भन्नुपर्ने थिएन । मानिस जतिबेला परिवारमा समेत थिएन, घुमन्ते थियो, त्यतिबेला कुनै प्रकारका नियम हुनै कुरै भएन ।

परिवारमा बस्दा हुने फाइदा बुझेपछि यसका लागि मानिसहरूले केही पारीवारिक नियम बनाए होलान्, त्यो पनि त्यतिबेलाको आवश्यकताअनुसार । जस्तै ः महिला गर्भिणी र सुत्केरी हुने र त्यस अवस्थामा आफैँ खाद्य संग्रह गर्न कठिनाइ हुने, शिशुको सरुक्षा–संरक्षाको पनि आवश्यकताले महिला घरमुखी बनेको देखिन्छ । पुरुष खाद्यसंग्रहका लागि निस्कँदा महिलाले शिशु संरक्षण गर्दै ल्याइएका वस्तुहरूको सुरक्षा तथा अन्य व्यवस्थापन गर्ने कामको जिम्मेवारी लिएको हुनुपर्दछ । पहिलो कार्यविभाजन यसरी नै भएको अनुमान गर्न सकिन्छ । मानव समाजका अध्येताहरूले यस्तो उल्लेख गरेका पनि छन् ।

त्यतिबेला अन्य सामाजिक, धार्मिक वा अन्य कार्यविभाजन र नियमहरू बनेका थिएनन् । समाज विकासको प्रारम्भमा जात, वर्ग, वर्ण आदि विभाजन थिएन । यसलाई कतिपय समाजशास्त्रीहरूले ‘वर्गविहीन समाज’ भनेका छन् । प्राकृतिक स्रोतहरू साझा थिए । ती स्रोतहरूको उपयोग व्यक्तिगत शक्तिमा निर्भर थियो । त्यस समाजलाई वर्गीय राजनीतिक दृष्टिकोणले हेर्दा वर्गविहीन भन्नु उचित भए पनि आमरूपमा भन्नुपर्दा वर्गविहिीन मात्र होइन, कुनै प्रकारको विभाजन र विभेदरहित समाज भन्न अझ उपयुक्त हुनेछ ।

त्यस्तो समाज, जुन समाजमा स्रोतहरूमा आफ्नो–अर्काको भन्ने थिएन, धनवान–निर्धन थिएन । यस आधारमा हेला–होचो थिएन । यस्तो समाजलाई आदिम साम्यवादी समाज भनिन्थ्यो । मानव समाजको विकासको क्रमसँगै विभिन्न मानव समूहहरू बने । उनीहरूकमा बीचमा स्रोत तथा वासस्थानका लागि संघर्ष भयो । यसो हुँदै जाँदा निश्चित भूगोलभित्र निश्चित समूहको कब्जा हुँदै गयो । शक्तिशाली समूहले धेरै ओगट्ने भयो । शक्तिका आधारमा अनेकौँ संघर्ष भए । यसैक्रममा राज्य बन्यो, अर्थात् शक्ति संगठित गरियो । जिम्मेवारी बाँडफाँट भयो । त्यसलाई स्थायित्व दिन समूहभित्रै नियमहरू बनाएर काम तथा जिम्मेवारी बाँड्ने काम भयो । समाजका मानिसहरूलाई विभिन्न तह–श्रेणीहरूमा विभाजन गरियो । कालान्तरमा राष्ट्रहरू बने । यही विकासकै फलस्वरूप स्वार्थ र अन्तरविरोधहरू बढे । पुनः संघर्ष, विजय, पराजयको शृंखला अघि बढ्यो ।

नव समाज बाँडियो । यही विभाजनका आधारमा एउटाले अर्कामााथि शासन र नियन्त्रण गर्ने राजकीय निकाय विकास भयो । हामीले वेद, पुराण, धेरै इतिहास पढ्न नसक्दा पनि कोशकारहरूले रचना गरेका शब्दकोशमा राज्यको अर्थ, परिभाषा पढ्न सकिन्छ । टीकादत्त बरालको तत्सम नेपाली व्युत्पत्ति शब्दकोशमा राज्यलाई यसरी अथ्र्याइएको छ ः ‘राज्य वा देश, ठूलो राष्ट्रको शासनमा रहेको प्रदेश, स्वतन्त्रराष्ट्र, जनपद, देश, मण्डल, राष्ट्र, राज्यको प्रशासन ।’

अर्का कोशकार वसन्तकुमार शम्र्मा नेपालद्वारा संग्रहित सम्पादित संक्षिप्त नेपाली शब्दसागरमा यसो लेखिएको छ ः ‘एउटा राजाको वा शासनको अधीन रहेको सार्वभौमसत्ता भएको देश, मुलुक, राष्ट्र, एक ठूलो राष्ट्र, एक ठूलो राष्ट्रअन्तर्गत स्वायत्त शासन पाएको भूभाग वा प्रदेश, राजकाज, रजाइँ, राजाको काम ।’ शब्दकोशमा उल्लेख गरिएका राजाका स्थानमा आजका त्यस तहका शासकीय जिम्मेवार पदको अर्थमा बुझ्न सकिन्छ ।

मन्दिर होस् वा सामाजिक क्षेत्र, व्यवस्थापकीय काम धर्म होइन, यो राज्य हो, शासकीय काम हो । मन्दिर व्यवस्थापन समिति र त्यहाँ विभिन्न जिम्मेवारीको खटन–पटन, नियम, निर्देशनका काम धर्म अन्तर्गत पर्दैन, त्यस्ता विषय तत्तत् स्थानको प्रशासनिक विषय हो । यहाँसम्म कि त्यहाँ गरिने पूजा व्यवस्था र त्यसमा संलग्न धार्मिक जनशक्ति परिचालन गर्ने पनि प्रशासन (राज्य) नै हो ।

यसैगरी धर्मका विषयमा शब्दकोशमा यस्तो लेखिएको छ ः ‘सदाचार, पुण्यकर्म, सदाचार पालन, सेवाभाव, नैतिक गुण, राम्रो काम, शास्त्रविहीत आचरण, रीतिरिवाज, प्रचलन, नियम, यज्ञ, अहिंसा, न्याय, सत्य, धर्मराज, स्वभाव, वेदविहित कर्म, मानव प्रकृति ।’ (तत्सम नेपाली व्युत्पत्ति शब्दकोश, टीकादत्त बराल) ‘व्यक्ति वा वस्तुको मूल वृत्ति, प्रवृत्ति, प्रकृति, स्वभाव, नियत, नीति, स्वाभाविक गुण, सहज वृत्ति, श्रेय, सुकृत, नियमित र निर्धारित काम वा व्यवहार, सुख र स्वर्ग प्राप्ति हुने भन्ने लोकविश्वासको सुकर्म, पुण्यकर्म, लोकहितका लागि स्विकारिने कर्तव्य–कर्म, सदाचार, सत्कर्म, ईश्वर प्राप्ति वा सद्गतिका लागिको शास्त्रनिहित कर्म, स्वधर्म, सामूहिक कर्तव्य, कुनै मान्यजन वा महापुरुष वा आचार्य वा ऋषि वा ग्रन्थनिर्दिष्ट परलोक–सुख प्राप्ति हुने उत्तम कार्य, गुण–परिणाम–स्थिति–आवश्यकताअनुसार सर्वथा उपयुक्त ठहरिने काम, उचित–अनुचितको विवेक गर्न सक्ने चित्तवृत्ति, चरित्ररक्षा, परोपकार, कुनै महात्मा वा महापुरुषद्वारा प्रतिपादित सिद्धान्त ।’ (वसन्तकुमार शम्र्मा नेपाल, संक्षिप्त नेपाली शब्दसागर) धर्मका यी परिभाषामा कहीँ पनि विभेद, उँचनीचको कुरा देखिँदैन । तत्कालीन सामाजिक आवश्यकताले बनाइएका नियमहरूलाई धार्मिक क्षेत्रका मानिसहरूले मानिदिएको देखिन्छ ।

सामाजिक परम्परा, मूल्य–मान्यता स्वीकार गरेकाहरूलाई विभेद गरेको भनेर विभेद गर्नुभन्दा धर्म र संस्कृतिको नयाँ मानक विकास गरौँ । राज्यका आमनियम–कानुनहरू जस्तै धर्म, संस्कृति, नैतिकताका विषयमा पनि विमर्श गर्न सकिन्छ । ग्रन्थका पुराना पाना फेर्न सकिँदैन, तिनीहरूको विरोध गर्नुको कुनै अर्थ छैन । तर, नयाँ त गर्न सकिन्छ नि !

छोड्न नसक्ने, नयाँ विकल्प ल्याउन पनि नसक्ने अनि विरोध मात्र गर्ने अवस्था पनि फेर्न पर्छ । धर्म यदि व्यक्तिगत मान्यता, रोजाइ वा व्यवहारको विषय हो भने इच्छाअनुसार गरे हुन्छ । यदि यो सामाजिक विषय हो, सामूहिक विषय हो भने सबै (अधिकांश) लाई मान्य हुने, कसैको मानमर्दन एवं अहित नहुने गरी विकल्प र व्यवस्था गर्नु सकारात्मक हुन्छ ।

विद्वान्हरूले कुनै निश्चित कर्मकाण्डलाई मात्र धर्म भनेका छैनन् । कुनै पूजा वा उपासना पद्धतिलाई मात्र धर्म मानेका छैनन् । कुनै पन्थ वा परम्परालाई मात्र धर्म मानेका छैनन् । यो कुरा माथि उल्लेख गरिएको शब्दकोषबाट पनि पुष्टि हुन्छ । धर्म बहुआयामिक विषय हो । त्यसैले यसलाई असमानता र विभेदको स्रोतका रूपमा व्याख्या गरिनु न्यायसंगत छैन ।

पूर्णरूपमा धर्ममा लागेकाहरू अहं ब्रह्मास्मि अर्थात् म ब्रह्म (ईश्वर) हुँ भन्दछन् । ब्रह्म भनेको सांसारिक प्रपञ्चभन्दा माथि उठेको भनिएको हो । भौतिक सुख–सुविधा, माया–मोह, उँचनीचको प्रभाव नपर्ने भनेको हो । सबै प्रकारको विभेदभन्दा, आसक्तिभन्दा, आशा–निराशाभन्दा, प्रशंसा–निन्दाभन्दा पर, माथि भनेको हो । यो भन्न कुनै जात, लिंग विशेषको मात्र अधिकार क्षेत्रमा पर्दैन । त्यस्तै, धर्मको उच्चता प्रकट गर्ने अर्को भावाभिव्यक्ति हो– तत्वमसि अर्थात् त्यो (ब्रह्म) तिमी नै हौ । जो वा जे जति प्राणीहरू छन्, ती सबैमा उही ब्रह्मको वास छ, उँचनीच पङ्क्तिभेद छैन भनिएको हो । अर्को उच्चतम अभिव्यक्ति छ–अयमात्मा ब्रह्मः अर्थात् यो आत्मा नै ब्रह्म हो । आपूm र सबैमा एकैनासको ईश्वर (ब्रह्म) देख्ने विषय धर्मको मूल विषय हो ।

यहाँहरूले पशुपतिनाथ मन्दिर मूल द्वारनजिक Only for Hindu (हिन्दू मात्र प्रवेश) लेखेको देख्नुभएको होला । यो वाक्य धर्मवाक्य होइन । कुनै कालखण्डमा अन्य धर्मावलम्बीहरूबाट हिन्दू मठ–मन्दिरहरूमा क्षति पु¥याइएको, मन्दिरका बहुमूल्य वस्तुहरू लुटपाट गरिएको घटनाका कारण त्यति बेलाको राज्यले त्यो प्रवन्ध आवश्यक ठह¥याएर गरिएको हो । शैव दर्शन, पाशुपत दर्शन, शैव पूजा पद्धति आदिमा त्यस्तो वाक्य त छैन । सन्दर्भ फरक होला, अन्यत्र पनि मन्दिर प्रवेश निषेधको विषय जायज होइन, तर प्रवन्धकीय विषय हो भनेर बुझ्न आवश्यक छ ।

धर्म मान्ने गरेका मानिसहरूबाट स्वार्थवश लगाइएका अर्थ, धर्मको उच्चताको विषयको यथार्थ ज्ञानको कमी भएका मानिसहरूबाट हुने गरेका जातीय तथा अन्य विभेदका आधारमा सिंगो धर्मलाई नै दोष दिनु उचित होइन । व्यवस्थापकीय श्रेणी विभाजन धार्मिक विभेद होइन । विभेद उन्मूलनका लागि राज्य व्यवस्थासँगको लडाइँलाई धर्मसँग नजोड्नु नै उचित हो । (लेखक सांस्कृतिक अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)