दीपक विश्वकर्मा
संस्मरण विधा सबैभन्दा बढी पढिने विधा मानिन्छ । संस्मरण लेखन इतिहासको उत्खनन पनि हो । लेखकले आफ्ना कुराहरू भन्ने बहानामा सिंगो समाजको व्याख्या गरिरहेको हुन्छ । संस्मरणले निजत्वको व्याख्यामात्र गर्दैन, तत्कालीन परिवेशको साङ्गोपाङ्गो वृतान्त पनि पेश गर्छ । परिवेशको परिचिताका लागि त संस्मरण झन् आफ्नै कथा कसैले भनिदिएजस्तो लाग्छ । आफूले चिनेका मान्छेहरूको बारेमा कसैको कलममार्फत मनसम्म पुग्नुजस्तो आनन्दायकपल अरु के हुन सक्छ ? तम्घास निवासी चुरामणि पन्थीका स्मृतिका झोक्काको सानो पेटारो फुकाउँदा लाँकुरीकोबोट, उपल्लोतम्घास पुग्नैलाग्दा भेटिने खित्रीमित्री दोकान र ढुङ्गाका चारपाटे छप्पनीले आगनपाटेको राँइला भलामीको दुईतले घरको झझल्को आँखै वरिपरि फनफनी घुम्छ ।
वि.सं.३० को दशकसम्म पनि तम्घास धिपधिपे थियो । गतिला बाटा थिएनन् । स्कुलको नाममा महेन्द्र हाइस्कुल थियो ।
दीचौरमा बर्खामा मात्र होइन, बर्खा सकिएको लामो समयसम्मपनि पानी उम्रिरहन्थ्यो । त्यहीँ छिपछिपेपानीले पाटिएको हिलोमा जिल्लास्तरीय फुटबल खेल हुन्थ्यो । फुटबलको फाइनल खेलको दिन सारा तम्घास उचालिन्थ्यो । हारजितपश्चात् हेपहेप हुर्रे दोहोराउँदै खेलप्रेमीहरू आफ्ना विजयी खेलाडीहरूलाई काँधमा बोकेर बजार परिक्रमा गराउँथे । बजारभन्नाले मरासिनी होटेल, भीमलालको किराना दोकान पार भएपछि चेतनारायण मरासिनीको घर, त्यसपछि आउने लस्करै एकतले दोकनसहितका घरहरू, राष्ट्रिय बाणिज्य बैंक बसेको जुभुङ्गका हरिप्रसाद गौतमको घर, सोघर अगाडिको चस्मे बुढीआमैको नाङ्लोपसल, त्यसको केही परको रेसुङ्गा होटेल, दायाँतर्फ अगाडि बढ्दै गएपछि आउने झण्डारी पुस्तक पसल र ससानो गल्ली पारभएपछि आउने भरत मेडिकलहल । पसलमा बसिरहने यमान मुठेजुंगा पालेका मल्ल बाउसाब । त्यसपछि आउने नेवारहरूको बाक्लो बस्ती । ज्योति श्रेष्ठ दाजुभाइको दुईतले घर, त्यसको पछाडि बिन्दु तथा ज्ञानु श्रेष्ठहरूको एकतले घर र त्यसैको छोउँछाउँमा तराईवासी कुनै ठेकेदारले सञ्चालन गरेको मौवाँको मगमगाउँदो रक्सी भट्टी ।
यता मरासिनी होटेलको दाहिना मोडिएपछि बन्दैगरेको हुलाक भवन । त्यसको अगाडि देखिने पाण्डेपरिवारको बारीको ठूलो पाटो । पाटो सकिएपछि आउने पाउरोटी कारखाना, त्यसका मालिकको सेतो कपाल र पहलमानी शरीर । त्यसपछि आउने पन्थीखलकको खाल । दिनमै डराउँदै हिँड्नुपर्ने बाँसको झाँङ । झाँङ पारभएपछि आउने बाख्रेछेँडाको पिपलबोटे चौपारी ।
किरण पुस्तकालयको एकतले घर, त्यसको छेउमै बालमन्दिर, अगाडि फैलिएको घोडाचर्ने खालीजग्गा, लाकुरी मञ्चमा ओकलिने राज्यविरुद्धका मन्दआक्रोश, राइला, कान्छा भलामीहरूको खाललाई अधिग्रहण गरेर बनाइँदै गरिएको जिल्ला प्रशासनको विशाल संरचना । महेन्द्र माविलाई पछाडि पारेर अगाढि बढेपछि बस्नेतको ठूलो बारीको पाटो । अलिमाथि पुगेपछि बाँया मोडिएर अगाडि बढ्दा उनै बस्नेतपविारको घरहुँदै पुगिने जिल्ला कारागार । कारागार अगाडिपछाडिको मनग्ये सरकारी खाली जग्गा, वर्तमानको जिल्ला अस्पतालले चर्चेको थुम्काका मग्रातेपरिवारको विशाल खेतीपाती । मरासिनी होटेलको सानो उकालो चढेपछि बाँया मोडिँदा भीमलालको तरकारी बारी । सिधैँ माथि उक्लिएपछि भेटिने प्रमुख जिल्ला अधिकारीको सरकारी निवास । सुन्नमा आउँथ्यो, प्रजिअको भान्सामा घ्यूको खोलो बग्छ । खोलो बग्नेसरी घ्यू कहाँबाट आउथ्योहोला ? हाम्रो बालमस्तिष्कमा कहिल्यै चढेन ।
तम्घासका चर्चाका विषयहरू मनग्ये छन् । सुन्नमा आउथ्यो बखानेसाहुले रोंचेमा सुन थुपार्छन् । महेन्द्र माविका हेडमास्टर ज्ञानहरि आचार्यसँग ठूलाठूला हाकिमसमेत थुरथुरी काप्छन् । जुभुङ्गलाई भलिबलमा कहिल्यै जित्न सकिन्न । भार्सेले जहिल्यै फुटबलको शिल्ड उचाल्छ । प्रवेशिकाको परीक्षा परीक्षामात्र हुन्थेन, मास्टर र विद्यार्थीको घरजमको मेलोमेसोसमेत हुन्थ्यो । अहिलेको भुसाल प्रतिष्ठानको घरको छेउमै रहेको पाण्डे मिष्ठान्न भण्डारको गजाको मिठास खाएको दुईदिन पछिसम्म पनि जिब्रोबाट हराउन्न । आदि इत्यादि ।
स्मृतिका झोक्काहरू मूलतः पारिवारिक आलेख हो । कसरी एक टुहुरो भुँइमान्छे आफ्नो वर्कतले प्रगतिको शिखरमा पुग्न सक्यो ? कसरी एक १२ वर्षे अनाडि बालक गुन्द्रीचकटी बुन्ने परालको लागि आफन्तको खेतमा खाइनखाइ मजुरी गर्न पुग्थ्यो ? ती आफन्त दुच्छर थिए । बालकले बोक्नसक्ने परालको मुठोसम्म दिन इन्कार गरे । बचन लगाए । बालकको मनमा विद्रोह जाग्यो तर ऊ झुकेन र परालको भारीलाई लत्याएर रित्तै घर फर्कियो । कालान्तरमा सोही बबुरो बालक तराईमा प्रसस्त जमीन, तम्घासमै घरमाथि घर, जग्गामाथि जग्गा आर्जन गर्न सफल भयो । दुईवर्षको छँदै बाबुको मृत्यु भयो, एकलआमाले अनेकौ कष्ट सहेर हुर्काउनुभयो । आमा घाँसदाउरा लिन साउनेको वनमा गएकोबखत भोकले लखतरान हुँदा पकाएको एकगास पिठोको आशामा जेठीआमाको घरमा पुग्दा बहाना बनाएर खेदाएइएको जीवन्त कथापढ्दा नेपाली समाज कहिल्यै सहिष्णु नरहेको प्रतीत हुन्छ । ऋषिमुनिका उपदेश तथा पुराणमा लिपिबद्ध नीतिकथा पढेर हुर्किएको मानिन्छ नेपाली समाज तर एक टुहुरो बालकउपर जेठीआमाले गरेको निकृष्ट कथापढ्दा करनी र कथनीमा आकाश जमिनको फरक पाइन्छ । पुत्र चुडामणि पन्थीले आफ्नो वृतान्तभन्दा यी र यस्तै पारिवारिक वृतान्त पेश गरेका छन् स्मृतिको झोक्कामार्फत । सामान्यतया संस्मरण लेख्दा आफू र आफ्नै विगतलाई पस्किने चलन हुन्छ । तर यो किताब अपवाद रहेको छ । यसभित्र जेजति कथा बुनिएको छ सबै पारिवारिक जंजालमात्रै बुनिएको छ ।
बा हरिलाल पन्थीको जमानामा बटौलीबाट भरियामार्फत सामान बोकाएर व्यापार गर्थे तत्कालिन तम्घासका साहुहरू । बटौली र पथ्थरकोटबाट सामान ढाक्रेमार्फत बोकाएर तम्घास ल्याइन्थ्यो । एकल आमा र आफ्नो पेटकोभोक शान्तपार्न हरिलालले भरियाको काम पनि गर्नुभयो । चारवर्षको लगातारको ढाक्रेजीवनले उहाँलाई ब्यापारको गुरुमन्त्र प्राप्त भयो । सोही मन्त्रलाई आत्मसात् गरेर हरिलाल व्यवसायको जग बसाल्न सफलपनि हुनुभयो । कुनै पनि काम सिक्दै सिकाउँदै र अर्काको देखासिकी गर्दै गर्ने हो । हरिलालले पनि सोही तरिका अपनाउनुभयो र प्रगतिको शिखर चुम्दै लाकुरेबाजेको उपमाले प्रख्यात बन्न सक्नुभयो ।
स्मृतिका झोक्काले तत्कालीन समाजको यथार्थ बोकेको छ । समाज, समाजमा रहेको जातव्यवस्था, आपसी सद्भाव र सहिष्णुता, जातीय मूल्यमान्यता, सामाजिक प्रचलनको साङ्गोपाङ्गो चित्रको स्वाद लिन सकिन्छ यो झोक्का पढ्दा । कसरी तम्घासको बजार बस्यो ? तम्घास बजारको आजको चहलपहलको जग भुजेलखर्कका पुनाराम चुँदारको खेतमा उम्रिएको तोरीकोबोट सोत्तर पारेर बसाइएको थियो । आज हातकै लाखौं मूल्य पर्ने तम्घासका २० हाते घडेरीहरूलाई किस्ताबन्दीमा जम्मा चार सयमा किन्न पाइन्थ्यो । चेतनारायण तथा भीमलाल मरासिनीले कसरी जग्गा किन्न सके ? थुम्काको शिरानी डाँडामा तत्कालीन शाहीसेनाले गर्ने चानमारी र तम्घासमै जिल्लाको मुकाम राख्ने विषयमा प्रतिवाद गरेवापत प्रशासनिक झमेला आइपरेकोले राइला भलामीलाई महिनौं लुकाएर राखेको प्रसंग आफैँमा इतिहास हो । अन्यत्र जेजस्तो सामाजिक स्थिति रहेपनि गुल्मीका मगरहरूको सामाजिक स्थिति बाहुनक्षेत्री बराबर नै रहेको आभास हुन्छ, राइलो भलामी र मेराबा भन्ने उपशीर्षक पढ्दा । सँगसँगै भोजन गर्थे गर्थेनन्, उल्लेख नभएपनि आलेखले मगर र बाहुनबीचको अकाट्य प्रेमको झल्को भने दिन्छ । ५१ वर्षको उमेरमा एकल हुन पुगेका राइला भलामी ८५ वर्ष बाँचे । तत्कालीन बहुबिवाहको प्रचुर मान्यताप्राप्त समयमा पनि उनले पुनर्विवाह गरेनन् र सन्तानको पालनपोषण मै जिन्दगी बिताए । हरिलाल र भलामीले सँगसँगै थुप्रै तीर्थाटन गरे । दैनिकजसो भेटघाट पनि गर्थे ।
बाटरदिदीको नछुने हुँदै एघार वर्षकै उमेरमा पराल्मीका पोखरेल परिवारसँग लगन जु¥यो । नामभने बडो गज्जबको लाग्छ बाटरदिदी । सायद बाटोको छेउछाउ घर हुनुको कारणले बाटाघरेदिदी भन्दाभन्दै बाटरदिदी भनिएको होला । तम्घासका पन्थी र पराल्मीका पोखरेलहरूको गोत्र एउटै थियो, सामान्यतया एउटै गोत्रभित्र बैवाहिक सम्बन्ध जोडिँदैन । तर रेसुङ्गाका प्रभु यदुकानन्दले त्यसको गाँठो फुकाइदिए छन् । गाँठो त फुक्यो तर बाटरदिदीको विवाह फलिफाप भएन । भिनाजुको क्षेयरोगबाट मृत्यु भयो । यो दुखान्तलाई गोत्रको संयोजनसँग समाजले जोडेको कुरो लेखेका छन् लेखकले । बालविधवा बाटरदिदी माइतमा बस्नुभयो । मान्छेको जीवन स्थिर रहनसक्दैन । यो त पानीजस्तै सललल बगिरहन्छ । बाटरदिदीको जीवनमा पनि पानीको सङ्लो छाल आयो र सोही छालमा तैरिन पुगिन् । तर छोरीको खुशीमा बाबु हरिलाल र जेठोदाजु खुशी हुन सक्नुभएन, फलतः छोरीज्वाइसँग आजीवन बोलिचाली गर्नुभएन । धर्मसंस्कार र रीतिरिवाजले मानिसलाई कतिसम्म रुढ बनाउँछ भन्ने दृष्टान्त हो यो । तर पनि कहीँ न कहीँ बाबुको मनमा सन्तानप्रति आसक्तता रहन्छ नै, त्यसको प्रमाण चाडपर्व तथा शुभकर्मको बेलामा छोरीको नाममा सिदा उठाइदिनु, दानदक्षिणा पु¥याउन नभुल्नु आदि घटनाहरू हुन् । बाटरदिदी काण्डले तत्कालीन समाजको जडताको बारेमा पनि चित्रण गर्दछ । पानीचल, सजातीय तत्कालीन समयका खातापिता परिवार मरासिनी परिवारका सुपुत्र शेषनारायण मरासिनीको गर्भ नौमहिनासम्म लुकाएर राख्नु नै बाटरदिदीको गल्ती थियो सायद । सामाजिक परिवेश, मान्यता र रीतिरिवाजले सिर्जना गरेका मुल्यमान्यताहरूलाई जतिसुकै सहिष्णु मानिसले पनि नाघ्न सक्दैन भन्ने प्रमाण हो बाटरदिदीको कथा । जीवनको अपरिहार्य कर्म विवाह गरेवापत दाइ र पिताजीले जीवनभर मुख बार्दा बाटरदिदीलाई कति औडाहा हुँदो हो ?
छोरीको पुनर्विवाहमा त्यतिसम्म आक्रोसित हरिलाल आफुले भने बस्नेत क्षेत्रीकी छोरीसँग जारी विवाह गर्नुभयो । आजकाल कुनै बिवाहित मनसँग प्रीत साटासाट भयो भने पहिले पहिलोपति वा पत्नीसँग पारपाचुके हुन्छ, सम्पत्तिको आदानप्रदान वा लेनदेन हुन्छ । तबमात्र मनमितसँग लगनगाँठोको बाटो खुल्छ । हरिलाल बाले तत्कालीन समयमा रुपैयाँ एकसय साठी जारी तिर्नुभयो । त्यो पनि पञ्चभलाद्मीको रोहवरमा । भलाद्मीहरू थिए, चारपालाका डिठ्ठा थापा, सल्लेरीका डिल्लीराज र भाँडगाउँका बस्नेत । चारपालाका डिठ्ठा थापा, सल्लेरीका डिल्लीराज तथा भाडगाउँका बस्नेत भनेर इतिहास लेखनलाई हल्कारुपमा लिनु नहुने थियो । नितान्त निजी संस्मरणको रुपमा लेखिएको भएतापनि यो झोक्का इतिहासको पुन्टुरो हो र यसले समय बोकेको छ । डिठ्ठा थापाको नाम के थियो ? यसको तलतल पाटकलाई सधँैभरि रहने छ । भाडगाउँका बस्नेत भन्नाले तत्कालीन समयका गणेशबहादुर बस्नेतको अनुमान गर्न सकिन्छ । किनकि उनको सो समय भाडगाउँमा मात्रै जगजगी नभएर तम्घासको सेरोफेरोमै कायम थियो तर यो अनुमानलाई अनुमानको जामामात्र दिन सकिन्छ । इतिहासलाई न्याय दिनभने सकिन्न ।
अर्काको भारी बोक्दाबोक्दै व्यापार सिक्नुभयो हरिलाल बाले । तत्कालीन समयमा तम्घासमा दैनिक देहाडी मजुरी गर्ने ठाउँपनि नहुँदा हुन् । तर व्यापार त चल्नैपर्ने थियो । त्यसको लागि सामान चाहियो । सामान पथ्थरकोट र बटौलीबाट आउँथ्यो । हरिलाल बालाई गरिबीले ढाक्रे बनायो । ढाक्रेजीवनले आम्दानीको बाटोमात्र खुलेन, ब्यापारको मन्त्र पनि सिकायो । सो समय पहाडको चामलको माग तराईमा हुन्थ्यो भन्ने प्रमाण हो इस्मा सिमलटारीको चामल बुटौली पु¥याएरु बिक्री गर्नु । चालम बिक्रीको पैसाले उतैबाट कपडा, नुन, तेल, तमाखु ल्याई तम्घासमा बेच्नुहुन्थ्यो बाले । यसै पानामा आयात निर्यातका कुरा उल्लेख छन् । बेथरी नाकाको कुरो उल्लेख छ र नेपालले अनेकौ मालसामान भारत निर्यात गर्ने कुरो उल्लेख छ । एकसय वर्ष पहिले भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महंगो थियो, किनकि निर्यात बढी हुन्थ्यो । एकसय वर्षपछि भारतीय मुद्राभन्दा नेपाली मुद्राको मूल्य आधाभन्दा बढीले कम छ । किनकि मामुली तोरीसम्म हामीले उगाउन छोडेका छौं र युक्रेनमा फलेको आयातित तोरीलाई पेलेर लोकल तेलकोनाममा खान बाध्य छौं ।
बा हरिलाल पन्थीको मान्यता थियो बाँसको गाँज र भाइहरू छुट्टिनेहोभने मात्रै फस्टाउन सक्छन् । यो नीतिशास्त्र मात्र नभएर यथार्थ समेत हो । छोराहरू छुट्टिभिन्न हुन नमान्दा रेसुङ्गामा गएर बसिदिएको प्रसंग रोचक मात्र छैन, प्रभु यदुकानन्द र स्वर्गद्वारीका प्रभु नारायण गौतमको बारेमा समेत जानकारी प्राप्त हुन्छ । प्रभु यदुकानन्दलाई स्वर्गद्वारीमा बस्ने बातावरण नभएपछि नारायण गौतमको सल्लाहअनुसरा रेसुङ्गामा आइ खस्रुको धोद्रोमा बसेको कुरो आफैँमा एउटा इतिहास हो । सो कुराको पत्तो घाँसदाउरा गर्नेलेहरूले पाएपछि चारैतिर फैलिएको र हरिलाल तथा शशिधर मरासिनीको पहलमा तम्घास, पराल्मी, भाडगाउँ तथा पराल्मीबासीहरूले कुटी बनाइदिएको प्रसंग इतिहासको उत्खनन हो । यस तथ्यको प्रकाशले आजका पुस्तालाई रेसुङ्गाको विरासतको जानकारी लिन सजिलो भएको छ । बाको जिदमा छोराहरू छुट्टिभिन्न भए । गाँजो फाट्यो, छोराहरू भिन्नाभिन्नै भए । पिताजीले सबै छोराहरूलाई मनग्ये पुग्ने जमिन जोडिदिनुभएको थियो, फलतः कुनै छोरालाई पनि गासबासको पिरलो आइपरेन । अर्काको भान्सामा पाकेको पिठोको गन्धले अघाउने हरिलालले छोराहरूलाई प्रसस्त सम्पत्ति सके । जुन सम्पत्तिमा नातिपलातिहरूसमेत राजगरिहेको तथ्य झोक्कामा उजागर भएको छ ।
झोक्कामा केही रमाइला पक्षहरू पनि छन् । महेन्द्र माविका तत्कालीन गणित शिक्षक गुरु पदमपाणि पन्थीले लगाउनुभएको बनारसी सेता कुर्तापाइजामाको प्रसंग, फेटा नबानेको दुलाहावाला प्रसंग र बिनाधोती भात खान नपाइने प्रसंगले सांस्कृतिक विविधताको झझल्को दिन्छ । अल्जेब्राका कठिन शुत्रहरू सिकाउनुहुन्थ्यो पदम सरले । रिस उहाँको नाकैको टुप्पोमा झुण्डिएको हुन्थ्यो । बनारसबाट पढेर आएको भन्थे सबैले उहाँलाई । झोक्काले पदम गुरुलाई संम्झने मौका जुरायो ।
मेरो कुरो, बाको शिक्षा, बा, बाको जीवन, धुरी खाँबो र अँगेनो, एक भारी पराल, अपरिचित माता (भक्तेनी), भरिया, बाटरदिदी, बुडोघर, कान्छीआमासँग तिक्तता, खाना नफालौं, इस्मा सिमलटारीको चामल बुटवल, महङ्गो जारी, गुन्द्री बुन्ने पराल, धुलो पिठोको बासना, बाको छोराहरू छुट्याउने अडान, फेटा नबानेको दुलाहा, राइलो भलामी र मेरो बा, चीनाहरू डडाल्नु, जाले डोको, मातृशक्ति र परोपकार, कूलपूजा, बा र खालगैरा बा, छोराहरूमा देखिएको राजनीतिक प्रभाव, छापटोला चुराबहादुर थापा र बा, बाटेमामा र बा, लाकुरे बा, तालेर पाटो तालेरलाई नै, बा र रेसुङ्गा, अन्य व्यक्तिका भनाइहरू, लेखकका आफ्नै देशाटन बारे जानकारी र बाका दुई छोराहरूमा परेको राजनीतिक प्रभावको लेखाजोखासम्बन्धी थप जिरे खुर्सानीसहित कूल बत्तीसवटा चटनीहरूको मिसमास वामिक्चर हो स्मृतिका झोक्काहरू । यो सानो बौतोमा पस्किएको चटनीले जिब्रोलाई फरक स्वादमात्र दिएको छैन तत्कालीन लाकुरेबाको समयको परिवेशलाई पनि छताछुल्ल पारेको छ ।
झोक्काले सिङ्गो तम्घासलाई बोकेको छ । रेसुङ्गाका वनपाखा चहारेको छ । प्रभु यदुकानन्द तथा स्वर्गद्वारीका प्रभु नारायण गौतमबारे जानकारी प्रदान गरेको छ । आजको बनिबनाउ तम्घास बजारबारे नयाँपुस्तालाई थुप्रै जानकारी पस्केको छ । इतिहासको उत्खनन यसरी नै हुने हो । दाजुभाइको बारेमा लेख्दा जोडिएर आउने भाउजुहरूको बारेमा पनि मिसमास भइदिएको भए झोक्काको स्वाद आफैँ तड्का हुने थियो । रेवती पन्थी भाडगाउँका ज्वाइँ हुनुहुन्थ्यो । अरु भाउजूहरूको बारेमा पनि कोरिदिएको भए सिङ्गो पारिवारिक कथा बन्न सक्ने थियो । यस मामिलामा लेखकको नजर पुगेको देखिएन ।
लेखन अकाट्य निरन्तरता हो । शब्दको चयनको मिहीन प्रयत्न, वाक्य गठनको सुनौलो धागो तथा पठनीय शैैली लेखनका पूर्वसर्तहरू हुन् । हजार पढेरमात्र सय शब्द लेख्न सकिन्छ । शब्दचयन तथा वाक्य निर्माणको प्रसवबेदनाबाट जुन कथा जन्मिन्छ, त्यो कथामात्र निःशन्देह मनमोहक कथा बन्नपुग्छ । यो उचाइ प्राप्तगर्न लेखकले अरुका रचना पढ्नै पर्छ । यो झन् महासर्त हो ।
लेखनयात्रा शुरुवाती भान हुन्छ । झोक्का पढेरसकिसक्दा यस्तोलाग्छ, उहाँमा कथालेखनको हुटहुटी विकास हुँदैछ । दोहोराएरै भन्नुपर्छ लेखकले के बुझ्नु जरुरी छ भने लेखन आफैमा तपस्या हो । तपस्या अवश्यै कठिन हुन्छ । उप्रान्त लेखकले तपस्याको सो कठिनमार्गलाई शुभारम्भ गर्नुहुनेछ । स्मृतिका झोक्का प्रथम प्रयास भएकाले यसभित्र रहे भएका सबै गल्तीहरूलाई प्रथम प्रयासको हौसलाको रुपमा लिनु नै उचित हुन्छ ।
कृतिः स्मृतिका झोक्काहरू
लेखकः चुडामणि पन्थी
मूल्यः श्रद्धा