कालिगण्डकी–तिनाउ डाइभर्सनः जलसम्पदाको सदुपयोग हुने मुलुककै ठूलो परियोजना

मेचीकाली संवाददाता

१२ असार २०७८, शनिबार
708 shares

बुटवल, असार १२ । पिउने पानी, सिंचाई, विद्युत र जलपर्यटनको प्रचूर सम्भावनालाई साकार पार्नेगरि परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनाका कामले अब मूर्त रुप लिन थालेका छन् । बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा कार्यालय स्थापना गर्दै यो बहुप्रतिक्षित र महत्वाकांक्षी आयोजनाका कामलाई गति दिन थालिएको छ । यसको परिकल्पना गरेका नेपाल सरकार उपप्रधानमन्त्री तथा जलस्रोत मन्त्रालयको समेत नेतृत्व गरिरहनुभएका एमालेका नेता विष्णुप्रसाद पौडेलले आयोजनाको कार्यालयको शुभारम्भ गर्नुभएको छ ।

गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा (मलेङ) र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा आधुनिक ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ । प्रारम्भिक अध्ययन भइसकेर डीपीआरको चरणमै रहेको तर बीचमा अन्योलमा परेको यो आयोजनाको कार्यालय स्थापना भएसंगै अब आयोजना अघि बढ्ने आशा पलाएको छ । यसलाई मुलुकको आर्थिक समृद्धिको एउटा गेमचेञ्जर आयोजनाका रुपमा लिइएको छ । विसं.२०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा दशकको रूपमा मनाइरहेका बेला यो महत्वाकांक्षी परियोजनाको कामले गति लिन थालेको छ । प्राकृत्तिक सम्पदाको वैज्ञानिक रुपमा सदुपयोग गरेर नै छिमेकी मुलुक चिनमा समृद्धिको संकल्प साकार हुँदै गएको हो । चिनको यान्सी नदीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरेर त्यहाँ पिउने पानी, सिंचाई, विद्युत र जलपर्यटनका सम्भावनालाई साकार पारिएको छ ।

प्राकृतिक स्रोत तथा सम्पदा उपलव्धताका आधारमा नेपाल प्रचुर सम्भावना भएको मुलुक हो । कतिपय मुलुकले उपलव्ध स्रोत सम्पदाको उपयोग गरिसक्दा हाम्रा सबैजसो प्राकृतिक स्रोत अहिले पनि उपयोग हुन नसकेको अवस्थामा छन् । विकास र समृद्धिको ठूलो सम्भावना बोकिरहेका यस्ता सम्पदाको सदुपयोगको खाँचो रहेको विज्ञहरुले बताउँदै आएका छन् । बहुप्रतिक्षित र महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई पनि जलसम्पदाको बहुउद्देश्यीय परियोजनाका रुपमा लिइएको छ । लुम्बिनी र गण्डकी प्रदेशको बीचबाट बग्ने र लुम्बिनी प्रदेशका कैयन नदीसमेत मिसिएको कालिगण्डकी नदीको केही भाग पानीलाई पाल्पाको राम्दी नजिकैबाट व्यवस्थित सुरुङ बनाएर दोभान नजिकै तिनाउ नदीमा खसालिने छ ।

दोभान र त्यहाँबाट करिब ७ किमीको अर्को सुरुङबाट बुटवल–१३, बेलबासम्म लगेर यो जलसम्पदाको सदुपयोग गरिने छ । रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पु¥याउने र १२६ मेघावाट भन्दा धेरै विद्युत निकाल्ने यो परियोजनाको लक्ष्य छ । साथै जलपर्यटनमार्फत दुई प्रदेश जोड्नेसमेत यो आयोजनाको अर्को महत्वपूर्ण पाटो बन्ने छ । परियोजनाका परिकल्पनाकार उपप्रधान तथा अर्थमन्त्री पौडेलले जलसम्पदाको सदुपयोग र सम्भावनालाई साकार पार्ने सोंच अनुरुप नै यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पानीको रिचार्ज बढाउनेदेखि तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षण गर्नेसम्मका कामका लागि नदी डाइभर्सन अपरिहार्य जस्तै भएकाले यसलाई प्राथिमकतामा राखिएको बताउनुभयो ।

१३८ अर्बको ‘ड्रिम प्रोजक्ट’
उपप्रधानमन्त्री पौडेलले २०६७ सालमा यसको परिकल्पना गर्नुभएको थियो । आफु जलस्रोत मन्त्री भएका बेला गरिएको परिकल्पना यसपाली फेरि उर्जा तथा जलस्रोत मन्त्रालयको समेत जिम्मेवारी पाएपछि कार्यालय शुभारम्भ भएको छ । आयोजना अबको १० वर्षभित्र निर्माण सम्पन्न हुने पौडेलको विश्वास छ । उर्जा जलस्रोत, तथा सिंचाई मन्त्रालयका सचिव गेलालले आयोजनाको कूल बजेट १३८ अर्ब रहेको बताउनुभयो । दुई वटा हाइड्रोबाट विद्युत उत्पादनमा ६४ अर्ब र सिँचाई संरचना र सिञ्चित क्षेत्र विकाससम्म करिब ७४ अर्ब गरी १३८ अर्बको प्रोजेक्ट हो’ गेलालको भनाइ छ ।

१०७ हजार हेक्टर जमिनमा सिचाइँ
आयोजनाबाट सुख्खा समयमा १०७ हजार हेक्टर तराईको खेतीयोग्य जमिनमा सिचाइँ सुविधा पुग्नेछ । सिंचाईको प्रबन्ध नभएकाले धेरै जमिनमा खेती प्रभावित हुँदै आएको छ । परियोजना साकार भए रुपन्देहीमा ३६ र कपिलवस्तुमा ५४ हजार ८५ हजार हेक्टर जमिनमा सिंचाई गर्न मिल्नेछ । दोभानको हाइड्रोपावरबाट तिनाउ नदीमा आवश्यकता अनुसार १० घनमिटर प्रतिसेकेन्ड पानी छाडिने छ । यसबाट आवश्यकता अनुसार सोह्र छत्तीस र चारतपाहा नहरमा हिउँदमा पानी पुग्नेछ ।

मुलुककै ठूलो र लामो सुरुङ
गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई राम्दीबाट दोभानसम्म ल्याउन करिब २७ किलोमिटरको सुरुङ बन्ने छ । यो मुलुकमै ठूलो र लामो हो । दोभानमा पावर हाउस बनाएर विद्युत निकालिने छ । त्यहाँ ५४ मेगावाट विद्युत निकाल्न सकिने अनुमान गरिएको छ । दोभानबाट ७ किलोमिटरको अर्कोे सुरुङ बेलबासम्म जाने छ । त्यहाँ पनि अर्को पावर हाउसमार्फत ७२ मेगावाट बराबरको विद्युत निकाल्न सकिनेछ ।

बेलबास–तिनाउ हुँदै बाणगंगासम्म सिंचाई नहर
बेलवासमा बन्ने दोस्रो विद्युत् गृहबाट ३८ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुँदै कपिलवस्तुसम्म सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । पश्चिममा बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ । बाणगंगा नदीको जल सतह पनि घट्दै गइरहेको छ । दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हँुंदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि उपयोग गरिने छ । त्यसका लागि सोह्र छत्तीस मौजालगायतका नहरहरुलाई समेत व्यवस्थित गर्ने योजना रहेको छ । राष्ट्रिय सिँचाई गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा ठूलो परियोजनाका रुपमा यसलाई लिइएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव मणिराज गेलालले बताउनुभयो । आयोजना कार्यालय उद्घाटनमा उपप्रम पौडेलसंगै बुटवलमा आएका मन्त्रालयका सचिव गेलालले सबै विषयको गहन अध्ययन गर्दै डीपीआर बनिरहेको बताउनुभयो ।

अब एक वर्षमा डीपीआर र लगत्तै काम सुरु
कालिगण्डकी–तिनाउ डाइभर्सनको बुटवलमा कार्यालय स्थापना संगै अब यो बर्षभित्र सक्नेगरी विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको उद्देश्य मूलतः यो परियोजनाको डीपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख ईन्जिनियर सन्तोष कैनीले जानकारी दिनुभयो । आगामी एक बर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम सुरु हुने आयोजना प्रमुख कैनीको भनाई छ । हाल बुटवलको कार्यालयमा कैनी सहित अर्का इन्जिनियर विश्व थापा रहेका छन् । साउनदेखि आवश्यक जनशक्ति र उपकरणसहित कामलाई तीब्रता दिइने प्रमुख कैनीको भनाइ छ ।

पूरक आयोजना: तिनाउ–दानव करिडोर
अहिले तिनाउ नदीका दुबै किनार व्यवस्थित छैनन् । तिनाउ र दानव नदीमा असुरक्षित बस्तीले जोखिम झन बढाइरहेका छन् । बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र नदीका दुबै किनारामा हरियालीसहितका डबल लेनका सडक बनाउने गरी तिनाउ–दानव करिडोरका काम समेत अगाडि बढेका छन् । नदी डाइभर्सनपछि तिनाउ र दानवमा विकास हुने जलप्रवाह र त्यसको ब्यवस्थापनका लागि नेता पौडेलले बनाएको यो पूरक आयोजना समेत हो । तिनाउ र दानव नदीका दुबै किनारमा तटबन्ध सहित ब्यवस्थित सडक निर्माणको काम अघि बढाइसकेको र तिनाउमा कालिगण्डकीको पानी आउनुअघि यो आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पौडेलको भनाई छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले आ–आफ्ना क्षेत्रमा पर्ने नदी किनारमा काम गरिरहेका छन् ।