राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीबाट कस्ले मार्ला बाजी ?

मेचीकाली संवाददाता

२४ पुष २०८०, मंगलवार
163 shares

बुटवल । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुने निर्वाचनको लागि सोमबार मनोनयन दर्ता भएको छ । सत्ता गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै रूपमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनय दर्ता गरे । नेकपा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकोले आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि प्रतिस्पर्धा हुन लागेको हो । नेकपा एमालेबाट झपेन्द्र घर्ती र तुलसाकुमारी केसीले मनोनय दर्ता गराएका हुन् । अन्यतर्फ घर्ती र केसीले महिलातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसी चौधरी समर्थक रहेर झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गराएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । यसअघि एमाले जिल्ला पार्टी कार्यालयमा संक्षिप्त समारोहबिच पोलिटब्युरो सदस्य लिला गिरीले माला लगाएर पार्टीको उम्मेदवारको टिकट हस्तान्तरण गरेका थिए । घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी पूर्वपाल्पाको जिल्ला विकास समितिको सभापति पनि भएका थिए । घर्ती उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । घर्ती साहित्यमा पनि रुचि राख्ने नेता हुन् । त्यस्तै केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन् ।

एमाले दाङका नेता हुकुम बस्नेतले पार्टीमा लामो समयदेखि काम गर्दै आएकी केसीलाई अगाडि सारेको बताए । घोराही निवासी केसी महासचिव शंकर पोखरेलनिकट हुन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । सुवेदीले अन्यतर्फ र सापकोटा महिलातर्फ मनोनयन दर्ता गराएकी हुन् । सुवेदी वि.सं.२०६४ सालको पहिलो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले चुनाव हराएर चर्चामा आए पनि पछिल्लो समय गुमानाम जस्तै थिए ।

रोल्पा घर भएका सुवेदी पार्टीका केन्द्रीय सदस्य हुन् । यस्तै उम्मेदवार सापकोटा पार्टी प्रदेश सदस्य हुन् । उनी कांग्रेस गुल्मी पार्टी सचिव तथा महिला संघ सभापतिको जिम्मेवारी पूरा गरेकी अनुभवी नेत्री हुन् । कांग्रेसबाट पूर्वउपसभामुख तथा अर्घाखाँचीबाट निर्वाचनमा पराजित पुष्पा भुसाल उम्मेदवार बन्ने बताइए पनि अन्तिममा उनको नाम काटिएर सापकोटाले टिकट पाएकी हुन् ।
लुम्बिनीमा सत्ता गठबन्धनको स्पष्ट बहुमत भएपछि जित निश्चित जस्तै छ भने एमाले कमजोर देखिन्छ । लुम्बिनीमा कुल मतभार ८ हजार ७५३ रहेको छ । जसमा नेकपा एमालेको २ हजार ८१०, कांग्रेसको ३ हजार १७९, माओवादी केन्द्रको १ हजार ३४३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २६९, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को २१२, जनता समाजवादी पार्टी (जसपा) को २७३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५, जनमत पार्टीको १५९, नेकपा एकीकृत समाजवादीको ५३, राष्ट्रिय जनमोर्चाको १२९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको ५३ मतभार छ ।

७ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेका अनुसार अन्यमा चार र महिलामा तीन जनाको उम्मेदवारी परेको जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका बाल गोविन्द चौधरीले उमेदवारी दर्ता गराएको पाण्डेले जानकारी दिए । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । आगामी माघ ११ गते नयाँ सदस्य छान्नको लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी ३०५ मतदाता छन् ।