राष्ट्रिय योग दिवसको महत्व

मेचीकाली संवाददाता

१ माघ २०८०, सोमबार
237 shares

तेजनारायण गैरे

आज माघ १ गते राष्ट्रिय योग दिवस । पहिलो योगका जन्मदाता तथा प्रतिपादक भगवान् शिव लाई मानिन्छ । त्यसैले भगवान् शिवलाई आदियोगी तथा आदि गुरु मानिन्छ । महावीर जैन, भगवान् बुद्ध लाई पनि यसका प्रवर्तक मानिन्छ । योगशास्त्रमा भगवान् कृष्णको योगदान छ, उहाँलाइ योगेश्वर पनि भनिन्छ । श्रीकृष्णको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । गीतामा योगशास्त्रको थुप्रै कुराको व्याख्या छ । योग दर्शनको व्याख्या सर्वप्रथम महर्षि पतञ्जलीले योग सूत्रमार्फत गरेको हँुदा उहाँलाई योग प्रणेता अथवा योगपिता भनिन्छ । महर्षि पतञ्जलीले अष्टाङ्ग योग को वर्णन गरेका छन्, जुन स्वाथ्य र आनन्दमय मानवीय जीवन यापनको लागि महत्वपूर्ण छ । योग वैदिक तथा प्राचीन कालमा हिमखण्डको काखमा तथा पवित्र स्थानमा ऋषिमुरनिले अध्ययन अनुसन्धान गरी योगको प्रतिपादन भएको थियो । यसरी प्राचिन कालमा प्रतिपादन गरेको योग, ध्यान र आयुर्वेदका माध्यमबाट शारीरिक रुपमा आरोग्यता तथा मानसिक रुपमा शान्ति एवं स्थिरता प्राप्त गरिन्थ्यो ।

नेपालमा भने यसरी प्रतिपादन भएको योग आमजनमानसमा पुग्न नसकी सीमित व्यक्तिहरु अभ्यासमा भएको अवस्था थियो । योग शारीरिक रुपमा स्वास्थ मानसिक रुपमा आनन्द दिने उच्चतम उपाय भएको हुँदा नेपालमा योग अभियन्ताहरुले योगलाई महत्व दिँदै पुनर्जागरणगरी योग दिवस मनाउन २०३८ माघ १ बाट सुरु गरिएको थियो । योग र ध्यानका लागि सूर्य उत्तरायण महत्वपूर्ण मानिने भएकोले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गते योग दिवस मनाउन सुरु भएको हो । २०७२ साल साउन २८ गते प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय भएअनुसार ०७२ माघ १ मा पहिलो राष्ट्रिय योग दिवस मनाइयो । नेपालमा मनाइने राष्ट्रिय योग दिवस एउटा पर्वको रुपमा स्थापित भएको छ । २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

यस वर्षको नवौँ राष्ट्रिय योग दिवसको नारा ‘गरौँ योग, रहाँै निरोग’ तय भएको छ । योगको प्रभाव विश्वभर परेको छ । नेपालमा पनि यसको दिन दिन योगसम्बन्धी चेतना र प्रभाव बढ्दै गएको छ । जसरी हाम्रो जीवनशैली बदिलिएको छ, हाम्रो स्वास्थ्यमा पनि जोखिमता बढिरहेको, विभिन्न नयाँनयाँ रोगको कारण महामारी आई मानवीय जीवन नै खतरामा परिरहेको, सरल जीवन यापनको खोजी तथा भौतिक सुख सुविधाको खोजीमा भड्कीरहेको जीवन पद्धतिको अवस्थामा योगलाई आफ्नो दैनिक क्रियाकलापँसग जोड्न आवश्यक छ किनभने योग सफलताको कुञ्जी हो, योगबाट हाम्रो जीवनमा शान्ति र एकाग्रता आउँछ जसले गर्दा हाम्रो लक्षमा अगाडि बढ्न सफलता तथा जीवन पद्धतिमा गुणस्तरीयता आउँछ । योगले तन, मन दुवै स्वास्थ्य राख्न मद्दत गर्ने भएकोले यसको महत्वलाई अंगीकार गरी विद्यमान अवस्थामा विभिन्न कार्यक्रमगरी राष्ट्रिय योग दिवस भव्यरुपमा विभिन्न तह र स्थानमा मनाइरहेको अवस्था छ ।

वर्तमान आधुनिक युगमा योग का महत्व दिन प्रतिदिन बढ्दै गएको छ । यो बढ्नुको कारण आधुनिक मनुष्यको मन तथा शरीर अत्याधिक तनाव, वायु प्रदूषण, अहिलेको रसायनिक पदार्थहरु प्रयोगबाट उत्पादित विषाक्तयुक्त खान पान तथा अत्यन्त व्यस्थ जीवनशैलीका कारण रोगग्रस्त भइरहेको छ । आधुनिक जीवनशैली, खानपानका कारण चित्त या मन भट्कनुको साथै चञ्चल र अस्थिर भई राखेको हुँदा मधुमेह, उच्चरक्त चाप, स्वासप्रस्वासजन्य एवं मुटु रोग, क्यानसर र नपुंसकता जस्ता घातक रोगको शिकार भएको अवस्था छ । यो परिस्थितमा शारीरिक रुपमा स्वाथ्य मानसिक रुपमा आनन्द दिने योग नै उच्चतम उपाय भएको हँुदा आज योग शब्द संसारभरि लोकप्रिय भएको छ । योग एउटा त्यस्तो अभ्यास हो जुन स्वाथ्यमा सरोकार राख्ने सबैका लागि वरदान शिद्ध भएको छ । योग शब्दलाई कर्मयोग, ज्ञानयोग र ध्यान योगको अनेक रुपमा हिन्दू, बुद्ध र जैन संस्कृतिमा आइरहेको छ साथै अन्य धर्ममा आस्था राख्ने पनि यसलाई अंगीकार गर्ने क्रम बढिरहेको छ ।
योगको अर्थ ब्यापक छ । योगको सोझो अर्थ जोड्नु हो । योगले जीवात्मालाई परमात्मासँग जोड्छ अथवा शरीर मन र आत्मालाई जोड्ने वा एकाकार बनाउने काम गर्दछ । योग शब्दको सामान्य अर्थ सम्बन्ध, मिलन र एकता पनि हो । शारीरिक तथा मानसिक स्वाथ्य, ज्ञान, त्याग र बैराग्यसंग पनि योगको महत्वपूर्ण भूमिका रहन्छ । अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । त्यसैले योगलाइ एउटा जीवनशैलीको रुपमा हेर्नुपर्छ र बनाउनुपर्छ ।

योगसूत्रका सूत्रधार पतञ्जली महर्षिको योग सूत्रअनुसार योगस्चित्तवृत्ति निरोधः अर्थात् चित्त वृत्तिको निरोध नै योग हो । योगको उदेश्य चित्त वृत्तिको निरोध हो अथवा चित्त र वृत्तिलाई ठीक बाटोमा डोराउनु नै योग हो । वास्तवमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । योग साधाना र अभ्यास हो जसको माध्यमले चित्त मन र इन्दियलाई बसमा गरिन्छ । यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गर्ने माध्यम नै योग हो ।

भगवत गीताअनुसार कर्मषु कौसलम् इति योगः अर्थात् कर्मको कुशलता नै योग हो । उच्चकोटिको काम गर्ने क्षमता विकास गर्नु नै योग हो । शुख, शान्ति र आनन्दको जीवन यापन गर्नु पनि योग हो । रोगीका लागि योग चिकित्सा पद्धति हो, निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमिततातर्फको आध्यात्मिक यात्रा हो । योग शरीर, मन र आत्माको जागरूकताको कला भएकोले यसले हामीले हेर्ने दृष्टिकोणलाई मात्र परिवर्तन गर्दैन, यसले व्यक्तिको दृष्टिकोण समेत परिवर्तन गर्दछ ।

योगको महत्व
आधुनिक जीवनले आधुनिक शिक्षा, सम्पत्ति, मान प्रतिष्ठा, भौतिक सुख प्राप्त गर्न सफल भए पनि स्वाथ्य र आनन्द प्राप्त गर्न सकेको छैन । शारीरिक रुपमा स्वस्थ्य र मानसिक रुपमा आनन्द दिने योग नै उच्चतम उपाय हो । योगले शरीर, मन र आत्मालाई एकाकार बनाइ मन शान्त र स्थिर रहन मद्दत गर्दछ । योगको निरन्तर अभ्यासले शारीरिक, मानसिक र अध्यामिक व्यक्तित्व विकास हुन्छ । यसबाट शारीरिक स्फूर्तिको जागरण हुन्छ र मन हल्का हुन्छ, मानसिक तनाव हट्छ, निन्दा राम्रो लाग्छ, पाचनक्रिया बलियो हुन्छ, अल्छिपन घट्छ तथा शरीर निरागी हुन्छ । योग कक्षामा स्वस्थ्यकर भोजन, आराम, प्रणायम, ध्यान पनि जोडिएको हुन्छ यसले शरीरको लचकता बढाइ शरीर शुद्धीमा मद्दत गर्छ । प्रणायम र ध्यानले आनन्दता र एकाग्रता प्राप्त गर्न सकिन्छ । नियमित र विधिपूर्वक गरिने योग अभ्यासले शरीरभित्र निष्क्रिय बन्दै गएका कोष तथा तन्तुहरुको पुनर्जागरणभै नयाँ कोषिका र तन्तुहरु निर्माण हुने शरीरका सम्पूर्ण अङ्गप्रत्यङ्गमा रक्तसंचार तथा प्राणवायु अक्सिजनको क्रिया बढ्नजाने हुदा हर्मन, इन्जाइम आदि क्रियाशील हुने भएकाले पाचन क्रिया बढ्ने र मुटु तथा फोक्सोको काम गर्ने क्षमता वृद्धि हुन गई उच्चरक्तचाँप, स्वासप्रस्वास रोगहरु न्यूनीकरण हुन्छन् । योग कसलाई आवश्यक पर्छ भन्नुभन्दा पनि कसलाई पर्दैन भन्ने मुख्य कुरा हो । बालकको र विद्यार्थीको शारीरिक र बौद्धिक विकासका लागि योग आवश्यक हुन्छ । वयस्क युवाका लागि योग कुलतबाट मुक्ति, एउटा संस्कारयुक्त बाटो अपनाउन तथा शारीरिक र मानसिक स्वाथ्यका लगि पनि योग चाहिन्छ । घरायसी कामकाजमा व्यस्त गृहिणी, कामकाजी मानिस, वृद्ध सबैलाइ शाररिक स्वास्थ्य तथा मानसिक शान्तिको निम्ति योगले औषधीको काम गर्छ । योगको नियमित अभ्यास गर्न सकियो भने औषधी विना दीर्घ जीवन बाँच्न सकिन्छ ।

योगका मुख्यमुख्य उपयोगिता
– यो सर्वसुलभ छ र सबैको पहुँचमा छ । अरु अभ्यासको तुलनामा योगमा कम शक्ति खर्च हुन्छ ।
– योगले सर्वाङ्गीण शरीरका अंगका प्रत्यक्ष असर पार्ने हँुदा योगपश्चात पुनर्ताजकीको अनुभूति हुन्छ ।
– योगले मानसिक तनाव कम गर्दछ । शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।
– अरु अभ्यासको मुख्य अषर शरीरको बाहिरी अंगमा पर्छ तर योगको असर भित्री अंगका साथै सूक्ष्म कोषिका र तन्तुहरुमा परेको हुन्छ । जसले गर्दा हामी शारीरिक मानसि र अध्यात्मिक रुपमा सवल र स्वस्थ्य बन्छाँै ।
– योगमा श्वासप्रश्वासको विशेष ख्याल गरिने भएकाले शरीरमा प्रशस्त अक्सिजन प्रवाह हुन्छ जसको फलस्वरुप धेरै शारीरिक मानसिक रोग निर्मुल हुन्छन् । योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय तत्वलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ ।
– योगले खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी दिन्छ र फाइदा पुग्छ ।
– योग हरेक उमेरका व्यक्तिले जुनसुकै समयमा अनुकुल मिलाई योग गर्न सकिन्छ, योग वृद्धावस्थामा पनि गर्न सकिन्छ ।
– योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ । त्यसैले योग सर्वोत्तम पद्धति हो ।

अन्ततः मानव आफ्नो जीवन को श्रेष्ठताको लागि अब योग नै उत्तम माध्यम भएकाले यसको साथ आगाडि बढ्न आवश्यक छ । योग कुनै व्यक्ति विशेषको नभएर पुरै मानव जाति लागि महत्वपूर्ण छ । यसको नियमित अभ्यास गर्नाले महामारी तथा अन्य रोगको विरुद्ध लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । रोगीका लागि योग चिकित्सा पद्दति हो भने निरोगीका लागी जीवन पद्धति हो तसर्थ समग्रमा जीवन र जगतमा सुख र शान्तिसँग बाँच्ने कलाको नाम योग हो भन्दा अतुक्ति नहोला । आत्मिक जोड र विकासका लागि योग सर्वोत्तम पद्धति हो तसर्थ योगलाई जीवन पद्धति बनाउनुपर्छ ।

अनुशासन, इमान्दारिता खस्किएको नेपालको घर आगनमा माघ १ गते आज नवौँ राष्ट्रिय योग दिवश मनाइरहँदा हामीमा रहेको विकृति, विसंगति, राग, वैमनस्य, घमण्ड, छलछाम आदिमा केहीहदसम्म भएपनि कमी आई सामाजिक, आर्थिक, राजनैतिक, सांकृतिक, सांगठनिक अनुशासन कायम गराई सक्षम देशभक्तिले ओतपोत भएको योग्य, इमान्दार, अग्रगामी, स्वाथ्य नागरिक बन्न सहयोग पुग्ने छ भन्ने आशा राखौँ । योगलाई जीवन दर्शनको रुपमा विकास गरी नेपाललाई योगको उर्वरभूमिको रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन राष्ट्रिय योग दिवस सफल हुनेछ । योगको अभ्यास हामी भोलिबाट हैन आजैबाट सुरु गरौँ । दैनिक गरौं योग, रहौँ निरोग । हाम्रो जीवन योगमय तथा योग जीवनको अँग बनोस् । राष्ट्रिय योग दिवसको उपलक्षमा सम्पूर्ण योग अनुरागीहरुमा हार्दिक मंगलमय शुभकामना । (लेखकः योग शिक्षक तथा नेपाल सरकारको सेवा निवृत्त वरिष्ठ कृषि अधिकृत हुनुहुन्छ ।)