वाल्मीकि आश्रममा बाटोबिनाको पुल !

मेचीकाली संवाददाता

२ माघ २०८०, मंगलवार
170 shares

हरि शर्मा
नवलपरासी पूर्व। बाटो निर्माणका लागि ढिलासुस्ती हुँदा वाल्मीकि आश्रम पुग्नका लागि निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणीबाट वाल्मीकि आश्रम पुग्नका लागि यो पुल निर्माण गरिएको हो । नारायणी नदीमाथि बनाइएको पुल २ वर्षअघि सम्पन्न भएपनि सरकारी उदासिनताले बाटो बनाउन पहल नगर्दा प्रयोगविहीन बन्न पुगेको हो ।

२०७१ सालबाट सुरु गरिएको पुल निर्माणको काम २०७८ मा सकिएको हो । ६ करोड ७४ लाखको लागतमा ४ सय ७९ मिटर लामो पुल बनेको हो । सुरुमा बाटो नबनाई पुल बनाइएकाले पुल प्रयोगविहीन बनेको हो । पुल हुँदै वाल्मीकि आश्रम पुग्नका लागि चितवन राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र प्रयोग गर्नुपर्दछ । निकुञ्ज क्षेत्र भएकाले बाटो बनाउनका अनुमति लिनुपर्ने धेरै मन्त्रालय भएका कारण अहिलेसम्म बाटो बनाउन नसकिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘बाटो बनाउनका लागि फाइल लैजादा कहिले अर्थले रोक्छ, कहिले भौतिक मन्त्रालय त कहिले शहरी विकासले रोकिदिँदा पुल सञ्चालनको तयारी अवस्थामा रहँदा रहँदै पनि बाटो नहुँदा उद्देश्यअनुरुप सञ्चालनमा आउन सकेको छैन ।’ अध्यक्ष गिरीले भने । ‘अन्तरमन्त्रालयबिच समन्वय नहुँदा समस्या आएको गिरीको भनाइ छ । पुलमा अहिले दैनिक ५ सयदेखि १ हजारको हाराहारीमा पर्यटकहरु पुगेर फोटो खिच्ने गरेको गिरीले बताए । उद्देश्यअनुरुप पुल सञ्चालनमा नआएपनि आन्तरिक र भारतीय पर्यटकका लागि फोटो खिच्ने रोजाइँको स्थानका रुपमा परेको छ ।’ गिरीले भने । पुल सञ्चालन भए आन्तरिक मात्र नभई राष्ट्रिय आयमा समेत ठूलो सहयोग पुग्ने भएकाले तत्काल बाटो निर्माणलाई अघि बढाउनुपर्ने अध्यक्ष गिरीको भनाइ छ ।

वाल्मीकि आश्रम चितवन जिल्लाको माडी नगरपालिका–१ को निकुञ्ज जंगल क्षेत्रमा रहेको छ । त्यहाँ पुग्नका लागि चितवनबाट जाने बाटो छैन । पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको त्रिवेणीहुँदै भारतको बिहार प्रदेशस्थित भैंसालोटनको बाटो भएर जानुपर्ने बाध्यता छ । आफ्नै भूमिमा रहेको ऐतिहासिक धार्मिक स्थलमा पुग्नका लागि पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यता भएपछि त्यहाँ पुल निर्माण गरिएको हो । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम ३ किमीको दूरीमा पुगिन्छ । तर बाटो बनाउन सरकारी उदासिनताले ढिलाहुँदा करिब १० किमीको भारतीय भूमिको जंगल क्षेत्र भएर जानुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष गिरीले बताए ।

निकुञ्जको जंगल हुँदै ट्रयाक खोल्नका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ । ‘ मंगलबार मात्र मन्त्रालयमा फोन गरेको थिएँ । पदमार्ग बनाउनका लागि सबै प्रकृया पूरा भएको र शहरी विकास मन्त्रालयबाट विनियोजन भएको २० लाख रुपैयाँ एक हप्ताभित्र पठाउने जानकारी आएको छ । अब केही दिनमा बाटो बनाउने काम सुरु होला ।’ अध्यक्ष गिरीले भने,‘पदमार्गका रुपमा रहने बाटो ४ मिटर फराकिलो हुने छ । ‘पदमार्ग भएपनि धार्मिक स्थल भएकाले वृद्धवृद्धाहरु हिँडेर जान सक्दैनन् त्यसैले अटो र साना सवारी साधन जान सक्ने गरी बाटो निर्माण गर्छौँ ।’ अध्यक्ष गिरीले भने । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले आश्रम पुग्नकै लागि पुल बनेकाले सबै प्रकृया पूरा भएपछि ट्रयाक खोलिने बताए । ‘सम्बन्धित सबै निकायबाट सहमति जुटिसकेको छ । केही दिनमा रकम आएपछि काम सुरु हुन्छ ।’ तिवारीले भने । निकुञ्जले नै ट्रयाक खोल्ने काम अघि बढाउने सूचना अधिकारी तिवारीले बताए ।

वाल्मीकि आश्रम, ऋषि वाल्मीकिले रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेको स्थलका रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्रेता युगमा रामले सीतालाई त्याग गरेपछि वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) ) गरेको स्थानका रुपमा पनि यो स्थल रहेको धार्मिक मान्यता छ । आश्रमको सरकारीस्तरबाट बेवास्ता गरेपछि २०५४ सालमा ‘विश्व सनातन धर्म स्थापनार्थ मूल समिति’ गठन गरी संरक्षण थालिएको छ ।