

घनश्याम कोइराला
‘जब म बालक थिएँ,
मलाई लाग्थ्यो–म संसार बदल्न सक्छु ।
जब म जबान भएँ,
मलाई लाग्थ्यो–म मेरो देशलाई बदल्न सक्छु ।
जब मेरो विवाह भयो,
मलाई लाग्थ्यो–म मेरो परिवारलाई बदल्न सक्छु ।
अब म बूढो भएको छु,
मलाई थाहा भयो–म आफूलाई बदलेर मात्र अरूलाई बदल्न सक्नेरहेछु ।’
यी हरफका सर्जक को हुन् ? मलाई अहिलेसम्म थाहा छैन । सामाजिक रूपान्तरण र प्रशंसनीय दृष्टिकोणको अभियानमा हिँड्ने क्रममा यी हरफहरू मेरो कानमा परे । पछि, यी हरफहरू लेखिएको कागज मेरो हातैमा प¥यो र त्यसमा मेरो आँखा परेपछि परिवर्तनका सन्दर्भमा कुरा चल्दा यी हरफहरूले मलाई छोडेका छैनन् ।
हाल, अस्तित्वमा रहेका वस्तुहरू नश्वर छन् । परिवर्तन अवश्यम्भावी र शाश्वत । यही परिवर्तनको शाश्वतताले नै वस्तुहरू नश्वर भएका हुन् । परिवर्तनको धर्म नै वस्तुलाई यथास्थितिमा रहन नदिनु हो । मानव निर्मित निर्माण र सिर्जना मात्र होइन, मानवको निर्माण तथा सिर्जनशीलताले प्राकृतिक अवस्थाहरूमा समेत परिवर्तन ल्याइदिएको छ ।
मानव जातिले आपूmअनुकूल हुनेगरी थुप्रै परिवर्तन गरेको छ । मानव जातिले भौतिक अवस्थामा मात्र होइन, सभ्यता र संस्कृतिमा समेत ठुल्ठूला परिवर्तन गरेको छ । परिवर्तन त नियमित प्रक्रिया हो, यो त भई नै रहन्छ ।
परिवर्तनका दुईवटा पाटा छन्, स्वतः हुने परिवर्तन र गरेर हुने परिवर्नन । स्वतः हुने बदलाव परिवर्तन हो भने गरेर हुने परिवर्तन रूपान्तरण हो । मानवद्वारा सचेतनतापूर्वक गरिने परिवर्तनलाई विकास भन्ने गरिन्छ । विकास मानवले आफ्नै हितका निम्ति प्रारम्भ गरी अघि बढाउँदै आएको रूपान्तरणको नियमित प्रक्रिया हो ।
हरेक मानिस सुखशान्ति र सुविधा चाहन्छ । अर्काको सुखशान्ति र सुविधा खोसेर आफ्नै भागमा मात्र पार्नु शोषण हो । यो नकारात्मक पाटो हो । समाजमा यस्तो अवस्था विद्यमान छ । तर, यसो नगरेर अवलम्बन र उपयोग गर्नसक्दा अरूको समेत हितहुने नयाँ आविष्कार, सिर्जना, निर्माण गरेर र नयाँ विचार, दृष्टिकोण, नीति, विधि स्थापित गरेर सुखशान्ति र सुविधा प्राप्त गर्नु सकारात्मक पाटो हो ।
हाम्रो देश नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । देशमा आएका पछिल्ला राजनीतिक परिवर्तनहरूले जनतामा नयाँनयाँ जागरण पैदा भएको छ । यस्ता जागरणका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन् । यस्तो हुनु स्वभाविकै हो ।
कुनै पनि विकास शून्यबाट प्रारम्भ हुँदैन । विकासकालागि विकासको पूर्वाधार आवश्यक हुन्छ । सामान्यतया विकासको पूर्वाधार भनेको प्राकृतिक स्रोत र अघिल्लो पुस्ताबाट वर्तमान पुस्तामा सरेको भौतिक तथा सामाजिक अवस्था नै हो । हाम्रो राष्ट्रमा विकासका यी आधारहरूको कमी छैन ।
आफू र आफ्नो वरिपरि रहेका राम्रा पक्षहरूलाई पहिचान गरेर, तिनीहरूलाई हुर्काएर, बढाएर नै हामीले आफू र आफ्नो समाजलाई विकसित अवस्थामा पु¥याउन सक्नेछौँ । यसका लागि सकारात्मक तथा सचेत प्रयत्न आवश्यक छ ।
यस्तो काम कुनै व्यक्ति विशेषले अर्ती–उपदेश दिँदै हिँडेर सम्भव हुँदैन । यसलाई पद्धतिले व्यवस्थित गर्नुपर्छ । यसो गर्न मूलतः शिक्षा र राजनीतिक क्षेत्रमा सकारात्मक सोच, दृष्टिकोण र अभ्यास आवश्यक छ । जुनसुकै समयमा पनि मानिसहरूमा आसा, उत्साह र उमंग हुन सक्दछ भने निराशा, कुण्ठा र अवसाद हुन सक्दछ । यस्तो अवस्थालाई भौतिक विकासले मात्र पन्छाउन सक्दैन । यसका निम्ति मानिसमा आफैँप्रति विश्वास जन्माउन, जगाउन र हुर्काउन जरूरी हुन्छ । यसका लागि उत्प्रेरणा जगाउने साहित्य या अध्ययन सामग्रीको आवश्यकता पर्दछ ।
हुन त सकारात्मक सोच, दृष्टिकोण र विचार बनाउन कुनै निश्चित किताब नै पढ्नुपर्छ भन्ने हुँदैन । यो त जेसुकै, जहाँसुकै र जस्तासुकै अध्ययन सामग्रीबाट पनि प्राप्त गर्न सकिन्छ । तर, त्यसको सुरूआतको लागि भने प्रस्तुत सामग्री उपयोगी हुन सक्दछ ।
अहिले मानिसहरूमा संगठित हुने प्रयास र प्रक्रियासँगै व्यवस्थाकीय ज्ञान र सीपको माध्यम तथा स्रोतको खोजीसमेत भइरहेको छ । सबै तहका विद्यालयहरू व्यवस्थाकीय ज्ञान र सीप विकासका माध्यम हुन् । यसो गरिरहँदा पनि विद्यालयहरूमा विद्यार्थी आफैँमा भएका ज्ञानको खोजी तथा त्यसको प्रयोगको व्यवहारिक अभ्यास गराउनु आवश्यक हुन्छ अर्थात्, विद्यार्थीले स्वयं आफूभित्रै संभावना र सिर्जनाको अथाह भण्डार रहेको अनुभूति गर्नुपर्दछ । बाहिरी पक्ष त सहयोगी हो, साधन र माध्यम हो, वास्तविक शक्ति त मानिसभित्रै रहेको हुन्छ ।
मानिसहरूमा सकारात्मक सोच, दृष्टिकोण र अभ्यास आवश्यक छ । शिक्षाले दिने भनेको दृष्टिकोण हो भने राजनीतिले सिद्धान्त र नीति निर्माणको अवसर दिन्छ ।
अहिले नेपालमा सोच, विचार, दृष्टिकोणको विकास तथा प्रयोगको क्षेत्रमा प्रशंसनीय दृष्टिकोण चर्चामा रहेको छ । यसलाई नेपालमा सकारात्मक सोधखोज, सकारात्मक सोच, प्रशंसात्मक सोधखोज, Appriciative Inquiry आदि विभिन्न नामले बुझाइने गरेको छ । जे होस्, यसले कुनै पनि वस्तु, स्थान, विषयलाई सकारात्मक कोणबाट हेर्न सुझाउँछ ।
नेपालमा २०६० को दशकदेखि प्रारम्भ भएको यो दृष्टिकोण तालिम, व्यक्तित्व विकास, व्यवस्थापन, योजना तर्जुमा तथा सकारात्मक सामाजिक रूपान्तरणको अभियानको विषय बनेको छ । जीवन व्यवस्थापन, परिवार व्यवस्थापन, संस्था व्यवस्थापनका क्षेत्रमा यसका दृष्टिकोण, विचार र प्रणाली उपयोगी रहेको छ ।
नेपाली समाजका विभिन्न क्षेत्रमा प्रयोग र प्रचलनमा रहेको भए पनि यसबारे अध्ययन सामग्रीको प्रचुरता भने छैन । प्रशंसनीय दृष्टिकोणका विषयलाई यसका अभियानकर्मी विज्ञहरूले पुस्तकका रूपमा थोरै र पत्रपत्रिका तथा तालिम सामग्रीहरू अध्ययन सामग्रीका रूपमा बाहिर ल्याएको पाइन्छ । यसका समेत मूलभूत विषयलाई समेटेर यो पुस्तक तयार पारिएको छ ।
शिक्षाले नै हरेक मानिसलाई जिज्ञासु बनाउँछ, ज्ञानवान् बनाउँछ, दृढनिश्चयी बनाउँछ, सिर्जनशील बनाउँछ । शिक्षा भनेको विद्यालयमा पढाइने विषय मात्र होइन, यो त जहाँसुकैबाट लिन सकिने विषय हो ।
चाणक्य सूत्रमा लेखिएको पनि छ । ‘सिंहादेकं बकादेकं शिक्षेच्चत्वारि कुक्कुटात् । वायसात्पञ्च शिक्षेच्च षट् शूनस्त्रिणि गर्दभात् ।।’ (अर्थात्, सिंहबाट एक, बकुल्लाबाट एक, कुखुराबाट चार, कागबाट पाँच, कुकुरबाट छ र गधाबाट तीन गुणहरू सिक्नुपर्छ ।)
प्रिवर्तनका सन्दर्भमा धेरैथरि दृष्टिकोण, सिद्धान्त, मान्यता रहेका छन् । यसका लागि दर्शनहरूको अध्ययन गर्नु पर्दछ । सामान्य व्यवहार परिवर्तन र आफ्नो दैनिकीमा परिवर्तन गर्न यस प्रकारको सामग्रीले सहयोग पु¥याउन सक्दछ । (लेखक कोइराला जीवनशैली अध्येता हुनुहुन्छ ।)