‘कार्यशालाले सगरहवाको प्राचीन इतिहाससँगै पर्यटन प्रवद्र्धन गर्नेछ’

मेचीकाली संवाददाता

७ माघ २०८०, आईतवार
390 shares


प्राचीन शाक्य गणराज्य तिलौराकोट दरबारबाट ६ किमी उत्तरमा छ ‘सगरहवा’ । पूर्वपश्चिम राजमार्गको बनगाईबाट ७ किमी दक्षिण जगदिशपुर तालको कोखैमा यो स्थान छ । सगरहवा शाक्यहरुको सामूहिक बध गरिएको स्थलको रुपमा विभिन्न बौद्ध साहित्य तथा चिनियाँयात्रीहरुको यात्रा वृतान्तमा उल्लेख गरिएको छ । यसकारण यो स्थल ऐतिहिासक, धार्मिक र पुरातात्विक हिसाबले निकै महत्वपूर्ण थलो हो । त्यही ऐतिहासिक, प्राचीन र पर्यटकीय स्थल सगरहवामा अहिले निर्जिव ढुंगालाई मूर्तिकारहरुले जीवन्त बनाउन लागि परेका छन् । पुस २३ गतेदेखि सुरु भएको मूर्तिकार्यशालामा सहभागी १५ जना मूर्तिकारहरु सगहवामा खटिएका छन् । १४ जना सहयोगी मूर्तिकारहरले साथ दिएका छन् । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसहित विभिन्न स्थानीय संघसंस्थाको आयोजनामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला २०८० सुरु गरिएको हो । मूर्तिले आकार लिँदै गर्दा स्थानीयहरुको समेत आर्कषण बढ्दै गएको छ । यसै सन्दर्भमा मूर्ति कार्यशालाका विषयमा मुख्य आयोजक लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं निर्देशक समितिका संयोजक तथा पार्कमा कला अभियानका अभियन्ता ढुण्डिराज भट्टराई (सिद्धिचरण) सँग गरिएको कुरानकानीको सम्पादित अंश ।

कपिवलवस्तुको सगरहवामा गरिएको मूर्ति (प्रस्तर) कार्यशालाको उद्देश्य के हो ?
लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना सम्पन्न गर्नेबाहेक लुम्बिनी विकास कोष ऐन २०४२ बमोजिम गर्नेपर्ने कपिलवस्तुको तिलौराकोट, निग्लीहवा, अरौराकोट, कुदान, सगरहवा, परासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्रको विकास गर्ने भने पनि केही गरेन भन्ने आम जन गुनासो सुनिँदै आएको हो । जति लुम्बिनीको विकास भयो त्यसैगरी यी सबै क्षेत्रको विकासको प्रक्रिया अघि बढ्नु पर्नेमा जग्गा ओगट्ने विकास र पूर्वाधार तथा उत्खनन र संरक्षण, प्रवद्र्धनका काम केही नभएको भन्ने आरोप पनि छ । एक हदसम्म सही पनि हो । जनताको असन्तुष्टि बढ्दै गएर स्थानीय पालिकाहरुले अलग्गै विकास कोष बनाउँछौँ भनेर भन्दै आएका छन् । यो एक खालको असन्तुष्टिको अवस्था हो । यसलाई बदल्न लुम्बिनी विकास कोषले सबैतिर ध्यान दिन्छ र उत्खनन संरक्षण विकास गर्छ भन्ने जनविश्वास सिर्जना गर्न, पर्यटकहरुको आकर्षण बढाउन केही न केही गर्ने पर्ने अवस्था थियो । त्यही जनगुनासोबमोजिम सगरहवा क्षेत्रलाई प्रवद्र्धन गर्न मूर्ति कार्यशाला गरिएको हो । यो एउटा पर्यटन प्रवद्र्धन र आकर्षण गर्ने नयाँ प्रयोग सावित हुने हाम्रो विश्वास छ ।

स्थानीय पालिकामा आफ्नै विकास कोष बनाउने अभ्यास हुन थालेको भन्नुभयो । यसले लुम्बिनी विकास कोष र स्थानीय कोषबिच विवाद त सिर्जना गर्दैन ?
लुम्बिनी विकास कोष जापानिज वास्तुविद् केन्जो टांगेले ४२ वर्षअघि बनाएको गुरुयोजनामै अल्झिँदा बाहिर केही विकास हुन नसकेको हो । कोष ऐन २०४२ को प्रस्तावनामा उल्लेख भएअनुरुप लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको सन्तुलित विकास नभएको कारणले जनतामा असन्तुष्टि आएको हो । अहिले देश संघीयतामा गएपछि अधिकार क्षेत्रपनि बाँडिएका छन् । पुरातात्विक क्षेत्रको उत्खनन, पर्यटन प्रवद्र्धन र विकास, संरक्षणलगायतका अधिकार पालिकालाई पनि भएकोले स्थानीय तहले अघि सर्नु नराम्रो हैन । यसको सकारात्मक प्रभाव हुनुपर्छ भन्ने मलाई लाग्छ । कार्य विभाजन गरेरअघि बढ्दा लुम्बिनी विकास कोषलाई पनि सजिलो हुन्छ ।

उत्खनन, संरक्ष्।ण र विकासको पाटो लुम्बिनी विकास कोषले र पर्यटक व्यवस्थापनको पाटो स्थानिय पालिकाले लिने गरी कार्य गर्न सकिन्छ । यसोगर्दा पालिका तहपनि प्रत्यक्ष लाभान्वित हुन्छन् । संघीयतामा गएसंगै कोषको पुरातात्विक क्षेत्रसंग जोडिएका पालिका र जनप्रतिनिधिको लुम्बिनी विकास कोषको नीति निर्माण तहमा प्रतिनिधित्व हुन जरुरी छ । जुन विद्यमान ऐनमा त्यस्तो व्यवस्था छैन । यसर्थ लुम्बिनी विकास कोषकै नाम जस्तो बनाउन पर्छ पर्दैन त्यो अलग्गै कुरा भयो तर कुनै न कुनै रुपमा पालिका तहले पर्यटन विकासको क्षेत्रमा काम गर्ने निकाय बनाउँदा राम्रो नै हुन्छ भन्ने मलाई लाग्छ ।

कपिलवस्तुमा अन्य बौद्धकालीन पुरातात्विक र ऐतिहासिक स्थलहरु छन्, सगरहवामा नै किन कार्यशाला ?
खासमा हामीले तिलौराकोटमा त्यही ठाउँका बुढारुख काटेन त्यसैको मूर्तिहरु बनाएर तिलौराकोट दरबारको शैलीको घर, शुद्धोद्धन र मायादेवीको मूर्ति, बुद्ध यसोधरा प्रजापति आदिको मूर्तिहरु बनाएर राखौँ भन्ने अवधारणाले यो कार्यक्रम गत वर्षको नीति तथा कार्यक्रममा नै राखेका थियौं । तर कुरा गर्दै जाँदा पुरातत्व विभागसँग सल्लाह गर्दा विश्व सम्पदा सूचीकृत गर्ने क्षेत्रमा सम्पदा परीक्षणलगायतका कार्य गर्न तत्काल समस्या हुने र तिलौराकोट गुरुयोजना बनेपछि आवश्यक तोकिएको ठाउँमा गरौँ भन्ने बुझाइ आयो । सोहीअनुसार सगरहवा चयन गरियो ।

गत साल नै हामीले अनौपचारिक रुपमा भूभौतिक सर्वेक्षण (जियोफिजिक्स) गरी त्यो क्षेत्रको गर्भमा पूरातात्विक अवशेष छैन भन्ने थाहा पाएपछि ढुंगाहरु झारेर राष्ट्रिय मूर्तिकला कार्यशाला गर्ने तयारी गरेका थियौं । गतसाल नै हामीले मूर्तिकारहरुको व्यवस्थापन छनौट, म्याकेट माग्ने र आइकनोग्राफी गर्ने प्रक्रियागत कार्य गर्न समयमा सकेनौं र स्थगित भएको कार्यक्रम यस वर्ष गरेका हौं ।
खासगरी सगरहवा क्षेत्र कपिलवस्तु राज्यको पतनको मुख्य कारणसँग जोडिन्छ । जहाँ कोसल नरेस बिढुरकले दशौंहजार शाक्यहरुको बध गरेका थिए । शाक्यबध भएको ऐतिहासिक तथ्य, कारण र त्यसलाई रोक्नका लागि निम्ति भगवान् बुद्धले गरेको प्रयास किन असफल भयो भन्ने दर्शाउन र आजको मानव जातिकै लागि समता, करुणा र मैत्रीको भाव जागृत गर्न, सुन्दर पार्क निर्माण गर्न जनस्तरको पहल शुरु गर्ने उद्देश्यले यो कार्यशाला सुरु गरिएको हो ।

त्यहाँ कस्ता मूर्तिहरु निर्माण भइरहेका छन् ?
यो एउटा निश्चित उद्देश्य, कथा, दर्शन र विचारधारात्मक पक्षसंग जोडिएर यो कार्यशाला सम्पन्न हुँदैछ । खासगरी कपिलवस्तुको पतन जातीय अहंकार र प्रतिशोधको भावनाको कारण भएको थियो । जसमा बासभखतिया र प्रसेनजीतको विवाह प्रसंग उनीबाट जन्मेको दासीपुत्रको रुपमा रहेको राजकुमार बिढुरकको शाक्य महाविनासको संकल्पसंग सगरहवाको कथा जोडिन्छ । जुन संकल्पबाट युद्धको खतरा बनेको थियो । भगवान् बुद्धले रोक्न प्रयास गरेका प्रसंग र बिडुडभले आफ्ना पिता शाक्यवंशीबाट ठगिएको कसरी थाहा पाए भन्ने कुराहरु विभिन्न मूर्तिहरुले दर्शाउने छन् । यी मूर्तिहरु अवलोकन गरेर पर्यटकहरु एकपटक २५ सय वर्षअघिको राजशासन र त्यो बेलाको समाजको अवस्थासम्म पुग्ने अवस्था सिर्जना गर्ने खालका मूर्तिहरु निर्माण भइरहेका छन् ।

कार्यशालाप्रति प्रतिक्रिया कस्तो आइरहेको छ ?
हाम्रो कार्यक्रमको मोडेल नै जनसहभागिता र जन आकर्षण पैदा गर्ने रहेको छ । ठेकेदारी प्रथाबाट यो कार्यशाला सम्पन्न गर्ने मोडेलमा जान कठिन हुन्छ । स्थानीय जनताको सहभागिता, साझेदारीले जनताले पनि सिक्छन् । समुदायले क्षमता विकास गर्छ । प्रत्येक दिन अध्याँरोबाट उज्यालोतिर गएझैं ढुंगा युग आफैँ मूर्तिकारका औजारले सिँगारिएर प्रष्ट देखिन थाल्छ, त्यतिखेर जनसमुदाय प्रेरित र उत्प्रेरित हुने गरेको छ । जनतामा झनै उत्साह बढेको छ । मानिसका अनुहारहरुमा उज्यालो देखिएको छ । उनीहरु नाचेका छन्, गीत गाएका छन् ।

मूर्तिकारहरु (श्रमजीवी)लाई सम्मान गरेका छन् । देश र विदेशमा ख्याति कमाएका मूर्तिकारहरु, ललितकला क्याम्पसमा पढाउने प्रोफेसर, प्राध्यापक र प्राज्ञहरु यसमा सहभागि हुनुहुन्छ । यो आफैँ श्रमयज्ञशाला हो । महायज्ञ हो उत्सव हो । जनताले यसरी नै यसलाई बुझ्दै गएका छन् । बुझेका छन् । लुम्बिनी विकास कोषले अघि सारेको स्थानीयसँग लुम्बिनी अवधारणा यहाँ लागू भइरहेको छ ।

तपाईं आफँैले ड्रिम देवदह यूनिटी फर चेञ्च भन्ने संस्था नै गठन गरेर अभियान थाल्नुभएको छ ? पार्ककला अभियान आगामी दिनमा कसरी अगाडि बढ्छ ?
२०७६ सालमा देवदहको बुद्ध सामुदायिक बनको गौतमबुद्ध राष्ट्रिय उद्यान क्षेत्रमा राष्ट्रिय काष्ठकला कार्यशाला सुरु ग¥यौँ । यो देवदहमा सम्पन्न भएको प्रथम पार्क सम्मेलनमा मैले आफैँले प्रस्तुत गरेको पार्कमा कला अभियान नामक अवधारणारमा आधारित थियो । यो अवधारणाले जनता, जन समूह र सरोकारवालाई साथमा लिएर पार्कमा कलानिधिहरु स्थापित गर्ने सोँच राखेको थियो । त्यही एप्रोचलाई अघि सारेर हामीले सामुदायिक वन, नगरपालिका, ललितकला प्रतिष्ठान, स्थानीय संगठीत समुदायगत संगठनलाई पनि आबद्ध गरेर स्थानीय एतिहासिकता, पृष्ठभूमि, पर्यटनका सम्भावना आदि कुरालाई एउटा ठाउँमा ल्याएर जोडने काम ग¥यौं ।

कम्तिमा कुल ११ लाख खर्च भएको काष्ठकला कार्यशालाले त्यतिखेरै १५ हजार मानिसको ध्यान खिच्यो, राष्ट्रिय मिडिया र सोसल मिडियाहरुले राम्रो साथ दिए । यसरी देवदहको कुनोमा परेको क्षेत्रको विकास गरी पार्क, कला, पिकनिक स्थल र अन्य सांस्कृतिक सुविधाहरु भएको क्षेत्र निर्माण भयो । त्यस पार्कले अहिले वार्षिक १ लाख बढी पर्यटक आकर्षण गरेर झण्डै २० लाख बढी आम्दानी दिन सुरु गरेको छ । रोजगारी र स्वरोजगारी हिसाव गर्दा ५० जनाभन्दा बढीले रोजगारी बढेको देखिएको छ । यसपछि हामीले २०७८ सालमा अर्को देवदहस्मृति पार्कमा विभिन्न कलामा आधारित भएर राष्ट्रिय मूर्तिकला कार्यशाला ग¥यौं । यहाँपनि अहिले दिनहुँ २ सयभन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

उक्त सफलताले हामिलाई हौसला दिएको छ । देवदह एक भगवान् बुद्धको मावलीस्थल हो । त्यहाँ बौद्धकालीन कोलीय गणराज्यको राजधानी हो । त्यहाँ सुप्रबुद्ध र दण्डपानी जस्ता राजाहरुले शासन गर्थे । बुद्धमाता मायादेवी र प्रजापति यही जन्मेका हुन् । बुद्धकी धर्मपत्नी यसोधराको माइति पनि यहीँ हो भन्ने कुरा अहिले देवदहका २ वटा पार्कमा जाँदा जो कोहीले पनि अनुभूति गर्छ । त्यही आधारमा सगरहवामा मूर्तिकार्यशाला गरिएको हो । यो थिममा आधारित भएर कार्यशाला गरिएको छ, आशा छ अब यसलाई सबैले सकरात्मक रुपमा लिनुहुनेछ । (भट्टराई मेचीकाली दैनिकका पूर्वकार्यकारी सम्पादक पनि हुन् ।)