ओम बानियाँ
मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । यसलाई शरीरको इन्जिन भने पनि हुन्छ । मुटुको प्रमुख कार्य भनेको शरीरका सम्पूर्ण कोषहरुमा शुद्ध रगत पठाउने र कोषहरूबाट फोहोर रगत फोक्सोमा पुराउने हो । यस कार्यका लागि मुटु रातदिन खुम्चिने र फुक्ने गर्दछ । यसलाई मुटुको धड्कन भनिन्छ । स्वस्थ मानिसको मुटु सामान्य अवस्थामा एक मिनेटमा ७२ पटक धड्किन्छ ।
वरिष्ट मुटुरोग विशेषज्ञ डा.लक्ष्मण दुवेका अनुसार जाडोमा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँगुरिन्छन् । साँगुरिएको धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ । जसले गर्दा ब्लडप्रेसर बढ्न जान्छ । अर्को कुरा जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेसर बढ्छ । चिसोले गर्दा मानिसहरु घरमै बसिरहने, पानी नपिउने तथा शारीरिक गतिबिधि कम गर्नाले पनि प्रेसर बढ्न जान्छ । जाडोबाट बच्ने नाममा बढी चियाकफी, चुरोट, सुर्ती, रक्सी, माछामासु तथा तारेको, भुटेको मसालेदार खानेकुराहरु सेवन गर्नाले पनि ब्लड प्रेसर बढ्छ ।
मुटु खुम्चिँदा फोक्सोबाट शुद्ध रगत शरीरतिर जाने भएकाले फुक्ने अवस्थामा भन्दा खुम्चिँदा रक्तचाप बढी हुन्छ । मुटु खुम्चिँदाको यही चापलाई सिस्टोलिक ब्लड प्रेसर भनिन्छ भने फुक्दाको चापलाई डाइस्टोलिक ब्लड प्रेसर भनिन्छ । सिस्टोलिक ब्लड प्रेसर ९० देखि १४० लाई सामान्य मानिन्छ भने डाइस्टोलिक ब्लड प्रेसर ९० देखि ६० सम्मको चापलाई सामान्य मानिन्छ ।
छोटो शब्दमा भन्ने हो भने सिस्टोलिक र डाइस्टोलिक ब्लड प्रेसरको सन्तुलित दवाबलाई नै सामान्य रक्तचाप भनिन्छ तर मानिसको ब्लड प्रेसर सधैँ एकनाश रहँदैन । काम गर्दा, हिँड्दा, दौडिँदा, व्यायाम गर्दा, मानसिक तनाव तथा डर लाग्दा तथा लड वा भागको अवस्था ब्लड प्रेसर बढ्ने गर्छ भने सुत्दा तथा विश्रामको अवस्थामा कम हुन्छ । तर विश्रामको अवस्थामा पनि सिस्टोलिक प्रेसर १४० र डाइस्टोलिक प्रेसर ९० भन्दा बढी रहिरहन्छ भने यसले रक्तचाप बढेको संकेत गर्छ । हाई ब्लड प्रेसर (उच्च रक्तचाप) लाई मेडिकल भाषामा हाइपरटेन्सन भनिन्छ ।
किन बढ्छ रक्तचाप ?
यस प्रश्नको जवाफमा बुटवलका वरिष्ट मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवे भन्छन्,‘सामान्यतया रगत बग्ने सबै रक्तनलीहरु लचिला हुन्छन् । जबसम्म रगत बग्ने धमनी र रक्तनलीको अवस्था स्वाभाविक र लचिलो हुन्छ तबसम्म मुटुलाई रगत शरीरतिर पठाउँदा खुम्चिन र फुक्न धेरै बल दिनुपर्दैन । तर जब यी रक्तनलीहरुमा अवरोध हुन्छ, लचिलोपन कम हुन्छ र रगत सञ्चारका लागि मुटुलाई सामान्यभन्दा बढी बल र परिश्रम गर्नुपर्छ । जति बढी परिश्रम र बल प्रयोग हुन्छ त्यति नै जोडले रगत चल्न थाल्छ र रगतको चाप बढ्छ । उच्च रक्तचाप भन्नाले रगत बहँदा रक्तनलीका भित्तामा हुनपर्ने सामान्यभन्दा बढी चाप हुनु हो । सिस्टोलिक प्रेसर १४० भन्दा र डाइस्टोलिक ९० भन्दा बढी भए उच्च रक्तचाप मानिन्छ ।’
डा. दुबेका अनुसार ब्लड प्रेसर विभिन्न कारणहरुले गर्दा प्रभावित हुन्छ, जस्तै उमेर, जिन्स, मोटोपना, खाने पिउने बानी, पेशाव्यवसाय तथा व्यक्तिको जीवनशैली आदि प्रमुख हुन् । यसबाहेक ३० वर्ष उमेर पार गरिसकेका पुरुष र मेनोपोज (महिनावारी सुक्ने) अवस्थामा पुगि सकेका महिलाहरुमा उच्च रक्तचाप हुने खतरा बढि रहन्छ । यसैगरी अन्य रोगहरु जस्तै मिर्गौलाको समस्या, मधुमेह, थाइरोडिज्म, मुटुरोग तथा मानसिक समस्याहरु आदि कारणबाट पनि रक्तचाप बढ्न सक्दछ । यहाँ उल्लेखनीय कुरा के भने मौसम परिवर्तनले पनि ब्लड प्रेसरलाई प्रभावित गर्दछ । जाडोयाम र चिसो ठाउँमा ब्लड प्रेसर बढ्न सक्दछ ।
किन बढ्छ जाडोमा ब्लड प्रेसर ?
यस प्रश्नको जवाफमा डा. लक्षमण दुबे अगाडि भन्छन्,‘जाडोमा शरीरको तापमान कम हुनाले रक्तनली खुम्चिएर साँगुरिन्छन् । साँगुरिएको धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ, जसले गर्दा ब्लडप्रेसर बढ्न जान्छ । अर्को कुरा जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेसर बढ्छ । चिसोले गर्दा मानिसहरु घरमै बसिरहने, पानी नपिउने तथा शारीरिक गतिबिधि कम गर्नाले पनि प्रेसर बढ्न जान्छ । जाडोबाट बच्ने नाउँमा बढी चियाकफी, चुरोट, सुर्ती, रक्सी, माछामासु तथा तारेको, भुटेको मसालेदार खानेकुराहरु सेवन गर्नाले पनि ब्लड प्रेसर बढ्छ ।’
जाडोयाममा यस्ता गतिविधिहरुका कारण जोजसको ब्लड प्रेसर सामान्य रहन्छ ती मध्य कतिपयको ब्लड प्रेसर केही मात्रामा बढेकै हुन्छ । तर जसको ब्लड प्रेसर नियमित रुपमा औषधीको सेवनबाट कन्ट्रोलमा छ, उनीहरुको औषधीको मात्रा बढाउनुपर्ने अवस्था पनि आउन सक्दछ । अनि जसको ब्लड प्रेसर पहिलेदेखि नै बढी रहन्छ । उनीहरुको ब्लड प्रेसर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ । जाडोमा त्यसै पनि ब्लड प्रेसर गर्मी महिनाको तुलनामा ५ एमएमएचजी बढ्न जान्छ । त्यसैले जाडोयाममा उच्च रक्तचापका विरामीहरुले बढी सावधानी अपनाउनुपर्छ ।
के कस्ता हुन्छन् उच्च रक्तचापका लक्षणहरु ?
डा. दुवे भन्छन्,‘टाउको दुख्नु, मुख्यतया पछाडि भागमा झुम्म भएर दुख्नु । आँखाको दृष्टि धमलिो हुनु, रिंगटा तथा वाकवाकी लाग्नु, शरीर भित्रभित्रै गर्मी बढ्नु, मन बेचैन हुनु, घबराहट, अनिद्रा वा थकान हुनु, छाती भारी हुनु तथा सास फुल्नु, आँखा रातो हुनु, अलि धेरै नै रक्तचाप बढे नाथ्री फुटेर रगत बग्ने पनि हुन्छ ।’ यस्ता समस्याहरु देख्नेबित्तिकै प्रेसर जँचाउनुपर्छ । यदि समयमै रक्तचाप नियन्त्रण गर्न सकिएन भने हाई ब्लड प्रेसरको कारणले मस्तिष्कघात, पक्षघात, हृदयघात, मृगौलाघात तथा दृष्टिघात जस्ता समस्याहरु हुन सक्दछ ।
कतिपय व्यक्तिहरुमा ब्लड प्रेसर बढेर पनि लक्षणहरु देखा नपर्न सक्छन् वा उनीहरुले वास्ता नगरेका हुन सक्छन् भने कतिपयले टाउको दुखेको खण्डमा पिनकिलर खाने गर्छन् । यस्ता व्यक्तिहरुलाई त्यसबेला मात्र रक्तचाप बढेको थाहा हुन्छ, जब हार्टअटेक र स्ट्रोकले आफ्नो चपेटामा लिई सक्दछ वा नियमित स्वास्थ परीक्षणमा गराउँछन् । कतिपय व्यक्तिमा ब्लड प्रेसरको लक्षणहरु देखा नपर्ने हुनाले उच्च रक्तचापलाई साईलेन्ट किलर पनि भनिन्छ ।
उच्च रक्तचाप र त्यसबाट उत्पन्न हुन सक्ने समस्याहरुबाट कसरी बच्ने त ?
यस प्रश्नको जवाफमा डा.दुवे भन्छन्–हामी जे खान्छौं त्यसैले हाम्रो शरीर निर्माण हुन्छ, त्यही खानाले रगत पनि बन्छ । अनुचित खानपानले शरीरमा फोहोर जम्छ । त्यही फोहोर रगतमा मिसिन्छ र रक्तनलीमा फोहोर जम्मा हुन्छ । यसले रक्तनली साँघुरो बनाउँछ र नलीहरूमा अवरोध हुनु नै रगतको चाप बढ्नुको मुख्य कारण हो । त्यसैले रक्तचापलाई सामान्य राख्न आहारबिहारमा ध्यान दिनुपर्छ । नुन, अमिलो, पिरो, चिल्लो, चिया, कफि तथा चटपटे जस्ता खानेकुरा कमै मात्रामा लिने । पुरानो अचार तथा डिब्बाबन्द खाध्य पदार्थ, फास्टफुड, रातो मासु, रक्सी, चुरोटसुर्तीको सेवनबाट बच्ने । पोटासियम र मेग्नेशियमयुक्त खाद्यपदार्थ भरपुर मात्रामा लिने । सधैँ सन्तुलित आहार लिने, खानामा चोकर समेतको गहूँको पिठोको रोटी, टुशा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, लहसुन तथा अमला आदि समावेश गर्ने । फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने । दैनिक ४÷ ५ किलोमिटर हिँड्ने । योग, ध्यान, प्राणायाम तथा व्यायाम गर्ने । तनावको व्यावस्थापन गर्ने । रक्तचाप बढेको छ भने चिकित्सको सल्लाह वमोजिम औषधी खाने ।
जाडो मौसममा शरीरलाई न्यानो राख्नका लागि न्यानो कपडाहरु लगाउने । टाउकोलाई चिसोबाट जोगाउन उनीको टोपी लगाउने, हातमा पन्जा, खुट्टामा मोजा लगाउने, भित्र थर्मकोट लगाउने । घरभित्रै भए पनि हिँडडुल गरिराख्ने । मनतातो पानीले नुहाउने । घाम लागेको बेलामा मजाले घाम ताप्ने । शरीरिक ब्यायाम गर्नाले पनि शरीर तात्छ, पसिना निस्किन्छ । नियमित औषधी खाने व्यक्ति तथा जोखिम समूहका व्यक्तिले रक्तचापको जाँच गराइरहने । रक्तचाप बढेको देखिएमा तुरुन्त चिकित्सकसँग सम्र्फक राख्ने ।
अन्तमा रक्तचाप बढ्नु भनेको कोलेस्ट्रोल आदिले रक्तनलीहरु साँघुरिनु वा रक्तनलीहरुमा कुनै अवरोध आउनु मात्र नभएर मन तथा शरीरमा कुनै समस्याहरु पैदा हुनु पनि हो, जस्तो कि तनावको अवस्थामा तथा मिर्गौलाको समस्याहरुमा पनि रक्तचाप बढेको हुन्छ । वास्तवमा रक्तचाप बढ्नुमा आहारविहारको जति भूमिका हुन्छ, त्यत्तिकै विचारको पनि रहन्छ । त्यसैले रिस, क्रोध, चिन्ता तथा तनाव जस्ता भावनाहरुबाट बच्नुपर्छ । मनलाई सधैं शान्त राख्ने, सकारात्मक सोच्ने तथा सकारात्मक जीवनशैली अगाल्ने हो भने रक्त चाप मात्र होइन कि मानिसको मन र शरीर दुवै स्वस्थ र शक्तिशाली रहन्छ ।