सीमा बन
विदेशिनु, मुग्लान जानु, लाहुर जानु वा पल्टनमा भर्ती हुनु हाम्रो परम्परागत विशेषता हो । सन् १९८० को दशकदेखि लागू भएको आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणले वैदेशिक रोजगारीलाई थप सहज बनाएको छ । नेपालमा पनि विगत दुई दशक यता वैदेशिक रोजगारीका लागि जानेको संख्या र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै आएको छ ।
देशको अर्थतन्त्रलाई क्रियाशील बनाउन आय तथा रोजगारीको महत्वपूर्ण भूमिका रहन्छ । सामाजिक प्रतिष्ठा, आय आर्जन र जीविको पार्जनको मुख्य आधार रोजगारी हो । ‘खाली हात सैतानको बास’ भन्ने नेपाली उखानबाट रोजगारीको महत्व स्पष्ट हुन्छ । व्यक्ति, समाज, देश र समग्र मानव सभ्यताको उन्नति र रुपान्तरणको पूर्वशर्त पनि रोजगारी हो । देशभित्र रोजगारीका अवसरहरु प्रशस्त मात्रामा उपलब्ध नहुनाले वैदेशिक रोजगारी नै नेपालका युवाहरुका लागि रोजगारीको प्रमुख स्रोत बनेको छ ।
नेपालमा आधारभूत तहमा भर्ना भएका विद्यार्थीमध्ये एक चौथाइले मात्र माध्यामिक शिक्षा पूरा गर्दछ् । यसरी बिचमै पढाइ छाड्ने बालबालिका को हुन् र उनीहरु के गरिरहेका छन् भन्नेबारे राज्यले चासो देखाएको देखिँदैन । त्यस्तै कक्षा १२ अध्ययन पछि अधिकांश विद्यार्थीहरु कलेजमा भन्दा कन्सल्टेन्सीमा भेटिन थालेका छन् । यो अवस्थाले दीर्घकालमा राज्यलाई ठूलो हानि पु¥याउनेमा हेक्का राख्नु जरुरी छ । विद्यालय शिक्षा पुरा नगर्नुको प्रमुख कारण भोको पेट र पारिवारिक गरिबी नै हो । विद्यालयमा टिकाउने र सिकाउने एउटा चुनौती छ भने तयार पारिएको जनशक्तिलाई स्वदेशमै रोजगार र अवसर दिन नसक्ने अथवा टिकाउन नसक्ने अवस्था छ ।
नेपालका सम्भ्रान्त वर्गीय युवा विद्यालय तहबाटै विदेश जाने र उतै सेटल हुनेगरी निर्देशित र दीक्षित छन् । उनीहरु अध्ययन भिषासँगै ग्रिनकार्ड र पिआरको सपना बोकेका छन् । उनीहरु नेपालमा सम्भावना नै देख्दैनन् र आफ्नो भविष्यको सुरक्षा खोज्दै वैदेशिक गन्तव्यलाई अंगाल्न थालेका छन् भने तल्लो वर्गकाहरु बाध्यात्मक रोजगारीका लागि उत्पादनशील उमेर विदेशी मरुभूमिमा खर्चिंदै छन् । यसलेगर्दा यी दुवै वर्गका युवामा राष्ट्रप्रतिको लगाव र भावना कमजोर बन्दै गइरहेको छ । उनीहरु आफ्नो स्वर्णिम भविष्यको खोजीमा जस्तोसुकै खतरा मोल्न तयार देखिन्छन् ।
वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको विप्रेषणबाट मात्रै नेपाली अर्थतन्त्रमा रक्तसञ्चार भएको छ । विप्रेषण नहुने हो भने नेपालको अर्थतन्त्र धराशायी हुने विन्दुमा पुगेको छ । हाम्रो परनिर्भरता दिनानुदिन बढ्दो छ । वैदेशिक सहयोग नभए विकासको गति ठप्प हुने अवस्थामा हामी पुग्दैछौं । श्रम निर्यात गरेर मात्रै देशमा समृद्धी प्राप्त हुन सक्दैन । कहिले सम्म श्रम निर्यातमा देशलाई टेको लाउने । विप्रेषणको निर्भरतालाई खुकुलो पार्दै अर्थतन्त्रको रुपान्तरण गर्नेतर्फ बेलैमा सोंच्नुपर्ने देखिन्छ ।
औपचारिक रुपमा ४५ लाखको हाराहारीमा युवा जनशक्ति विश्वका विभिन्न १७२ देशहरुमा अवसरका लागि विदेसिएका देखिन्छन् । हामीले हाम्रो सामाजिक मनोविज्ञानलाई नियाल्यौं भने यस्तो लाग्छ कि सबै मान्छे विदेश जान चाहन्छन् । यदि ठूला र समृद्ध मुलुकले भिषालाई सहज बनाइदिने हो भने हाम्रो अवस्था के होला ? अवस्था कहाली लाग्दो छ ।
यो विदेश पलायनको लहर वा तरङ्ग रोकिएन भने आगामी १०/१५ वर्षपछिको अवस्था कस्तो होला ? पढ्नका लागि विदेशिएको युवा कहिल्यै देश नफर्किने युवाका रुपमा परिणत भएको छ । ऊ आफूमात्र जाँदैन परिवार र आफूसँग भएको चल–अचल सम्पत्ति पनि विदेश लैजान सक्छ । यो निकै गम्भिर अवस्था हो ।
हाम्रो शिक्षा नीतिले कोरा सपना देखाइरहेछ । नेपाली विद्यार्थीमा अमेरिकन, अस्ट्रेलियन र क्यानडिएन ड्रिम हावि छ । हामी विदेशीको लागि दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना त बनिरहेका छैनौँ ? शिक्षित जनशक्ति पलायन हुने वर्तमान पद्धतिले देशलाई अन्याय गरेको छ । हाम्रो शिक्षण व्यवस्थामा गरेको लाभ विदेशीले लिएको वर्तमान अवस्थामा शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याए जस्तो भएको छ । जनशक्ति उत्पादककहाँ Brain Drain भइरहेको छ भने आयातीत जनशक्तिले विकशित मुलुकमा Brain Drain भएको अवस्था छ । लगानीको लाभ लिने देश अर्कै भएपछि देश कसरी उँभो लाग्छ ?
नेपालमा गुणस्तरीय शिक्षा नभएको हो भन्ने हो भने यहाँ उत्पादित डाक्टर, नर्स, इन्जिनियर तथा विज्ञहरु संसारभर खपत भएका छन् । योग्यताअनुसारको रोजगारी र पारीश्रमिक नहुनु युवा पलायनको मुख्य कारण हो । नेपालको अस्थिर राज्यसंयन्त्र, कमजोर विकास नीति, श्रमको सम्मान नहुनु, सरकारी संयन्त्र सेवामैत्री नहुनु, पहुँचवालाको हालीमुहाली, हतोत्साहित निजीक्षेत्र, क्षमताको आधारमा नभई पहुँच र निगाहको आधारमा अवसर हुनु र लोकसेवा आयोगले लिने परिक्षामा ८/१० स्थानकालागि हजारौं युवाले प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यस्तो जाँगर र रुचि अहिलेका युवामा कमै देखिन थालेको छ ।
प्रतिस्पर्धा वा मूल्याङ्कन प्रणालीमा बहुआयामिक पद्धति छैन । धेरैभन्दा धेरैलाई सरकारी सेवामा रोजगारी दिने सरकारको नीति छैन । त्यस्तै युवालाई स्वाबलम्बन बनाउन स्वरोजगारमा लगानी गर्ने राज्यको स्पष्ट नीति छैन । उत्पादन र वितरणमा राज्यको लगानी र चासो देखिँदैन । यावत कारणले पनि अभिभावकहरु आफ्ना सन्तानको भविष्यको लागि सुखदुखमा आफूलाई एक्लै राख्ने प्रण गर्दै छोराछोरी विदेशी नागरिक हुँदा गर्व गर्न थालेका छन् । आखिर कहिले सम्म सन्तानलाई विदेशी नागरिकता दिलाएर बाबुआमाले गर्व गर्ने ? के हाम्रो राष्ट्रिय शिक्षाको उद्देश्य विदेश पलायन हुने नागरिक तयार गर्ने हो ? देश निर्माण र ज्ञानका लागि पढ्ने युवाहरु शून्य प्रायः भएपछि देश विकासको बागडोर कसले सम्हाल्ने ? गहन रुपमा सोच्नुपर्ने बेला भएको छ । युवा मुलुकको आशा र भरोषा हुन् । समाजलाई रुपान्तरण गर्ने अदम्य शक्ति भएरपनि युवाशक्ति आफैँमा हराएको अवस्था छ । एकातर्फ युवाले आफ्नो मातृभूमिमा आफ्नो भविष्य सुनिश्चित छ भनेर आर्थिक, सामाजिक रुपान्तरणको यात्रालाई गतिवान बनाउनुपर्दछ । अर्कोतर्फ युवाको उपयोग कसरी गर्ने उनीहरुलाई सिर्जनशील कसरी बनाउने भन्ने चिन्ता, चासो र अठोट नीति निर्मातामा रहनुपर्दछ ।
युवा भनेको देशको सबैभन्दा ठुलो पुँजी हो । उल्लेख्य मात्रामा उपलब्ध युवा जनसंख्याको नेपालले जनसांख्यिक लाभ लिन सकेको छैन । धेरैजसो मुलुकहरुमा यो अवसर उपलब्ध छैन र शताव्दीआंैसम्म उपलब्ध हुने सम्भावना पनि छैन किनभने कतिपय मुलुक बुढ्यौँलीको समस्यामा छन् भने कतिपय मुलुकमा विवाह र सन्तान उत्पादन गर्ने सोचबाट बिस्तारै विषयान्तर हुने सामाजिक संस्कृतिको विकास हुँदै गएको देखिन्छ तर नेपाल जनसंख्याको लाभ लिन सक्ने अवस्थामा छ । यसका लागि सरकार, निजीक्षेत्र, समुदाय, र युवासँग सम्बन्धित निकायहरुले साझा सोंच बनाउन पर्ने आवश्यकता छ ।
वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको विप्रेषणबाट मात्रै नेपाली अर्थतन्त्रमा रक्तसञ्चार भएको छ । विप्रेषण नहुने हो भने नेपालको अर्थतन्त्र धराशायी हुने विन्दुमा पुगेको छ । हाम्रो परनिर्भरता दिनानुदिन बढ्दो छ । वैदेशिक सहयोग नभए विकासको गति ठप्प हुने अवस्थामा हामी पुग्दैछौं । श्रम निर्यात गरेर मात्रै देशमा समृद्धि प्राप्त हुन सक्दैन । कहिलेसम्म श्रम निर्यातमा देशलाई टेको लाउने । विप्रेषणको निर्भरतालाई खुकुलो पार्दै अर्थतन्त्रको रुपान्तरण गर्नेतर्फ बेलैमा सोंच्नुपर्ने देखिन्छ । दिगो र गतिशील अर्थतन्त्रका लागि आन्तरिक उत्पादन, निर्यात प्रवद्र्धन, उद्योगधन्दा तथा पर्यटन प्रवद्र्धन जस्ता उपाय अपनाएर तिनलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्नेमा नीति निर्माताहरु केन्द्रित हुनु जरुरी छ ।
देश विकासमा आफ्नै जनशक्तिको उपयोग गर्न नसक्ने राज्यमा विकासका नारा भ्रम सिर्जना गर्ने हतियार बनेका छन् । केही समयपछि नेपाल आश्रितहरुको बहुसंख्या भएको देश हुनेछ । हामीले जनसांख्यिक लाभ गुमाउने छौँ । त्यसो हुनुअगावै राज्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नाका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । युवाहरुलाई अध्ययन सकिसकेपछि नेपालमा नै सम्भावना देखाउन, भविष्य देखाउन अब ढिला गर्नुहँुदैन । गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकोले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी नतिजामूलक कार्यक्रममा जोड दिनु जरुरी छ ।