वन जोगाउन अतिक्रमण रोक्नुपर्छ

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
367 shares


डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीसँग वन व्यवस्थापन भनेको के हो ? वैज्ञानिक वन व्यवस्थापनको ऐन, नीती र कार्यान्वयनको अवस्थाको विषयमा मेचीकालीकर्मी पार्वती आचार्यले गरेको संक्षिप्त कुराकानी ।

वैज्ञानिक वन व्यवस्थापन भनेको के हो ?
वैज्ञानिक वन व्यवस्थापन भनेको वन संवद्र्धन क्रियाकलाप र अन्य वन व्यवस्थापनमा क्रियाकलापहरु समूचित रुपमा कार्यान्वयन गर्ने हो । यसलाई पहिला वैज्ञानिक वन व्यवस्थापन भनिएको थियो भने हाल वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन भनिएको छ । वन संवद्र्धनका क्रियाकलाप भन्नाले उमेर पुगेका बुढा रुखहरु कटान गर्ने, रुख कटान गरेको ठाउँमा बिरुवा उमार्ने र उम्रेको बिरुवालाई हुर्काउने काम गर्दछ । अन्य वन व्यवस्थापनका क्रियाकलापमा वन संरक्षण (अतिक्रमण नियन्त्रण, चोरी कटानी, चोरी शिकारी नियन्त्रण, वन डढेलो नियन्त्रण, वन क्षेत्रको नदीजन्य पदार्थ चोरी नियन्त्रण) घाटगद्दी व्यवस्थापन, खोला खहरे तथा पानी निकास व्यवस्थापन , सिमसार व्यवस्थापन, मानव वन्यजन्तु न्यूनिकरण, जैविक मार्गको व्यवस्थापन जस्ता कार्यहरु पर्दछन् । यसरी वन संवद्र्धनका क्रियाकलाप र अन्य वन व्यवस्थापनका क्रियाकलापहरु सही तरिकाले कार्यान्वय गर्नु नै वन व्यवस्थापन हो ।

वैज्ञानिक वन व्यवस्थापनको नीति र ऐनको अवस्था के कस्ता छन् ?
वैज्ञानिक वन व्यवस्थापनको सन्दर्भमा हाल आएर नीतिगत स्पष्टता हुँदै आएको छ । संघीय वन नियमावली, २०७९ मा वन संवद्र्धन प्रणालीमा आधारित बन व्यवस्थापन गर्नुपर्ने कुरा उल्लेख छ । वन संवद्र्धन प्रणालीमा आधारित रहेर वन व्यवस्थापन गरेकोलाई नै पहिला वैज्ञानिक वन व्यवस्थापन भनिएको थियो । यसैगरी विभिन्न प्रदेशहरुको वन ऐन तथा नियमहरुमा समेत वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई समावेश गरिएको छ । लुम्बिनी प्रदेशको वन ऐन, २०७८ र वन नियमावली, २०७९ मा पनि वन संवद्र्धन प्रर्णालीमा आधारित वन व्यवस्थापनको प्रावधान समावेश गरिएको छ । साथै वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई बढवा दिन मापदण्डसमेत तयार गरेको छ । लुम्बिनी प्रदेशमा यसै मापदण्डअनुसार वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन भरहेको छ । अन्य प्रदेशहरुले समेत यस प्रकारका मापदण्ड तयार गरी वन व्यवस्थापनलाई सहजीकरण गर्ने उन्मुख देखिन्छन् । त्यसैले नीतिगत रुपमा वन व्यवस्थापन गर्ने कुरा स्पष्ट भएको देखिन्छ ।

वैज्ञानिक वन व्यवस्थापनबाट उपभोक्ताहरुलाई कत्तिको सहज भएको छ ?
वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनले वन पैदावारको उत्पादन बढेको छ । वनको हैसियतमा सुधार आएको छ । उत्पादन बढेको कारण उपभोक्ताहरुले सहज रुपमा काठ दाउरा प्राप्त गरेका छन् । आवश्यक परेका उपभोक्ताहरुलाई काठ दाउरा नपाउने अवस्था छैन । यसैगरी समूहको आम्दानीमा वृद्धि भएको छ । जसले गर्दा वन संरक्षण र स्थानिय विकासमा उल्लेखनीय टेवा पुगेको छ । साना डेढ दुई सय हेक्टर वन भएको समूहमा पनि वार्षिक २ करोड जति आम्दानी भइरहेको छ । यसबाट गाउँको विकास, उपभोक्ताहरुलाई रोजगारीको सृजना भएको छ यसर्थ वैज्ञानिक वन व्यवस्थापनले वनको हैसियतमा सुधार गर्ने, आम्दानी बढाउने, रोजगारी सृजना गर्ने र स्थानीय विकास गर्ने कुरामा कायपलट गरेको छ ।

वन अतिक्रमणले वन व्यवस्थापनमा कस्तो असर पारेको छ त ?
वन अतिक्रमण भन्नाले वन नबनाउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई जनाउँछ । जस्तै ः खेतीपाती, घर निर्माण, मन्दिर, फुटबल ग्राउण्ड, बाटो आदि बनाउने कार्यलाई बुझिन्छ । अतिक्रमण वन संरक्षणको सबैभन्दा चुनौतीपूर्ण बिषय हो । किनभने गैरकानुनी रुपमा वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारी, गैरसरकारी संस्थाहरु, जनताहरु संलग्न छन् र यसमा राजनीतिक संरक्षण भएको देखिन्छ । वन व्यवस्थापनको हिसाबले पनि वन अतिक्रमण अत्यन्तै गम्भीर कुरा हो । वन अतिक्रमण भनेको मान्छेको शरीरमा घाउ खटिरा आए जस्तै हो । सानो घाउखटिराले पनि मान्छेलाई ठुलो असर पारे जस्तै वन अतिक्रमणले वनक्षेत्रलाई असर गर्दछ । यसर्थ वन व्यवस्थापन राम्रोसंग गर्न वन अतिक्रमण नियन्त्रण गर्न जरुरी छ । त्यसकारण वन कार्यालयले वन अतिक्रमण नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ ।