हिल स्टेसन जोड्दै केबलकार

मेचीकाली संवाददाता

१ फाल्गुन २०८०, मंगलवार
6250 shares

अमृत गिरी

बुटवल । संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै ठाउँ–ठाउँमा हिल स्टेसन बनाउने घोषणा गरेसँगै त्यस्ता हिल स्टेशन जोड्न निजी क्षेत्रले धमाधम केबलकारसहितका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पछिल्लो समय देशभरका हिल स्टेसनमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि ठाउँठाउँमा केबलकार निर्माणको क्रम तीव्र छ ।

अहिले पूर्वमा ताप्लेजुङको पाथीभरादेखि पश्चिम कैलालीसम्म केबलकार, होटेल, फनपार्कसहितका हिल स्टेसनमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ । बुटवलमा मात्रै हिल स्टेसनका पर्यटन पूर्वाधारका संरचनासहित दुई ठूला केबलकार निर्माण भएका छन् । लुम्बिनी केबलकार सञ्चालनमा आइसकेको छ भने अर्को सिद्धार्थ केबलकार सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।
राष्ट्रिय स्वाभिमानको वीरताको किल्ला जितगढी सम्पदा परिसर र सेनवंशीय राजाको मणिमुकुन्द सेन दरबार परिसर नजिकैबाट ऐतिहासिक नुवाकोटगढीसम्म जानेगरी सिद्धार्थ केबरकार निर्माण भएको छ । यसक्षेत्रका विभिन्न उद्यमीहरुको संयुक्त लगानी रहेको यो बहुप्रतिक्षित केबलकार अब सञ्चालनको अन्तिम तयारीमा छ ।

यस्तै बुटवलको गोलपार्क बमघाटदेखि अर्को हिलस्टेसनका रुपमा रहेको बसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकार झण्डै एक वर्षदेखि सञ्चालनमा छ । मुलुकको प्रतिष्ठित कम्पनी आइएमइ ग्रुपले यो केबलकार निर्माण गरेको हो ।

केबलकारको २५ वर्षे इतिहास
नेपालमा पहिलोपटक प्रसिद्ध मन्दिर मनकामनामा केबलकार बनेको थियो । विसं.२०५५ मा गोरखामा मनकामना केबलकार सञ्चालनमा आएसँगै नेपालमा केबलकारको युग सुरु भएको मानिन्छ । यो अवधिमा मुलुकका विभिन्न ठाउँमा केबलकार निर्माण भइसकेका छन् भने कतिपय ठाउँमा केबलकार बन्ने तयारी छ ।

काठमाडौंको चन्द्रागिरिमा २०७३ मा दोस्रो केबलकार सुरु भएको थियो । विसं.२०७८ फागुन मा पोखराको फेवातालदेखि सराङकोट पुग्ने अन्नपूर्ण केबलकार सञ्चालनमा आइसकेको छ । यस्तै नवलपुरको मौला कालिका मन्दिरसम्म जाने केबलकार पनि सञ्चालनमा आएको छ । ताप्लेजुङको पाथीभरा, कैलालीको लम्किचुहा र कास्कीको सिकलेसमा पनि केबुलकार बनिरहेका छन् ।

यसैगरी दोलखाको कुरी–कालिञ्चोक केबलकार पनि सुरु भइसकेको छ भने तनहुँको डुम्रे–बन्दीपुर केबलकार छिट्टै व्यावसायिक सञ्चालनमा ल्याउने गरी परीक्षणकालमा छ । कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म जोड्ने करिब ८६ किमी लामो महत्वाकांक्षी केबलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको छ । यो परियोजना पनि सफल भएमा देशभर लक्जरी रिसोर्टसहितका केबलकारमा करिब एक खर्ब लगानी पुग्नेछ ।

जाँगरिला उद्यमीहरुको साझा प्रयास: बुटवलको सिद्धार्थ केबलकार
बुटवलका दुई ऐतिहासिक सम्पदा स्थल र तराई–चुरे–हिल स्टेसन जोड्नेगरी यसक्षेत्रका प्रतिष्ठित र जाँगरिला उद्यमीहरुको साझा प्रयास स्वरुप सिद्धार्थ केबलकार निर्माण भइरहेको छ । २०७७ फागुन ९ गते शिलान्यास भएको केबलकारको निर्माण कार्य केही समय कोरोना कहरले प्रभावित भयो । अहिले निर्माणकार्य धमाधम भइरहेको छ । एक अर्बभन्दा धेरै लगानीमा सिद्धार्थ देउरालीमा बटम स्टेसन र पाल्पाको नुवाकोटमा टप स्टेसन रहेको केबलकार १.९४ किमी लामो रहेको छ ।

सिद्धार्थ केबलकारले जितगढी सम्पदा र नुवाकोटगढीलाई जोड्ने छ । यी दुई सम्पदा यसक्षेत्रका पर्यटनका खास आधार हुन् । यस्तै नुवाकोटलाई यसक्षेत्रको उपयुक्त हिल स्टेसन मानिन्छ । यही हिल स्टेसनसम्म अब केबलकार पुगेको छ । यस हिल स्टेसनमा रिसोर्ट, चिल्ड्रेन पार्कलगायतका संरचना धमाधम बनिरहेको अध्यक्ष राजेन्द्रसिंह गुरुङले बताए । सिद्धार्थ केबलकारमा २५ वटा गोन्डुला (केबलकारको बाकस) रहनेछन् । केबलकारमा सुरूआती समयमा दैनिक पाँच हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक दस हजारसम्म यात्रु बोक्न सक्ने क्षमता छ ।

हरियाली र पर्यावरणमैत्री मनोरञ्जन स्पट
केबलकारले जोडेको हरियालीसहितको उपयुक्त हिल स्टेसन हो नुवाकोट । सिद्धार्थ केबलकारले जोड्ने क्षेत्रलाई तिनाउ नदी, जितगढी सम्पदा, मणिमुकुन्द सेन दरबार क्षेत्र मात्रै होइन यहाँका हरियाली क्षेत्र हुँदै नुवाकोटको उपयुक्त हिलस्टेसनका रुपमा रहेका छन् । यी संरचनाका लागि सामुदायिक वनको ६.०९८ हेक्टर क्षेत्र भोगाधिकार लिएको केबलकार प्रालिले सोही क्षेत्र बराबर पाल्पामै जग्गा किनेर वृक्षरोपण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

वातावरणीय हिसाबले पनि यहाँका संरचना अनुकुलका बनाइएका छन् । बटम–स्टेसनको प्रवेशद्वारभित्र छिर्नेबित्तिकै वाटर फाउन्टेनसहितको बगैंचामा पुग्न सकिन्छ । केबलकार चढ्ने मात्र नभई जंगलको हरियालीबीच केही समय भए पनि मनोरञ्जन लिन सकियोस् भनेर बटम–स्टेसनमा कफी–सप र रेस्टुरेन्ट बनिरहेका छन् ।

सात मिनेटकै दूरीमा भेटिने विविधता
बुटवल चुरे र तराईको संगम भएको सहर हो । तिनाउ, दानवलगायतका नदी यहीँबाट बग्छन् । यहाँ गर्मी हुँदा सात मिनेटको दूरीमा मौसमी विविधतासहितको हिल स्टेशनमा पुग्न सकिन्छ । देउराली डाँडादेखि केबलकारमा सात मिनेट यात्रापछि नुवाकोट पुग्न सकिने छ जुन यसक्षेत्रको उपयुक्त हिल स्टेसनसहितको गन्तव्य हो । बुटवल बजार अवलोकन गर्दै हरियाली जंगलमाथिबाट हुने केबलकारको यात्राले चुरे क्षेत्रमा पाइने जंगली जनावर र चराचुरूङ्गी पनि देख्न सकिने छ । केबलकारसँगै रोप–वे पनि बन्ने छ । यसका लागि केही ठाउँमा टावर होचो राखिएको छ । आधा किलोमिटरभन्दा माथि पुगेपछि भने तिनाउ नदी, बुटवल, भैरहवा, भारतको नौतनहवा र गोरखपुरसम्मको दृश्य अवलोकन गर्दै नुवाकोट पुग्न सकिनेछ ।

बुद्धावली झल्काउने संरचना
बुद्धको जन्मस्थल लुम्बिनीको नजिकै रहेको र यो क्षेत्रसमेत बुद्धावलीको क्षेत्र रहेकाले यहाँ कमलको फूल आकारमा लोटस–पार्क निर्माण भइरहेको छ । यो मुलुककै पहिलो त्यस्तो पार्क हुनेछ । यहाँ बुद्धावलीकै चिनारी झल्काउन सिद्धार्थ गौतमका सातवटा पाइलाको प्रतीक पनि राख्ने तयारी छ । कमलको फूल आकृतिमा ६ पाइला बटम–स्टेसनमा र सातौं पाइला टप–स्टेसनमा रहनेगरी काम भइरहेको छ । टप–स्टेसनमा कमलको फूलको आकृतिसहितको सातौं पाइलामाथि गौतमबुद्धको ५० फिट अग्लो मूर्ति बनाइने अध्यक्ष गुरुङको भनाइ छ ।

नेपाली मौलिकता र जैविक गुणका खाना
आधुनिकतासँगै मानिसमा विदेशी सिको बढिरहेका बेला यहाँ भने नेपाली मौलिकताका खानाको परिकार पाइने छ । त्यतिमात्रै होइन साना किसानलाई प्रवद्र्धन गर्नेगरी तिनका उत्पादनलाई प्राथमिकता दिइने छ । हाम्रा कैयन् बालीहरु औषधीय गुणका छन् र तिनको जैविकतालाई संरक्षण गर्दै उत्पादकत्व बढाउन हौसला थप्नेसमेत योजना रहेको प्रालिका सञ्चालक माधव नेपालको भनाइ छ ।

के–के छन् नुवाकोटमा ?
नुवाकोट गढी आफैँमा ऐतिहासिक स्थल हो । हिलस्टेसनको उपयुक्त गन्तव्य हो यो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय भएकाले नुवाकोटलाई यसक्षेत्रको उपयुक्त हिलस्टेसन बनाउने योजना अघि बढेको हो । यहाँसम्म पुग्ने सडक निर्माण भइसकेको छ भने योसँगैका पश्चिमतिरका हिलस्टेसन जोड्ने पदमार्गसमेत निर्माण भइरहेका छन् ।

नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिर छ । यसलाई अग्लो त्रिशूलले सजाइएको छ । नुवाकोटको ऐतिहासिकता बुझेकाहरुले जब यहाँ पाइला टेके अनी यो क्षेत्रको दीर्घकालीन विकासका काम सुरु भए । मन्दिरको जिर्णोद्वार र केही संरचनाको पुनिर्निर्माण गर्दै नुवाकोटको संरक्षण, सम्बन्द्र्धन र पर्यटन गन्तव्यका रुपमा विकास गर्ने महत्वपूर्ण कामको थालनी भएको हो ।
नुवाकोट र जीतगढीलाई जोडेर पर्यटन सर्किट निर्माण भयो । मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिङ्ग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा यहाँ रहेका छन् । अहिले केबलकार निर्माण भएसँगै टप–स्टेसनमा सांस्कृतिक डबली, ढुंगेधारा, होटल तथा रेस्टुरेन्टलगायत पूर्वाधार बनाउने काम धमाधम भइरहेका छन् ।

गुरुयोजना बनाएर हिल स्टेशन
यसक्षेत्रका पुराना र स्थापित पर्यटन व्यवसायीसमेत रहेका केबलकारका सञ्चालक माधव नेपालका अनुसार यहाँ आफूखुशी कुनै संरचना निर्माण गरिएको छैन । हरेक संरचना निर्माण गर्नुअघि वातावरणीय, पर्यावरणीय हिसाबलाई ख्याल गरेर गुरूयोजनाअनुरुप मात्रै भइरहेको छ । केबलकारसँगै बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू–टावर, स्वास्थ्य केन्द्रलगायत संरचनालाई गुरुयोजनामै समावेश गरिएको छ । छोटो दूरीको यात्राबाटै बुटवलको चर्को गर्मीबाट उन्मुक्ति मिल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने यहाँका लगानीकर्ता बताउँछन् । सामान्यतया, बुटवलभन्दा यहाँको तापक्रम झन्डै ८ डिग्री सेल्सियस कम हुन्छ ।

व्यवसाय मात्रै होइन, संस्कृति र सम्पदा संरक्षण पनि हाम्रो दायित्व हो

राजेन्द्रसिंह गुरुङ/अध्यक्ष, सिद्धार्थ केबलकार

केबलकार बनाउने योजनाको सुरुवात कसरी गर्नुभयो ?
हामीलाई नाफामुखी व्यवसाय गर्नतिर मात्रै ध्यान छैन । हामीले हाम्रा मौलिकता, हाम्रा संस्कृति र हाम्रा सम्पदाहरुलाई जोगाएर, संरक्षण गरेर पुस्तौं पुस्तासम्मलाई जानकारी गराउने कुरालाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौं । यो बुद्धावलीको बुटवल हो, यो रेशम मार्गकै रुपमा रहेको प्राचीन बजारको बुटवल हो । यहाँ थुप्रै सम्पदाहरु रहेका छन्, ऐतिहासिक स्थलहरु रहेका छन्, गढी किल्लाहरु रहेका छन् । विविधतासहितको संस्कृति रहेको छ । यी सबैलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र विभिन्न माध्यमबाट नयाँनयाँ पुस्ताहरुमा ज्ञान हस्तान्तरण गर्नुपर्छ र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ भन्ने नै हाम्रो लक्ष्य छ ।

ऐतिहासिक स्थल जीतगढी किल्ला यहीँ छ, ऐतिहासिक नुवाकोट गढी यहीँ नजिकै छ, मणिमुकुन्द सेन दरबार क्षेत्र यहीँ छ, हरियाली वन क्षेत्र र मुलुककै ठूलो सामुदायिक वन पनि यहीँ छ, जलासयको प्रचूर सम्भावना भएको क्षेत्र यहीँ छ । आदि मावन रामापिथेकशको अवसेश फेला परेको प्रागऐतिसिक स्थल पनि यहीँ हो । यस्ता क्षेत्रहरुको संरक्षण र संवद्र्धन गर्दै आय आर्जनमा जाड्न जरुरी छ । हामीले हाम्रो यो प्रयासलाई तराई र चुरेको संगम विन्दुका रुपमा मात्रै होइन यहाँका विविधताको संरक्षण, संवद्र्धनमा पनि उत्तिकै चासो दिएर लागेका छौं । पर्यटनमार्फत समृद्धि हासिल हुने कुरालाई अब कागजमा मात्रै होइन, व्यवहारमै उतार्नुपर्ने छ । पर्यटन प्रवद्र्धनका काममा सार्वजनिक निजी साझेदारीका बीचमा सहकार्यको खाँचो छ ।

केबलकार निर्माणको काम अब कति बाँकी छ ?
हालसम्म केबलकार निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको छ । अहिले फिनिसिङ, सेफ्टी परीक्षणलगायतको काम चलिरहेको छ ।

टप स्टेसनमा पुग्न कति समय लाग्छ ?
हाम्रो केबलकारको दूरी १.९४ किमी लामो रहेको छ । बटम स्टेसनबाट करिब ७ मिनेटमा टप स्टेसन पाल्पाको नुवाकोटमा पुग्न सकिन्छ ।

यो केबलकारमा अरुमा भन्दा सुरक्षा मापदण्डमा के फरक छ ?
हाम्रो केबलकारमा डबल प्रोटेक्सन लाइन छ । एउटा मोटर बिग्रिए वा लाइन गएपनि केबलकारमा कुनै समस्या आउँदैन । अर्को मोटर र लाइनले आफँै अटोमेटिक काम गर्छ । केबलकारको वायर, गुण्डुला अत्याधुनिक सेफ्टी गुणस्तरको प्रयोग गरी बनाइएका छन् । आधुनिक केबलकारमा प्रयोग हुने सुरक्षाका सबै मापदण्ड यहाँ प्रयोग गरिएको छ । सुरक्षाका हिसाबले यसलाई शत प्रतिसत मापन गरी निर्माण गरिएको छ ।

केबलकारमा के कुरालाई प्राथमिकता दिनुभएको छ ?
हामीले केबलकारमा यात्रा गर्ने यात्रुको सुरक्षा र मनोरञ्जनलाई विशेष ध्यान दिएर सोहीअनुसार डिजाइन र निर्माण गरेका छौँ । हाम्रो लक्ष्य पर्यापर्यटनको विकास र संवद्र्धन हो । पर्यापर्यटनका माध्यमबाट यसक्षेत्रको समग्र विकास गर्न सकिन्छ भनेर हामी सामूहिक पहलमा केन्द्रित भएका छौं ।

टप स्टेसनमा पर्यटक भुलाउन के गर्नुभएको छ ?
नुवाकोट गढी आफैँमा ऐतिहासिक स्थल हो । हिलस्टेसनको उपयुक्त गन्तव्य हो यो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय भएकाले नुवाकोट पुगेपछि पर्यटकहरुले आनन्द दिन सक्छन् । नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिर छ । यसलाई अग्लो त्रिशूलले सजाइएको छ । त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिङ्ग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा यहाँ रहेका छन् । अहिले केबलकार निर्माण भएसँगै टप–स्टेसनमा सांस्कृतिक डबली, ढुंगेधारा, होटल तथा रेस्टुरेन्टलगायत पूर्वाधार बनाइएका छन् ।

आगामी योजना केके छन् ?
केबलकार सञ्चालनमा आइसकेपछि हामीले दोस्रो चरणमा सुबिधासम्पन्न रिसोर्ट, जीपलाइन, बञ्जी, फुलबारीबाट बटम स्टेसन जोड्ने झोलुङ्गे पुललगायतका संरचना निर्माण गर्ने योजना बनाएका छौँ र छिट्टै सम्पन्न पनि गर्छौं । पर्यापर्यटनका लागि आवश्यक पर्ने संरचनाहरुको निर्माण सुरु गरेका छौं । आन्तरिक र बाह्य दुवै खाले पर्यटकका लागि एउटा सुविधासम्पन्न र अध्ययन गर्ने उपुक्त स्थलका रुपमा यहाँको प्रवद्र्धन गर्नेगरी लागेका छौं ।

केबलकार कहिलेदेखि सञ्चालनमा आउँछ ?
निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब छिट्टै औपचारिक उट्घाटन गर्ने तयारीमा छौँ । अबको केही समयमा केबलकारको औपचारिक शुभारम्भ गर्नेछौं ।

सञ्चालनमा रहेका अन्य केबलकार खासै नचलिरहेको अवस्थामा यो केबलकार चल्छ भन्ने आधार के छ ?
केबलकारका लागि मात्रै भनेर हामीले धेरै लगानी गरेका छैनौं । यसको सम्पूर्ण सुरक्षाको विषयमा ध्यान दिएका छौं । केबलकारका दुवै स्टेसन र परिसरलाई आकर्षक केन्द्रका रुपमा निर्माण गरिरहेका छौं । केबलकारका दुवै स्टेशनमा पुगेपछि त्यहीँ भुलेर र डुलेर मनोरञ्जन लिन सकिन्छ । विविधतासहितको केबलकार भएकाले हाम्रो केबलकार चल्छ भन्नेमा हामी बिस्वस्त छौँ ।

हिलस्टेसन नुवाकोट ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय स्थान भएकाले त्यहाँ जाने र आनन्द लिने चाहाना सबैको हुन्छ । हामीले बुटवल र नुवाकोटलाई जोड्ने पुलको काम गरेका छौँ । सञ्चालन नहुँदै पनि कहिलेदेखि सञ्चालन हुन्छ भनेर आम जनताले चासो राख्नुभएको छ । यसबाट पनि हामीलाई केबलकार चल्दैन कि भन्ने शंका छैन । केबलकारमा चढेर माथि जाने र आउने मात्रै होइन, यस क्षेत्रको ऐतिहासिकता, पर्यापर्यटनका संरचना, ऐतिहासिक स्थलहरुको अध्ययन, कालभैरवको दर्शन, अवलोकन र पर्यटन विशौनीहरुमार्फत पर्यटक भुलाउने माध्यम निर्माण गरेका छौं । यिनै कारणले पनि यहाँको केबलकार सञ्चालन हुने निश्चित छ ।

ऐतिहासिक स्थलहरुलाई ओझेल पर्नबाट जोगाउनुपर्छ
हामीले बुद्ध जन्मस्थल लुम्बिनीको नजिकमा रहेको, बुद्धावलीको यो महत्वपूर्ण स्थललाई पर्यटन बिसौनीका रुपमा विकास गर्न जरुरी छ । बुटवल र आसपासका क्षेत्रहरु व्यापारिक क्षेत्र मात्रै होइनन् ऐतिहासिक र पर्यटन विकासका सम्भावना रहेका क्षेत्र पनि हुन् र यिनको समुचित विकास गर्न जरुरी छ । हामीले निजी क्षेत्रबाट यहीँ कामको पहल गरेका छौं ।

माधव नेपाल/सञ्चालक, सिद्धार्थ केबलकार

बुद्धावलीका पर्यटन क्षेत्रलाई सर्किटकमा जोड्दै विशेष आय आर्जनमा लगाउने कोसिस गरेका छौं । यहाँका ऐतिहसिक स्थलहरुलाई ओझेल पर्नबाट जोगाउनुपर्छ भन्ने उद्देश्यले हामीले एउटा साझा थालनी गरेका छौं । सोहीअनुरुपको एउटा पहल सिद्धार्थ केबलकार हो । यसलाई हामीले यहाँका पर्यटन विविधताका संरचनालाई जोड्ने एउटा माध्यमका रुमपा निर्माण गरिरहेका छौं । तराई र चुरेलाई जोड्ने आधुनिक केबलकार, हरियाली प्रबद्र्धनका संरचना, पर्यटक आकर्षित गर्ने संरचनाहरुको निर्माण गरिरहेका छौं ।
केबलकार चढेर माथि जाने र आउने मात्रै होइन यहाँ रहेका विविधताको अध्ययन गर्ने, विविधतामा रमाउने, प्रकृतिमैत्री बन्ने गरी हामीले संरचना निर्माण गरेका छौं । प्राकृत्तिक सम्पदाका क्षेत्रहरुलाई संरक्षण गर्दै तिनैबाट आर्थिक समृद्धि हासिल गर्नेगरी पर्यावरणमैत्री पर्यटन उद्योगको विकास गर्नेतर्फ हाम्रो पहल जारी छ । ऐतिहासिक नुवाकोट, कोटघर (कोट थान) र मगर पुजारी, सेनकालीन चतुर्भुज विष्णु मूर्ति, सेनकालीन नुवाकोट भैरब, ऐतिहासिक नुवाकोटगढी र काठे गढी, नुवाकोट एक पर्यटकीय गन्तव्य हुन् ।
तिनाउमा जलासय निर्माण गर्ने, जितगढी, काठेगढी, सहस्रधारा, मणिमुकुन्द सेन दरबार परिसर, सिद्धपीठः सिद्धबाबा धाम, रामापिथेकस, सत्यवती ताल र सुकेताल, सेनकालीन नुवाकोट भैरब, कोटघर र मगर पूजारी, बाकुमगढी, काठेगढी, बल्ढेङगढी, माथागढी, जितगढी, नुवागढी र नुवाकोट गढी र ऐतिहासिक गौडाहरूलाई जोडेर बुद्धावलीको ऐतिहासिक क्षेत्रका रुपमा यसको संरक्षण र सम्बद्र्धन गरि पर्यटीय विकासमा केन्द्रित भएका छौं । नुवाकोट साविक दोभान गाविस, बुटवल उपमहानगरपालिका अथवा नुवाकोट र नुवाकोटको सेरोफेरोमा रहेका तिनाउ गाउँपालिका र नुवाकोटको समग्र इतिहास समेट्ने गरी पुस्तक समेत प्रकाशन भएको छ ।

बुटवलमा आर्थिक पुनर्जागरण ल्याउँछौं
प्राचीन कालमै पनि बुटवलबाट नुन, तेल, लत्ताकपडा किनेर लैजाने र त्यसका लागि पहाडमा उत्पादन भएका घिउ र कृषि उपज लिएर आउने चलन थियो । त्यसबेला यातायातका साधन थिएनन र हिँडेरै आउजाउ गर्नुपर्ने थियो । तर, अहिले यातायातका साधनको विकास भएको छ र आधुनिक बुटवलका रुपमा स्थापित भएको छ । मुलुककै प्रमुख व्यापारिक केन्द्रका रुपमा बुटवलको विकास भएको छ । मुलुकभरका मात्रै होइन छिमेकी मुलुक भारतसम्मका उद्यमी व्यवसायी आउने र व्यवसाय गर्ने थलोका रुपमा बुटवल गुल्जार भयो ।

केयरसिंह खड्का/सञ्चालक, सिद्धार्थ केबलकार

अहिले केही समय यता बुटवलको आर्थिक विकासका क्षेत्र कमजोर भएको हो कि भन्ने टीकाटिप्पणी हुने गरेको सुनिन्छ । खासगरी राजनीतिक विभाजनले प्रदेशको स्थायी मुकाम दाङमा गएपछि यस्तो देखिएको हो किन्न भन्ने पनि छ ।
तर, बुटवल सबल आर्थिक केन्द्र नै हो र यहाँ आर्थिक क्रियाकलाप चलायमान हुँदैछन् भन्ने कुरालाई हामीले सावित गर्नुपर्ने छ । बुटवलमा आर्थिक पुनर्जागरण ल्याउने काममा सबै जुट्नुपर्ने छ ।

आर्थिक रुपमा चलायमान बनाउने, सबल आर्थिक केन्द्रका रुपमा बुटवलमा पुनर्जागरण ल्याउने एउटा माध्यम सिद्धार्थ केबलकार बन्नेछ भनेर हामीले अहिल्यै दाबी गर्न सक्छौं । बुटवललाई पुन चलायमान बनाउने, सबल आर्थिक केन्द्रका रुपमा पुनर्जागरण ल्याउने हाम्रो उद्देश्य हो ।