आशा र युवाविहीन गाउँ: बाध्यताले परदेश, कमाइले मधेश

मेचीकाली संवाददाता

२ फाल्गुन २०८०, बुधबार
3115 shares

टोपलाल अर्याल

गुल्मी । केही वर्ष पहिलेसम्म अधिकांश गाउँमा गाडी पुग्दैनथे । अहिले सडक नपुगेका गाउँ छैनन् । प्लस टु पढ्न पनि सदरमुकाम पुग्नुपथ्र्यो । बिजुली नहुँदा गाउँ अन्धकार थिए । प्राथमिकबाहेकका उपचारको लागि पनि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो । अचेल गाउँ फेरिएका छन् । बिजुली, सडक, अस्पताल र कलेज घर छेउँमा छन् । तर, मान्छेका मन फेरिएका छैनन् । शहर र परदेश मोहले उर्वर खेतबारीमा बनमारा उम्रिएर जंगल बनेका छन् । बिरामी परे अस्पताल र मरे घाट पुराउने पनि गाउँमा छैनन् ।
अशक्त बिरामी, वृद्धा, बालकालिका र महिलाले कुरिरहेका घरमा पनि नयाँ आशा छैन । हिजो गाउँमा खेतबारी धेरै हुनेलाई धनी भन्थे । अहिले प्रशस्त खेतबारी हुनेहरु गरिब जस्ता भएका छन् । गाउँमा काम गर्ने उमेरका कोही छैनन् । उब्जेको बाँदरलगायतका जंगली जनावरलाई ठिक्क छ । चन्द्रकोट–४ का ६४ वर्षीय झविराम थापाले दुःख गरेर जोडेको सम्पति अहिले अर्गेलो बनेको गुनासो गरे । ‘हाम्रो जमनामा खेतबारी र गोठ हेरेर छोरी दिन्थे । अहिले सबैको ध्यान जागिर र परदेशमा छ,’उनले भने,‘बुढो घरमा बुढाबुढी नै रहने रहेछन्, न जागिर फर्किन्छ न परदेशी ।’

जिल्लाका सुन्दर गाउँमध्ये भार्से एक हो । भार्से सानो उपत्यका हो । कलासंस्कृतिले भरिपूर्ण छ । तर, सत्यवती गाउँपालिका–८ को भार्से गाउँमा मान्छे बस्नेभन्दा छोडेका घरहरुको संख्या बढी छ । स्थानीयका अनुसार भार्सेली भार्सेमा भन्दा रुपन्देहीमा धेरै हुन थाले । विगतको दुःखले तराई झर्नेहरु कैयौँ भए । बसाइसराइले एक्लिएको भार्सेले अहिले मान्छे खोजेको छ । कैयौँ पर्यटकीय संरचना निर्माण भएका छन् । विद्युत् र सडकको पहुँच पुगेको छ । मुसिकोट नगरपालिका–५ र ६ मा पनि गाउँ छोड्नेहरुको संख्या दैनिक बढिरहेको छ । युवाहरु काम गर्न परदेश पसेपछि श्रीमती बच्चा पढाउन शहर झर्दा गाउँका मलिला खेतबारी रुखा भए । पसिनाले आर्जेको सम्पत्ति छोड्न पर्दा खुसी वृद्धवृद्धा पनि मनिला भएका छन् ।

धुर्कोट गाउँपालिका–१ नयाँगाउँ सुन्तलाको उर्वर ठाउँ हो । दैलो लागेको घरको ढिकमा पाकेर पहेँलै भएको सुन्तलाले मालिक खोजेको छ । तर, मालिकले मधेशमा सुन्तला खोज्छन् । दर्जनौँ घरमा आन्दानी दिने सयौँ सुन्तलाको बोट हुँदा पनि अनेक चोट बोकेर बसाइसरेकाहरु गाउँ फर्किँदैनन् । अहिले अरौदी, काब्राबोट, भाँखर्चका अधिकांश घर खाली हुने अवस्था रहेको वडाध्यक्ष चेतमान कुँवरले बताउँछन् । रोजगारी र शिक्षाकै कारण गाउँ छोड्नेहरु बढी छन् । ‘छिटो आम्दानी र सुख खोजेर पछिल्लो पुस्ता गाउँमै बस्न खोज्दैन,’उनले भने,‘बुबाआमा बाध्य भएर घरमा ताल्चा ठोक्न बाध्य छन् ।’

वार्षिक करिब तीन हजार गुल्मेली बसाइ सर्दै
जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा गएको आर्थिक वर्ष ०७९/०८० मा करिव तीन हजार नागरिकले बसाइसराइगरेका छन् जिल्लाबाट गत वर्ष मात्रै दुई हजार आठ सय ५३ जना बसाइसराइ गरेर गएका छन् । यो जिल्लामा स्थानीय सरकारसंग आधिकारीक रुपमा बसाइसरा दर्ता गरेर जानेहरुको तथ्यांक हो । कैयौँ परिवार बसाइसरेर गएपनि बसाइसराइ दर्ता गरेका छैनन् । जसका कारण दैनिक गाउँ रित्तिएका छन् । जिल्लाबाट सबैभन्दा धेरै आठ सय ६९ जनाले मुसिकोट नगरपालिकाबाट बसाइसराइ गरेका छन् ।

मुसिकोटबाट युरोप जानेहरुको संख्या नै उलेख्य छ । युरोपबाहेकका देशहरुमा मुसिकोटमा सयौँ नागरिक बस्दै आएका छन् भने उनीहरुका परिवार परदेश तथा शहरमा घर बनाएर बसेका छन् । त्यस्तै रेसुङ्गा नगरपालिकाबाट तीन सय ९७ जना बसाइसराइ गरेका छन् । गाउँको तुलनामा रेसुंगा नगरपालिका बजार, अस्पताल, ठुला कार्यालय र शिक्षाका दृष्टिकोणले पनि सुगम भएपनि नागरिकहरु बसाइसराइ गरिरहेका छन् ।

कालीगण्डकी गाउँपालिकाबाट एक सय ८६ जना, सत्यवती गाउँपालिकाबाट दुई सय ४५ जना, चन्द्रकोट गाउँपालिकाबाट एक सय ५९ जना, रुरु क्षेत्र गाउँपालिकाबाट एक सय ३५ जना रहेका छन् । त्यस्तै छत्रकोट गाउँपालिकाबाट दुई ५६ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २८ जना, धुर्कोट गाउँपालिकाबाट एक सय २१ जना, इस्मा गाउँपालिकाबाट एक सय १५ जना, मालिका गाउँपालिकाबाट एक सय आठ जना र मदाने गाउँपालिकाबाट एक सय २४ जना बसाइसराइ गरेर गएका छन् ।

वैदेशिक रोजगारको मोह

-श्रम स्वीकृति गरेकै ७६ हजार बढी गुल्मेली परदेशमा
-०७४ देखि ०७९ सम्म ९५ जनाको मृत्यु

जिल्लामा बसाइसराइको महत्वपूर्ण कारणका रुपमा वैदेशिक रोजगारी पनि एक हो । परिवारका सदस्य कामका लागि परदेश पसेर कमाउ थालेपछि सुगम र बजारमा घर बनाएपछि बसाइसराइ गर्नेहरु अधिकांश छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लुम्बिनी प्रदेशका कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरीले वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अहिलेसम्म गुल्मीबाट ७६ हजार आठ सय ३४ जना गुल्मेली श्रम स्वीकृत गरेर वैदेशिक रोजगारीमा रहेको बताए भने विभिन्न गैरकानुनी बाटो परदेश पस्नेहरुको संख्या पनि उल्लेख्य छ ।

त्यस्तै चौधरीले नेपालमा श्रम स्वीकृती सुरु भएदेखि यो आर्थिक पर्षको पुस मसान्तसम्म ७४ लाख ५४ हजार चार सय १५ नेपालीले श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीको लागि परदेश पसेको बताए । यता आर्थिक वर्ष ०७४/०७५ देखि ०७९/०८० सम्म ९५ जना गुल्मेलीले वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपालका ३८ जिल्लाका एक सय ५६ स्थानीय तहहरुमा सञ्चालनमा रहेको छ ।

लुम्बिनी प्रदेश सरकार, उद्योग यातायात व्यवस्था मन्त्रालय, जिल्ला प्रशासन कार्यालय गुल्मी र रेसुंगा नगरपालिकाको सहकार्यमा गुल्मी जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा व्यवस्थित वनाउन सूचनामा पुहँच, सिप तालिम र वैदेशिक रोजगारीमा समस्यामा परेकालाई जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) बाट कानुनी सहजीकारण प्रदान भइरहेको कार्यक्रम व्यवस्थापक चौधरीले बताए ।

वर्षेनी दोब्बरले राहदानी बनाउँदै
गुल्मीमा साढे दुई वर्षको तथ्यांक हेर्दा वर्षेनी दोब्बरले राहदानी बनाउँदै गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/०७९ मा सात हजार चार सय नौ जनाले राहदानी लिएका थिए । आर्थिक वर्ष ०७९/०८० मा संख्या बढेर दोब्बर अर्थात् १५ हजार ८७ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका नायव सुब्बा प्रेम खनालले जानकारी दिए ।

आर्थिक वर्ष ०८०/०८१ को ६ महिना अर्थात् पुससम्म छ हजार आठ सय ३३ जना गरेर साढे दुई वर्षमा २९ हजार तीन सय २९ जनाले राहदानी बनाएका छन् । त्यस्तै राहदानीबाट साढे दुई वर्षमा १४ करोड ४७ लाख ७२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७८/०७९ मा तीन करोड ७१ लख ६५ हजार पाँच सय, आर्थिक वर्ष ०७९/०८० मा सात करोड ३१ लाख ९० हजार र आर्थिक वर्ष ०८०/०८१ को छ महिनामा तीन करोड ४४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको खनालले बताए ।

जिल्लामा बसाइसराइले विद्यालय तथा क्याम्पसहरुसमेत प्रभावित भएका छन् । एसईई परीक्षाकै अवस्था हेर्दा गत वर्षभन्दा अहिले करिब ६ सय २५ जना विद्यार्थी कम भएका छन् । ०७९ सालको एसईई परीक्षामा चार हजार सात सय २२ विद्यार्थी भएकोमा अहिले घटेर चार हजार ९७ जना रहेका छन् । शैक्षिक सत्र ०७८ सालमा चार हजार आठ सय २३ जनाले परीक्षा दिएका थिए । त्यस्तै ०७७ सालमा चार हजार सात सय ११ र ०७६ सालमा चार हजार सात पाँच जनाले एसईई परीक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए ।