टोपलाल अर्याल
गुल्मी । कमला बिहान तीन बजे उठ्छिन् । अँधेरामै कामदार घरमा पुग्छन् । झिस्मीसेमा च्याउ बोकेर बुटवल झर्ने गाडी र बजार झर्ने व्यापारीको घर अगाडि लाइन हुन्छ । दैनिक चारपाँच सय किलो च्याउ बुटवल पुग्छ । त्यसैले गाडी छुट्ने समयभन्दा पहिलेनै च्याउ टिप्ने र प्याकिङ्ग गर्ने चटारो चल्छ । जापानबाट फर्किएर गाउँमै भलामीले गरेको कृषि कर्म निकै उदाहरणीय रहेको छ ।
कमला भलामी ४२ वर्षकी भइन् । उनको घर रेसुंगा नगरपालिका–८ खानीगाउँ हो । अहिले च्याउमा कहलिएको हो कमला भलामी । सन् २००८ मा जापान पुगिन् । उनकै अनुसार मासिक साढे तीनदेखि चार लाख कमाइ पनि हुन्थ्यो । तर, बचत थिएन । करिब तीन वर्षपछि सन् २०११ मा स्वदेश फर्किएर गाउँमै उद्यमलाई निरन्तरता दिइन् । घरमा गाईभैंसी, बाख्रा, बंगुर थपिन् । उनले ०७४ बाट व्यावसायिक कुरिलो खेती सुरु गरिन् । अहिले दुई रोपनीमा कुरिलो छ । बजार खोज्न पर्दैन, वर्षमा डेढ÷दुई लाखको कुरिलो बिक्री हुन्छ । कोभिडको बेला १२ रुपैयाँसम्ममा बिक्री भयो । अहिले गाईभैंसी र बंगुर हटाएर सबै तनमन च्याउ खेतीमा छ । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै छन् । दुवै जनाको जोडले व्यावसाय फस्टाएको छ ।
उनले चार वर्षदेखि व्यावसायिक रुपमा च्याउ खेती गरिरहेकी छन् । भलामीले ०७६ सालमा रहरले घरकै सटरबाट च्याउ उत्पादन सुरु गरिन् । अहिले मासिक ३० लाखको च्याउको कारोबार गर्छिन् । खर्च कटाएर मासिक साढे तीन÷चार लाख घरमै कमाएकी छन् । कामकै लागि जापान पुगेकी कमला अहिले घर फर्किएर २५/३० जनालाई रोजगारी दिने भएकी छन् । भलामी दम्पतीले ०५४ देखि ०५८ सम्म होटल गरे । ०५८ पछि सात/आठ वर्ष कम्युनिकेश सञ्चालन गरे । स्वदेशमा भनेजस्तो कमाइ नभएपछि २००८ मा जापान पसेका थिए ।
उनले पहिलो वर्ष कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टर्नेलबाट व्यावसायिक च्याउ खेती सुरु गरेकी थिइन् । सटरको रहर हुँदै पहिलो व्यावसायिक टर्नेलबाट करिब ६० हजार नाफा भएपछि कमलालाई च्याउ खेतीमा उत्साह थपियो । वर्षेनी टर्नेल अर्थात् व्यावसाय थप्दै गइन् । अहिले कमलाले ७० वटा टर्नेलमा च्याउ उत्पादन गर्छिन् । टर्नेलहरुमा महिनामा सातदेखि दश हजार बलहरु थप्छिन् । कमलाले बाह्रै महिना च्याउ फलाएर बजार पठाएकी छन् । च्याउले रोपेको एक महिनामा उत्पादन दिन्छ । अहिले दैनिक सात सय किलो च्याउ उत्पादन हुँदै आएको कमला बताउँछिन् । दुई सयदेखि ढाइसय किलो सदरमुकाममै बिक्री गर्छिन् । फर्मबाट दैनिक बजार मूल्यअनुसार चारदेखि पाँचसय किलोसम्म बुटवल पुग्ने गरेको छ ।
कमलाका अनुसार अहिलेको बजारमूल्यका आधारमा एक लाख बढीको च्याउ दैनिक बिक्री हुने गरेको छ । भलामीको बाट होलसेल मूल्यमा किनेर नियमित तम्घास बजारमै बिक्री गर्नेहरु आठ जना छन् । बुटवलमा मौषममा प्रतिकिलो एक सय ५० र बेमौषममा एक सय ८० सम्म पर्छ । तम्घासमै दुई सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । कमलाको फर्मबाट दशैँतिहार करिब एक महिनाबाहेक ११ महिना बजार पुग्छ । कमलाको मोटामोटी हिसाबले मासिक कम्तिमा ३० लाखको च्याउको कारोबार हुने गरेको छ । दशैँ तिहारमा कामदार पनि घर जाने र बजारहरु पनि बन्द भएकाले कमलाले च्याउ फ्याक्ने अवस्थासमेत आउँछ । त्यो बेला कमलाले दशैँ मेलाहरुमा आफै पुगेरसमेत च्याउ बिक्री गर्छिन् । तर, धेरै उत्पादन हुने भएकाले फाल्नै पर्ने अवस्था आउने गर्दछ । च्याउ खेतीमा आम्दानीअनुसार खर्च पनि उस्तै छ ।
भलामीका अनुसार ७० लाखकै हारहारीमा टर्नेल निर्माणमा खर्च भएको छ । उनले एक हजार बलहरु झुण्ड्याउन मिल्ने टर्नेल बनाएकी छन् । लगभग एउटा टर्नेललाई एक लाख खर्च हुन्छ । इलामबाट आएका सात जना कामदार छन् । उनीहरुले दुईतीन वर्षदेखिनै नियमित एउटा बल बराबर ४० रुपैयाँमा ठेक्का पाएका छन् । मासिक चार लाख बलकै लागि खर्च हुन्छ । गुल्मीमा काटेको पराल पाइँदैन । बुटवलबाट ल्याउँदा त्यस्तै महँगो छ । आफ्नोबाहेक सात ठाउँमा जग्गा भाडामा लिएकी छन् ।
जग्गाको भाडा पनि वार्षिक करिव ढाइ लाख छ । मासिक २५/३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । इलामबाट आएका सात र छिमेकी जिल्लाहरुबाट आएका ११ जनाले नियमित रोजगारी पाएका छन् । त्योबाहेक कामको आवश्यकताको आधारमा थुप्रैले काम पाएका छन् । इलामबाट आएकाले बिहानको खाना, खाजा र बाससहित ठेक्कामा प्रतिबल ४० रुपैयाँमा काम गर्छन् भने चार जनाले बिहानको खाना, खाजा र बाससहित मासिक १५ हजारमा काम गरिरहेका छन् ।