सहकारीमा सुशासन: प्रविधि र एकीकरण

मेचीकाली संवाददाता

१९ चैत्र २०८०, सोमबार
809 shares

कमल पन्थी

(नेपालमा सहकारी अभियान शुभारम्भ भएको ऐतिहासिक दिनको रुपमा वि.सं २०१३ साल चैत २० गतेलाई स्मरण गर्दै सदाझै यस वर्ष पनि ‘सहकारीमा सुशासनस प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ ६७ औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन गइरहेको सन्दर्भमा प्रस्तुत आदर्श वाक्य र सन्दर्भ सहकारीको वारेमा छोटकरीमा विश्लेषणात्मक प्रस्तुतीसहित सबैमा हार्दिक शुभकामना !)

विषय प्रवेश
सह+कारी = सहकारी, अर्थात् सँगै मिलेर काम गर्नु । Co-operativ ल्याटिन शब्द हो जसको अर्थ सामूहिक रुपमा काम गर्नु भन्ने बुझिन्छ । समान आर्थिक हैसियत, उद्देश्य, समान सोचाइ भएका व्यक्तिहरु मिली आफ्नो आर्थिक, समाजिक, सांस्कृतिक, विकासका लागि गरिने सामूहिक कार्य नै सहकारी हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनवाट ओतप्रोत भइ समाज रुपान्तरणका लागि सहकारीहरु संसारभरि सञ्चालनमा छन् ।

समुदायमा छरिएर रहेको पुँजीलाई समेटी समूहगत विकास तथा फाइदाका लागि समुदायमा नै पुँजी परिचालन गरी गर्जो टार्ने, साहू महाजनको चर्को व्याजदरबाट मुक्त भइ शोषणरहित समाजको निर्माण गर्ने, आबद्ध सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गरी आर्थिकस्तर उकास्ने साथै भविष्यको लागि समेत बचत गर्ने वानीको विकास गर्नु नै सहकारीको मुख्य उदेश्य हो । अर्थशास्त्रीहरुको नजरमा आर्थिक शोषणवाट मुक्ति पाउनु हो भने समाजशाश्त्रीहरु सामाजिक उत्पीडनबाट मुक्ति पाउनु हो भनी सहकारीको व्याख्या गर्ने गर्छन् ।

सहकारीको उत्पति, प्रचलन मानवहरुको उत्पतिसँगै भएको पाइन्छ । मानव मात्र नभएर माहुरी, कमिला जस्ता परिश्रमी जीवहरुमा सहकारीको भावना ज्वलन्तरुपमा देख्न सकिन्छ । सहकारी जीवन पद्दतिसँग आबद्ध हुन्छ । आधुनिक सहकारीको जन्मस्थल बेलायतको रोचडेल शहर हो । सन् १८४४ अगस्त १५ का दिन विभिन्न पेशाका २८ जना मजदुरहरुले पहिला खोली असफल भएको सहकारीको समिक्षा गर्दै सहकारीको स्थापना गरेका थिए ।

नेपालमा सहकारी आन्दोलनका रुपहरु
विश्वमा सहकारी पद्दतिको विकास भएको डेढ शताब्दीभन्दा बढीको इतिहास रहेको र नेपालमा पनि सहकारी पद्दति प्राचीन कालदेखि नै धर्म भकारी, भेजा, पर्म, परिम, गुठी, मंकाखल, ढिकुरी आदिको रुपमा अस्तित्वमा आएका पाइन्छ ।

क) धर्म भकारीः सदस्यहरुले सक्दो मात्रमा अन्न संकलन गर्ने र १० प्रतिशतका दरले कृषकहरुलाई ऋण दिने ।
ख) भेजाः नेपालको पश्चिमी भेगका मगर जातिमा अत्यन्तै लोकप्रिय र कृषिमा आवश्यक श्रमको आपूर्ति गरिने प्रचलन ।
ग) पर्म र परिमः ग्रामीण क्षेत्रका किसानहरुले आपसमा ज्याला मजदुरी नलिई काम गरेबापत काम नै सघाइ दिने प्रचलन । यस किसिमको श्रम विनियमलाइ व्राम्हण क्षेत्रीको समूदायमा पर्म र पश्चिम नेपालका गुरुङ समुदायमा Nogar भनिन्छ ।
घ) गुठीः विभिन्न देवालयको पूजापाठ गर्न, मेलापर्वमा जात्रा निकाल्न, कुल देवताको पूजा एवं अन्य धार्मिक, सांस्कृतिक एवं सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गरिएको ।
ङ) मंकाखलः नेवार समुदायमा कृषि पशुपालन कार्यमा सहकारीताको प्रचलन ।
च) ढिकुरीः पश्चिम नेपालका गुरुङ र थकाली जातीमा प्रचलन रहेको आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्था । आर्थिक आवश्यकतालाई परिपूर्ति गर्नका लागि निश्चित रकम संकलन गर्ने, पालैपालो वितरण गर्ने, जसबाट एक व्यक्तिलाई एकमुष्ट रकम उपलब्ध गराई व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने ।

नेपालमा वैधानिक सहकारी अभियानको श्री गणेश
वि.सं २०११ मा बाढीपिडितहरुलाइ बसोबास गराउन चितवनमा राप्ती दुन विकास आयोजना सञ्चालन भयो । चितवनको उक्त क्षेत्रमा बसोबास गराइएकाहरुलाई सुलभरुपमा कृषि ऋण उपलब्ध गराउन वि.सं २०१३ साल चैत्र २० गते बखानपुर (हाल शारदानगर) मा बखान ऋण सहकारी संस्था वैधानिक रुपमा खोलियो । यसकारण प्रत्येक चैत २० गते नेपालमा सहकारी दिवस मनाउने गरिन्छ । यो वर्ष ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।

‘सहकारीमा सुशासनस प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ यही चैत्र २० गते देशैभरि भव्यरुपमा मनाइँदै गरेको सन्दर्भमा आदर्श वाक्यको संक्षिप्त विश्लेषणात्मक प्रस्तुति ।

सुशासन
शासन एक राजकीय शब्द हो । शासनको अर्थ सरकारले गर्ने प्रवन्ध तथा सञ्चालनसम्बन्धी कार्य बुझिन्छ । सन् १९८९ मा विश्व बैंकले विकास परियोजनाका लागि यसको अवधारणा ल्याएको हो । राज्य संयन्त्रलाई जनमुखी बनाइ नागरिकको अपेक्षाअनुरुप छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमवाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । नेपालको संविधान, २०७२ ले पनि दिगो शान्ति समृद्धि र सुशासनमा जोड दिएको छ । विधिको शासन, उच्च अनुशासन र कुशल व्यवस्थापनको समग्र रुप नै सुशासन हो ।

तर यहाँ सहकारी सञ्चालन प्रकृयाको बारेमा भन्ने अर्थमा लिनुपर्दछ । आज विविध क्षेत्रमा यस शब्दको प्रयोग हुन थालेको छ । सहकारी संस्थाको व्यवस्थापन र सञ्चालनमा पनि सुशासन शब्द प्रयोग गरिन्छ । सहकारी व्यवस्थापनको कुशल कार्यशैली नै सुशासन हो । सहकारीका आफ्नै विश्वव्यापी मूल्य मान्यता र सातवटा सिद्दान्तहरु (ऐच्छिक तथा खुला सदस्यता, सदस्यको लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा तालिम सूचना, सहकारी संस्थाका विच सहयोग र समुदायप्रतिको चासो) प्रतिपादित भएका छन् । यिनै मूल्य, मान्यता र सिद्धान्तहरुभित्र रहेर विना भेदभाव संस्थाका नियम, विनियम र राज्यद्वारा जारी भएका ऐन, नियमभित्र रहेर काम गर्नु भन्ने बुझिन्छ । संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु लगायत व्यवस्थापकीय जिम्मेवारीमा रहेका सवैले संस्थामा खेल्नुपर्ने भूमिकाहरुको प्रभावकारीता नै सहकारीको सुशासन हो ।

संस्था विधि, प्रणालीवाट चल्नुपर्छ नकि व्यक्तिबाट । प्रणाली यस्तो संरचना हो जहाँ अमुक व्यक्ति भए पनि नभए पनि केही फरक पर्दैन, संस्था पारदर्शीरुपमा चल्छ,चलिरहन्छ । संस्थामा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी हुनु पर्छ । विधिको शासन, सबैको सहभागिता, उचित प्रतिनिधित्व, समानता, समावेशिता, पारदर्शिता ,जवाफदेहिता जुन क्षेत्रमा हुन्छ त्यहाँ शुसासन हुन्छ । समय सन्दर्भले ल्याएको नीति, विधि र प्रविधिमा आधारित सहकारी भन्ने मूल नाराका साथ सञ्चालन गर्ने असल अभ्यासको थालनी गरिएमा सहकारीमा सुशासन कायम भई सहकारीहरु चिरकाल पर्यन्त दिगोरुपमा चलिरहन्छन् ।

प्रविधि
Change is Law of Nature. समयअनुसारको परिवर्तनलाई हामी सबैले आत्मसात गर्न सक्नु पर्दछ । समय अनुसार जो चल्न सक्छ ऊ सफल हुने कुरा महाभारतमा श्रीकृष्णले बताउनुभएको सन्दर्भ अहिले जुनसुकै क्षेत्रमा पनि उत्तिकै सान्दर्भिक छ । नेपालमा कोरोनापश्चात प्रविधिको महत्व ह्वात्तै वढेको छ । विकासको हरेक क्षेत्रको परिवर्तनको लागि प्रविधिको प्रयोग अनिवार्य भएको छ । परम्परागतरुपमा गरिने हरेक कार्यलाई प्रविधिको प्रयोगले आधुनिकीकरण गर्न सकिएको छ ।

अब सहकारीहरु पनि परम्परागत ढंगले चल्न सक्दैनन । समयले ल्याएको परिवर्तनलाइ पछ्याउनुपर्छ । अहिले सूचना र प्रविधिले निकै फड्को मारिसकेको छ । सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्छ । अवको समयमा कति कर्मचारी छन् भनेर होइन प्रविधि प्रयोगले अर्थ राख्छ । सहकारीमा प्रयोग हुने प्रविधिको बारेमा एकरुपता हुनु जरुरी छ । जसका लागि सहकारीकर्मी, नीति निर्माता र प्राविधिज्ञसमेतको संलग्न एकिकृत प्रविधि निर्माण गरिनुपर्छ ।

कागजातहरु र फाइलहरुलाई डिजिटल फाइल र कागजमा रुपान्तरण गर्न स्क्यान गरीएका कागजाहरु अपलोड गरी पिडिएफ फाराम र डाटा कम्प्युटरमा भण्डारण गर्ने कार्य डिजिटलाइजेसन हो । सहकारीका सबै अभिलेख प्रमाण र कागाजातहरु कम्युटरमा सुरक्षित राखिनु आवश्यक छ । भुक्तानीमा आधारित आर्थिक कारोबारलाई सहजता प्रदान गर्न धेरै सहकारीहरुले विभिन्न कम्पनीबाट निर्मित सफ्ट्वेयर प्रयोगमा ल्याइरहेका छन् । प्रविधिभित्र बैकिङ सफ्ट्वेयर अनिवार्य हुनु पर्छ । इन्टरनेट सञ्चार प्रविधिमा आधारित सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (C0-operative and property Related Management Information System–COPOMIS) सहकारी विभागले एकिकृत व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । सवै सहकारीले यसको प्रयोग गर्न अनिवार्य गरिएको छ ।

सहकारीहरुमा अब कागजी कारवाही कम हँुदै जान सक्नुपर्छ । जसका लागि सञ्चालकको मानसिकतामा परिवर्तन र दक्ष जनशक्तिको आवश्यकता रहन्छ । प्रविधिको माध्यमवाट सेवा त्रुटिरहित हुनाको साथै छिटो छरितो एवं चुस्त हुन्छ । प्रविधिको प्रयोगले खर्च घटाउछ समयको बचत गराउँछ । प्रविधिको सुन्दर पक्ष भनेको कसैको भनसुन र मुलाहिजाको गुन्जायस रहँदैन ।

एकीकरण
पञ्चायतकालका राज्य नियन्त्रित तथा सरकारकै लगानीमा खोलिएका साझा सहकारी संस्थाहरुमा समुदायको खासै आकर्षण थिएन । प्रजातन्त्र पुनस्र्थापनापश्चात जारी सहकारी ऐन, २०४८ वाट सार्थकता पाएको देखिन्छ । सहकारी ऐन, २०४८ जारी भएपछि समुदायमा सहकारी खोल्नेको संख्या ह्वात्तै बढ्न गयो । विसं २०७७ सम्म आइपुग्दा एकै प्रकृतिका पनि धेरै सहकारीहरु समुदायमा खुल्दा दोहोरो सदस्यता, कार्यक्षेत्र खप्टिएको वा जोडीएको लगायतका यावत समस्याहरु देखिन थाले । एउटा सदस्य धेरै सहकारीमा सदस्यता लिएर ऋण अपचलनका समस्याहरु उठन थाले । सञ्चालकमा वस्न नपाएको रिसमा, मागे जति ऋण नपाएको झोकमा, अनुदानको आशामा खोलिएका झोले च्याउ उम्रेसरहका सहकारीहरु समस्याका कारक बन्न थाले ।

नियमनकारी निकायहरुलाई नियमन गर्नसमेत अप्ठारो हुन थाल्यो । अब सहकारी खारेजी र एकीकरण गर्ने सवालमा बहस हुन थाल्यो । दुई वा सोभन्दा बढी सहकारी संस्थाहरु एक आपसमा गाँभिई एउटै सवल र सक्षम सहकारी संस्था बन्छ भन्ने मान्यतामा बहस हुन थाल्यो । हुन त यो अवस्था विद्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा पनि नदेखिएको होईन । यसै सन्दर्भमा सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ जारी भयो । यो निर्देशिकाअनुसार एकीकरण भन्नाले ‘दुई वा दुई भन्दा बढी सहकारी संस्थाहरुलाई एक आपसमा गाँभी प्रत्येक संस्थाका सदस्यहरु स्वतस् सदस्य रहने गरी सम्पति र दायित्वसमेत एकीकृत हुने गरी एउटा सहकारी संस्था कायम गर्ने कार्य’ सम्झनु पर्छ भनी उल्लेख गरिएको छ ।

दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम एकीकरण हो । सहकारी संस्थाहरुको एकीकरण भनेको समान उद्देश्य प्राप्तिको लागि दुई वा दुईभन्दा धेरै सहकारी संस्थाहरुलाई मिलाएर मजवुत तथा दिगो सहकारी संस्था निर्माण गर्ने काम भन्ने बुझिन्छ । छुट्टाछुट्टै भई कारोबार गर्नुभन्दा मिलेर कारोबार गर्दा प्रतिस्पर्धात्मक क्षमता बढ्ने, सदस्यतामा भएको दोहोरोपन न्यूनीकरण हुने, प्रभावकारिता तथा नाफामा वृद्धि, प्रशासनिक खर्च कटौती, उत्पादकत्व बढ्ने, जोखिम बहन गर्न सक्ने क्षमता बढी सवल संस्था निर्माण हुन्छ । सहकारी संस्थाको गुणात्मक एवं व्यावसायिक विकासका लागि एकीकरण आवश्यक हुन्छ ।

सामान्यतया सहकारीहरु एकीकरण गर्दा गाँभिने मेजर र विलय वा मिसिने मोडेल अपनाउने गरिन्छ । मेजरलाई व्यावसायिक भाषामा करपोरेट म्यारीज पनि भन्ने गरिन्छ । एकीकरणको प्रकृयामा गाँभिने सहकारीको अस्तित्व कायम रहन्छ भने विलय वा मिसिनेको अस्तित्व विलय भएर जान्छ । तर प्रत्येक संस्थाका सदस्यहरु स्वतस् सदस्य रहने गरी सम्पत्ति र दायित्व भने एकिकृत हुने गर्दछ ।

अन्त्यमाः सहकारी संस्था अविछिन्न, उत्तराधिकारवाला, एक स्वशासित र संगठित संस्था हो । स्वःनियमनमा चल्ने सहकारीमा सुशासन हुन्छ र सुशासन कायम भएपछि दिगोपना हुन्छ । शेयरसदस्यद्वारा शेयरसदस्यको लागि, शेयरसदस्यको सकृय सहभागितामा, शेयरसदस्यसँगै भएको स्रोत साधन र सीपलाई परिचालन गरेर सञ्चालन गरिने आर्थिक क्रियाकलाप नै सहकारी भएकाले यसको दिगोपनमा शंकाको सुविधा हुँदैन । सहकारी स्वावलम्वनको पारस्परिक अभ्यास गर्ने संरचना हो ।

स्वावलम्वीका दुई गुण हुन्छन् । पहिलो ऊ आफ्नो भर पर्छ दोस्रो उसले आफ्नो मान गर्छ । यथार्थमा अर्काको भर नपर्ने भए पछि आफ्नै भर परिन्छ । स्वावलम्वी आत्मनिर्भर भइन्छ । आफ्नै खुट्टामा उभिन्छ । यसरी सहकारी आफ्नै बलबुतामा हामफाली रहेका कन्चन झरना हुन, जुन निरन्तर बगिरहन्छन् । जय सहकारी । (लेखकः नेपाल सरकारका अधिकृत हुनुहुन्छ ।)