गृहिणी महिलालाई स्वरोजगार बनाउँदै बुटवल

मेचीकाली संवाददाता

१९ चैत्र २०८०, सोमबार
89 shares

अस्मिना पाण्डे

बुटवल । बुटवल उपमहानगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडी सारेको छ । यो कार्यक्रमले महिलाले आफुले सिक्न चाहेको सिप सिक्न पाउनेछन् । सिप सिकीसकेपछि उनीहरुलाई कुनै पनि पेशा व्यवसायमा आवद्ध गराई सिपसंग जोड्न सहज हुने नगरको अपेक्षा छ ।
समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएर अगाडी बढेको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यस्ता थुप्रै कार्यक्रम ल्याएको जनाएको छ ।

नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालनका लागि तालिमको पहिचान गरि विवरण पेश गर्ने सार्वजनिक सूचना.समेत जारी गरिसकेको छ । जसमा बुटवल भित्रका १९ वटै वडाका महिलाहरुले लाभ लिन सक्ने व्यवस्था गरिएको थियो ।
बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागी चुरा, पोते, टिका, बनाउने ४५ दिने तालिम , १०० जना महिलाहरुका लागी १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, डे«स तयार गर्ने २ महिने तालिम, ५० जना महिलाका लागि बटुवा धुप ,बत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम,१० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी,कोदोको रोटी,सुख्खा रोटी, तावा रोटी, फापरको रो टी र परौठा बनाउने १५ दिने तालिम गरि जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाका लागी नगरले दोस्रो पटक २०८० चैत १६ गते सूचना प्रकाशित गरि माग आवेदन माग गरेको छ ।

सीप सिक्न इच्छुक गृहिणी महिला २० बर्ष पुराभई देखि ६० बर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । जसका लागी नेपाली नागरिकताको प्रतिलिपि र स्थायी ठेगाना, वा मतदाता नामावलि भएको प्रमाणित गर्ने निवेदन संलग्न गरि ७ दिन भित्र आवेदन दिन नगरले आग्रह गरेको छ । पहिलो चरण आवेदन माग गर्दा कम आवेदन परेकाले सुचना नपुगेको हुनसक्ने भन्दै पुन सूचना प्रकाशित गरिएको महिला बालबालिका तथा समावेशीकरण शाखाका अधिकृत तारा भुसालले जानकारी दिईन् । दोस्रो चरणमा नगरले ५१० सिप सिक्न चाहानेहरुका लागी आवेदन माग गरेको हो । यो कार्यक्रम लागुगर्न उपमहानगरले गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७९ बनाएर काम अगाडी बढाएको छ ।

कार्यविधिमा उल्लेख महिला गृहिणी महिला स्वरोजगार कार्यक्रमका उद्देश्यहरु

(क) बुटवल नगरक्षेत्रभित्र रहेका स्वरोजगारका लागि ईच्छुक महिलाहरुलाई उद्यमशिलताको माध्यमबाट स्वरोजगार गराउने ।
(ख) उद्यमी र स्वरोजगार बन्नका लागि आवश्यक ज्ञान, सीपको विकास हुने कार्यव्रmमहरु तय गर्ने ।
(ग) महिलाहरुको क्षमता विकास मार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने ।
(घ) बुटवल उपमहानगरपालिकालाई आर्थिक सामाजिक रुपमा शसक्त महिलामैत्री
उपमहानगरपालिका बनाउने ।
(ङ) गृहिणी महिला स्वरोजगारको माध्यमबाट गरिबी निवारण जीवनस्तर वृद्धि र रोजगार प्रर्वद्धनमा टेवा पू¥याउने ।

कार्यविधिमा उल्लेख कार्यक्रमको उद्देश्य पूरा गर्न तोकिएका आधारभूत क्षेत्रहरु
(क) बजार मागमा आधारित उत्पादनसँग सम्बन्धित र रोजगारमूलक कार्यक्रमहरु तय गर्ने ।
(ख) सीपमूलक कार्यव्रmमहरु सञ्चालन गर्ने ।
(ग) महिला उद्यमशीलता एंव क्षमता विकास गर्ने ।
(घ) क्षमता र चाहना बमोजिमका योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने ( ङ) पर्यटन प्रबद्र्धन हुने खालका कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्ने ।
(च)उत्पादन, तालिम र विक्रीलाई मूल्य श्रृखलासँग जोड्ने ।

को हुन् गृहिणी महिला स्वरोजगार कार्यक्रमका लक्षित बर्ग
(१) गृहणी महिला स्वरोजगार कार्यक्रम संचालनका लागि देहाय बमोजिमका २० देखि ६० बर्ष उमेर समूहका महिलालाई समावेश गरिनेछ ।
क) विकासको दृष्टिकोणबाट पछि परेका अति विपन्न, दलित,जनजाति, एकल महिला, द्धन्द्ध पीडित समुदायका महिला वा अन्य बेरोजगार महिला,
ख) सीप विकास तालिम लिई स्रोत अभावका कारण व्यवसाय संचालन गर्न नसकेका
महिलाहरु ।
ग) महिला समूह, आमा समूह, टोल विकास संस्था, महिलाहरुले मात्र संचालन भएको
सहकारीका सदस्य वा समुदायस्तरमा गठित विभिन्न समुहमा आवद्ध महिलाहरु ।
घ) आधारभूत तालिम लिएका तर स्तरोन्नती तालिम वा पूँजीको अभावका कारण श्रम बजारमा स्थापित हुन नसकेका गृहणी महिला ।

कार्यक्रम कार्यान्वयन प्रक्रिया
(क) वडा मार्फत बेरोजगार गृहिणी महिलाहरुको तथ्यांक संकलन गर्ने ।
(ख) बजार मागको आधारमा गृहिणी महिलाहरुको स्वरोजगारका क्षेत्रहरु पहिचान गर्ने ।
(ग) गृहिणी महिला स्वरोजगारमा आवद्ध हुन चाहने महिलाहरुलाई अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित वडा कार्यालय मार्फत आवेदन गर्न आव्हान गर्ने ।
(घ) गृहिणी महिलाहरुको रुची, ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागको आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गर्ने ।
(ङ) नगरपालिकासँग सहकार्यमा गृहिणी महिलालाई स्वरोजगार वनाउन इच्छुक सहकारी ।.महिला समूह, व्यवसायिक फर्महरुका प्रस्तावका आधारमा कार्यक्रम संचालनमा सहकार्य गर्ने ।

के भन्छन् उपमहानगरका प्रमुख पाण्डे/उपप्रमुख अर्याल ?
नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम नितान्त महिलाहरुलाई स्वरोजगार र उद्यमशिलता संग जोड्ने कार्यक्रम भएको नगर प्रमुख खेलराज पाण्डे बताउँछन् । घरमा बसेका आमा दिदिबहीनीलाई स्वरोजगार बनाउने मुख्य उदेश्य रहेको पाण्डेको भनाई छ ।

पहिलो चरणमा नगरका ८०० जना महिलालाई तालिममा समाबेश गर्ने नगरको लक्ष्य रहेको बताउदै प्रमुख पाण्डेले तालिम पश्चात हरेक टोल( टोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडी बढाउने बताए ।
प्रमुख पाण्डेले महिलाहरुलाई आर्यआर्जन संग जोडिन सिप नै सबैभन्दा ठुलो माध्यममा हो,भन्ने खालको अभियान चलाएर भोलिका दिनमा बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए ।
उनले यो कार्यक्रम सेवामूलक नभएर उत्पादनमूलक सिपसंग जोडिएको बताए । उनले सिपसिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरि बिक्रीवितरणको व्यवस्था मिलाईने बताए। यो कार्यक्रमका लागी आर्थिक बर्ष २०८० ÷८१ को बजेटबाट २ करोड रुपैयाँ छुट्याईएको पाण्डेले बताए ।

यसका लागि बुटवल उपमहानगरकोे नगरप्रमुख गृहिणी स्वरोजगार शाखाबाट बजार व्यवस्थापन, बिक्रीका लागि प्रचार प्रसारको कार्यक्रम,र यसमा हाम्रो उत्पादनलाई कति बर्ष सम्म कर छुट दिने र ति पदार्थहरु बाहिरबाट आउछन्भने कति प्रतिशत बढी कर लगाउने भन्ने खालका मापदण्ड र विधिका बारेमा नगर सभामा बिषय प्रवेश गराएर बृहत छलफल गरि दिगोपन हुनेगरि अगाडी बढाउँछौ, उनले भने । उनले महिलाहरुले उत्पादन गरेका सामग्रीको बिक्री वितरणका लागि यहाँका बिभिन्न संघसंस्थाहरुकोे सहकार्यका आधारमा पनि अगाढी बढाउन सकिने बताए ।

उनले उत्पादन भएका बस्तु सहज, सहल र आम्दानीमूलक ढंगले बिक्री वितरणमा साथदिने दाबी गरे । बुटवले महिलाहरुलाई उद्यमसंग जोड्ने प्रयत्न गरेको बताउदै पाण्डेले महिला स्वयं सिप सिक्ने इच्छाशतmीका साथ सहभागीहुनुपर्ने बताए ।
‘२० जना भन्दा माथिको समुह बनाएर हस्ताक्षर गरेर हामी सिप सिक्छौँ भनेर उपमहानगरमा आउनुभो भनेपनि ति महिलाहरुलाई हामीले स्थान दिन्छौँ’, पाण्डेले भने । नगरमा बेरोजगार भएर बस्नुभएका स्वरोजगारी हुन चाहाने महिला दिदिबहिनीहरुलाई कार्यक्रममा जोडिन पनि पाण्डेले आग्रह गरे ।

उपप्रमुख साबित्रादेवि अर्यालले यो उद्यमशिलता संग जोडिएको कार्यक्रम भएको बताउदै साच्चिकै लाभदायक हुने अपेक्षा ब्यतm गरिन् । ‘घरबसेका आमाले बत्ति काट्न सक्नु भो, कोही महिलाले सेल रोटी बनाउन पनि सक्नुभो, जो सिपमा रमाउन चाहानुहुन्छ, सिपको अभावमा बेरोजगार हुनुहुन्छ, उहाँहरुका लागि यो कार्यक्रम दिर्घकालिन हुन्छ’, अर्यालले भनिन् ।

‘महिलाहरुको स्तरलाई जवसम्म राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, लगायतका बिषयमा अगाडी बढाउन सकिैदैन तवसम्म नगरले अगाडीसारेको बस्न योग्य बुटवल बन्न सक्दैन, त्यसैले यस्ता कार्यक्रम निरन्तर संचालन हुनेछन् ।’ उनले भनिन् ।
महिलाहरुको सम्पत्तिमाथिको पुर्ण अधिकार कार्यान्वयनमा नआउदा,हातमा सिप नहुदा, बिभिन्न किसिमका समस्या, बिभेद,हिंसा,निर्णायक तहमा पुग्न कठिन भएको छ,उनले भनिन्, जव महिलाहरु आर्थिक रुपमा सम्पन्न हुन्छन्, यस्ता सानातिना समस्या आफै समाधान हुदै जानेछन्।

उपप्रमुख अर्यालले नगरले अगाडी सारेका बिभिन्न कार्यक्रम नगरभित्रका नागरिकको जिवस्तर उकास्नका लागि ल्याईएको बताउदै यस्ता कार्यक्रममा सहभागी भएर सम्पुर्ण महिलदिदिबहिनीलाई सिपसंगै आत्मनिर्भर हुन अनुरोध गरिन् ।